वैदेशिक रोजगारीका लागि भारतको बाटो हुँदै युक्रेन पुगेका दुई नेपालीको उद्दार गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को पहल र जर्मनीस्थित नेपाली दुतावासको समन्वय तथा आवश्यक सहजीकरणमा विगत १४ महिनादेखि युक्रेनस्थित सैन्य क्याम्पमा रहेका रौतहटका २८ वर्षीय जयप्रकाश शाह र बागलुङका २३ वर्षीय सन्देश केसीलाई उद्दार गरिएको हो ।
केही समयअघि उनीहरूले एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतलाई सम्पर्क गरी उद्दारको लागि पहल गर्न आग्रह गरेपछि संघले आवश्यक सहजीकरणका लागि दूतावाससँग समन्वय गर्दै आएको थियो ।
सन् २०२४ को जुलाइमा उनीहरू त्यहाँ पुगेका उनीहरु विगत १४ महिनादेखि किएभको इमिग्रेसन क्याम्पमा रहँदै आएका थिए । युक्रेनबाट मल्दोवा र भारतको नयाँ दिल्ली हुँदै शुक्रबार दिउँसो १ बजे उनीहरु दुवैजना काठमाडौं आईपुगेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरुलाई संघको सचिवालयबाट प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत र कनिष्ठ अधिकृत निरोज महर्जनले स्वागत गरेका थिए । उनीहरु दुवै जनाले दुःखको बेलामा गैर आवासीय नेपाली संघ र जर्मनस्थित नेपाली दुतावासले पुर्याएको समन्वय, सहयोग र सहजीकरणका लागि धन्यवाद दिएका छन् ।
प्रकाशित: ३ आश्विन २०८२ १७:५७ शुक्रबार





