गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ लाई भव्य र उपलब्धिमूलक बनाउने तयारी तीव्र पारिएको छ। मध्यपूर्वमा रहेका नेपालीहरूको एकता, श्रमिकका समस्या, सामाजिक सुरक्षा तथा नेपालको आर्थिक समृद्धिमा प्रवासी नेपालीको योगदानलाई केन्द्रमा राखेर आयोजना हुन लागेको सम्मेलनमा विभिन्न व्यावसायिक संस्था तथा व्यक्तिहरू साझेदारका रूपमा जोडिएका छन्।
सम्मेलनमा रोड सो ग्रुप नेपाल को–इभेन्ट पार्टनर बनेको छ। समूहका निर्देशक सागर गुरुङले प्रवासी नेपालीको साझा अभियानलाई सहयोग गर्ने उद्देश्यले सम्मेलनसँग सहकार्य गरिएको जनाउँदै आगामी दिनमा पनि एनआरएनएसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठले सम्मेलनलाई सफल बनाउन निजी क्षेत्रबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको बताएका छन्। उनका अनुसार व्यवसायी, उद्यमी, समाजसेवी तथा प्रवासी नेपालीबीचको सहकार्यले सम्मेलनलाई व्यवस्थित बनाउनुका साथै यसले उठाउने मुद्दालाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ।
रियल इस्टेट, हाउजिङ, केबलकार, जलविद्युत्, निर्माण, लगानी तथा औद्योगिक क्षेत्रमा सक्रिय रोड सो ग्रुपअन्तर्गत विभिन्न कम्पनी तथा व्यावसायिक परियोजनाहरू सञ्चालनमा छन्। समूहले आफ्नो व्यावसायिक अनुभव र स्रोतलाई प्रवासी नेपालीको सामाजिक तथा आर्थिक अभियानसँग जोड्ने उद्देश्यले सम्मेलनमा साझेदारी गरेको जनाएको छ।
सम्मेलनमा नेपालका सभामुख डीपी अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ। श्रममन्त्री रामजी यादव, प्रमुख राजनीतिक दलका सांसद, एनआरएनएका संस्थापक तथा पूर्वअध्यक्ष, उद्योगी, व्यवसायी, पत्रकार र कलाकारहरूको समेत सहभागिता रहने बताइएको छ।
आयोजकका अनुसार सम्मेलनलाई औपचारिक जमघटमा मात्र सीमित नराखी मध्यपूर्वमा रहेका नेपालीका साझा समस्या, सम्भावना र नेपालको समृद्धिका विषयमा ठोस छलफल तथा सहकार्यको साझा मञ्च बनाउने लक्ष्य राखिएको छ।
प्रकाशित: ११ मंसिर २०८३ १२:२३ शुक्रबार





