१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
प्रवास

क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा एनआरएनएले सरकारलाई सघाउने

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा सरकारलाई सघाउने प्रतिबद्धता जनाएको छ ।  

संघका अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्री सुशिला कार्कीलाई भेटेर पुनर्निर्माणका काममा सरकारलाई सघाउने प्रतिवद्धता जनाएको छ ।  

विश्वभरिका गैरआवासीय नेपालीहरु नेपाललाई समृद्ध बनाउन जुनसुकै किसिमकको सहयोगका लागि प्रतिबद्ध रहेको केसीले बताए । आन्दोलनका क्रममा देशमा भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै पुनर्निर्माण गर्न र मुलुकको कठिन घडीलाई सम्बोधन गर्न संघ सदैव सरकारसँग हातेमालो गर्न तत्पर रहेको केसीको भनाइ छ ।

उनले भने , ‘मुलुकको जटिल परिस्थितिमा विदेशमा रहेका नेपालीहरुले मातृभूमिलाई आर्थिक रुपमा सबल र समृद्ध बनाउन सक्ने अपार सम्भावना बोकेका छन् । उनीहरुको पुँजी, सीप, अनुभव र ज्ञानलाई संस्थागत ढंगले प्रयोग गर्न सकिने व्यवस्था मिलाउन सके मुलुकको समृद्धिको यात्रा सहज हुनेछ ।’

जवाफमा प्रधानमन्त्री कार्कीले राष्ट्र पुनर्निर्माणको लागि विदेशमा रहेका गैरआवासीय नेपालीलाई आग्रह गरिन् । पुनर्निर्माणको लागि नेपाली र गैरआवासीय नेपालीहरुसँग मात्रै सहयोग लिने र अपुग भए मात्रै विदेशबाट सहयोग लिने उनले बताइन ।  

भेटमा अध्यक्ष डा केसीले 'एक पटकको नेपाली सदैव नेपाली' भन्ने मुल उद्देश्य अनुरुप संविधान संशोधनमार्फत गैर आवासीय नेपालीहरुलाई वंशजको नागरिकताको निरन्तरता सहितको नेपाली नागरिकता उपलब्ध गराउने व्यवस्था सुनिश्चित गर्न र आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोजन सहज रूपमा प्रत्याभूत गर्न अनुरोध गरेका थिए । त्यस्तै अब हुने ऐतिहासिक निर्वाचनमा विदेशमा रहेका नेपालीहरुका लागि मताधिकार सुनिश्चित गर्न समेत अनुरोध गरे । यसका साथै गैरआवासीय नेपाली संघको १२ औँ महाधिवेशन आगामी ६ महिनाभित्रै गर्न लागिएको जानकारी गराएको पनि उनले बताए ।  

प्रधानमन्त्री कार्कीले संघले मताधिकार लगायत अन्य मागलाई सकारात्मक रुपमा लिएको तथा आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीलाई विदेशबाट नै मतदान गर्ने व्यवस्था मिलाइने बताइन । 

प्रकाशित: ५ आश्विन २०८२ १७:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App