राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य मनिष झा साताव्यापी भ्रमणका लागि बेलायत आइपुगेका छन्।
झा शुक्रबार साँझ लण्डनस्थित हिथ्रो विमानस्थलमा अवतरण गरेका हुन्।
विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै झाले बेलायतस्थित नेपालसम्बन्धी संसदीय समूहका संयोजक एलेक्स बेकरको निमन्त्रणामा आफू बेलायत भ्रमणमा आएको जानकारी दिए।
भ्रमणका क्रममा गैरआवासीय नेपाली नागरिकता, पूर्वगोर्खाहरूका माग तथा ती विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा र दीर्घकालीन समाधानका उपायबारे बेलायतस्थित नेपाली समुदायसँग छलफल गर्ने उनले बताए। झा रास्वपाको विदेश विभाग प्रमुखसमेत हुन्।
बेलायत बसाइका क्रममा यहाँको शिक्षा प्रणाली, व्यवसायिक वातावरण तथा नेपालमा लगानीका सम्भावनाबारे अध्ययन र अनुभव आदानप्रदान गर्ने योजना रहेको पनि उनले बताए।
झाको स्वागतका लागि हिथ्रो विमानस्थलमा ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजन कँडेल, रास्वपाका सदस्यहरू रमेश बेलबासे, पवन कँडेल, किरण कँडेल र राजेन्द्र कँडेललगायत उपस्थित थिए।
बेलायत भ्रमणका क्रममा झाले लण्डनसहित विभिन्न शहरमा आयोजना हुने अन्तरक्रिया तथा छलफल कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। उनी आगामी नोभेम्बर ६ तारिख नेपाल फर्किनेछन्।
प्रकाशित: १४ कार्तिक २०८३ ०६:३२ शनिबार





