३० वैशाख २०८३ बुधबार
image/svg+xml
प्रवास

६३ वर्ष पुरानो ऐन टेकेर चिकित्सकको लाइसेन्स खारेजी, स्वास्थ्य विज्ञको आपत्ति

नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिकता लिएका चिकित्सकहरूको लाइसेन्स दर्ता खारेज गरेपछि विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सकहरूले असन्तोष व्यक्त गरेका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको ग्लोबल हेल्थ कमिटीको शुक्रबार बसेको बैठकमा बोल्ने चिकित्सकहरूले काउन्सिलको उक्त निर्णय न्यायोचित नभएको बताएका छन्।

बैठकले नेपाल मेडिकल काउन्सिलद्वारा गैरआवासीय नेपाली (एनआरएन) हैसियतमा रहेका ३६ जना नेपाली चिकित्सकहरूको लाइसेन्स खारेज गर्ने निर्णयप्रति गम्भीर चासो र आपत्ति व्यक्त गरेको छ।

बैठकमा सहभागी विज्ञहरूले ६३ वर्ष पुरानो ऐन टेकेर गरिएको यो निर्णय वर्तमान संविधानको भावना विपरीत रहेको तर्क गरेका छन्। संविधानले नै गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरिसकेको अवस्थामा बसोबासका आधारमा चिकित्सकहरूको पेशागत पहिचान खोस्नु न्यायोचित नहुने उनीहरूको भनाइ छ। उनीहरूले काउन्सिलको पछिल्लो निर्णय संविधानको मर्मविपरीत भएको पनि बताएका छन्।

विज्ञहरूका अनुसार प्रभावित व्यक्तिहरूसँग कुनै समन्वय र पूर्वजानकारी बिना नै लाइसेन्स खारेज गरिएको हो। एकातिर सरकारले ‘सीप हस्तान्तरण (स्किल ट्रान्सफर)’ को कुरा गर्ने र अर्कोतिर सीप भएका जनशक्तिलाई निरुत्साहित गर्ने कार्यले सरकारको ‘दोहोरो मापदण्ड’ प्रष्ट पारेको उनीहरूको टिप्पणी छ।

बैठक प्रा. डा. सुनील साहको अध्यक्षतामा सम्पन्न भएको थियो। २५ सदस्यीय यस समितिमा नेपालसहित अमेरिका, अष्ट्रेलिया, बेलायत, नर्वे, बेल्जियम र पोल्याण्डका स्वास्थ्य विज्ञहरू सहभागी छन्। समितिमा डाक्टर, नर्स, प्यारामेडिक्स तथा जनस्वास्थ्य विज्ञलगायत विभिन्न विधाका विशेषज्ञहरू समावेश छन्।

समितिका अध्यक्ष डा. साहका अनुसार समितिले नेपाल र विदेशमा रहेका नेपाली स्वास्थ्यकर्मी (डायस्पोरा) बीच सम्बन्ध विस्तार गर्ने लक्ष्य लिएको छ। उनले समितिले चिकित्सा शिक्षा, तालिम, स्वास्थ्य सेवामा नवप्रवर्तन तथा रणनीतिक लगानी आकर्षणमा विशेष ध्यान दिने बताए।

उनका अनुसार विदेशमा रहेका नेपाली विज्ञहरूको ज्ञान र सीपलाई नेपालको दिगो स्वास्थ्य विकासमा उपयोग गर्न नेपाल सरकार तथा सम्बन्धित नियामक निकायहरूसँग समन्वय गरेर काम गरिनेछ।

एनआरएनए स्वास्थ्य समिति गठन

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत ग्लोबल हेल्थ कमिटी (स्वास्थ्य समिति) गठन गरिएको छ।  

सन् २०२५–२०२७ कार्यकालका लागि गठन गरिएको उक्त समितिको अध्यक्षमा बेलायत निवासी प्रा. डा. सुनील साह चयन भएका छन्।

समितिका सहअध्यक्षहरूमा दक्षिण अफ्रिकाकी डा. सरिता पाण्डे, बेलायतका प्रा. डा. पदम सिम्खडा तथा एनआरएनए सचिव समेत रहेकी प्रसुना कडेल रहेका छन्।

समितिमा विभिन्न देशमा कार्यरत नेपाली स्वास्थ्य विज्ञ तथा पेशाकर्मीहरूको सहभागिता रहेको छ। सदस्यहरूमा यूएईका डा. रबिन्द्र यादव, नेपालका डा. सागर पौडेल, बेलायत/जापानसँग सम्बन्धित डा. अलिजा केसी भण्डारी, क्यानडाका डा. सन्तोष यादव, अष्ट्रेलियाका डा. मनोज सिंह, नेपालका डा. प्रभात अधिकारी, जापानका डा. लुशुन चालिसे, कताररअमेरिकासँग सम्बन्धित डा. नितेश अर्याल, नेपालका डा. धर्मेन्द्र कर्ण, पोल्याण्डकी डा. अलिनी, नेपालकी अनिशा भण्डारी, नेपालका डा. सञ्जय यादव, बेलायतका सञ्चारकर्मी चिरन शर्मा, नेपालका अतुल मिश्र, बेल्जियमकी रुबिना शर्मा तथा नर्वेका प्रा. दीपक सापकोटा रहेका छन्।

यसैगरी, समितिका सल्लाहकारहरूमा अमेरिकाका डा. सञ्जीव सापकोटा, नेपाल मेडिकल एशोसिएसनका अध्यक्ष प्राडा. सत्यान राज भण्डारी, अमेरिकाका डा. बिनोद शाह तथा नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार रहेका छन्।

नवनिर्मित समितिले विश्वभर रहेका नेपाली स्वास्थ्यकर्मीहरूलाई समेट्दै स्वास्थ्य क्षेत्रमा सहकार्य, ज्ञान आदानप्रदान तथा नेपाल लगायत विभिन्न देशमा स्वास्थ्य सेवा सुधारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित: २० वैशाख २०८३ ०८:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App