२० मंसिर २०८२ शनिबार
image/svg+xml
प्रवास

दिल्ली दूतावासले भन्यो: धराली बाढीमा हालसम्म कोही नेपाली मृत भेटिएका छैनन्

दिल्लीस्थित नेपाली दूतावासले भारतको उत्तराखण्ड प्रदेशको उत्तर काशी जिल्ला धरालीमा आएको बाढीमा हालसम्म कोही पनि नेपाली नागरिक मृत फेला नपरेको बताएको छ। शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै दूतावासले भारतीय प्रहरीका तर्फबाट हालसम्म बाढीमा कोही पनि नेपालीको शव फेला नपरेको र जीवितै उद्धार पनि नभएको जानकारी प्राप्त भएको जनाएको छ। 

‘उत्तराखण्ड प्रहरीले राजदूतावासलाई उपलब्ध गराएको जानकारी अनुसार हालसम्म ३७२ जनाको सकुशल उद्धार गरिएको र घटनास्थलबाट २ जनाको शव प्राप्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जीवित उद्धार गरिएका तथा मृतकको सूचिमा कुनै पनि नेपाली नागरिक नरहेको समेत राजदूतावासलाई जानकारी गराइएको छ।’

विज्ञप्तिमा उत्तराखण्ड प्रदेश पौडी गढवाल जिल्लाको बागोडामा ६ अगस्टमा गएको बाढी पहिरोपश्चात् ५ जना नेपालीहरू हराइरहेको उल्लेख छ। घाइते भएका ४ जना नेपालीहरूमध्ये उपचारपछि ३ जना घर फर्केको र एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको भनिएको छ।

बाढी पहिरोपश्चात् त्यहाँ रहेका नेपालीको अवस्था, हराइरहेका नेपालीहरूको खोजी तथा उद्धार, घाइतेहरूको उपचार एवं अन्य आवश्यक सहयोगका लागि दूतावासले निरन्तर उत्तराखण्ड सरकारका निकाय र भारतीय विदेश मन्त्रालयसँग समन्वय गरिरहेको विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: २३ श्रावण २०८२ १४:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App