गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानको अध्यक्षमा सुभाष लामिछाने विजयी भएका छन्।
एनआरएनए जापानको १२ औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न निर्वाचनमा लामिछानेले आफ्ना निकटतम प्रतिद्वन्द्वी सिद्धार्थ श्रेष्ठलाई एक हजार ९ सय ५९ मतको फराकिलो अन्तरले पराजित गर्दै नयाँ अध्यक्षमा निर्वाचित भएका हुन्।
निर्धारित समयसम्मको मतदानपछि निर्वाचन समितिले फेसबुक प्रत्यक्ष प्रसारणबाट सार्वजनिक गरिएको अन्तिम मत परिणामअनुसार १२ हजार ३ सय ४५ ले गरेको मतदानमा विजयी लामिछानेले कुल ७ हजार १ सय ५२ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी श्रेष्ठले ५ हजार १ सय ९३ मत मात्र प्राप्त गरेका थिए।
यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा टीकाराम खरेल ६ हजार ४ सय १८ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी कृष्ण गैरै शर्माले ५ हजार ९ सय २७ मत प्राप्त गरेका छन्। महासचिवमा श्यामकुमार श्रेष्ठ ६ हजार ३ सय ८४ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी विश्वास गौतमले ५ हजार ९ सय ६१ मत प्राप्त गरे।
नवनिर्वाचित अध्यक्ष लामिछानेले विजयी भएपछि नागरिक न्युजसँग कुरा गर्दै निवर्तमान अध्यक्ष नवीन निउरेको कार्यकालमा सुरु भएको ‘नेपाल हाउस’ परियोजनालाई सम्पन्न गर्ने प्रतिबद्धतालाई उनले दोहोर्याए।
जापानवासी नेपालीका सुख-दुखमा साथ दिने र नेपाली मौलिक पहिचान झल्कने नेपाल हाउस सम्पन्न गर्ने उनको भनाइ छ। उनले भने, ‘तपाईंहरूको सपना, नेपाली मौलिक पहिचान झल्कने नेपाल हाउस पनि सम्पन्न गरेरै छाड्छु।’
प्रकाशित: ११ श्रावण २०८२ २०:२४ आइतबार