४ कार्तिक २०८३ बुधबार
image/svg+xml
प्रवास

बाढीबाट पीडितसँगै उभिएर दशैं मनाउन अपिल

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा हेमराज शर्माले हालै नेपालमा गएको भीषण बाढीबाट पीडित जनसमुदायसंगै उभिएर दशैं मनाउन अपिल गरेका छन्।  

बडा दशैंको अवसरमा शुभकामना दिंदै डा शर्माले दशैँ केवल चाडपर्व र उत्सवको अवसर मात्र होइन, परिवारसँगको पुनर्मिलन, आपसी सद्भावको नवीकरण र दुःखमा परेकालाई साथ दिने मानवीय भावनाको पर्व पनि भएको बताए ।

"यस वर्ष हामीले दशैंको खुसी साटासाट गरिरहँदा प्राकृतिक विपत्तिबाट प्रभावित नेपाली परिवारहरूको पीडा बिर्सन सक्दैनौँ। विशेषगरी भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोले पुर्‍याएको जनधनको क्षति र विस्थापित परिवारहरूको कठिन परिस्थितिले हामी सबैलाई मर्माहत बनाएको छ। यस्तो सङ्कटमा पीडितहरूको साथमा उभिनु हाम्रो मानवीय दायित्व हो। गैरआवासीय नेपाली संघले राहत वितरण, स्वास्थ्य शिविर तथा प्रभावित समुदायलाई आवश्यक सहयोग पुर्‍याउने कार्यमार्फत यही दायित्व निर्वाह गर्ने प्रयास गरेको छ," उनले भने।

यस अभियानमा सहयोगको हात बढाउनुहुने विश्वभरका गैरआवासीय नेपाली, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्, विभिन्न संघसंस्था, दाताहरू तथा स्वयंसेवकहरूप्रति म हृदयदेखि नै आभार व्यक्त गर्दछु। तपाईंहरूको सहयोगले विदेशमा रहे पनि मातृभूमिप्रतिको माया, दुःखमा परेका नेपालीप्रतिको संवेदना र सामूहिक प्रयासको शक्ति सीमाविहीन रहेको प्रमाणित गरेको छ," डा शर्माले आफ्नो सन्देशमा भनेका छन्।  

"दशैंको यस शुभ अवसरले हरेक परिवारमा खुसी र आत्मीयता ल्याओस्, विपत्तिमा परेका परिवारलाई पुनः उठ्ने साहस मिलोस् र हामी सबैलाई समाज तथा राष्ट्रका लागि अझ सकारात्मक योगदान गर्न प्रेरणा प्रदान गरोस्। स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धि छाओस्। आउनुहोस्, यस दशैँमा खुसी बाँडौँ, दुःखमा साथ दिऔँ र एकताबद्ध नेपाली समुदाय निर्माण गर्ने सङ्कल्प गरौँ," अध्यक्ष शर्माले भने।

संघले गत १० अक्टोबर २०२६ सम्ममा संघको आह्वानमा रु १० करोड ७५ लाख भन्दा बढी सहयोग संकलन भएको र त्यसमध्ये बाढी प्रभावित ९ जिल्लाका झन्डै २,५०० परिवारलाई राहत सामग्री वितरण गरिएको जनाएको छ। यसै गरी संघद्वारा संचालित स्वास्थ्य शिविरहरुमा झन्डै १,२०० जनाको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको थियो। संघले प्रभावित समुदायलाई झन्डै ६ करोड २५ लाख रुपियाँ बराबरको सहयोग सामग्री वितरण गरिसकिएको पनि जनाएको छ।

प्रकाशित: ४ कार्तिक २०८३ १९:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App