थाइल्याण्डमै जन्मेकी पाचौं पुस्ताकी अमरा राई नेपाली मूलका मानिसहरुको संगठन एशोसिएसन अफ नेपाली ओरिजिन(एएनओ) थाइल्याण्ड कमिटी अध्यक्ष चयन भएकी छन् ।
मार्च २९ गते आइतबार अपरान्ह बैंककमा आयोजित एक कार्यक्रममा थाइल्याण्डमै जन्मेका र पुस्तौंदेखि थाइल्याण्ड र वर्मामा बसोवास गरिरहेका नेपालीहरुको सहभागिता थियो । स्थानीय नेपालीहरुसँगको छलफल, नेपाली सांस्कृतिक प्रस्तुति र कमिटी गठन गरी तीन चरणमा सम्पन्न भएको सो कार्यक्रममा थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले नेपली कला, संस्कृति, भाषा र परम्परालाई नेपाली मूलका मानिसहरुमा पुस्तान्तरण गर्ने एएनओको अभियानले सकारात्मक परिणाम ल्याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा एएनओका महासचिव चूडामणि भट्टराईले एएनओको निवेदनलाई स्वीकार गर्दै नेपाल सरकारले अव कुनै पनि नेपाली मूलको मानिस नेपाल जांदा विमानास्थलमा विदेशीको लाइनमा बस्नु नपर्ने व्यवस्था मिलाएको बताए । आफ्नो मातृ पितृ भूमि पुग्दा विदेशीको लाइनमा बस्नु नपर्ने गरी नेपाली मूलका लागि छुट्टै व्यवस्था गर्दा संसारभरका नेपालीले सम्मानित महसुस गरेकोमा उनले नेपाल सरकारलाई धन्यवाद दिए ।

कार्यक्रममा क्यालिफोर्निया स्टेट युनिभर्सिटीका प्राध्यापक ढा.मोहन डांगीले नेपालीपनको विस्तारको एजेण्डाले मन छोएको बताए ।
बैंककलाई कर्मभूमि बनाएर प्राध्यापनरत नेपाल पोलिसी इन्टिट्युडका अध्यक्ष डा.खगेन्द्र ढकालले गैरआवासीय नेपाली संघले ३ पुस्ताभित्रका नेपालीमात्र समेट्ने भएकाले त्यसवाहिरका नेपालीलाई समेट्ने संस्थाको रुपमा एएनओ आएकोमा खुसी व्यक्त गरे ।

एएनओको बोर्ड अफ ट्रष्टी सदस्य वात्सना राई र केन्द्रीय कार्य सम्पादन समितिका सदस्य राज कर्माचार्यको समेत उपस्थितिमा गठित राई नेतृत्वको एएनओ थाइल्याण्ड राष्ट्रिय कमिटीमा मिलन घिमिरे, नरेश पाण्डे, सोनिया राई, एमी राई, बसन्ती प्रधान, दीपा पौडेल, अस्मिता न्यौपाने, सुमन कार्की र विक्की सिन्च्यूरी छन् ।
प्रकाशित: १६ चैत्र २०८२ २०:२८ सोमबार





