२६ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

जापानमा नेपालीले चलाएको गाडीको ठक्करबाट एक जनाको मृत्यु

जापानको ओसाका शहरमा एक नेपाली सडक दुर्घटनामा परेका छन्। ओसाकामा एक नेपालीले चलाएको गाडीले ठक्कर दिँदा एक जापानीको निधन भएको छ।

जापानी समाचार संस्थामा प्रकाशित विवरण अनुसार ट्राफिक लाइटमा रोकिरहेको एक स्कुटर र त्यसपछि जेब्रा क्रसमा पैदल यात्रीसहित २ जनालाई ठक्कर दिँदा एक जनाको निधन भएको हो। दुर्घटना के कसरी भयो विस्तृत विवरण नखुलेको समाचारमा उल्लेख छ।

समाचार अनुसार नोभेम्बर ७ तारिख बिहान ९ बजेर ४३ मिनेटमा मिनामिगुची ३ चोमे हिगाशियोदोगावा कु ओसाकाको चोकमा हल्का यात्रुवाहक कारले स्कुटर चालकलाई ठक्कर दिएर अगाडि पैदल यात्रुलाई समेत घाइते बनाएको थियो।

कारको ठक्करबाट बेरोजगार रहेका ७१ वर्षीय वृद्ध हारुओ योशिदाको निधन भएको छ। स्कुटरमा सवार २८ वर्षीय युकी हयासी टाउको ठोक्किएर बेहोस भएका थिए। उनको उपचार भइरहेको र कारको ठक्करबाट अर्का एक जना सामान्य घाइते भएका छन्।

ओसाका प्रिफेक्चरल पुलिसले ओसाका शहरको निशियोडोगावा वार्डमा रेस्टुरेन्ट व्यवसायमा काम गर्ने कार चालक ४८ वर्षीय नेपाली व्यक्तिलाई पक्राउ गरेको छ। अटोमोबाइल ड्राइभिङ मृत्यु र चोटपटक सजाय ऐन उल्लंघन गरेको आरोपमा कारका चालकलाई पक्राउ गरेको बताइए पनि ती नेपालीको परिचय खुलाइएको छैन।

चालक पनि घाइते भएका र अस्पतालमा भर्ना भएकाले, प्रिफेक्चरल पुलिसले व्यक्तिलाई रिहा गरेर घटनाको अनुसन्धान गरिरहेको छ। लापरवाही पूर्वक ड्राइभिंग गर्दा मृत्यु वा चोटपटक भएको आशंकासहित प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ।

जापानमा नेपालीको संख्या वृद्धि भएसंगै यस्ता घटना बढेकोले होशियारी पूर्वक सवारी साधन चलाउनुपार्ने एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नबिन निउरेको सुझाव छ।

प्रकाशित: २३ कार्तिक २०७९ ०८:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App