गोरखा फुजेल गाविसका कुमार स्टुडेन्ट भिसा लिएर सन् २००० मा जर्मनी प्रवेश गरेका हुन्। कलेज पढ्दै गर्दा उनले होटलमा काम गर्न थाले। त्यो अनुभव र साथीभाइको विश्वासका आधारमा उनी सन् २००६ मा जर्मनीको फ्य्रांकफर्ट शहरमा एभरेस्ट नामक तीनतारे होटल खोल्न सफल भए। 'होटल कसरी चलाउनुपर्छ मसँग अनुभव थियो, त्यसमाथि घरमालिकको विश्वास र केही साथीहरुको सरसापटीले एभरेस्ट होटल खोल्न सकेँ,' कुमारले सुनाए, 'फर्निचर, कम्प्युटर, घर सबै पेश्कीबिनै उधारोमा पाएको थिएँ, धन्न होटल पनि चल्यो।'
३९ कोठा भएको एभरेस्ट होटलले ६–७ महिनामै लगानी उठायो। जर्मनी सिस्टममा चलेको देश हो। मिहेनत गर्यो भने सफलता हात लाग्ने ग्यारेन्टी थियो। त्यसैले कुमारको होटल व्यवसाय 'एभरेस्ट'मै सीमित भएन।
उनले सन् २०१० मा गोयथे होटल, २०११ मा गोयथे अपार्टमेन्ट हाउस, २०१२ मा होस्टर–होफ र २०१३ मा गोयथे बिजनेस होटल खोले। फ्य्रांकफर्टमै उनले गत जुन महिनामा स्काइलाइन नामक चारतारे होटल सुरु गरे। यीमध्ये १३५ कोठाको होस्टर–होफ उनले सञ्चालनमा ल्याएको सबैभन्दा ठूलो होटल हो। यही वर्षको जुलाईमा उनले जर्मनीको अर्को शहर बर्लिनमा सेन सिटी नामक होटल पनि स्थापना गरिसकेका छन्।
'होटल व्यवसायसँग जोडिएको ज्ञान, मेरो लगनशीलता र भगवानको कृपाले म सफल भएको हुँ,' आफ्ना सबै होटलमा गरी लगभग ४० जना नेपालीलाई रोजगारी दिलाएका उनले भने, 'ममात्र होइन जर्मनीमा होटल तथा रेस्टुरेन्ट व्यवसाय गर्ने प्रायः नेपाली सफल नै छन्।'
जर्मनीमा पुग्ने नेपालीलाई सबैभन्दा समस्या भाषा र स्थानीय कानुन रहेको उनको अनुभव छ। 'मलाई यहाँको जर्मन भाषा राम्रोसँग बोल्न र लेख्न २ वर्ष लाग्यो, स्थानीय कानुन पनि बुझ्न गाह्रो छ,' उनले भने, 'तर, भाषा र कानुन बुझेपछि यहाँ बसोबास र व्यवसाय गर्न निकै सजिलो छ।'
जर्मनीमा १५ हजार नेपाली रहेको अनौपचारिक तथ्यांक छ। त्यसैले पछिल्लो समयमा नेपालीहरु विभिन्न समस्यामा परेका छन्। 'पढाइ सिध्याउन नसकेका, श्रम सम्झौता सकिएका र कानुनी कागजपत्र नभएका नेपालीहरु प्रशस्त छन्,' एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्को महासचिव रहेका कुमारले भने, 'एनआरएनले जर्मनीमा नेपालीका यीबाहेक अरु समस्यालाई पनि समाधान गर्न तदारुकता देखाइरहेको छ।'
आगामी असोज २७ देखि ३० सम्म नेपालमा हुन लागेको एनआरएनको विश्व सम्मेलनका लागि उनले उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरिसकेका छन्। 'साथीहरुले महासचिव भएर राम्रोसँग जिम्मेवारी निर्वाह गर्नुभयो, माथिल्लो पदमा उक्लिनुस् भन्नुभएकोले मैले एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्को उपाध्यक्ष पदमा उम्मेद्वारी दिने निर्णय गरेको हुँ,' उनले विश्वास व्यक्त गरे, 'एनआरएनका गतिविधिमा रहेर अझै पनि नेपालको सेवा गर्ने इच्छा रहेकोले साथीभाइले यसपालि पनि साथ दिनुहुनेछ भन्ने लाग्छ।'
भूकम्पपछि एनआरएन नेपालको पुनर्निर्माणमा केन्द्रित भइरहेको अवगत गराउँदै कुमारले खाडी मुलुकमा श्रम गर्न जाने नेपालीहलाई स्वेदशमै रोजगारी दिलाएर व्यवस्थित गर्नुपर्छ भन्ने मान्यता आफ्नो रहेको बताए। 'तैपनि अहिले खाडीमा काम गरिरहेका नेपालीहरुको उचित पारिश्रमिकको अधिकार र सुरक्षामा सुधार ल्याउन सरकारले पहल गर्नुपर्छ,' उनले सुझाए।
प्रकाशित: १३ आश्विन २०७२ ०८:४९ बुधबार





