८ वैशाख २०८१ शनिबार
प्रवास

रुस युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीको उद्धार कार्य सम्पन्न

रुस युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीको उद्धार कार्य सम्पन्न भएको छ। रुस युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई बुधवार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालहरू सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको बताएका छन्।

खड्काले अन्य देशको तुलनामा नेपालीको उद्धार कार्य निकै छिटोछरितो भएकाले युद्धमा नेपालीहरूको ज्यान सुरक्षित रहेको बताए। उनले उद्धारको कार्य सम्पन्न भएपछि उनीहरूको पुर्नस्थापना गर्ने कार्य चुनौतीपूर्ण रहेको पनि बताए।

युद्ध भएपछि युक्रेनमा रहेका नेपालीहरू आफ्नो ज्यान बचाउन पोल्याण्ड, स्लोभाकिया, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेका छन्। पछिल्लो तथ्यांक अनुसार हालसम्म पोल्याण्डमा ४६६, स्लोभाकियामा ७८ रोमानियामा २८ , हंगेरीमा ८ र ४ जना माल्दावा पुगेका हुन्। हालसम्म ५८४ जना नेपाली सुरक्षित गन्तन्यमा पुगेका छन्।

राजदुत खड्का अनुसार ३ जना नेपालीलाई भारतीय उडान मार्फत उद्धार गरिएको छ। उनीहरू भारतको नयाँ डिल्ली हुँदै नेपाल जाने तयारीमा छन्। युक्रेनबाट निस्के मध्ये ४० जना नेपालीले यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ। झन्डै ३८ जनाको परिवार आफ्नो व्यवसाय सहित स्थायी बसोबास गर्दे आएकाले पारिवारिक, कानुनी र व्यावहारिक कारण युक्रेनमा छन्।

बैठकलाई सम्बोधन गर्दै उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीले युक्रेनको युद्धमा परेका नेपालीको उद्धारको लागि नेपाली समुदायले सहयोग गरेकाले नेपालीहरूको समयमै उद्धार गरेर ज्यान बचाउन सफल भएको बताए।

उनले नेपालीहरूको उद्धारको लागि संयुक्त राष्ट्रसंघका एजेन्सीहरूसंग काम गर्न इच्छुक रहेको बताउँदै गैर आवासीय नेपाली संघको संन्जाल संसारकै उत्कृष्ट लिस्टमा अन्तराष्ट्रिय समुदायले राखेको जानकारी दिए। उनले एनआरएनए  सञ्जाल सक्रिय भएकाले छिटो उद्धार सम्भव भएको बताए।

गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष लोकप्रसाद दाहालले युद्धपीडित नेपालीहरूको पुर्नस्थापनाका लागि आर्थिक संकलन गर्न आग्रह गरेका छन्। उनले युद्धमा परेका नेपालीको दुःखमा साथ दिन सबैलाई हातेमालो गरेर अघि बढ्न अनुरोध गर।

पीडितका लागि आर्थिक सहयोग संकलन समिति गठन गरेको समितिको प्रेस संयोजक चिरन शर्माले जानकारी दिए। एनआरएनए पोल्याण्डका अध्यक्ष जीवन केसीले नेपालीको सहयोगमा युद्ध पीडितहरूको उद्धार र व्यवस्थापन सफल भएको बताए। 

उनले युक्रेनबाट धेरै नेपाली पोल्याण्डमा आएकाले उनीहरूको व्यवस्थापनका लागि ठूलो चुनौती रहेको बताए। उनले २०३ जना नेपालीलाई संघको पहलमा बसोबासको व्यवस्था गरेको जानकारी दिए।

एनआरएनए हंगेरीमा संस्थापक अध्यक्ष सुरेन्द्र श्रेष्ठले ४ जना नेपाल फर्किएको र तीमध्ये २ जना भारतीय सरकारको सहयोगमा हवाईजहाजबाट नेपाल गएको जानकारी दिए। उनले युक्रेनमा चिकित्सा शिक्षा अध्ययनमा आएका विधार्थीहरूलाई हंगेरी सरकारले आफ्नो कोर्ष पुरा गर्न अवसर प्रदान गर्न लागेको बताए।

एनआरएनए स्लोभाकियाका प्रतिनिधि जय प्रकाश शिवाकोटीले अचानक आएको युद्धमा परेका नेपालीहरूलाई उद्धारमा दुतावास र नेपाली समुदाय मिलेर गरेको उद्धार एक उत्कृष्ट कार्य भएको बताए । उनले उद्धारमा जुट्ने सबै पक्षलाई धन्यवाद दिए। उनले रुस र युक्रेनको युद्ध अनिश्चित रहेकाले नेपालीहरू अझै सजक रहनुपर्ने बताए।

बैठकमा स्वास्थ्य समितिका संयोजक डा. बोध सुवेदीले युक्रेनतर्फबाट अन्य देशमा आउने नेपाली संख्या कम हुँदै गएको जनाकारी दिए। युद्धबाट विस्थापित नेपालीहरूलाई नेपालीद्धारा संचालित व्यवसायमा रोजगारीको अवसर दिनुपर्नेमा जोड र्दिए। उनले युद्ध पीडित नेपालीहरूलाई तत्काल आर्थिक र कानुनी सेवाको आश्यकता रहेको बताए।

रोमानियाका लागि नेपाली काउन्सिलर नवराज पोखरेलले नवराज पोखरेलले संचालन गरेको  बैठकमा संघका महासचिव डा हेम राज शर्मा, प्रवक्ता डिबी क्षेत्री लगायत १३ देशका एनआरएनए अध्यक्षहरूको उपस्थिति थियो।

बैठकमा चिरन्जीबी खड्का (चेक रिपब्लिका), सन्तोष भट्टराई (जर्मनी), सुनिल रानाभाट (स्पेन), एनआरएनए स्पेनका अध्यक्ष शालिकग्राम डुम्रे, एनआरएनए प्रोर्चुगलका महासचिव राजकुमार थापा, एनआरएनए डेनमार्कका अध्यक्ष शैलेन्द्र अधिकारी, एनआरएनए अष्ट्रियाकी अध्यक्ष भवानी तिवारी, चित्र सुवेदी (बेल्जियम), हेमराज सुवेदी (स्पेन), एनआरएनए स्वीजरल्याण्डकी अध्यक्ष शुभ एल्मर लामा लगायतले आआफ्नो भनाइ राखेका थिए।

प्रकाशित: २६ फाल्गुन २०७८ ०३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App