१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
प्रवास

भर्जिनियाको संसद्‌मा प्रतिस्पर्धा गर्दै तिवारी

वासिंटन डिसी (अमेरिका)— अमेरिकास्थित भर्जिनिया राज्यको तल्लो सदन (हाउस अफ डेलिकेट)को निर्वाचनमा डेमोक्रेटिक पार्टीले एकजना नेपालीमूलका उम्मेद्वार बनाएको छ। आगामी नोमेम्बर ३ मा हुने राज्यसभाको निर्वाचनका लागि क्षेत्र नम्बर ८७ बाट डेमोक्रेटिक पार्टीले जीवन तिवारीलाई प्रतिष्पर्धामा उतारेको हो। पार्टीको तर्फबाट आउस अफ डेलिकेटमा उम्मेद्वार बन्ने दौडमा रहेका दुईजनाले तिवारीलाई समर्थन गर्दै नाम फिर्ता लिएपछि उनी सर्वसम्मत चयन भएका हुन्।

 

८० हजार मतदाता रहेको यस क्षेत्रमा २५ प्रतिशत एसियन–अमेरिकीको बसोबास छ। पार्टीको समर्थक बाहेकको यो मतप्रति उनी आशावादी छन्। भन्छन्– 'पार्टीको समर्थकका अतिरिक्त यो २५ प्रतिशत मत मेरो जीतका लागि पर्याप्त छ।' यसै पनि अमेरिकामा रिपब्लिकन पार्टीको तुलनामा आप्रवासीको मत डेमोक्रेटिक पार्टीका उम्मेदवारले बढी पाइरहेका छन्।

सन् २०१० मा थपिएको यो क्षेत्रमा दुईपटक निर्वाचन भइसकेको छ। दुवैपटक रिपब्लिकनका डेबिट रामादानले विजय हासिल गरेका छन्। व्यापारिक पृष्ठभूमिका रामादान यस क्षेत्रका धनाढ्य हुन्। दुई–दुई वर्षमा हुने निर्वाचनमा उनले पहिलोपटक डेमोक्रेटिक पार्टीका उम्मेद्वारलाई ५० र दोस्रोपटक १ सय ८७ मतको झिनो अन्तरले उछिनेका थिए। तिवारी यो परिणाम उल्टाउन गाह्रो नहुने बताउँछन्। प्रचारप्रसार ब्यापक बनाउनु आवश्यक छ। यसका लागि उनले निर्वाचन 'क्याम्पेनिङ म्यानेजर' नियुक्त गरी काम अघि बढाएका छन्।

तिवारीले महिलाको प्रजनन् अधिकारमा कानुनी लगाम लगाइनु नहुने तथा बालबालिकाको शिक्षा र हेरचाहमा राज्य सरकारलाई अझ बढी उत्तरदायी बनाउने तिवारीका चुनावी मुद्दा छन्। 'पार्टीको उदारवाद र सुधारवादको नीतिभित्र रहेर अन्य थुप्रै एजेन्डा अघि सार्ने तयारी भइरहेको छ' उनले नागरिकन्युजसँग भने।

भर्जिनियामा डेमोक्रेटिक एसिएन–अमेरिकन ककसको केन्द्रीय सदस्य र अमेरिका–नेपाल सोसाइटी (एएनएस्) का अध्यक्ष समेत रहेका तिवारी, यो देशमा बसेर पनि नेपालीहरूले 'होमफिल' गर्न नसकिरहेको गुनासो गर्छन्।

मुलुकको थुप्रै प्राविधिक तथा सेवा क्षेत्रमा नेपालीहरू क्रियाशील रहेको उल्लेख गर्दै उनवले भने– जुनसुकै परिस्थितिले यहाँ बसे पनि नेपालीहरू अमेरिकालाई आफ्नै मुलुकको रूपमा स्वीकार्न अझै अप्ठेरो मान्छन्।' उनका अनुसार यसको कारण कानुन निर्माण र कार्यन्वयन गर्ने ठाउँ अर्थात् समग्र राजनीतिक क्षेत्रमा नेपालीको पहुँच नहुनु हो। अमेरिकामा रहेको नेपाली समुदायसँग ठूलो आशा–भरोशा राखेको जानकारी दिँदै, तिवारले हाउस अफ डेलिकेटमा एउटा नेपाली चुनिने यस अवसरलाई सार्थक बनाउन सबै सँग सहयोगको अपेक्षा राखेको बताए।

भर्जिनियाको मनासस सहरमा बशोबास गरिरहेका तिवारी नेपालको कास्की जिल्ला लेखनाथ नगरपालिका बेगनासमा जन्मेका हुन्। उनी सन् २००४ मा अमेरिका आएका थिए्। उनी २००९ सालदेखि डेमोक्रेटिक पार्टीमा आबद्ध छन् । यस निर्वाचनमा विजय हासिल गरे भने तिवारी अमेरिकी राज्यसभाको जननिर्वाचित पहिलो नेपाली सदस्य बन्ने छन्। अहिलेसम्म पार्टीको आन्तरिक निर्वाचनमा प्रतिष्पर्धा गरे पनि कुनै नेपाली पार्टीको उम्मेद्वार भई जनतासँग भोट माग्नसक्ने हैसियतमा पुगेका छैनन्।

प्रकाशित: १७ चैत्र २०७१ ०१:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App