क्यारेबियन क्षेत्रबाट अमेरिका पसेको समुद्रीआँधी स्यान्डीले सोमबार न्युयोर्कका भूमिगत र सुरुङ मार्गसमेत जलमग्न बनाएको छ। स्यान्डीको प्रकोपमा १६ जनाको ज्यान गएको छ। मौसमविदले स्यान्डी अहिलेसम्म अमेरिकामा आएको सबैभन्दा ठूलो र भयानक समुद्री आँधी भनेका छन्। स्यान्डी न्युजर्सीमा सोमबार राति पसेको थियो। म्यानहटनको तटीय क्षेत्रमा स्यान्डीका कारण १४ फिटसम्मका समुद्री छाल आएको छ। यसअघि सन् १९६० मा डोनाका कारण १० फिटको समुद्री छाल आएको थियो।
प्रशासनले अमेरिकाका दर्जन राज्यमा पूर्वी तटीय क्षेत्रमा बसोबास गर्ने १० लाखभन्दा बढीलाई घर छोडी पश्चिमी क्षेत्रका सुरक्षित स्थानमा जान अपिल गरेको थियो। प्राकृतिक प्रकोपबारे अनुमान गर्ने एक कम्पनीले स्यान्डीबाट २० अर्ब अमेरिकी डलर बराबर क्षति हुने अन्दाज गरेको छ। यसमध्ये १० अर्ब डलर बराबरको मात्र बिमा गरिएको उक्त कम्पनीले जनाएको थियो।
स्यान्डीले राष्ट्रपति निर्वाचनको एक सातापूर्व नै प्रचार अभियान बिथोलेको छ भने त्यहाँको आर्थिक कारोबार दुई दिन ठप्प पारेको छ। नोभेम्बर नौमा हुने राष्ट्रपति निर्वाचनको एक साताअघि आएको स्यान्डीले राष्ट्रपति बाराक ओबामा र रिपब्लिकन उम्मेदवार मिट रोम्नी दुवैको प्रचार अभियान रद्द गराएको छ।
न्युयोर्कका मौसमविद जेफ्रि टङले न्युयोर्कमा स्यान्डीको गति ९० माइल प्रतिघण्टा रेकर्ड गरिएको बताए। अमेरिकाको आर्थिक राजधानी न्युयोर्कका भूमिगत मार्ग र सुरुङमा बाढी पसेको छ। यसले त्यहाँको भूमिगत मार्ग र सुरुङ मार्ग निकै दिन बन्द हुने अनुमान छ। सडक र रेल यातायात, पुल र एयरपोर्ट बन्द भएका छन्। न्युयोर्कका अधिकांश क्षेत्रमा विद्युत आपूर्ति ठप्प भएको छ। न्युयोर्कको मेट्रोपोलिटन ट्रान्सपोर्टेसन अथारिटीले भूमिगत मार्ग र सुरुङ मार्गमा भरिएको पानी निकालेर यातायात सुचारु गर्न १४ घण्टादेखि चार दिनसम्म लाग्नसक्ने जनाएको छ।
स्यान्डीका कारण भर्जिनियादेखि मेनसम्मका उत्तरपूर्वी १३ राज्यका ७० लाखभन्दा बढी अन्धकारमा बस्न बाध्य भएका छन्। न्युयोर्कको म्यानहटनदेखि वेस्टचेस्टर काउन्टीलगायत क्षेत्रमा बन्द भएको विद्युत आपूर्तिबाट नै छ लाख ५० हजारभन्दा बढी प्रभावित भएका छन्। न्युयोर्क विश्वविद्यालय अस्पतालमा विद्युत आपूर्ति बन्द भएको र जेनेरेटर समेत आँधीबाट प्रभावित भएपछि त्यहाँबाट २६० बिरामीलाई अन्यत्र सारियो। अन्य बिरामीलाई समेत अन्य अस्पतालमा सार्न थालिएको छ।
विद्युत आपूर्ति ठप्प भएपछि आँधी प्रभावित उत्तरपूर्वी राज्यमा मोबाइल, इन्टरनेट र तारसहितका टेलिफोनलगायत सञ्चार सेवा मंगलबार अवरुद्ध भएको छ। दूरसञ्चार कम्पनीका कार्यालयसहित जेनेरेटर र ब्याट्री समेत बाढीमा डुबेकाले सञ्चार सेवा अवरुद्ध भएको कम्पनीले जनाएका छन्।
अमेरिकाको पुँजी बजार सोमबार र मंगलबार बन्द भयो। यसअघि सन् २००१ सेप्टेम्बर १ मा न्युयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा भएको आक्रमणका बेला मात्र अमेरिकी पुँजी बजार बन्द भएको थियो। वासिङटनमा प्रशासनले मंगलबार सरकारी कार्यालय र विद्यालय बिदा दिएको छ।
क्यारेबियन क्षेत्रमा ६१ जनाको ज्यान लिएर अमेरिकातर्फ लागेको स्यान्डीले पेन्सिलभानियामा लडाएको रुखले किचेर एक ८ वर्षे बालकसहित १६ जनाको ज्यान गएको छ। क्विन्सको छिमेकमा दुई दर्जन बढी घर आँधीका कारण भएको आगलागीबाट नष्ट भएका छन्। अमेरिको भर्जिनियादेखि म्यासाचुसेट्ससम्म विभिन्न राज्यका पाँच करोडभन्दा बढी जनसंख्या स्यान्डीबाट प्रभावित हुने जनाइएको छ।
समुद्रीआँधीबाट अमेरिका र बेलायतका गरि ५० हजार विमानयात्रु प्रभावित भएका छन्। क्वान्टास, कोरियन एयरलाइन्स, जापान एयरलाइन्स, ब्रिटिस एयरवेज र क्याथे प्यासिफिकलगायत अन्तर्राष्ट्रिय विमान सेवाले बुधबारसम्म समुद्रीआँधी प्रभावित क्षेत्रका उडान स्थगित गरेका छन्। न्युयोर्क, बोस्टन, वासिङटन, फिलाडेल्पि्कया र बाल्टिमोरका सबै उडान रद्द भएका छन्। करिब १४ हजार हवाइ उडान रद्द हुँदा विमान सेवालाई कम्तिमा एक करोड अमेरिकी डलर बराबर नोक्सान हुने बेलायती पत्रिका द इन्डिपेन्डेन्ट न्युजपेपरका ट्राभल एडिटर साइमन काल्डरले बताए।
नर्थ क्यारोलिनाको समुद्रतटबाट ९० माइल टाढा समुद्री आँधी स्यान्डीको १८ फुटे समुद्री छालले एचएमएस बाउन्टी जहाज डुबाएको छ। एक सय ८० फिट लामो जहाजका १४ चालक दलको उद्धार गरिएको छ। जहाजका कप्तान ६३ वर्षे रबिन वालब्रिज भने हराइरहेका छन्। जहाज कनेक्टीकटको न्यु लन्डनबाट फ्लोरिडाको सेन्ट पिटर्सबर्ग जाँदैथियो। सन् १९६२ मा निर्मित फिल्म ...म्युटिनी अन द बाउन्टी'का लागि निर्माण गरिएको थियो। यो जहाज सन् २००६ को ब्लकबस्टर फिल्म ...पाइरेट्स अफ द क्यारेबियनःडेडम्यान्स चेस्ट'को सुटिङमा समेत उपयोग गरिएको थियो।
स्यान्डीको प्रकोप यतिमा नै अन्त्य नभएको नेसनल वेदर सर्भिसले जनाएको छ। सर्भिसका अनुसार उत्तरी जर्जिया, न्यु इङल्याण्ड र मध्यपश्चिमी राज्यमा समेत स्यान्डीले ताण्डव मच्चाउनेछ। स्यान्डी क्यानाडासम्म पुग्ने अनुमान सर्भिसले गरेको छ। बुधबारसम्ममा पश्चिमी भर्जिनियाको पहाडी क्षेत्रमा स्यान्डीले २ देखि ३ फिटसम्म हिउँ पार्ने छ।
न्युयोर्कबाट पसेको स्यान्डी छिमेकी राज्य न्युजर्सी हुँदै पश्चिमी राज्य पेन्सिलभानियातर्फ बढेको अमेरिकाको नेसनल वेदर सर्भिसले जनाएको छ। सर्भिसका अनुसार न्युयोर्कमा पस्दा ९० माइल प्रतिघण्टाको गतिमा रहेको स्यान्डी पेन्सिलभानियातर्फ हानिँदा यसको गति ६५ माइल प्रतिघण्टामा झरेको छ।
प्रकाशित: १५ कार्तिक २०६९ ००:२८ बुधबार





