उक्त आक्रमणमा एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुईजना घाइते भएको एक अधिकारीले जनाएका छन्। बाघलान प्रान्त डुसी जिल्लामा अबेर राति विद्रोही आतङ्ककारीले आक्रमण गरेको हुनुपर्ने प्रहरीले अनुमान गरेका छन्।
यस आक्रमणमा एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुईजना घाइते भएको जिल्ला प्रमुख शाम्सुदिन सार्हादीले सिन्ह्वा समाचार समितिलाई बताए ।
बाघलान प्रान्तमा गत दुई वर्षयता तालिवानीसँग आवद्ध आतङ्ककारीको बलियो प्रभाव रहेको बताइएको छ।
यस महिनाको सुरुमा पनि त्यस प्रान्तमा तालिवानी र सुरक्षाबलबीच भएको भीडन्तमा ६ सुरक्षाबलको मृत्यु भएको थियो। सो आक्रमणमा एक दर्जन सर्वसाधारण घाइते भएको पनि समाचारमा उल्लेख छ। रासस/सिन्ह्वा
रातु नदीको पुल ढल्न सक्ने खतरा
बर्दिवास, १४ कात्तिक। पूर्व-पश्चिम राजमार्गअन्तर्गत महोत्तरी र धनुषा जिल्लाको सिमानामा पर्ने रातु नदीको पुल ढल्न सक्ने खतरा बढेको छ।
पुलमुनिबाट बालुवा ढुङ्गा झिक्ने क्रम तीव्ररुपमा बढेपछि ४०० मिटरको सो पुल चाँडै ढल्न सक्ने खतरा बढेको विज्ञहरुले बताएका छन्।
पछिल्ला वर्षहरुमा पुलमुनिबाटै बालुवा ढुङ्गा झिक्ने क्रम बढ्दा पुलका पिलरहरु हल्लिन थालेपछि पुल जुनसुकै बेला ढल्न सक्ने सम्भावना बढेको विज्ञहरुको भनाइ छ।
पुलमुनिबाटै बालुवा ढुङ्गा खन्दा पिलरको जग खोसि्रएर पुल कमजोर भएकाले यसको आयुबारे कुनै यकिन गर्न सकिने अवस्था नरहेको पुल तथा सडक निर्माण कार्यका विशेषज्ञ महोत्तरी जिल्ला भङ्गाहा-४ का बासिन्दा इन्जिनियर शिवदेव साहले बताउनुभयो।
करिब साढे चार दशकअघि तत्कालीन सोभियत सङ्घको सहयोगमा निर्मित सो पुलमुनि नै सञ्चालनमा रहेको क्रसर उद्योग र रातु नदीबाट बालुुवा ढुङ्गा उठाउने इजाजत पाएको ठेकेदार कम्पनीले अनाधिकृतरुपमा बालुवा ढुङ्गा निकाल्दा पुलको अवस्था नाजुक बनेको विज्ञहरुको ठहर छ।
पुलको एक किलोमिटर तलमाथिको दूरीमा बालुवा ढुङ्गा खोसि्रन, निकाल्न र उठाएर अन्यत्र लान कानुनी प्रतिबन्ध रहेको नेपाल बार एसोसिएसन महोत्तरी एकाइका अध्यक्ष रामशङ्कर साहले बताउनुभयो। तर क्रसर उद्योगी र ठेकेदार कम्पनीले कानुनी प्रक्रियाको ठाडो उल्लङ्घन गरेकाले पुलको जग हल्लिएर जुनसुकै बेला ढल्ने स्थितिमा पुगेको विज्ञ इन्जिनियरहरुको भनाइ छ।
रातु नदीमा बालुवा ढुङ्घाको ठेक्का बन्दोवस्त महोत्तरी र धनुषा जिविसले संयुक्तरुपमा गर्ने गरे पनि क्रसर उद्योगी र ठेकेदार कम्पनीको मनपरी रोक्न दुवै जिविस र स्थानीय प्रशासनको मौनता रहस्यपूर्ण बनेेको बर्दिवास-७ का नाम बताउन नचाहने एक ७५ वर्षीय वृद्धले बताए।
क्रसर उद्योगी र ठेकेदार कम्पनीले दुवै जिविस र स्थानीय प्रहरी प्रशासनलाई प्रभावमा लिएर नै हाकाहाकी बल मिच्याइँ गरेका बर्दिवासका केही युवाको आरोप छ।
जिल्ला प्राविधिक कार्यालय महोत्तरीका डिभिजनल इन्जिनियर तथा जिविसका निमित्त स्थानीय विकास अधिकारीसमेत रहनुभएका मोहनबाबु यादवले आफू जिल्लाका लागि नयाँ भएकाले यसबारे बुझ्न बाँकी रहेको बताउनुभयो।
मुलुककै मुख्य राजमार्गको पुलको सुरक्षाबारे उपल्लो सरकारी निकाय, स्थानीय निकाय र स्थानीय प्रशासनले तत्कालै चासो बढाउनुपर्ने जिल्लाका बुद्धिजीवीहरुको भनाइ छ। रासस
प्रकाशित: १४ कार्तिक २०६९ ०१:२० मंगलबार





