८ आश्विन २०८३ बिहीबार
image/svg+xml
प्रवास

अस्ट्रेलियाले प्रतिबन्ध हटायो

नयाँ दिल्ली, कात्तिक २ (एजेन्सी)- अस्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्डले बुधबार भारतका राष्ट्रपति प्रणव मुखर्जीसँग नयाँ दिल्लीमा भेट गरेकी छन्।
उनले भारतलाई युरेनियम बेच्न लगाएको प्रतिबन्ध हटाएको बताएकी छिन्। तीनदिने भ्रमणमा भारत आएकी जुलियाले भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग समेत वार्ता गरेकी छिन्। उनले आणविक विद्युत उत्पादनका लागि भारतलाई युरेनियम बेच्ने विषयमा सिंहसँग कुराकानी गरेकी छिन्। यसअघि अस्ट्रेलियाले भारतलाई युरेनियम बिक्रीमा रोक लगाएको थियो। गएको डिसेम्बरमा अस्ट्रेलियाको सत्तारुढ लेबर पार्टीले भारतलाई युरेनियम बिक्रीमा लामो समयदेखि लगाएको रोक हटाएको थियो।
विश्वमा युरेनियमको ४० प्रतिशत हिस्सा अस्ट्रेलियासँग छ। अस्ट्रेलियाले चीन, जापान, ताइवान र अमेरिकालाई युरेनियम आपूर्ति गरिरहेको छ। न्युक्लियर नन प्रोलिफेरेसन टि्रटीमा हस्ताक्षर नगरेका कारण भारतलाई अस्ट्रेलियाले युरेनियम बिक्री नगरेको हो।
जुलियाले वार्ताका क्रममा आगामी एकदुई वर्षभित्र भारतलाई युरेनियम बिक्री गर्न सकिने सम्भावना व्यक्त गरेकी छिन्। भारत सरकार र सञ्चारमाध्यमले भारतलाई युरेनियम आपूर्तिमा लगाएको प्रतिबन्ध हटाएकोमा स्वागत गरेका छन्।
बुधबार उनले भारतको राजधानी नयाँ दिल्लीमा राष्ट्रपति मुखर्जीसहित मन्त्री र सरकारका उच्च अधिकारीसँग भेट गरेकी छन्। प्रधानमन्त्री जुलियाको भारत भ्रमण द्विपक्षीय सम्बन्ध र व्यापार विस्तारमा केन्द्रित छ। वर्षेनी २० प्रतिशतका दरमा वृद्धि भैरहेको भारत-अस्ट्रेलिया व्यापार अहिले २० अर्ब अमेरिकी डलर बराबर हुने गरेको छ।
मंगलबार उनले भारतका विख्यात क्रिकेट खेलाडी सचिन तेन्दुल्करलाई अस्ट्रेलियाको सर्वोच्च सम्मानमध्येको एक 'द अर्डर अफ अस्ट्रेलिया' दिने घोषणा गरेकी थिइन्।
बुधबार नयाँ दिल्लीको राजघाटस्थित भारतका राष्ट्रपिता महात्मा गान्धीको समाधीमा सम्मान अर्पण गर्न गएका बेला जुलिया लडेकी छन्।

प्रकाशित: १ कार्तिक २०६९ २१:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App