कार्कीजस्तै भाषा सिकेर कोरिया, इजरायल, जापान तथा युरोपका देशमा भाग्य बनाउन जान चाहने नेपाली युवा हजारौं छन्। राजधानी र देशका प्रमुख शहरहरूमा खुलेका हिब्रू, कोरियन भाषाका संस्थाहरूमा अहिले हजारौं युवा भाषा सिकिरहेका छन्। केही संस्थाले त अरबी भाषाको पनि अध्ययन गराउने तयारी गरिरहेका छन्।
ज्यादातर युवा कोरियन भाषाप्रति आकर्षित छन्। कोरिया पुगेपछि नेपालीले सामान्य कामदेखि कृषिका कामसम्म पाउने गर्छन्। कोरियन भाषा सिकिरहेका काठमाडौं, पुतलीसडक बस्ने बबिन अधिकारी भन्छन्, 'चार पटक भयो, इपिएसमा भाग लिएको। पास हुन सकेको छैन। तर, कोरिया नगई छाड्दिन।'
कम लगानीमा राम्रो आम्दानी हुने देश भएको र सरकारले नै श्रम सम्झौता गरेका कारण कोरिया धेरै नेपाली युवाको सपनाको देश भएको छ।
कोरियाको स्कान शहरस्थित धागो कम्पनीमा कार्यरत दीपक भारती इमेलमार्फत भन्छन्, 'मेहनत धेरै गर्नुपरे पनि सरकारले नै सम्झौता गरेका कारण जोखिम ज्यादा हुँदैन। तर, नेपाली शहरमा भन्दा यहाँ ज्यादा नङ्ग्रा खियाउनुपर्छ।' कामकै बोझका कारण कतिपय नेपाली युवाले आत्महत्या गरेका खबर पनि आइरहेका छन्। तर, मेहनत गर्ने अठोट लिएर कोरियाको तयार गरिरहेका र कोरिया छिरेकाहरूका लागि भने यो त्यति ठूलो चुनौती होइन। 'आफ्नो ठाउँमा आम्दानीको गतिलो बाटो नभएपछि वैदेशिक रोजगारीको तयारी स्वाभाविक छ। त्यसमध्ये पनि राम्रो आम्दानी हुने कोरियामा छिर्नु धेरैको लक्ष्य हुन्छ,' भारतीले भने।
नेपाली सडकमा बरालिएका युवाहरू कोरिया पुगेपछि काममा मात्र अभ्यस्त हुन्छन्। त्यहाँ गएर उनीहरू कामको महत्व बुझ्छन्। साताको एक दिन बिदा मनाउनु र बाँकी दिन गोरुझैँ जोतिनुमा उनीहरू अभ्यस्त हुँदै जान्छन्। स्कान शहरकै एक मोटर पाटर्स कम्पनीमा कार्यरत सन्तोष वन इमेलमार्फत भन्छन्, 'यो काम गर्नेहरूको शहर रहेछ। कोरियन हुन् वा विदेशी कामदार सबै एकसाथ मेहनत गर्छन्। पैसा पनि रामै्र कमाइन्छ यहाँ।'
सरकारले इपिएस प्रणालीमार्फत कोरियामा नेपाली कामदार पठाउने सम्झौता खुलाएकै वर्षदेखि कोरियाका लागि युवाहरूको संख्या अत्यधिक बढेको छ। प्रत्येक वर्ष कोरियन सरकारले नेपाली युवाहरूको संख्या थप गर्ने र माग गरेभन्दा ज्यादा कामदार पनि लग्न थालेपछि युवाहरूको आकर्षण बढेको छ। गत वर्षमात्र १० हजारका लागि खुलाएको परीक्षामा पास भएका १५ हजार नेपाली कामदारलाई कोरिया सरकारले लगेको थियो।
त्यसो त कोरिया सरकारले सन् २०१३ पछि १० भन्दा कम कामदारलाई रोजगारी दिएका साना तथा मझौला उद्योगले थप विदेशी कामदार ल्याउन पाउने प्रावधान राखेपछि नेपालीको भाग्य अझ बलियो हुने विश्वास पनि गरिएको छ।
कोरियाका अधिकांश साना उद्योगमा नेपाली, भियतनामी तथा कम्बोडियन कामदारको छनोट बढी हुने गरेको छ। तर, यो नियम पुषपछिमात्र लागु हुने बताइएको छ।
कोरियाको रोजगार तथा श्रम मन्त्रालयले विदेशी कामदारका लागि आवश्यक पर्ने प्रवासी मजदुरको कोटा निर्धारण गर्ने क्रममा यस्तो जानकारी दिएको थियो।
प्रवासी मजदुर जनशक्ति नीति ब्युरोको गत महिनाको अन्तिम साताको निर्णयअनुसार रोजगारी अनुमति प्रणाली (इपिएस) मार्फत सन् २०१३ का लागि ६२ हजार प्रवासी मजदुर भित्र्याउने घोषणा गरिसकेको छ। यसमध्ये १० हजार कोरियामा काम गरेर दक्षता हासिल गरेका पुराना कामदारको श्रम अवधि थपिने जनाइएको थियो भने गएको वर्षको तुलनामा कोरियाले पाँच हजार बढी कामदार भित्र्याउने भएको छ। कोरिया सरकारको मागअनुसार नेपाली युवाशक्तिले आगामी वर्ष कोरिया पुग्ने सपना पूरा गर्न सक्ने अनुमान गरिएको छ।
प्रकाशित: २५ आश्विन २०६९ ०३:१४ बिहीबार





