८ वैशाख २०८१ शनिबार
प्रवास

नेपाली कांग्रेसले विदेशमा बसेर पार्टीका नेतालाई गाली गर्नेविरुद्ध कारबाही सुरु गर्‍यो

नेपाली कांग्रेसले विदेशमा बसेर पार्टी नेतालाई गालीगलौज गर्नेविरुद्ध कारबाही सुरु गरेको छ। सामाजिक सञ्जालमार्फत् पार्टी र नेताको व्यक्तिगत छविमा समेत आँच आउने अभिव्यक्ति दिनेविरुद्ध कांग्रेसले कारबाही सुरु गरेको हो।

नेपाली जनसम्पर्क समिति बेल्जियमका पूर्वसभापति गंगाधर गौतमका अनुसार नेपाली कांग्रेसले जनसम्पर्क समिति बेल्जियमकी संयोजक सीता सापकोटालाई पार्टी अनुशासनविरुद्ध गतिविधि गरेको भन्दै लिखित स्पष्टिकरण पेश गर्न भनेको छ। पार्टी कार्यालयको चलानी नम्बर १०८८र७७ र मिति १७ असार २०७७ को पत्र अनुसार सापकोटालाई २० दिनभित्र लिखित स्पष्टिकरण दिन भनिएको छ।

यसअघि सापकोटाले पार्टी नेता विमलेन्द्र निधिलाई मधेशीको मतियार भएको आरोप लगाएर सामाजिक सञ्जालमा अभिव्यक्ति दिएकी थिइन्। सापकोटाले पटक–पटक पार्टीको निर्णय र निर्देशनलाई अपहेलना गर्दै आएको आरोप लागेको छ। उनले नेता निधिले पार्टी र सभापति देउवालाई सिध्याएको भन्दै आफ्नो फेसबुक टाइमलाइनमा स्ट्याटस लेखेपछि उनीविरुद्ध पार्टी कार्यालयमा उजुरी परेको थियो। सापकोटाविरुद्ध नेपाली जनसम्पर्क समिति युरोप संयोजक दिल गुरुगंले पार्टीमा उजुरी दिएका थिए।

वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिने सापकोटाले पार्टीको पत्रबारे अनविज्ञता प्रकट गरिन्। मलाई पत्र प्राप्त भएको छैनु सापकोटाले भनिन, यदि पत्र आएछ भने, पठाइदिउला तयारी अवस्थामा बस्नुस्।

गत साता नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्वसभापति विष्णु सुवेदीले जुम बैठकमा पार्टी सभापतिबिरुद्ध अभिव्यक्ति दिएर गाली गलौजमा उत्रेपछि पार्टीले कारबाही गरेको थियो। उनलाई नेपाली जनसम्पर्क समिति अमेरिकाले पार्टीको महासमिति सदस्यबाट निलम्वन गर्न सिफारिस गरेको थियो।

विदेशमा ३० भन्दा बढी देशमा रहेको नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिका पदाधिकारीहरु अराजक देखिएपछि पार्टीका केही केन्द्रीय नेताहरुले नेपाली जनसम्पर्क समितिको औचित्य समाप्त भएको अभिव्यक्ति दिएका छन्। यसअघि पार्टीले विदेशी नागरिकता लिएका जनसम्पर्क समितिका नेता तथा कार्यकर्तालाई महाधिवेशनमा भाग लिन बन्देज लगाएको थियो।

प्रकाशित: २६ असार २०७७ ०७:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App