७ वैशाख २०८१ शुक्रबार
प्रवास

चार्टर उडानको भाडा महँगो भएपछि विदेशमा रहेका नेपाली असन्तुष्ट

सरकारले कोभिड १९ का कारण विदेशमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउन तोकेको हवाई भाडा महँगो भएको भन्दै खाडी तथा मलेसियाका नेपालीहरुले असन्तुष्टि व्यक्त गरेका छन्। संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री योगेश कुमार भट्टराईको नेतृत्वमा बसेको बैठकले ११ जुनदेखि २५ जुनसम्म ५ सय डलरदेखि ७ सय ७० डलरसम्म भाडा लिएर खाडी तथा मलेसियामा फसेका नेपालीलाई विमान चार्टर गरेर स्वदेश फर्काउन गरेको निर्णय सच्च्याउनुपर्ने आवाज समेत उठेको छ।

सरकारले गरेको निर्णय पछ्याउँदै खाडी तथा मलेसियाका नेपाली दुतावासहरुले भाडादर तोकेर सूचना निकालेपछि महिनौंदेखि रोजगारी गुमाएका , भिजिट भिजामा आएर अलपत्र परेका तथा विभिन्न समस्यामा फसेका नेपाली चिन्तित बनेका छन्। यस्तै कम्पनी बन्द भएर मजदुर क्याम्पमा बसेका हजारौं नेपालीहरु कम्पनीले टिकटको खर्च नदिए घर फर्कनै नसक्ने स्थिति बनेको छ।  

युएईमा मात्रै ३ महिनादेखि एनआरएनएले उपलब्ध गराएको खाद्यान्नको भरमा बाँचिरहेका ५ हजार नेपाली तुरुन्तै घर फर्कन चाहन्छन्। यसबाहेक आफ्नै खर्चले जेनतेन बाँचिरहेका २० हजार बढी नेपाली घर फर्कन तयार छन्। तर अधिकांशसंग सरकारले तोकेको भाडा ५ सय डलर तिर्नेअवस्था छैन। “आज खाएर भरे के खाने भन्ने स्थितिमा रहेकाहरुले कहाँबाट ल्याउँछन ५ सय डलर” एनआरएनए युएईका अध्यक्ष प्रकाश कोईराला बताउँछन्। सरकारले तोकेको भाडा समयसापेक्ष र व्यवहारिक नभएकोले यसलाई घटाउनुपर्ने उनको भनाई छ।

दुबई प्रहरीसँगको समन्वयमा ४ महिनादेखि युएईमा अप्ठ्यारोमा परेका नेपालीहरुको उद्दार एवं सहयोगमा खटिरहेका द्रुत उद्दार दल (क्युआरएफ) का संयोजक एवं एनआरएनए युएईका उपाध्यक्ष पासाङ शेर्पा भन्छन् – “दुबईमा मात्रै रोजगारी गुमाएर बेखर्ची बनेका सयौंलाई ३ महिनादेखि एनआरएनएले पालिरहेको छ। उनीहरुसंग ५ सय डलर तिर्ने हैसियत छैन।”

उता साउदी अरेबियाको जेद्दामा करार सकिए लगत्तै लकडाउनमा फसेका मोरङका रमेश भण्डारी सरकारले तोकेको भाडा सुनेर आश्चर्यचकित  भएको बताउँछन्। उनी भन्छन् “गोजिमा ५ रियल छैन , कहाँबाट ल्याउनु ७७० डलर ?” सरकारले आगामी सोमबारदेखि साउदी अरेबियाबाट अलपत्र परेका नेपाली घर फर्काउन ६ सय ३० डलरदेखि ७ सय ७० डलरसम्म भाडा तोकेको छ। त्यहाँबाट ७ हजार नेपाली तुरुन्तै स्वदेश फर्कन चाहन्छन्।

मलेसियाको जोहोरबारुमा रहेकोे एक ईलेक्ट्रोनिक्स कम्पनीमा कार्यरत ३५ नेपाली करार सकिएपछि रोजगारविहिन बनेको २ महिना भइसकेको छ। उनीहरु सबै तुरुन्तै घर फर्कन चाहन्छन्। कम्पनीले दिएको खर्च सकिएर बेखर्ची बनेपछि अब उनीहरुको घर फिर्ती अनिश्चित बनेको छ।  

सरकारले पुर्ववत अवस्थाको दोहोरो भाडा दर भन्दा ३०देखि ४० प्रतिशत महंँगो भाडादर राखेर नेपाल एयरलाइन्सको २४ , हिमालय एयरलाईन्सको १९ र विदेशी एयरलाइन्सको २४ गरि ६७ वटा उडान तयार गरेको छ। खाडीका देश र मलेसियाबाट मात्रै पहिलो चरणमा १७ हजार ७७४ जनालाई ल्याउने सूची तय भएको छ।  

उता कुवेतबाट आममाफी पाएका २ सय ९९ जना नेपाली महिला कामदारलाई कुवेत सरकारले आफ्नै खर्चमा बिहिवार नेपाल पठाएको छ। आममाफी पाएर कुवेत सरकारको आश्रय स्थलमा बसिरहेका २ हजार ९ सय ९१ जना नेपाली कामदार मध्ये बिहिवार २ सय ९९ जना नेपाल फर्किएका हुन्। गत साता युएईबाट १ सय ६८ जना नेपाली कामदार नेपाल फर्किएका थिए।

प्रकाशित: ३० जेष्ठ २०७७ ०५:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App