coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

आशै-आशमा टर्‍यो घर जाने सपना

स्पष्ट निर्देशन नआउँदा दूतावास अलमलमा

बिहीबार अबेर सार्वजनिक भएको घर फर्किन पाउने समाचारले धादिङकी कमला मैनाली फुरुङ्ग भइन्। उनी ७ महिनाकी गर्भवती छिन्। अबुधाबीको एक ५ तारे होटेलमा कार्यरत श्रीमानसंगै डेढ वर्षदेखि बस्दै आएकी छिन्।

महङ्गो अस्पताल खर्च त्यसमाथि सुत्केरीको बेला हेरविचार गर्ने आफन्तहरु नहुँदा उनी नेपाल मै बच्चा जन्माउन चाहन्छिन्। त्यसैको आशमा उनले नेपाली दूतावासले आव्हान गरेको फारम पनि भरिन्।

दूतावासले निर्धारण गरेको प्राथमिकताको सूचीमा आफ्नो नाम अगाडि रहेकाले पहिलो उडानमै घर फर्किन पाउने कुरामा उनी ढुक्क थिइन्। दूतावासले समेत उडान निश्चित भएपछि प्राथमिकतामा परेकाहरुलाई खबर गर्ने बताउँदै आएको थियो। तर शुक्रवार बिहान १० बजेसम्म पनि उनले दूतावासबाट कुनै खबर पाइनन्।  

दूतावासले तोकेका प्रतिनिधिहरुको फोन नउठेपछि मध्याह्न उनले एनआरएनएका एक प्रतीनिधीसंग संपर्क गरिन्। उताबाट दुई कम्पनीका नेपाली कामदारहरु बोकेर एयर अरेबियाको जहाज उडिसकेको खबर पाएपछि उनी छाँगाबाट खसे जस्तै भइन्।  

कमला त प्रतिनिधि पात्र मात्रै हुन्; उनी जस्ता ५० भन्दा बढी गर्भवती, आफन्त गुमाएर संस्कार गर्न नपाएका, ईन्टरशिप सकाएर घर फर्किने दिन कुर्दै बसेका विद्यार्थी, भिजिट भिजाको समयावधि सकिएका, रोजगार गुमाएर शरणार्थी झैंं बनेका तथा दलालको ठगीमा परेर अलपत्र परेका सयौं नेपाली आफुहरुलाई लैजान नेपाल सरकारले पठाएको जहाज आउने बाटो हेरेर बसेका छन्।

निकै अघिदेखि घर फर्किन चाहने नेपालीहरुलाई आफ्नै खर्चमा काठमाडौ ओराल्ने बताउँदै आएको युएई सरकारसंग नेपालको परराष्ट्र मन्त्रालय र दूतावासले समन्वयकारी भुमिका खेल्न नसक्दा शुक्रवार युएईको सारजाहबाट काठमाडौ जहाज उडे पनि सरकारको प्राथमिकतामा परेकाहरु घर फर्किन पाएनन्।  

दूतावासले गर्भवती महिला, भिजिट भिसामा आएर अलपत्र परेका, ज्येष्ठ नागरिक, कोरोना बाहेकका अन्य बिरामी, नेपालमा आफन्त गुमाएका नागरिकलाई प्राथमिकताको आधारमा पहिलो उडानबाट पठाउन यूएईको सम्बन्धित निकायमा पत्र पठाए पनि एयर अरेबियाले शारजाहको अन्तर्राष्ट्रिय विमानस्थलबाट प्राथमिकतामा नपरेका दुई कम्पनीका १ सय ६८ नेपाली नागरिक लिएर उड्यो।  

प्राथमिकतामा रहेका नेपाली नागरिक बोकेर निःशुल्क उडान भर्ने गरि दूतावासको सिफारिसमा परराष्ट्रबाट निः शुल्क उडान भर्ने अनुमती लिएको भनिए पनी एयर अरेबियाले कम्पनीको सुविधा पाइरहेका नागरिक लिएर गएको थियो। यसले घर फर्किनका लागि दूतावासको फारम भरेका करिब २० हजार नेपालीलाई दुखित त बनायो नै नेपाल सरकार र नेपाली दूतावास युएईको सम्बन्धित निकायहरुसंग समन्वय गर्न चुकेको पुष्टि समेत गरेको छ।

स्पष्ट निर्देशन नआउँदा दूतावास अलमलमा

डेढ महिना अघिदेखि अबुधाबीस्थित नेपाली दूतावासले अनलाईन फारममार्फत घर फर्किन चाहने नेपाली नागरिकहरुको विवरण संकलन गरिरहेको छ।

दूतावासको वेबसाईटमा उपलब्ध गराईएको उक्त फारम भर्ने नेपालीहरुको संख्या अहिलेसम्म २० हजार पुगेको छ। ती मध्ये धेरै रोजगार गुमाएर खानेबस्ने समस्या भएका, कोठा भाडा तिर्न नसकेर कोठाबाट निकालिएका, कम्पनीले टर्मिनेट गरेका आदि रहेका छन्। गर्भवती महिला, ज्येष्ठ नागरिक, विद्यार्थी, भिजिट भिजामा रहेकाहरुले समेत घर फर्किन आवेदन दिएका छन्।  दूतावासले यिनैको विवरणका आधारमा सरकारले निर्धारण गरेको मापदण्ड अनुसारको प्राथमिकता निर्धारण गरिरहेको छ।  

परराष्ट्रबाट उद्धारको प्रक्रियाअघि बढाउन निर्देशन पाए लगत्तै घर फर्किन चाहने नेपालीहरुको विवरण अध्यावधिक गर्न दूतावासले सम्बन्धित व्यक्तिहरुलाई संपर्क गरेर थप विवरणहरु लिइरहेको दूतावासका एक अधिकारीले बताए। सरकारले घर फिर्तीको तयारीमा जुट्न निर्देशन दिएपनी धेरै विषयहरूका बारेमा अझै स्पष्ट निर्देशन नआइसकेकाले दूतावास आफै अलमलमा रहेको ती अधिकारीको भनाइ छ।

प्रकाशित: २५ जेष्ठ २०७७ ०३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App