७ वैशाख २०८१ शुक्रबार
प्रवास

सहयोगको नाममा मलेसियामा ठगी धन्दा माैलाउँदै

मलेसिया– करिब दुई महिनाअघि एक नेपाली युवती चन्दा उठाउन सिफारिस माग्दै क्वाललाम्पुरस्थित जलनआङपाङमा रहेको नेपाली दूतावासका प्रथमसचिव विनोद मुखियाको कार्यकक्षमा पुगिन्।

‘काठमाडौंमा हामी शिशु स्याहार केन्द्र चलाइरहेका छौं, उक्त केन्द्रका निम्ति सहयोग जुटाउन मलेसियामा रहेका नेपालीबाट चन्दा उठाउन चिठी बनाइदिुप-यो’ भन्दै ती युवतीले मुखियालाई आग्रह गरिन्। मुखियाले उनको पासपोर्ट हेरे। ‘ट्राभल’ भिसामा मलेसिया पुगेकी रहिछिन्। 

राजदूत बिदामा नेपाल गएकाले मुखिया नै कार्यबाहक थिए। उनले जथाभावी चन्दा उठाउन दूतावासले सिफारिस दिन नसक्ने भन्दै ती युवतीलाई फर्काइदिए। 

क्वालालाम्पुरमा प्रायः नेपाली भेटिरहने कोतारायाको एक नेपाली रेस्टुरेन्टमा तीन साताअघि बुटवल घर बताउने एक युवती चन्दा माग्दै पुगिन्। बुटवलमा आफूहरूले अनाथ आश्रम सञ्चालन गरिरहेको र त्यहाँ रहेका मिर्गौलापीडित र ब्लड क्यान्सरपीडित बालबालिकाको उपचारका लागि खर्च अभाव भएकाले सहयोग जुटाउनु उनको उद्देश्य थियो। साथमा आश्रम र त्यस्ता बालबालिकाका केही तस्बिर पनि बोकेकी थिइन् उनले। झण्डै एक महिना क्वालालाम्पुर बसेर उनले नेपाली रेस्टुरेन्ट तथा जमघटस्थलमा घुमेर सहयोग उठाइन्।

रेस्टुरेन्टमा खान आउने नेपालीहरूले १ मलेसियन रिंगेटदेखि ५० सम्म दिन्थे। उनी दैनिक ३ पटकसम्म कोतारायाका नेपाली रेस्टुरेन्ट पुग्थिन्। कोतारायाका नेपाली रेस्टुरेन्ट सञ्चालकहरूले ‘ट्राभल’ भिसामा आएकी ती युवती एक महिना क्वालालाम्पुर बसेर करिब २० हजार रिंगेट अर्थात झण्डै साढे पाँच लाख नेपाली रुपैयाँ संकलन गरेर लगेको अनुमान गरे। 

यहाँ रहेका श्रमिकहरूका अनुसार नेपालीहरू खान आउने रेस्टुरेन्ट, नेपालीहरूको भीडभाड हुने पार्क र क्षेत्रहरूमा बेला बेलामा चन्दा संकलन गर्नेहरू भेटिन्छन्। 

माथिका दुई दृष्टान्त प्रतिनिधि घटना हुन्। वैदेशिक रोजगारीको क्रममा परदेशिएका नेपालीबाट स्वदेशमा समाजसेवा गर्ने बहानामा आर्थिक सहयोग उठाउन नेपालबाट त्यस्ता समाजसेवी बेलाबेलामा मलेसिया आइरहन्छन्। नेपालमा केही सामाजिक काम गर्दा आर्थिक सहयोग संकलन गर्न परदेशिएका नेपाली श्रमिकलाई नै लक्षित गर्ने गरिएको यहाँका नेपाली बताउँछन्।

पछिल्लो पटक धुर्मुस–सुन्तली फाउन्डेसनले क्रिकेट रंगशाला निर्माण गर्ने भन्दै मलेसियाका विभिन्न सहरमा कार्यक्रम गरेर फर्कियो। फाउन्डेसनको लक्ष्य पनि मलेसियामा रहेका नेपालीलाई कलाकारहरू धुर्मुस–सुन्तलीमार्फत शो देखाएर टिकट बिक्री गराउने भनिए पनि प्रायःलाई टिकटभन्दा बढी मूल्य बराबरको चन्दा हाल्न लगाउने नै थियो। 

फाउन्डेसनले क्वालालाम्पुर, पेनाङ र जोहरबारु गरी नेपालीको बाक्लो उपस्थिति रहेका तीन वटा सहरमा देखाइएको कार्यक्रममा टिकट बिक्रीबाहेक मात्र ३५ लाख रुपैयाँ उठायो। एउटा सहरमा ३ घण्टा कार्यक्रम गरेको फाउन्डेशनले टिकटमा प्रतिव्यक्ति २५ रिंगेट अर्थात् झण्डै ६ सय ७५ नेपाली रुपैयाँ लिएका थिए।

धुर्मुस–सुन्तलीको सहयोग संकलन अभियानप्रति कतिपयलाई चित्त बुझेको छैन। ‘उहाँहरू सामाजिक भावना भएको राम्रो मान्छे हो’, कोतारायामा भेटिएका श्रीराम पण्डितले भने, ‘तर विदेशमै पसिना बगाइरहेका श्रमिकबाट चन्दा उठाएर त्यत्रो ठूलो लगानीमा रंगशाला बनाउँछु भनेर लाग्नुभएको चाहिँ मनपरेको छैन।’ ३ अर्बको ठूलो योजना सरकारले नै बनाउनुपर्ने पण्डित तर्क गर्छन्। 

देश छाडेर परदेशमा पसिना बगाउन पुगेका नेपाली स्वदेशमा सामाजिक काम भनेपछि धक फुकाएर सहयोग गर्छन् पनि। ‘परदेशमा रहँदा देशको माया अझ बढी लाग्दोरहेछ’, दोलखाली समाज मलेसियाका अध्यक्ष रमेश बस्नेतले भने, ‘त्यसैले यस्ता सामाजिक काममा खुसी भएर नेपालीले पैसा दिन्छन्, तर त्यसको पारदर्शिता दिनेले खोज्दैनन्।’

रंगशाला निर्माणको घोषणा गरेरै सहयोग अभियान लिएर हिँडेका धुर्मुस–सुन्तलीलाई अपवादमा राख्दा अरू प्रायः चन्दा उठाउने दाउ राखेर सुटुक्क ट्राभल भिसामा छिर्छन् वा यहाँ रहेका विभिन्न संघसंस्थालाई प्रयोग गर्छन्। चन्दा उठाउने दाउ राखेर आफैं आएकाहरू काठमाडौंबाट ‘ट्राभल’ भिसामा क्वालालाम्पुर आएर बसेका नेपालीको बाक्लो बसोबास रहेका क्षेत्रहरूमा उनीहरू पुग्ने गर्छन्।

यहाँ रहेका श्रमिकहरूका अनुसार नेपालीहरू खान आउने रेस्टुरेन्ट, नेपालीहरूको भीडभाड हुने पार्क र क्षेत्रहरूमा बेला बेलामा चन्दा संकलन गर्नेहरू भेटिन्छन्। 

‘नेपालमा सामाजिक काम गर्न लागेको भनेर रेस्टुरेन्टमा भीडभाड भइरहेको समयमा चन्दा उठाउने आउने गर्छन्।’ कोतारायामा नेपाली रेस्टुरेन्ट सञ्चालन गरेर बसेका पाँचथरका कृष्णबहादुर आङदेम्बेले भने, ‘नेपालीहरू पनि खुसीले १ रिंगेट देखी ५० सम्म दिन्छन्।’ 

फेब्रुअरीकै ६ तारेखका दिन तीन जना युवाले क्वाललम्पुरमा नेपालीहरूको भेटघाट गर्ने थलो ‘घण्टाघर’ मा नेपालमा विद्यालयलाई सहयोग गर्ने भन्दै रसिद काटेर पैसा उठाइरहेका थिए। घण्टाघरमै जनवरी अन्तिम साता तीन जना नेपालीबीच संकलन गरिएको रकमको हिसाबकिताबको विषयलाई लिएर कुटाकुटसमेत भएको थियो। पछि नेपालीहरूले नै पुलिस केस नगर्ने गरी घटनालाई सामसुम पारेर मिलाएका थिए। 

यस्तै नेपालमा रहेका विद्यालय संघसंस्था वा सामाजिक कामका लागि रकम आवश्यक परे विदेशमा रहेका नेपाली संघसंस्थालाई परिचालन गर्ने चलन छ। त्यसका लागि संघ संस्थाले कन्सर्ट, सांगीतिक साँझलगायत कार्यक्रम गरेर सहयोग उठाउँछन्।

कतिपय अवस्थामा त्यस्ता सहयोग र खर्चका विवरण पारदर्शी हुदैनन्। गैरआवासीय नेपाली संघ, जिल्ला क्षेत्र, तहका सम्पर्क समाजहरू, विभिन्न जातीय, भेगीय, संघसंस्था गरेर मलेसियामा दर्जनौं त्यस्ता सामाजिक संस्था छन्। नेपालमा विद्यालय बनाउने, स्वाथ्य चौकी निर्माण गर्ने, अनाथ आश्रमलाई सघाउने,  दुःख पाएकालाई सहयोग गर्नेलगायत विभिन्न सामाजिक काम गर्ने नाममा हुने कार्यक्रम तथा अभियानका रकमको पारदर्शिताबारे त्यस्ता संस्थाभित्रका विवाद बेलाबेलामा बाहिर आउने गर्छ। 

दलनिकट जनवर्गीय र भ्रातृ संस्थासमेत नेपालमा सहयोग पठाउँदा कहिलेकाहीँ त हैरान हुन्छन्। ‘यहाँ कार्यरत मजदुर सदस्यहरूबाट हाम्रो संगठन चल्ने हो’, तत्कालीन नेकपा माओवादी केन्द्रनिकट नेपाली जनप्रगतिशील मञ्च मलेसियाका अध्यक्ष प्रेम पाण्डे भन्छन्, ‘कहिलेकाहीँ त चन्दा सहयोगका लागि स्वदेशबाट अनावश्यक दुःख पनि दिन्छन्।’

विदेशमा रहेकाहरुले यस्ता सामाजिक काममा सहयोग गर्न सक्छन् र उनीहरु आर्थिक रुपले सबल हुन्छन् भन्ने अभिप्रायले नेपालीहरुले रकम उठाइरहेका हुन सक्ने पाण्डे बताउँछन्। ‘यहाँ पसिना बगाएर साह्रै दुःखले गुजारा गरिरहेका हुन्छन्,’ पाण्डे भन्छन्, ‘कतिपय अनावश्यक विषयमा सहयोग माग्दाचाहिँ श्रमिकहरूलाई नराम्रो लाग्न सक्छ।’ 

कलाकार यसरी ठगिन्छन्

विभिन्न नाममा आयोजना हुने सांगीतिक साँझ, कन्सर्टलगायत कामका लागि नेपालबाट झिकाइने कलाकारसमेत त्यस्ता आयोजकबाट ठगिने गरेका छन्। दूतावासका कर्मचारीहरूका अनुसार नेपालबाट निम्ता गरिएका कलाकारलाई कबुलेको रकम नदिएको जस्ता उजुरी दूतावासमा पटक पटक आएको छ। 

संस्था दर्ता हुँदैनन्

मलेसियामा गठन गरिएका सामाजिक संघ संस्थालाई दर्ता हुन आउन दूतावासले पटक पटक आग्रह गर्दै आएको छ। ‘यहाँ रहेका नेपालीलाई दुःख पर्दा वा समस्या पर्दा यस्ता किसिमका संस्थामार्फत जान पाए हामीलाई पनि सजिलो हुन्थ्यो’, नेपाली राजदूतावास मलेसियाका प्रथम सचिव मुखिया भन्छन्, ‘तर त्यस्ता संस्थालाई दर्ता हुन आउनुस् भनेर पटक पटक आग्रह गरे पनि उहाँहरू दर्ता हुन आउनुभएकै छैन।’ उनले त्यस्ता संस्थामार्फत सहकार्य गर्न दूतावास तयार रहेको सुनाए।

 

प्रकाशित: २७ फाल्गुन २०७५ ११:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App