विश्वभर छरिएर रहेका नेपाली पत्रकारहरूको साझा अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय पत्रकार महासंघको जापान शाखा गठन भएको छ।
अमेरिकामा प्रधान कार्यालय रहेको अन्तर्राष्ट्रिय पत्रकार महासंघको जापान शाखाको अध्यक्षमा उत्तमप्रसाद गौडेल चयन भएका छन्।
महासंघको प्रधान कार्यालय अमेरिकाबाट जारी प्रेस विज्ञप्तिमा गौडेलको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति गठन गरिएको उल्लेख छ। अध्यक्ष गौडेल एभिन्युज टेलिभिजनका जापान व्यूरो प्रमुख तथा एक्स्क्लुसिभ न्युज टाइमका प्रधान सम्पादक समेत हुन्।
यसैगरि अन्तर्राष्ट्रिय पत्रकार महासंघ जापान शाखाको उपाध्यक्षमा गोकर्ण अधिकारीलाई चयन गरिएको छ। नेपालका विभिन्न रेडियो तथा पत्रिकामा कार्य गरिसकेका पत्रकार अधिकारी हाल कारोबार दैनिकका जापान संवाददाता तथा टपनेपालन्युज डटकमका सम्पादक तथा जापानबाट संचालित जापानसमाचारडटकमका प्रधान सम्पादक हुन्।
यसैगरि महासंघको जापान शाखा महासचिवमा मुक्ती सुबेदीले जिम्मेवारी पाएका छन्। सुबेदी राज्य टेलिभिजनको हाल जापान प्रतिनिधिको रूपमा कार्यरत छन्।
जापान शाखाको सचिवमा करिब २ दशकदेखि सञ्चारकर्ममा सक्रिय तथा हाल नागरिक दैनिकका जापान संवाददाता नारायण रिमालले जिम्मेवारी पाएका छन् भने कोषाघ्यक्षमा एक्सक्लुसिभ न्युज टाइमका अनलाइन कार्यक्रम संयोजक संगिता कुवरलाई चयन गरिएको छ।
यसैगरि सदस्यमा जापानसमाचार डटकमका सम्पादक जगतबहादुर खड्का ज्याक र हेर्ने कुराबाट लक्ष्मण पाठक चयन भएका छन्।
अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका केन्द्रले जापान शाखालाई केन्द्रसँग सम्वन्वय गर्दै संस्थाको नीति, नियम र विधानअनुसार कार्य अघि बढाउन अनुमति दिइएको जनाएको छ।
अन्तर्राष्ट्रिय पत्रकार महासंघको जापान शाखाले छिट्टै औपचारिक रूपमा जापान शाखा गठन बारेमा जानकारी गराउने र जापानभर छरिएर रहेका विभिन्न मिडियामा आबद्ध तथा स्वतन्त्र रूपमा पत्रकारिता गर्दै आएकाहरूलाई समेटेर अघि बढ्ने योजना ल्याउने अध्यक्ष उत्तम गौडेलले जानकारी गराएका छन्।
प्रकाशित: २७ वैशाख २०८२ १२:४२ शनिबार