२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
प्रवास

प्रधानमन्त्री ओलीले ‘एनआरएनए कन्क्लेभ २०२५’ को उद्घाटन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए)द्वारा आयोजना गरिने ‘एनआरएनए कन्क्लेभ २०२५’ को उद्घाटन गर्ने भएका छन्।

'एनआरएनको अधिकार, समृद्धिको आधार' भन्ने मूल नाराका साथ आगामी बुधबार (मे १४) काठमाडौंमा आयोजना हुने कन्क्लेभको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने तय भएको हो।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीलाई औपचारिक निमन्त्रणा दिएको थियो।

भेटका क्रममा प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली संघलाई सबै नेपालीको साझा, गैरराजनीतिक संस्था बनाउनुपर्नेमा जोड दिए। उनले संघले उठाएका जायज मागप्रति सरकार सधैं सकारात्मक रहेको बताएका थिए।

संघका अध्यक्ष डा. केसीले प्रधानमन्त्रीलाई कन्क्लेभको उद्देश्यबारे जानकारी गराउँदै गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन, नेपालमा लगानी, श्रम तथा आप्रवासन, पर्यटन प्रवर्द्धनलगायत विषयहरूमा केन्द्रित कार्यक्रम आयोजना गरिने जानकारी दिए।

त्यस अवसरमा अर्थमन्त्री विष्णु पौडेललाई पनि कन्क्लेभमा सहभागी हुन अनुरोध गरिएको थियो।

प्रतिनिधिमण्डलमा पूर्वअर्थमन्त्री युवराज खतिवडा, एनआरएनए उपाध्यक्षहरू डा. विनोद श्रेष्ठ, रोशन थापा, रोजिना राई प्रधान, उपमहासचिव सोम सापकोटा, सचिव टिका गुरुङ, कोषाध्यक्ष सुदन थापा, सह-कोषाध्यक्ष कृष्ण तिमल्सिना, पूर्व आइसीसी सदस्य भीमलाल भट्टराई र संघका प्रमुख कार्यकारी निर्देशक राजेन्द्रकुमार राउत लगायतको उपस्थिति थियो।

प्रकाशित: २५ वैशाख २०८२ ०७:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App