१४ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

राजदूत घिमिरेद्वारा बेलायतका राजा चार्ल्स तृतीयसमक्ष ओहोदाको पत्र पेस

बेलायतका लागि नेपाल सरकारका राजदूत चन्द्रकुमार घिमिरेले आज लण्डनस्थित बकिङ्घम दरबारमा आयोजित विशेष समारोहका बीच बेलायतका राजा चार्ल्स तृतीयसमक्ष आफ्नो ओहोदाको पत्र पेस गरेका छन्।

ओहदाको पत्र ग्रहण गर्दै राजा चार्ल्स तृतीयले राजदूत घिमिरेलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।

पत्र प्रस्तुतिपछि राजासँग भएको शिष्टाचार भेटमा राजदूत घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाट राजाप्रति हार्दिक शुभेच्छा र बेलायतवासी मित्रवत जनताप्रतिको समृद्धिको कामना व्यक्त गरे।

राजाले नेपाल र बेलायतबीचको कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीच सुमधुर र पारस्परिक लाभदायक सम्बन्ध रहँदै आएको स्मरण गरे। साथै, नेपाललाई विकासको बाटोमा अघि बढाउन बेलायती सरकार प्रतिबद्ध रहेको बताए। उनले विभिन्न समयमा नेपाल भ्रमण गरेको ऐतिहासिक सम्झना पनि व्यक्त गरे।

राजदूत घिमिरेले नेपाल–बेलायत मित्रता दुई शताब्दीदेखिको अटुट सम्बन्ध भएको उल्लेख गर्दै बेलायती सरकारले नेपालमा सामाजिक–आर्थिक विकासका क्षेत्रमा पुर्‍याउँदै आएको निरन्तर सहयोगप्रति आभार व्यक्त गरे।

समारोहमा राजदूत घिमिरेसँगै उनकी पत्नी सरिता न्यौपाने घिमिरे तथा दूतावासका वरिष्ठ कूटनीतिज्ञहरूको उपस्थिति रहेको थियो।

ओहोदाको पत्र पेस गरेको उपलक्ष्यमा नेपाली दूतावासले भोलि साँझ दूतावास परिसरमै सत्कार कार्यक्रम आयोजना गर्ने जनाएको छ।

राजदूत घिमिरे सन् १९३४ मा बेलायतस्थित नेपाली कूटनीतिक नियोग स्थापना भएयता बेलायतका लागि नियुक्त २३औँ नेपाली राजदूत हुन्।

प्रकाशित: १९ वैशाख २०८२ ०६:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App