१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १७:५२ अपराह्न
प्रवास

अक्टोबरमा महाधिवेशन गर्न एनआरएनएका पूर्वअध्यक्ष र संस्थापकहरू प्रतिबद्ध

गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष र अभियन्ताहरूले संघमा देखिएको असहज अवस्थाबाट निकास दिन एकता र सहमतिको लागि सहकार्य गर्न आह्वान गरेका छन्। मंगलबार भर्चुअल माध्यमबाट आयोजित बृहत् संवाद कार्यक्रममा उनीहरूले अक्टोबर २०२५ मा महाधिवेशन गर्ने प्रतिबद्धता जनाएका छन्।

एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले संस्थाको उद्देश्य नेपालको समृद्धि र विश्वभरका नेपालीबीच भाइचारा बढाउनु रहेको स्मरण गर्दै हठ त्यागेर एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे। उनले वास्तविक एकताको महाधिवेशनमा मात्र सहभागी हुने बताए। पूर्वअध्यक्ष जीवा लामिछानेले २०२३-२५ का लागि निर्वाचित डा. बद्री केसीको कार्यसमितिलाई बधाई दिँदै सर्वोच्च अदालतका दुवै फैसला कार्यान्वयन गरी अक्टोबर २०२५ सम्म काम गर्न दिन सुझाए। उनले परराष्ट्रमन्त्री डा. आरजु देउवाको समन्वयकारी भूमिकाको प्रशंसा गरे।

पूर्वअध्यक्ष कुमार पन्तले उच्चस्तरीय समितिलाई एकताबद्ध बनाउन र प्राविधिक कुरामा नअल्झिन आग्रह गरे। उनले भने, ‘जुन-जुलाईमा चुनाव गर्ने प्रस्ताव उच्चस्तरीय समितिमार्फत राखौँ, अहिलेको कार्यसमितिलाई काम गर्न दिऔँ।’ पूर्वअध्यक्ष भवन भट्टले अदालत र परराष्ट्रको विकल्पमा जानुपर्नेमा जोड दिए। संस्थापक सचिव भीम उदास र सदस्य इन्द्रा बनले भावनात्मक एकतामा जोड दिँदै अक्टोबरमा अधिवेशन गर्न सुझाए। संस्थापक रामप्रताप थापाले पनि संस्थाको हितलाई प्राथमिकता दिन आह्वान गरे।

अध्यक्ष डा. बद्री केसीले एनआरएनएको स्थापना नेपालको समृद्धिका लागि भएको उल्लेख गर्दै नागरिकता र सामाजिक सुरक्षा कोषजस्ता उपलब्धि हासिल भएको बताए। उनले सर्वोच्चको फैसलाको सम्मान गर्दै ११औँ कार्यसमितिको वैधानिकतामाथि प्रश्न नरहेको र मे २०२५ मा चुनाव सम्भव नभएको बताए। ‘सर्वोच्च नियमावलीअनुसार ६ महिना म्याद थप्न सकिन्छ। हामी एकताका लागि लचक छौँ,’ उनले भने।

एनसीसी अध्यक्षहरूले मेमा अधिवेशन सम्भव नभएको बताउँदै सहमतिले मिति पर सार्न सकिने जनाए। कार्यक्रममा ७०० भन्दा बढी अभियन्ता सहभागी थिए। महासचिव गौरीराज जोशी र सचिव राधिका गुरुङले संचालन गरेको चार घण्टे छलफलका निर्णय बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रालयमा बुझाइने छ।

प्रकाशित: २८ फाल्गुन २०८१ ०६:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App