१८ असार २०८१ मंगलबार
image/svg+xml
प्रवास

विदेशमा रहेका नेपालीलाई सांस्कृतिक र आर्थिक रुपमा स्वदेशसँग जोड्नु पर्छः उपमेयर डंगोल

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले विदेशमा रहेका नेपालीहरुलाई सांस्कृतिक र आर्थिक रुपमा स्वदेशसँग जोड्नु पर्ने बताएकी छन्।

नेपाली दूतावास लण्डनद्वारा मंगलबार आयोजिक एक कार्यक्रमलाई सम्बोधन गर्दै डंगोलले अबको समयको माग आर्थिक कनेक्सन रहेको बताइन्।

‘आर्थिक विकासको लागि उत्पादनमा जोड दिनु पर्छ। नेपाली उत्पादनलाई विश्वबजारमा लैजानको लागि काठमाण्डौं महानगरपालिका विदेशमा बस्ने नेपालीहरुसँग सहकार्य गर्न तयार छ,’ उनले भनिन्।

उनले दोस्रो पुस्ताले नेपाली भाषा बोल्न छोडेको प्रति चिन्ता व्यक्त गर्दै विदेशमा नेपाली चिनाउन र नेपालीको पहिचान देखाउनको लागि नेपाली भाषा विद्यालयस्तरबाटै अध्ययन अध्यापन गर्ने व्यवस्था हुनु पर्नेमा जोड दिइन्।

‘संसारमा नेपालीहरु छरिएका छन्। बेलायतमा धेरै नेपालीपन भएको महशुस गरेकी छु। दशैं र बिस्केटजात्राले आफन्त र आफ्नोपन महशुस हुने गरेको छ। संसारका जुनसुकै कुनामा गए पनि नेपालीपन रहन्छ, ‘यो मन त नेपाली हो’ त्यसैले भनिएको हो,’ उनले भनिन्।

उनले काठमाडौं महानगरपालिकाले वार्ड वार्डमा महिला संन्जाल स्थापना गरेर लैगिंक हिंसासम्बन्धी सुनुवाई गरि रहेको पनि बताइन्।

उनले महानगरपालिकाले एक वार्ड एक नमुना कार्यक्रम साथसाथै उत्पादन, रोजगारी, शिक्षा, बुक फ्री फ्राइडे, सिप र शिक्षा, सिप र बजारसंग जोड्न तथा स्वास्थ्य क्षेत्रमा सुधारका कामको थालनि गरेको बताइन्।

माटोको भाडा बनाउने, सुकुल बनाउने जस्ता मौलिक सिपलाई बजारीकरण गर्ने नीति लिइएको पनि उनले बताइन्।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गणतन्त्रको जगमा नयाँ संविधान, लोकतान्त्रिक बहुदलिय गणतन्त्र, संघियता, प्रेसस्वन्त्रता, समावेशीता, मानवअधिकारको ग्यारेन्टी र आर्थिक सामाजिक लक्ष तय भएको विचार व्यक्त गरे।

बहुभाषिक बहुसाँस्कृतिक मुलुक भएकोले संविधानले प्रत्याभूति गरेका लक्षहरु पुरा हुने उनले विश्वास व्यक्त गरे।

दूतावासकी उपनियोग प्रमुख रोशन खनालले संचालन गरेको कार्यक्रममा राजदूत आचार्यले बेलायत र नेपालको पुरानो सम्बन्धमा भूपुगोर्खाहरुको उल्लेख्य योगदान रहेको चर्चा गर्दै बेलायतमा नेपाली डायसपोराले आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

कार्यक्रममा बेलायतस्थित विभिन्न समाजिक संघसंस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, विभिन्न पेशमा संलग्न व्यक्तित्व लगायतको बाक्लो उपस्थिति थियो।

डंगोल मेन्चेस्टर शहरमा आयोजित ४ दिने ‘वुमन अफ दि वर्ल्ड’ विश्व महिला सम्मेलनमा भाग लिन बेलायत आएकी हुन्।

प्रकाशित: १६ जेष्ठ २०८१ ०८:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App