५ आश्विन २०८१ शनिबार
image/svg+xml
प्रवास

अमेरिकाको मोरिस्भिल सहरले ‘नेपाल दिवस’ मनाउने

 नर्थ क्यारोलाइना(अमेरिका)–संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा अवस्थित  मोरिस्भिल सहरले हरेक वर्ष अप्रिल महिनाको तेस्रो शनिबारलाई ‘नेपाल दिवस’को रूपमा मनाउने घोषणा गरेको छ। गत मंगलबार बसेको नगर समितिको पूर्ण बैठकमा मोरिस्भिल सहरका मेयर मार्क स्टोह्लम्यानले उक्त घोषणा गरेका हुन्। घोषणापत्र जारी गर्दै मेयर मार्कले मोरिस्भिल सहरको जनसंख्याको करिब एक तिहाइ हिस्सा ओगटेका एसियाली मूलका बासिन्दामध्ये नेपाली समुदायको संख्या उल्लेखनीय छ । नगरको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नतिका लागि नेपाली समुदायले पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै हरेक वर्ष अप्रिल महिनाको तेस्रो शनिबार नेपाल दिवस मनाउने घोषणा गरिएको मार्कले बताए।

 बैठकमा सबै नगर सभासद्हरुले घोषणापत्र अनुमोदन गरेका थिए भने उपस्थित नेपाली समुदायले उक्त घोषणाको भव्य स्वागत गरेका थिए।

कार्यक्रममा मन्तव्य राख्दै नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाकी अध्यक्ष डा. सुषमा प्रधानका अनुसार नेपाल दिवसको घोषणाले नेपाल र नेपालीको सम्मान हुनुका साथै विगत २०–२५ वर्षदेखि नर्थ क्यारोलाइनाका नेपाली समुदायले विभिन्न सामाजिक क्रियाकलापमा गरेको स्वयंसेवी संलग्नताको मूल्यांकन भएको छ। ‘यसले सबै नेपालीलाई अत्यन्त खुशी मात्र होइन अझै धेरै काम गर्ने हौसला पनि मिलेको छ,’ उनले भनिन् । उनले नेपाली समुदायको तर्फबाट मेयर तथा नगर परिषद्लाई धन्यवाद ज्ञापन गरेकी थिइन्।

नेपाली नयाँ वर्ष वैशाख १ गतेलाई लक्षित गरी हरेक वर्ष अप्रिल महिनाको तेस्रो शनिबार मनाउने निर्णय गरिएको नेपाल दिवस यसपटक आगामी शनिवार, अप्रिल १५ को दिन भव्य रूपमा मनाउने जानकारी नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाले गराएको छ। अमेरिकाका लागि नेपाली राजदूत  डा. अर्जुन कार्की र मोरिस्भिल शहरका मेयर मार्क स्टोह्लम्यानले संयुक्त रुपमा उद्घाटन गर्ने सो दिनको कार्यक्रममा नेपाली बाजागाजा र झाँकीसहितको ठूलो समूहले नगर परिक्रमापछिको सभामा नयाँ वर्ष २०७४ लाई स्वागत गर्ने कार्यक्रम रहेको छ । अमेरिकाभित्रका अन्य संघसंस्थाका पदाधिकारीको पनि उक्त कार्यक्रममा उपस्थिति रहने जानकारी अध्यक्ष डा. प्रधानले गराइन् ।

नेपालका भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मोरिस्भिल सहरको भ्रमण अवसरमा मेयर मार्क स्टोह्लम्यानले नेपाल दिवस मनाउने प्रस्ताव राख्नु भएको र स्थानीय नेपाली व्यवसायी एवं नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाका पूर्वउपाध्यक्ष रवीन्द्र कार्कीको संयोजकत्वमा नेपाल दिवसले मूर्त रूप लिन सकेको हो । संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा लगभग ४ हजार नेपालीको बसोबास छ। मोरिस्भिल सहर र आसपासका क्षेत्रमा करिब २ हजार नेपाली बसोबास गर्छन् । यसबाहेक कोलोराडो राज्यको बोल्डर सहरले सन् २००४ देखि हरेक वर्ष अप्रिल महिनाको तेस्रो आइतबार नेपाल दिवसको रूपमा मनाउँदै आएको छ ।

 

 

प्रकाशित: १ वैशाख २०७४ ०७:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App