न्यूयोर्क—गैरआवासीय नेपाली संघ (एनआरएनए) का विश्वभरिका ७५ शाखामध्ये सबैभन्दा ठूलो एनआरएन अमेरिकाको आगामी नेतृत्व चयनको मिति नजिकिएको छ। नयाँ नेतृत्व चयनका लागि मे २१ तारिकमा हुने चुनाव नजिकिँदै गर्दा नेतृत्वका लागि आकांक्षीले आआफ्नो दावेदारी एजेण्डासहित सार्वजनिक गर्न थालेका छन्। यतिखेर सदस्यता अभियान तीव्रतर रुपमा बढी रहेको अध्यक्ष डा.केशव पौडेलले बताए।
केन्द्रीय चुनाबलाई प्रभाव पार्ने हैसियत राख्ने भएकाले पनि अमेरिकी चुनावलाई आआफ्नो पक्षमा पार्न आईसिसिको नेतृत्वको चाहाना राख्नेहरु जोड घटाउमा सक्रिय हुन थालेका छन्।
नेतृत्व लिनका लागि भन्दै एनआरएन अमेरिकाका विभिन्न राज्यहरुमा रहेका च्याप्टर भ्रमण गर्ने, आआफ्नो एजेण्डा सार्वजनिक गर्दै आफ्नो पक्षमा मतदान गर्न सञ्चार माध्यम र सोसल मिडियाको भरपुर प्रयोग हुन थालेको छ।
पछिल्लो समय एनआरएन अमेरिकाका वर्तमान अध्यक्ष डा.केशव पौडेलले पुन: एक पटक आफूले थालेको कामहरु पूरा गर्न भन्दै अध्यक्ष पदमा दोहोर्याउने सार्वजनिक भएपछि चुनावी अभियान थप तातेको हो।
नागरिकन्यूजसँग कुरा गर्दै डा.पौडेलले आफूले पहिला शुरु गरेको काम पूरा गर्न एक कार्यकाल फेरि नेतृत्वमा रहन साथीहरुले आग्रह गरेको र मेरो चहाना पनि भएकोले उम्मेदवारी दिने निर्णय गरेको बताए। हाल उम्मेदवारी घोषणा गरेका साथीहरु सबैलाई मेरो नेतृत्वमा सहभागी हुन अनुरोध गरिरहेको बताउँदै सबैलाई समावेस गरेर अघि बढ्ने उनको योजना छ।
यसअघि वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेल, उपाध्यक्ष रविना थापा, गौरी जोशी र तेम्वा शेर्पाले अध्यक्षका लागि उम्मेद्वारी घोषणा गरिसकेका थिए। यसअघि वर्तमान अध्यक्ष डा.पौडेल आईसीसी नेतृत्वमा जाने अनुमान गरिएको थियो। एकाएक पुन: अध्यक्षमा दोहोर्याउने घोषणा गरे पनि अन्य उम्मेदवारहरुले पनि चुनाव अभियानमा निकै अघि बढी सकेकोले कुनै पनि हालतमा चुनाव लड्ने बताएका छन्।
वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेलले भने आफू संस्थामा महासचिव हुँदै वरिष्ठ उपाध्यक्ष भएर काम गरेको अनुभव भएकाले पनि स्वभाविक रुपमा आफ्नो पालो भएकोले निर्वाचनमा पछि नहट्ने बताए। अध्यक्षका दावेदार पोख्रेलले भने, 'यो कार्य समितिमा सफल बनाउन मैले जसरी काम गरे यसपाली वर्तमान अध्यक्ष केशवजीले मलाई नै सहयोग गर्नुहुन्छ। अन्यथा उहाँ पुनः चुनाव लडे पनि आफूले कुनै पनि हालतमा चुनाव लड्ने बताए।'
संस्था अघि बढाउन आफूले अहिलेसम्म निर्वाह गरेको भूमिकाको उच्च मूल्याङ्कन हुने बताउँदै संस्थालाई थप क्षमतावान बनाउन र नेपाली समुदायको हकहितमा काम गर्न नयाँ सोचका साथ उम्मेदवारी दिएको पोखरेलको दाबी छ।
अर्का अध्यक्षका दावेदार रविना थापा संस्थाको बृहत स्वरुपसँगै अमेरिकामा रहेका नेपालीको हक हितका लागि काम गर्न आफ्नो उम्मेदवारी भएको बताउँछिन्। विभिन्न संघ संस्थामा रहेर काम गरेको अनुभवका आधारमा पनि संस्था हाँक्ने क्षमता आफूसँग रहेको दाबी उनको छ।
त्यसैगरी अर्का दावेदार गौरी जोशीले पनि अमेरिकामा रहेका नेपालीहरुको हक हितमा काम गर्न अमेरिकाको मुख्य राज्यका सहरमा नेपाली भाषा र कल्चरल स्कुल स्थापना, नेपालमा अमेरिकाको सिष्टर सिटीको रुपमा सम्बन्ध बढाउने, नेपाली समुदायका हितका लागि काम गर्ने सबैखाले क्षमता भएको बताउँदै कुनै पनि हालतमा आफू अध्यक्षमा उठ्ने र संस्थालाई साझा नेतृत्व दिएर फरक ढंगले चलाउने दावी गरेका छन्। उता न्यूयोर्कबाट तेम्वा शेर्पाले पनि अध्यक्षका लागि उम्मेदवारी घोषणा गरिसकेका छन्।
आगामी नौ महिनापछि एनआरएन केन्द्र (आईसीसी)मा पनि नयाँ नेतृत्वका लागि निर्वाचन हुने भएकाले पनि एनआरएन अमेरिकाको नेतृत्व चयन सर्वसम्मवत हुन सक्ने सम्भावना न्यून देखिएको छ। केन्द्रीय चुनाबलाई प्रभाव पार्ने हैसियत राख्ने भएकाले पनि अमेरिकी चुनावलाई आआफ्नो पक्षमा पार्न आईसिसिको नेतृत्वको चाहाना राख्नेहरु जोड घटाउमा सक्रिय हुन थालेका छन्।
आईसीसीमा जान चाहेका उत्तर अमेरिकाका संयोजक सोनाम लामा, सहसंयोजक एसी शेर्पा, एनआरएन अमेरिकाका पूर्वअध्यक्ष खगेन्द्र जीसी पनि आआफ्नो उम्मेवार जिताउने रणनीतिमा सक्रिय छन्।
एनआरएन अमेरिकाका १७ च्याप्टरहरु छन्। सबै राज्यमा व्यापक रुपमा सदस्यता अभियान संचालन गर्ने र सकेसम्म आजीवन सदस्य बन्न प्रेरित गर्ने अभियान चलिरहेको छ।
प्रकाशित: १२ फाल्गुन २०७३ १४:१२ बिहीबार