२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
ब्लग

देवघाटधाममा प्रदीप्त ज्ञानदीप: महेश गुरुकुलमा अन्तर्राष्ट्रिय रामानन्दप्रज्ञा-शास्त्रार्थसभा

ज्ञानको तीर्थ, साधनाको भूमि र शास्त्रको पुनर्जागरण

-डा. उमेशप्रसाद घिमिरे

नेपालका तीर्थहरूमध्ये देवघाटधाम केवल धार्मिक आस्थाको केन्द्रमात्र होइन, वैदिक संस्कृति, गुरुशिष्य परम्परा, तपस्या र शास्त्रीय चिन्तनको अमर तीर्थ पनि हो । त्रिशूली, कालीगण्डकी र नारायणीको पावन सङ्गमले अभिषिक्त यस भूमिमा शताब्दीयौँदेखि ऋषि, मुनि, संन्यासी र दार्शनिकहरूले ज्ञानको दीप प्रज्वलित गर्दै आएका छन् । यहाँ नदीहरू मात्र प्रवाहित छैनन्; यहाँ त वैदिक सभ्यता, आध्यात्मिक चेतना र सनातन ज्ञानपरम्पराको अविरल प्रवाह निरन्तर गतिशील छ ।

वर्तमान युग विज्ञान, सूचना-प्रविधि र कृत्रिम बुद्धिमत्ताको युग हो । ज्ञानको पहुँच विस्तार भएको छ तर आत्मज्ञान, नैतिकता, सांस्कृतिक चेतना र जीवनमूल्यका प्रश्नहरू अझ गम्भीर बनेका छन् । यस्तो समयमा पूर्वीय दर्शन, संस्कृत वाङ्मय र गुरुकुलीय शिक्षाको पुनर्स्मरण केवल अतीतप्रतिको मोह होइन, भविष्य निर्माणको आवश्यकता पनि हो । यही सन्दर्भमा देवघाटधामस्थित महेश संन्यास आश्रम एवं महेश संस्कृत गुरुकुल द्वारा साउन ९ र १० गते आयोजित अन्तर्राष्ट्रिय रामानन्दप्रज्ञा-शास्त्रार्थसभा विशेष महत्त्वको घटना बनेर उदाएको छ । यसले देवघाटलाई पुनः अन्तर्राष्ट्रिय शास्त्रचिन्तन, अनुसन्धान र विद्वत्संवादको केन्द्रका रूपमा स्थापित गर्ने ऐतिहासिक अभियानको प्रारम्भ गरेको छ ।

गुरुस्मृतिलाई ज्ञानयज्ञमा रूपान्तरण गर्ने अनुकरणीय संस्कार

यो अन्तर्राष्ट्रिय शास्त्रार्थसभा अद्वैत वेदान्तका मूर्धन्य विद्वान्, सन्तशिरोमणि, गुरुकुलीय शिक्षाका अथक अभियन्ता तथा महेश संन्यास आश्रमका प्रेरणापुरुष ब्रह्मलीन डा. स्वामी रामानन्द गिरिको नवम गुरुनिर्वाण महोत्सवको पावन अवसरमा आयोजना गरिएको थियो । सामान्यतः स्मृति समारोहहरू श्रद्धाञ्जलि, माल्यार्पण र औपचारिक मन्तव्यमा सीमित रहने परिपाटीबीच महेश गुरुकुलले स्मृतिलाई ज्ञानयज्ञमा रूपान्तरण गरेर एउटा नयाँ सांस्कृतिक आदर्श प्रस्तुत गरेको छ ।

गुरुप्रतिको साँचो श्रद्धा उहाँको प्रतिमामा पुष्प अर्पण गर्नुमा मात्र सीमित हुँदैन ; उहाँले प्रज्वलित गर्नुभएको ज्ञानको ज्योतिलाई अझ उज्यालो बनाउनुमा निहित हुन्छ । यही भावनालाई आत्मसात् गर्दै आयोजित रामानन्द प्रज्ञाशास्त्रार्थसभाले स्वामी रामानन्द गिरिको जीवनदर्शन, शास्त्रनिष्ठा र गुरुकुलीय आदर्शलाई अनुसन्धान र शास्त्रार्थमार्फत् जीवित राख्ने प्रेरणादायी प्रयास गरेको छ ।

स्वामी रामानन्द गिरिले आफ्नो सम्पूर्ण जीवन वेद, वेदान्त, संस्कृत शिक्षा, गुरुशिष्य परम्परा र सनातन धर्मदर्शनको संरक्षण तथा संवर्द्धनमा समर्पित गर्नुभएको थियो । उहाँका लागि गुरुकुल केवल शिक्षालय थिएन ; त्यो चरित्र निर्माण, संस्कार विकास र आत्मबोधको साधनास्थल थियो । त्यसैले उहाँको नवम गुरुनिर्वाण महोत्सवको केन्द्रमा शास्त्रार्थसभालाई राखिनु स्वयंमा उहाँप्रतिको सबैभन्दा अर्थपूर्ण श्रद्धाञ्जलि हो ।

'सत्सङ्गका लागि आह्वान'

यस शास्त्रार्थसभाको अन्तरनिहित सन्देश भनेको  सनातन ज्ञानपरम्पराको सार व्यक्त गर्नु  हो । यसको अर्थ देवघाटको भौगोलिक यात्रामा सीमित छैन ; यो आत्मज्ञान, विनय, अनुसन्धान, गुरुसन्निधि र शास्त्रचिन्तनतर्फको आध्यात्मिक यात्राको निमन्त्रण हो ।

ज्ञान बजारमा किनिने वस्तु होइन, न त केवल पुस्तकका पानामा सीमित रहने सूचना हो । ज्ञान गुरुको समीप बस्दा, शास्त्रसँग संवाद गर्दा, तर्क–मननको अनुशासनमा प्रवेश गर्दा र जीवनलाई सत्यको खोजसँग जोड्दा प्राप्त हुन्छ । देवघाटको शताब्दीयौँ पुरानो गुरुकुलीय परम्पराले यही सन्देश बोकेको छ । महेश संस्कृत गुरुकुलले आयोजना गरेको यो अन्तर्राष्ट्रिय शास्त्रार्थसभा वास्तवमा त्यसै परम्पराको आधुनिक पुनर्जागरण हो ।

यस सभाले गुरुकुलीय शिक्षालाई आधुनिक अनुसन्धानसँग जोड्ने दूरदर्शी प्रयास गरेको छ । विश्वविद्यालयीय अनुसन्धान र परम्परागत शास्त्राध्ययनबीच समन्वय स्थापित गर्दै यसले संस्कृत शिक्षालाई केवल अतीतको धरोहर होइन, भविष्य निर्माणको बौद्धिक आधारका रूपमा प्रस्तुत गरेको छ ।

नेपाल-भारतको विद्वत्सङ्गम : सीमाभन्दा माथि उठेको ज्ञानसम्बन्ध

रामानन्दप्रज्ञा-शास्त्रार्थसभाको सबैभन्दा उल्लेखनीय विशेषता यसको अन्तर्राष्ट्रिय स्वरूप थियो । यो केवल एउटा स्थानीय वा राष्ट्रिय गोष्ठी थिएन ; यसले नेपाल र भारतका प्रतिष्ठित शास्त्रविद्हरूलाई एउटै बौद्धिक मञ्चमा उभ्याएर सनातन ज्ञानपरम्पराको साझा उत्तराधिकारलाई पुनः सुदृढ बनायो । राजनीतिक सीमाले भूगोललाई विभाजित गर्न सक्छ, तर ज्ञान, संस्कृति र दर्शनको प्रवाहलाई विभाजित गर्न सक्दैन भन्ने सत्यलाई यस सभाले पुनः प्रमाणित गरेको छ ।

भारतका सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय तथा काशी हिन्दू विश्वविद्यालयका प्रोफेसर राजाराम शुक्ल, प्रोफेसर हरिप्रसाद अधिकारी लगायत

करिब पन्ध्रजना प्रतिष्ठित विद्वान्हरूले सभामा सहभागिता जनाएका थिए । प्रा. हरिप्रसाद अधिकारीको नेतृत्वमा आएको भारतीय विद्वत् प्रतिनिधिमण्डलले वेदान्त, व्याकरण, न्याय, मीमांसा र भारतीय दार्शनिक परम्पराका विविध पक्षमा आफ्ना अनुसन्धानपरक धारणा प्रस्तुत गर्दै नेपाल-भारतबीचको शास्त्रीय सहकार्यलाई थप जीवन्त बनाएको थियो । शताब्दीयौँदेखि काशी, मिथिला, देवघाट र पशुपतिनाथलाई जोड्ने ज्ञानयात्राले यस सभामार्फत् नयाँ ऊर्जा प्राप्त गरेको अनुभूति सहभागी विद्वान्हरूले व्यक्त गरेका थिए ।

नेपालका तर्फबाट नेपाल संस्कृत विश्वविद्यालयका विभिन्न आङ्गिक विद्यापीठका प्राध्यापकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । वाल्मीकि विद्यापीठ (काठमाडौं), विन्दुवासिनी संस्कृत विद्यापीठ (पोखरा), नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ (दाङ), कालिका संस्कृत विद्यापीठ (गैँडाकोट), यालना संस्कृत विद्यापीठ (मटिहानी), महेश संस्कृत गुरुकुल, परमानन्द संस्कृत गुरुकुल तथा वेदवेदाङ्ग संस्कृत विद्यापीठ (देवघाट) का प्राध्यापक तथा अनुसन्धानकर्ताहरूको सक्रिय सहभागिताले नेपालको संस्कृत शिक्षाको संस्थागत एकता र बौद्धिक सामर्थ्यलाई उजागर गरेको थियो । त्यसैगरी नेपाली संस्कृत छात्र समिति, वाराणसी का आचार्य तथा पदाधिकारीहरूको सहभागिताले नयाँ पुस्ता पनि यस ज्ञान अभियानसँग अभिन्न रूपमा जोडिएको सन्देश दिएको थियो ।

रामानन्द–प्रज्ञा–शास्त्रसभा : अनुसन्धान र शास्त्रार्थको जीवित विश्वविद्यालय

नवम गुरुनिर्वाण महोत्सवको केन्द्रविन्दुका रूपमा सम्पन्न रामानन्दप्रज्ञा-शास्त्रसभा वास्तवमै अनुसन्धान, तर्क, भाष्य र शास्त्रीय संवादको अनुपम विश्वविद्यालय बनेर उभियो । साउन ९ गते महेश संन्यास आश्रमका वर्तमान पीठाधीश्वर पूज्यपाद स्वामी रमणानन्द गिरिको सभाध्यक्षतामा सम्पन्न समुद्घाटन समारोहले गुरुपरम्परा, शास्त्राध्ययन र अनुसन्धान संस्कृतिलाई एउटै सूत्रमा बाँध्दै ज्ञानयज्ञको शुभारम्भ गरेको थियो ।

वैदिक स्वस्तिवाचन, गुरुस्मरण र मङ्गलाचरणबाट आरम्भ भएको समारोहमा शास्त्रको संरक्षण मात्र होइन, त्यसको अनुसन्धानात्मक विस्तार समयको अपरिहार्य आवश्यकता भएको कुरामा जोड दिइएको थियो । ज्ञानलाई केवल कण्ठस्थ गर्ने होइन, प्रमाण, तर्क, चिन्तन र समालोचनामार्फत् परिष्कृत गर्दै जीवनोपयोगी बनाउनु नै शास्त्रार्थको आत्मा हो भन्ने भाव उद्घाटन मन्तव्यहरूमा मुखरित भएको थियो ।

चार प्राज्ञिक सत्र : शास्त्रीय अनुसन्धानको गहन यात्रा

दुई दिनसम्म सञ्चालन भएका चार प्राज्ञिक सत्र शास्त्रीय अनुसन्धानका दृष्टिले अत्यन्त समृद्ध र अनुकरणीय रहे । वेदान्त, न्याय, व्याकरण, साहित्य तथा मीमांसा शास्त्रका विविध आयाममा कुल पच्चीस अनुसन्धानपत्र प्रस्तुत गरिए । प्रत्येक प्रस्तुतिमा सूत्र, भाष्य, वार्तिक, परिभाषा तथा परम्परागत आचार्यहरूको मतलाई आधुनिक अनुसन्धान पद्धतिसँग जोडेर विवेचना गरिएको थियो । यही कारणले यो सभा केवल विचार-विनिमयमा सीमित नरही अनुसन्धानमूलक शास्त्रार्थको उच्चस्तरीय मञ्चका रूपमा स्थापित हुन सफल भयो ।

प्रथम सत्रमा अध्यासविचार, कर्तुरीप्सिततमं कर्म, पक्षतातासर्वभौमलक्षण, ज्ञानगतप्रत्यक्षत्वप्रयोजक तथा हलन्त्यम् जस्ता वेदान्त, न्याय र पाणिनीय व्याकरणका गहन विषयमाथि प्रस्तुत कार्यपत्रहरूले शास्त्रीय तर्कपद्धतिको उत्कृष्ट नमुना प्रस्तुत गरे। दोस्रो सत्रमा पक्षतापूर्वपक्षलक्षण, स्फोटविचार, पण्डितराजीय काव्यलक्षण, धर्मलक्षण, कर्तृकर्मणोः कृति तथा ईदूदेद् द्विवचनं प्रगृह्यम् ' जस्ता विषयमा भएका प्रस्तुतीकरणले व्याकरण, साहित्य, मीमांसा र न्यायशास्त्रबीचको अन्तर्सम्बन्धलाई उजागर गरे ।

तेस्रो सत्रमा उपदेशपदार्थ, अज्ञानलक्षण, प्रत्ययलोपे प्रत्ययलक्षणम्, जराया जरसन्यतरस्याम्, अट्कुप्वाङ्नुम्व्यवायेऽपि, भाव्यमानेन सवर्णानां ग्रहणं न तथा यत्रानेकविधमान्तर्यं तत्र स्थानत आन्तर्यं बलीयः जस्ता विषयमा गहन अनुसन्धानपरक प्रस्तुति भए । चौथो सत्रमा भाव्यमानेनाप्युकारः सवर्णान् गृह्णाति, वर्णाश्रये नास्ति प्रत्ययलक्षणम्, यदागमास्तद्गुणीभूतास्तद्ग्रहणेन गृह्यन्ते, ह्रस्वनद्यापो नुट् तथा मिदचोऽन्त्यात्परः ' जस्ता पाणिनीय व्याकरणका सूक्ष्म पक्षमाथि गहन शास्त्रीय विमर्श सम्पन्न भयो ।

यी सबै प्रस्तुतीकरणले एउटा महत्वपूर्ण तथ्य प्रमाणित गरे- पूर्वीय शास्त्र केवल इतिहासका स्मारक होइनन् ; तिनमा आज पनि अनुसन्धानका असंख्य सम्भावना, तार्किक गहिराइ र बौद्धिक नवीनताको असीम स्रोत विद्यमान छन् । शास्त्रार्थको वास्तविक उद्देश्य पराजय वा विजय नभई सत्यको अन्वेषण, तत्त्वको उद्घाटन र ज्ञानको परिष्कार हो भन्ने सनातन आदर्श यस सभामा पुनः जीवन्त बनेर प्रकट भएको थियो ।

प्रकाशित: ११ श्रावण २०८३ १५:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App