हिमालको सर्वोच्चताले सुशोभित भएको देश केवल सभ्यता र संस्कृतिमा अग्रणीमात्र हुँदो रहेनछ, संसारभरिका विपत्ति बोक्ने सबैभन्दा अग्लो काँध पनि यही हिमाली सभ्यता हुँदो रहेछ । जलवायु परिवर्तनको महाविपत्ति एक्लै काँधमा बोक्दा ती शान्त तपस्वीजस्ता हिमालहरूलाई धेरै भारी थपिएको छ ।
आज त्यसकै पीडा हामीले भोटेकोशी त्रासदीका रूपमा भोग्नुपर्यो । हिमाल अशान्त हुँदा समग्र नदीजन्य सभ्यता र समग्र समुद्री क्षेत्रसमेत अशान्त र अनियन्त्रित हुन पुग्छ । त्यसैले यो प्रकोप केवल नेपालले मात्र भोगेको होइन, विश्वमानवताले नै सिक्नुपर्ने पाठ हो ।
हामी प्रकृतिको संरक्षण गर्ने मात्र नभई पूजा गर्ने सभ्यताका अनुयायी हौँ । महाभारतको कथा प्रसङ्गमा सृष्टिको सुरुवातमा प्रकृतिको रक्षा गर्छु भन्नेहरू राक्षस भए र प्रकृतिको यजन (पूजा) गर्छु भन्नेहरू यक्ष भए भनिएको छ । अर्थात् प्रकृतिको संरक्षणभन्दा पूजन गर्ने दृष्टिकोण धेरै उच्च दृष्टि हो । संरक्षणले आफ्नो हित अनुकूल उपयोग गर्ने दृष्टि राख्छ भने पूजाले प्रकृति रक्षाका लागि आफ्नै जीवनसमेत उत्सर्ग गर्न सक्ने महान् श्रद्धाको भाव बोकेको हुन्छ ।
समस्त वैदिक सनातनीहरूका धार्मिक एवं आध्यात्मिक विश्वासहरूलाई केलाउँदा शास्त्रका हरेक पानामा कतै नदी, कतै पर्वत, कतै वृक्ष-वनस्पति, कतै पशु-पंक्षी, कतै अग्नि-वायु, कतै सूर्य-चन्द्र, कतै ग्रह-नक्षत्रहरूको पूजा एवं प्रार्थना गर्ने पद्धतिहरू भेटिन्छन् । रसिलो सिमसार क्षेत्र र खेतीयोग्य भूमिको पूजा गर्ने सिमेभूमे पूजनको संस्कृति हाम्रै हो । अनेकौँ जडिबुटीहरूलाई धार्मिक वृक्षको रूपमा चौतारो एवं मठ बनाई संरक्षण गर्ने संस्कृति पनि हाम्रै हो ।
दशैँको फूलपातीमा नवपत्रिकाहरूको पूजा गर्दा बाजा-गाजाका साथ देवीका रूपमा रथारोहण गराउने हाम्रो परम्परा हो । पानीका मूल एवं खोला-नालाहरूमा नागको वास हुन्छ भनेर फोहोर गर्न नहुने संस्कार पनि हाम्रै हो । धान काटेपछि धानको बाला पूजा गर्ने, भकारीको पूजा गर्नेदेखि नयाँ पाकेको अन्न देवतालाई चढाएर मात्र खानुपर्छ भन्ने हाम्रो संस्कार हो । ढिलो-चाँडो यही संस्कार र विश्वासमा विश्व नफर्किने हो भने पृथिवीमा मानवसभ्यताको अस्तित्व नै नामेट हुन कुनै वेर लाग्ने छैन ।
अव्यवस्थित सहरीकरण, उपभोक्तामुखी अर्थतन्त्र, व्यावसायिक उत्पादनका नाममा अप्राकृतिक होडबाजी, संयम एवं सदाचार हराएको स्वेच्छाचारी शिक्षानीतिले पृथिवीलाई उधिन्न, अन्तरिक्षलाई छेड्न, सर्वसत्तावादको स्थापना गर्न र विश्वको हितभन्दा व्यक्तिगत उन्नतिमा जोड दिनमात्र सिकाएको छ । हिमालयको यो सन्देश केवल जलवायु परिवर्तन विरुद्धको मात्र आवाज होइन । विश्वमानवताले अवलम्बन गरिरहेका यी सवै विकास र उन्नतिका सूचकाङ्कहरूप्रति मौन असहमति र सुधारको सङ्केत हो ।
यो सङ्केत पहिल्याउँदै जाँदा ‘द्यौः शान्तिरन्तरिक्षं शान्तिः’ भन्ने आर्षचेतनाको उद्घोषसम्म पुगिन्छ । ‘माता भूमिः पुत्रोऽहं पृथिव्याः’ भन्दै पृथिवीलाई आमा र आफूलाई तिनको विनम्र सन्तानको रूपमा स्वीकार गर्ने मनसाय भेटिन्छ । आखिर मानवजातिले आफैँले आफूलाई श्रेष्ठप्राणी घोषित गरे पनि ऊ प्रकृतिको एउटा सामान्य अङ्गमात्र हो । रूखको फेदभन्दा हाँगा मोटो भयो भने त्यसले अवश्य भाँचिनुपर्छ । प्रकृति र पर्यावरणको सहअस्तित्वमा विकसित भयो भनेमात्र मानव सभ्यतारूपी यो हाँगो यो धर्तीमा चिरकालसम्म रहला । त्यसैले हामीले मानवताको अस्तित्व जोगाउनका लागि भए पनि अलिकति विनम्र, संस्कारी र प्रकृतिमैत्री हुनै पर्दछ ।
वैदिक सभ्यतामा शरीर नाशवान् भए पनि आत्मा अजर अमर मानिन्छ । पूर्वजन्मको कर्म र मनभित्रका अनन्त इच्छा एवं तिर्सनाहरू शरीर छुटिसक्दा पनि जीवात्माका साथै रहिरहन्छन् । तिनै कर्म र मानसिक भावनाहरूको स्तर अनुसार माथिल्ला-तल्ला स्वर्ग-नरकादि लोकहरू प्राप्त हुन्छन् ।
त्यहाँ कर्मको लेखाजोखा बराबर पारेपछि फेरि यही धर्तीमा त्यस प्राणीको जन्म हुन्छ र कर्मको अर्को चक्र आरम्भ हुन्छ भन्ने मान्यता छ । स्थूल शरीरको मात्र मृत्यु हुने र मनोमय सूक्ष्म शरीर साथैमा रहने भएकाले मृतक व्यक्तिको कल्याण, मानसिक शान्ति र ऊर्ध्व गतिका लागि परिवारजनहरूले प्रार्थना, अनुष्ठान र श्रद्धाञ्जलि अर्पण गर्ने गरिन्छ ।
आफ्ना प्रिय परिवारजनसँग सूक्ष्म शरीरको माध्यमले संवाद गर्न सक्ने भएकाले मृतक व्यक्तिको मनमा यी प्रार्थना र आराधनाले सकारात्मक प्रभाव पार्दछन् भन्ने विश्वासमा नै हाम्रा अन्त्येष्टि कर्म र काजक्रियाका सबै व्यवस्थाहरू निर्माण भएका हुन् । दुर्भाग्यको कुरा हाल भोटेकोशीको विपत्तिमा हजारौँ व्यक्तिहरू परिवारसहितै मृत्यु वरण गर्ने अवस्थामा पुगेकाले शास्त्रीय विधान अनुसार सम्पूर्णतः अन्त्येष्टि कार्य दुर्लभ बन्न पुगेको छ ।
प्रकृति जडजस्तो देखिए पनि मातृत्वको चेतनभावलाई धारण गर्ने आमा हुन् भन्ने हाम्रा पूर्वज ऋषिमहर्षिको विश्वास छ । महर्षिहरूले सम्पूर्ण प्रकृतिलाई शान्त एवं कल्याणकारी बन्न, संहारक रौद्ररूपलाई त्याग्न र आमाजस्तै सबै प्राणीहरूलाई रक्षा गर्न प्रार्थना गरेका कयौँ सिद्ध मन्त्र र प्रार्थनाका श्लोकहरू हामीसँग छन् ।
तिनै ऋषिका वंशज हामीले पश्चात्तापको भावले हात जोड्दै प्रकृति मातासँग त्यही कालजयी मन्त्रको प्रार्थना प्रयोग गर्दा प्रकृतिको कोप अवश्य मत्थर वा शान्त हुन्छ भन्ने हाम्रो विश्वास छ ।
साथै अकालमा मृत्युवरण गर्न पुगेका ती हजारौँ मानिसहरू; जसका सद्गतिका संस्कारहरू राम्ररी सम्पन्न हुन सकिरहेका छैनन्,कु तिनलाई प्रार्थना र उपासनाको अनुष्ठानहरूद्वारा अवश्य शान्ति मिल्नेछ भन्ने हाम्रो विश्वास छ ।
चरम सङ्कट र महान् विपत्तिका क्षणहरूमा मनको एउटा कुनामा लुकेको यही श्रद्धा र आस्थाको भाव नै जीवन अड्याउने सबैभन्दा ठूलो भरोसा बन्ने रहेछ भन्ने कुरामा बाढीभित्र पुरिएका र मन्त्र जप्दै, हौसला कायम राख्दै अन्तिममा बाँच्न सफल भएका मानिसहरूको प्रत्यक्ष उदाहरणसमेत हामीसँग छ ।
त्यसैले भदौ २२ गतेको राष्ट्रिय शोकदिवसको यस घडीमा त्रिशूली नदीतटका विभिन्न तीर्थ र घाटहरूमा श्रद्धाञ्जलि एवं प्रार्थनाका अनुष्ठानहरू सम्पन्न हुँदैछन् ।
साथसाथै पशुपतिनाथ, देवघाटधामलगायत देशका विभिन्न प्रसिद्ध धामहरूमा हजारौँ श्रद्धालुहरूको सहभागितामा विविध आध्यात्मिक अनुष्ठानहरू सम्पन्न हुँदैछन् । नेपाल र नेपालीलाई माया गर्ने आध्यात्मिक व्यक्तित्वहरूले भारतका वनारस, मथुराजस्ता तीर्थहरूमा एवं विश्वभर फैलिएको प्रवासी नेपाली समुदायले वर्मा, थाइल्याण्ड, वेलायत, अमेरिकाजस्ता देशहरूमा पनि गीतापाठ, भगवन्नामसङ्कीर्तन र सामूहिक प्रार्थनाका अनुष्ठानहरू सम्पन्न गर्दैछन् ।
जति प्राकृतिक विपत्ति भए पनि नेपाल र नेपालीको विश्वास अझै उठ्न सक्छ र युद्धको प्रतिस्पर्धासम्म पुगी राक्षसी चरणमा प्रवेश गरेको समग्र विश्वसमुदायलाई आध्यात्मिक मार्गदर्शन गर्न सक्छ भन्ने विश्वासका साथ हामीहरू फेरि उठ्नेछौँ - ‘उत्तिष्ठत जाग्रत प्राप्य वरान् निबोधत ।’
ॐ शान्तिः । ॐ शान्तिः ॥ ॐ शान्तिः ।।।
(महेश-संस्कृत-गुरुकुलम्, देवघाटधामका गिरि आध्यात्मिक श्रद्धाञ्जलि कार्यक्रमका आह्वानकर्ता हुन् ।)
प्रकाशित: २१ भाद्र २०८३ १९:५८ आइतबार





