२५ भाद्र २०८३ बिहीबार
image/svg+xml
ब्लग

भोटेकोशी बाढी र हाम्रो शिक्षा प्रणालीः एउटा पुनर्विचार

२०२६ अगस्ट २६ को विनाशकारी बाढीले नेपालको शिक्षा क्षेत्रको जोखिम र कमजोरी छर्लङ्ग पार्दै भविष्यका लागि गम्भीर पाठ छोडेको छ।

बाढीले लेखेको विनाशको कथा

२०२६ अगस्ट २६ को बिहान, ल्याङटाङ लिरुङ (७,२४५ मिटर) को उत्तरी फेदमा भएको ठूलो हिमनदी पतन र हिउँपहिरोले भोटेकोशी नदीको एउटा सहायक नदी-ल्हेन्दे खोलालाई अवरुद्ध गर्‍यो। त्यसरी बनेको अस्थायी बाँध केही घण्टामै फुट्यो र त्रिशुली–भोटेकोशी करिडोरको ७२ किलोमिटर लामो क्षेत्रमा एक उच्च वेगको, बोल्डर र हिउँले भरिएको बाढी बग्यो। यसले नेपाल–चीन सीमामा रहेको ग्याइरोङ नाका ध्वस्त पार्‍यो र दर्जनौँ बस्ती बगायो।

वैज्ञानिकहरूका अनुसार यो एउटा सामान्य बाढी थिएन। हिमनदी पतन, पहिरो र त्यसपछिको उच्च वेगको बाढी मिसिएको “बहु–प्रकोप“ (multi-hazard cascading) घटना थियो, जसका लागि परम्परागत हाइड्रोलिक डिजाइन मापदण्डहरू नै पर्याप्त छैनन् भनी विशेषज्ञहरूले औँल्याइरहेका छन्।

हालसम्मको तथ्यांकअनुसार नेपालमा मात्र १,३६९ जनाको मृत्यु भइसकेको छ र ५,००० भन्दा बढी बेपत्ता छन्। तिब्बततर्फ थप ४३ जनाको मृत्यु र ५१९ जना बेपत्ता छन्। बाढीले केही शवहरूलाई भारततिर २४० किलोमिटरसम्म बगाएको छ। रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँ जिल्लाका १५ स्थानीय तह प्रभावित भएका छन्। १४ वटा जलविद्युत् आयोजना क्षतिग्रस्त वा ठप्प भएका छन्, दर्जनौँ पुल र करिब ४० किलोमिटर पक्की सडक बगेको छ।

विद्यालयहरूमाथि परेको क्षति

यस विपत्तिको सबैभन्दा मर्मस्पर्शी पाटो भनेकै भविष्यको पुस्तामाथि परेको प्रत्यक्ष असर हो। शिक्षा मन्त्रालयको प्रारम्भिक तथ्यांकअनुसार रसुवा, नुवाकोट र धादिङ-तीन सबैभन्दा प्रभावित जिल्लामा मात्र १९ वटा विद्यालय प्रत्यक्ष क्षतिग्रस्त भएका छन्। १० वटा पूर्ण ध्वस्त र ९ वटा आंशिक क्षतिग्रस्त भएका छन्। ध्वस्त भएकामध्ये ८ वटा सामुदायिक र २ वटा संस्थागत विद्यालय रहेका छन्, जसले सामुदायिक विद्यालयका भवन संरचना कमजोर रहेको तथ्यलाई थप पुष्टि गर्छ।

करिब १,५०० बालबालिका र १९–२० शिक्षक अझै बेपत्ता छन्। मन्त्रालयको आकलनअनुसार तीन जिल्लामा मात्रै १०,००० भन्दा बढी विद्यार्थीको पढाइ प्रत्यक्ष अवरुद्ध भएको छ। बाढीबाट जोगिएका ८ वटा विद्यालयलाई हाल अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गरिँदैछ, जसले शैक्षिक गतिविधि पुनःसञ्चालन गर्ने कार्यलाई थप जटिल बनाएको छ। बाँचेका धेरै बालबालिका हाल मनोवैज्ञानिक त्रासबाट गुज्रिरहेका छन्, जसले सामान्य पढाइमा फर्किने प्रक्रियालाई थप कठिन बनाउने देखिन्छ।

यस विनाशबीच पनि आशाका केही कथाहरू सुन्न पाइन्छ। रसुवाका एक विद्यालयका प्रधानाध्यापक र गार्डले बाढी आउनुअघि नै ९०० विद्यार्थीलाई समयमै सुरक्षित स्थानमा लगी ठूलो जनहानि हुनबाट जोगाए। यो घटना स्थानीय समुदायमा वीरताको रूपमा सम्झिइन्छ। धादिङको एउटा विद्यालयमा भने विद्यार्थीहरू खाजा खान कक्षाकोठाबाहिर गएकै बेला बाढी आइपुगेकाले धेरैको ज्यान बचेको थियो। तर यो संयोग थियो, योजना होइन।

यस पीडादायी घडीमा देशभरका विद्यार्थीहरूले पनि आ–आफ्नो तरिकाले साथ दिएका छन्। अछामको शोडश माध्यमिक विद्यालय र काठमाडौंको मनमैजु माध्यमिक विद्यालयलगायत विभिन्न विद्यालयका विद्यार्थीहरूले आफ्नो खाजा खर्च बचाएर प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन्-सानो रकम भए पनि यसले देखाउँछ, विपत्तिमा समुदायको साझा भावना कति गहिरो हुन्छ।

प्रश्न उठ्छः हाम्रो शिक्षा प्रणाली कस्तो हुनुपर्छ?

भोटेकोशी बाढीले केवल भौतिक क्षति मात्र पुर्‍याएन, यसले नेपालको शिक्षा प्रणालीका संरचनागत कमजोरीलाई पनि नांगै पारिदियो। यसबाट सिकेर अब शिक्षा प्रणाली पुनर्निर्माण गर्दा निम्न पक्षमा ध्यान दिनु अपरिहार्य देखिन्छ।

१. विपद् प्रतिरोधी संरचना र योजना

विद्यालय भवनहरू भूकम्प र बाढी दुवैलाई ध्यानमा राखेर, कडा निर्माण मापदण्ड पालना गरी बनाइनुपर्छ, विशेषगरी नदी किनार वा पहिरो जोखिमयुक्त क्षेत्रमा। हरेक विद्यालयमा स्पष्ट आपतकालीन निकास योजना र नियमित मोक ड्रिल (mock drill) अनिवार्य हुनुपर्छ। साथै, विपद्पछि छिटो सञ्चालनमा ल्याउन सकिने अस्थायी सिकाइ केन्द्र (temporary learning spaces) को पूर्वतयारी पहिल्यैदेखि हुनुपर्छ।

२. पहुँच र समानतामा जोड

सामुदायिक विद्यालयहरू प्रायः पुराना र संरचनात्मक रूपमा कमजोर हुन्छन्। यसपटक ध्वस्त भएकामध्ये अधिकांश सामुदायिक विद्यालय नै थिए, जबकि संस्थागत विद्यालयले तुलनात्मक रूपमा राम्रो पूर्वाधार पाउने गरेका छन्। यो असमानता घटाउन सरकारी लगानी प्राथमिकतामा राखिनुपर्छ। दुर्गम पहाडी र हिमाली क्षेत्रका बालबालिकाले लामो दूरी हिँडेर विद्यालय जानुपर्ने बाध्यता कम गर्न स्थानीय स्तरमै विद्यालय विस्तार र छात्रावास सुविधा थप आवश्यक देखिन्छ।

३. मनोसामाजिक सहयोगलाई संस्थागत रूप

बाढी बाँचेका बालबालिकाले भोगिरहेको मनोवैज्ञानिक त्रास एउटा गम्भीर तर सामान्यतः बेवास्ता गरिने पक्ष हो। काउन्सिलिङ र मनोसामाजिक सहयोगलाई शिक्षा प्रणालीको नियमित संरचनाको भाग बनाइनुपर्छ।

४. पाठ्यक्रममा व्यावहारिक ज्ञान

जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण र आधारभूत सुरक्षा शिक्षालाई पाठ्यक्रमको अनिवार्य अंग बनाइनुपर्छ, ताकि विद्यार्थीले सानै उमेरदेखि जोखिम चिन्न र उचित प्रतिक्रिया दिन सिकून्। रटेर सिक्ने प्रणालीभन्दा सोच्न सक्ने र समस्या समाधान गर्न सक्ने क्षमता विकासमा जोड दिनु समयको माग हो।

५. शिक्षक र स्थानीय सरकारको भूमिका सुदृढीकरण

शिक्षकलाई आपतकालीन व्यवस्थापनको उचित तालिम र ज्ञान दिनुपर्छ। यसपटक शिक्षकहरूले नै समयमै निर्णय लिई विद्यार्थी सुरक्षित निकालेर धेरैको ज्यान बचाएको देखियो, जसले उनीहरूको भूमिका कति महत्त्वपूर्ण छ भन्ने पुष्टि गर्छ।

साथै, स्थानीय तह (गाउँपालिका/नगरपालिका) लाई विद्यालय व्यवस्थापन र विपद् प्रतिक्रियामा बढी अधिकार, स्रोत र जिम्मेवारी दिइनुपर्छ, किनकि विपत्तिको समयमा उनीहरू नै पहिलो प्रतिक्रियादाता हुन्छन्।

६. प्राकृतिक स्रोतसँग जोडिएका जोखिम

नेपाल हिमाल, नदी र जलस्रोतले धनी देश हो। यही सम्पदाले हामीलाई जलविद्युत्, पर्यटन, कृषि र जैविक विविधताको ठूलो सम्भावना दिएको छ। तर भोटेकोशी बाढीले सिकाएको एउटा कठोर सत्य के हो भने, यही प्राकृतिक सम्पदा उत्तिकै जोखिमपूर्ण पनि छ।

हिमनदी, अस्थिर पहाडी भिरालो र वर्षातमा फुलेर बग्ने नदीहरू एकैसाथ अवस्थित हुनु नेपालको भूगोलको विशेषता हो, र यही विशेषताले नै हामीलाई हिमनदी पतन, पहिरो र अकस्मात् बाढीजस्ता प्रकोपप्रति अत्यन्त संवेदनशील बनाएको छ। जलवायु परिवर्तनसँगै हिमाली क्षेत्रमा यस्ता घटना अझ बढ्दै जाने वैज्ञानिकहरूको आकलन छ।

यसैले प्राकृतिक स्रोतको धनसम्पदालाई मात्र गौरवको विषय बनाएर पुग्दैन। यसलाई सुरक्षित ढंगले बुझ्ने, जोगाउने र त्यससँगै बाँच्ने ज्ञान पनि उत्तिकै जरुरी छ। यहीं आएर शिक्षा प्रणालीको भूमिका केन्द्रबिन्दुमा आउँछ।

हाम्रा बालबालिकाले नेपालको भूगोल, जलवायु र प्राकृतिक जोखिमबारे साँच्चै बुझ्ने गरी पढ्न पाउनुपर्छ। नदी र हिमाल केवल भूगोलको पाठ्यपुस्तकमा सीमित नभई, तिनीसँग जोडिएको जोखिम र जिम्मेवारीसमेत बुझाउने गरी सिकाइनुपर्छ। यसरी नै हामीले पाएको प्राकृतिक सम्पदालाई दीर्घकालीन रूपमा सुरक्षित र समुदायमैत्री ढंगले उपयोग गर्न सक्ने पुस्ता तयार हुन्छ।

निष्कर्ष

भोटेकोशी बाढी नेपालको हिमाली भूभागमा जलवायु परिवर्तनसँगै बढ्दै गएको जोखिमको एउटा कठोर सम्झना हो। हामी हिमाल, नदी र प्राकृतिक सम्पदाले धनी देश हौँ भन्नेमा गर्व गर्छौं, तर त्यही सम्पदाले हामीलाई कति ठूलो जोखिममा पनि राखेको छ भन्ने यथार्थ भोटेकोशी बाढीले फेरि उजागर गरिदिएको छ।

यसले क्षणिक रूपमा दर्जनौँ विद्यालय र हजारौँ बालबालिकाको शिक्षालाई ठप्प पारेको छ, तर यदि यो विपत्तिबाट सही पाठ सिकियो भने, यसले नेपालको शिक्षा प्रणालीलाई थप सुरक्षित, सजग, समतामूलक र प्रतिरोधी बनाउने अवसर पनि दिन सक्छ।

पुनर्निर्माण केवल भत्किएका भवन उठाउने काम मात्र नभई, भविष्यका पुस्ताहरूले आफ्नै प्राकृतिक सम्पदासँग सुरक्षित र सचेत रूपमा बाँच्न सिकून् र निरन्तर शिक्षा पाउन सकून् भन्ने सुनिश्चित गर्ने अवसरका रूपमा लिइनुपर्छ।

थापा जलवायु परिवर्तन, विपद् तथा शिक्षा अनुसन्धानकर्ता हुन्।

प्रकाशित: २५ भाद्र २०८३ २१:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App