९ मंसिर २०८१ आइतबार
image/svg+xml
ब्लग

भूकम्पमा मोबाइल न्युजरुम

काठमाडौं- एक वर्षपछि यो दिन फेरि आएको छ। भूकम्पका एक वर्ष त्रासमै बिते। पुन:निर्माण र राहतको आशमै एक वर्षको चक्र पूरा भयो। वैशाख १२ पछिका केही दिन न्युजरुम त्यति सहज भएन। त्यसमा पनि अनलाइनकर्मीहरुका लागि छिनछिनका समाचार अपडेट गर्न प्राविधिक कठिनाई समेत झेलिरहन पर्‍यो।

 

कठिनाईका बीचमा पनि हामी निरन्तर नागरिकन्युजको अपडेटमा लागि रह्यौं। भूकम्पपछि साथीहरु आर्मी अफिसर्स क्लव अगाडि भेला भएका थिए। सबैको मनमा एउटा त्रास थियो। भूकम्प जाँदा म बालुवाटार स्थित डेरामानै थिँए। भूकम्प पछि सहरमा एउटा सन्नाटा थियो। सार्वजनिक सवारीहरु चलेका थिएनन्। अफिसनै कसरी पुग्ने भन्ने पहिलो चिन्ता थियो। हिँडेरै अफिस पुगें। वीर अस्पताल आइपुग्दा हृदय विदारक दृष्यहरु देखिए। म पनि वीर अस्पतालमा स्वयम सेवकको रुपमा साँझसम्म खटिएँ। त्यस पछि अफिस।
13054866 10208373165199502 146862158 o
सबै साथीहरु अब कसरी न्युजरुमलाई अघि बढाउने भन्नेमा चिन्तित थिए। जेडिए कम्पल्क्समा रहेको हाम्रो अफिसमा क्षति नपुगे पनि अघि र भपछिका कमजोर भवनका कारण त्यहाँ अावत-जावत गर्नु खतरा थियो। अर्को कुरा निरन्तरका पराकम्पनले भर्‍याङ चढ्ने मानसिकतामा कोही थिएनन्।

त्यो दिन जेडिए कम्प्लेक्सको दोस्रो तल्लामा रहेको अफिसमा नै बसेस काम गर्‍यो। पत्रिकाको काम पनि कार्यालयबाटै भयो। पराकम्पको त्रासका बीचनै १० बजे पत्रिका र अनलाइनको काम सकेर हामी त्यहाँबाट निस्कियौं। अफिसबाट त निस्कियो तर घर भित्र जाने खाना पकाउने खाने र सुत्ने सहज स्थिति त्यो बेला थिएन। घर भित्र बस्नु कालको मुखमा पस्नु जस्तै महसुश हुन्थ्यो। सामाचार लेखेर घर त आइयो विस्कुटकै भरमा जाग्रम बसेर रात काटाइयो।

भोलिपल्ट भने हाम्रो न्यूजरुम आर्मिअफिसर्स क्लवमा टेन्ट टाँगेर व्यवस्थित बनाउने प्रयास भयो। खुल्ला ठाउँमा हुँदा डर कम हुन्थ्यो र काम गर्न सहज। प्राविधिकरुपमा भने निकै कठिनाइ। इन्टरनेटको लागि नेपाल टेलिकमलाई सम्झनै पर्छ। टेलिकमले कल सहित इन्टरनेट पनि निशुल्क उपलब्ध गराएको थियो। मोवाइलबाट हट स्पट बनाएर अनलाइनको काम सुरु भयो। हाम्रो न्युजरुम टेन्ट नै भयो।
13084178 10208373171319655 367737072 n
भूकम्पमा टेन्ट पाएपछि घर जान मन नलाग्ने रै'छ। त्यो भन्दा पनि छिन छिनका घटनाक्रमहरुलाई अपडेट गर्नु थियो। त्यसैले हाम्रो टिम न्यूजरुमलाई नै आश्रय स्थल बनाउन बाध्य थियो। टेन्टमा नै म्याट विच्छ्याएर हामी सुत्यौं। चार दिनसम्म यसरीनै काम भयो। त्यस पछि हाम्रो न्यूजरुम इमाडोल स्थित प्रेस कार्यालयमा सर्‍यो। त्यहाँ खुला ठाउँ र व्यवस्थित भवनहरु थिए। पराकम्पहरुले खास त्रसाउन नसक्ने खालका। अनलाइनको लागि जहाँ पुगे पनि मुख्य समस्या इन्टरनेटकै रह्यो। स्पिडको इन्टरनेट नहुँदा बेरोजगार जस्तै बनिने। त्यसको लगि पनि हामी विविध उपायहरु अपनाउँदै निरन्तर पाठकहरुलाई फोटो भिडियो सहितका समाचार अपडेटमा लागि रह्यौ।

आज जेडिए कम्प्लेक्सको दोस्रो तलामा बसेर यो लेखिरहँदा ती कठिन दिनहरुको याद आइरहेको छ। त्रासले यस्तो बनाएको थियो कि न्यूजरुमा छिरौं कि नछिरौं भइरहन्थ्यौ। टुँडिखेलको टेन्ट न्युजरुम भूकम्पबाट सुरिक्षत थियो। तैपनि पराकम्प महसुस गर्दा दौडिन मन लाग्ने।

फेरि बैशाख २९ गते अर्को झड्का महसुस भयो। यसले दोलखा लगायतका जिल्लामा ठूलो क्षति बनायो। त्यस पछि फेरि सुन्धारा स्थित अफिसमा बस्ने स्थिति भएन। न्यूजरुम इमाडोल नै सर्‍यो। त्यहीबाट नागरिक, रिपब्लिका र अनलाइनको काम सुरु भयो। यो पटक भने इमाडोलमा कति दिन बस्नु पर्ने हो भन्ने थाहा थिएन। सबैको मनमा लामै समय यतैबाट काम हुन्छ भन्ने थियो। त्यसैले अफिस पहिले भन्दा केही व्यवस्थित पारिएको थियो। नेटवर्किङ देखि इन्टरनेट सम्मको राम्रो व्यवस्था गरियो। र अनलाइनको लागि आवास र खानाको समेत अफिसले ब्यवस्था गर्‍यो। पाठक समक्ष जतिसक्दो छिटो पुग्ने हाम्रो प्रयासलाई यसले सहज बनाइदियो। उद्दारमा गएको अमेरिकन हेलिकोप्टर दोलखामा दुर्घटना भएको समाचार हामीले त्यहीँबाट ब्रेक गरेका थियौं।

करिब दुई हप्ता इमाडोलमा हाम्रो न्युजरुम चल्यो। त्यसपछि भने फेरि सुन्धारा। त्यसपछिका पराकम्पले त्रसाए पनि भगाउन सकेको छैन। विपत्तिपछि देश विकसित बनेका उदाहरणहरु धेरै छन्। मलाई पनि लागेको थियो यो महाविपत्ति पछि अब हाम्रो देशले विकासको नयाँ गति पकड्ने छ। तर त्यसो भएन। अझै पनि भूकम्प पीडितहरु टेन्टमै छन्। बर्खा, गर्मी र चिसो पीडामै झेलेका पीडितहरुको यो बर्खासम्म पनि घर बन्ने छाँटकाँट छैन। सरकारले दिने भनेको राहत कछुवा गतीमा छ। ग्रामीण भेगको त कुरै छाडौं काठमाडौंकै सरकारी अड्डाहरु जो भूकम्पमा क्षतिग्रस्त भएका थिए तिनको पनि पूननिर्माणको थालिएको छैन। यसले गर्दा पुनःनिर्माण होला र भन्ने प्रश्न आउने रैछ। दाता सम्मेलन आयोजना भयो। सहयोग पनि जुट्यो। जुट्नु मात्र ठूलो कुरा रैनछ। त्यो पीडितका हातमा नपुगे सम्म त्यसको के अर्थ?

भूकम्पको पीडा त छँदै थियो, विपत्ति पछि देश बन्छ भन्ने आश पनि। न यो देश विकसित बन्यो न भत्केका घर बने। मात्र बन्यो पुनः निर्माण प्राधिकरण तर पीडितको काम बनेन्।

प्रकाशित: ११ वैशाख २०७३ २३:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App