१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
ब्लग

मधेस डायरी

हामीले कहिले दीपावलि गर्ने ?
हामीले कहिलेसम्म, कतिपयकसम्म हामी नेपाली हौ भनेर परीक्षा दिइरहने ?
राष्ट्रिय मिडियाले किन मधेश आन्दोलनलाई प्राथमिकता नदिएको ?
नाकाबन्दी भारतले गरेको हो कि ,नेपालका मधेशी दलहरूका मोर्चाहरुले ?
मधेश बन्द कहिले खुल्छ ?
नाकाबन्दी कहिले टुगिन्छ ?


उत्तर दिन नसक्ने यिनै प्रश्नहरूको सामना गर्दे मैलै मध्य र पूर्वी तराई÷मधेशका ८ जिल्लाको यात्रा गरे। प्रस्तावित संविधानमा २ नम्बर प्रदेशमा पर्ने प्रत्येक जिल्लाका कहलिएका व्यत्तित्वहरु, व्यवसायीहरू, जनसाधारण र आन्दोलन हाँकीरहेका नेता, आन्दोलनमा होमिएका ठूलो संख्याका नागरिकसँगको कुराकानी, स्थलगत अवलोकनका आधारमा समाचार लगायतका सामाग्री तयार गर्दे नागरिक दैनिककका लागि पठाउँदै अगाडि बढ्दै जाने मधेश यात्रामा थिए म।

काठमाडौंमा रहँदा तराई मधेशका कतिपय सहकर्मीहरुले सचेत गराएका थिए— राष्ट्रिय मिडियाप्रति आक्रोस छ, विचार गर्नोस हैं। सहकर्मीहरूका सुझाव र सद्भाव अफ्नो ठाउँमा सही थिए। म भित्र तराई मधेशमा साउन अन्तिम देखि विभिन्न मधेशी दलहरूको मोर्चाले चलाएको आन्दोलन, बन्द, हडतालको राजनीतिक पक्ष र त्यसले जनस्तरमा पारेको प्रभावबारे स्थलगत भ्रमण गरेर वास्तविकता खोतल्ने रहर जागेको थियो। मेरो रहरलाई नेपाल रिपब्लिक मिडियाले व्यवस्थापन ग¥यो।

प्रस्तावित २ नम्बर प्रदेशमा परेका पर्सादेखि सप्तरीसम्मका ८ जिल्लाका शहर, बजार, देहातहरूको अवस्थाबारे बुझ्न अशोज ८ गते विहान काठमाडौंबाट बाराको सिमरा विभानस्थलमा ओर्लिएँ। बाराको सिमरा तराईको भूभाग भएपनि त्यो बन्द थिएन। त्यहाँ हड्ताल थिएन र सिमरा आन्दोलनमा होमिएको पनि थिएन। तराई मधेशमा चलेको आन्दोलन डेढ महिनासम्म एक दिन पनि बजार बन्द हुनु नपरेको सिमराको सडकमा ठूलो संख्याका मालवाहक ट्रकहरु लामवद्ध थिए। बसहरु घ्यारघुर गर्दे थिए। ट्राफिक प्रहरीलाई भ्याइनभ्याई थियो। एक मनमा लाग्यांै, यस्तै रहेछ मध्य तराई।

भदौ ७ को कैलाली टीकापुरको जघन्य घटनाको सेरोफेरोमा त्यस क्षेत्रको भ्रमण गरेको ताजा अनुभव सम्हाल्दै म काठमाडौंबाट मध्य तराईको पर्सा ओर्लिएको थिएँ।

दुई नम्बर प्रदेश आन्दोलनमै थियो। बन्द, हडताल जारी थियो। ठाउँठाउँमा कफ्र्यु, निषेधाज्ञा र आन्दोलन चर्किरहेको थियो। म मधेश झर्दा मधेश आन्दोलन ४३ दिन भएको थियो। आज यो डायरी लेखिरहँदा मधेश आन्दोलनका ६१ दिन र नाकाबन्दीका २० दिन भए। मधेशी मोर्चाले असोज ७ देखि सिमाना र राजमार्ग केन्द्रित आन्दोलन सुरु गरेपछिमात्र राजधानी काठमाडौंको जनजीवनमा असर परेको चर्चाहरु छन् । यसबीच सत्ता परिवर्तन भएको छ, मधेश आन्दोलन दशै चाडका कारण केही खुकुलो भए पनि टुंगो लागि सकेको छैन ।

पर्सा

पर्साका नागरिक संवाददाता रितेश त्रिपाठीसँग सिमरामै भेटगर्ने र त्यँहीबाट समाचारको खेती सूरुगर्ने निर्धारित कार्यक्रम फोनबाट तय भएको थियो । म सिमरामा झर्दा रितेश त्यहाँ आइपुगेका थिएनन् । म रुकस्याक भिरेर एयरपोर्टबाट सिमरा बजारमा निस्किए । एक जना मोटरसाइकल चालकले सोधे, कहाँ जाने ?मैले स्वभाविक उत्तर दिए , वीरगंज । उनले जाने भए चढ्नोस भने, मैले साथी आउँदैछन् भन्ने जवाफ दिए । उनी अगाडी बढे, म पनि सडकमै थिए । अर्को एकजनाले पनि त्यसै गरी सोधनी गरे, मैले पहिला जस्तै उत्तर फर्काए । सहृययी मानिसहरूले आग्रह गरेको अनुभव गर्न पनि नपाउँदै उनीहरूले बन्दमा बिजनेस गरिराखेको कुरा एकै छिनमा छर्लङ्गभयो । मधेशी मोर्चाले मोटरसाइकल चल्न चलाउन दिएका थिए । यसको लाभ उठाउँदै कतिपय मोटरसाइकलले यात्रु सेवा दिने गरेका रहेछन् । ठाउँ हेरी १५० देखि ५ सय, ६ सयसम्म भाडा दर चल्तीमा रहेछ । वीरगंजदेखि विराटनगरसम्मको मेरो यात्रा मोटरसाइकलमै चल्यो । एउटा जिल्लाको नागरिक कर्मीले अर्को जिल्लासम्म पु¥याउँदै मेरो यात्रा अगाडी बढाए ।

सिमराबाट २ किलोमीटर दक्षिणको अवस्था बैग्लै थियो । ललका पुल उत्तर ट्रकहरू लामवद्ध थिए । सिमरा क्षेत्रका उद्योगहरूले कच्चा पदार्थ हुन्जेल उत्पादन गरे । ती सामान काठमाडौं लगायतका भूभागमा जान्थे । रातको अध्यारोमा स्कटिङ्गको बन्दोबस्तिमा वीरगंजका उद्योगहरूको उत्पादन राजधानी लगायतका पहाडी जिल्लामा निर्यात भैरह्यो ।

मेधशी मोर्चाका नेता, कार्यकर्ताले अशोज ७ देखि नाकामा धर्ना बसेपछि र छिमेकी भारतले अघोषित नाकाबन्दीको राजनीतिक अस्त्र चलाएपछि स्थिति बद्लिएको अनुभव भयो । यता काठमाडौंमा अभाव हुन थालेपछि राष्ट्रियता र स्वामिमानका गर्जनहरू मधेशमै सुन्न पाइयो । मुलुक हाक्ने नेता देखि मधेश र मधेशी बारे सामान्य जानकारी समेत नभएका 'टुइटे' हरूको सामाजिक सन्जालमा भारत विरोधी राष्ट्रियता जागृत भैरहेको बेला उता मधेश आन्दोलन उत्रिएकाहरुको रगत तताउँथ्यो । उनीहरू काठमाडौं प्रति आक्रोस पोख्दथे । ४१ दिनसम्म काठमाडौंले केही नसुनेको आक्षेप लगाउँने र नाकाबन्दी पछि काठमाडौंमा अभाव भएको समाचार सुनेर खुशी हुने ठुलो संख्याका मधेशी युवाहरूको आक्रोसको व्यवस्थापन कसरी हुन्छ ? मुलक सत्ता राजनीतिको गणितमा रमाइरहेको समयमा मधेश आन्दोलनको बैठान कसरी र कहिले हुन्छ ? अहं प्रश्नहरू छन् । पछिल्ला दिनहरुमा मधेशको प्रमुख नारा, केपी ओली मूर्दावाद थियो । ओलीका बोलीले मधेश आन्दोलनमा उर्जा दिइरहेको पृष्ठभूमिमा उनी मुलुकको प्रधानमन्त्रि बनेका छन् ।

बाराको जीतपुर नपुग्दै मधेश आन्दोलनको मुल स्वरुप देखियो । जीतपुर पुरै बन्द थियो । सडकबीचमा कालो झण्डा गाडिएको थियो र टायर बालेको कालो खरानीले सडक रंगिएको थियो । आन्दोलनको यस्तो रुप पर्सामा मात्र होइन पर्सादेखि सप्तरी र १ नम्बर प्रदेशका सुनसरी र मोरङ्गसम्मको हो । जताततै कालो झण्डाहरू, बन्द शहर र ढोका लागेका देहातका बजारहरू ।

म वीररगंज पुग्दा मुस्लिमहरूको चाड बकरइदको अवसरमा आन्दोलनकारीले लचिलो नीति लिएकाले केही पसलहरू खुलेका थिए । तै पनि वीरगंज पुरै खुलेको थिएन । नाकामा मोर्चाको धर्ना थियो र ठूलो संख्याका समर्थकहरू त्यही जम्मा हुन्थे, साँझ बिहान । सुरुका केही दिन मधेशी मोर्चाका दुई अगल धार बेग्ला बेग्लै स्थानमा धर्नामा थिए । कार्यकर्ताको दबाव पछि त्यो हट्यो ।

हामीले आर्थिक नगरी बन्द, हडतालको चपेटामा परेको समाचार बनायौं । त्यहाँका कहलिएका व्यक्तित्वहरूसँग नागरिक संवाद कार्यक्रम आयोजना ग¥र्यो । नागरिक संवाद मार्फत उनीहरूले मधेशी मोर्चा र सरकारबीच वार्ता हुनुपर्ने सुझाए । बन्द, हडताल, आन्दोलन भोगिरहेको आर्थिक नगरीमा बास बस्ने होटल त पाइयो । बिजुली नभएको बेला एसि नचल्ने जानकारी होटलवालाले दिए । रक्सौल सिमानाका नजिकैको वीरगंजमा पेट्रोल, डिजलको अभाव नहुनुपर्ने हो, काठमाडौंको बुझाईमा । तर, त्यहाँ पनि चरम अभाव थियो । एक महिना देखि पेट्रोल पम्प बन्द थिए । मिनरलवाटरका बोटलमा सडक किनारामा बेच्न राखिको पेट्रोलले मोटरसाइकल यातायात जसोतसो चलिरहेको थियो । यो अवस्था अशोज ८—११ को हो ।

आन्दोलनका क्रममा आफ्ना ६ जना स्वजन गुमाएको वीरगंज अशोज ६ गतेदेखि नियमित कर्फयुबाट मुक्त भएको थियो । प्रशासनले कफूर्य, निषेधाज्ञा लागु गर्ने र आक्रोसित जुलुशले त्यो तोड्ने द्धन्दकै कारण आन्दोलनकारीको मृत्यु भएको घटनाहरूले देखाउँछ । भदौ १४ गते हठात कफूर्य लगाउने निर्णयमा पुग्नुका पछाडीको औचित्य पुष्टीगर्ने आधार सायद प्रशासनसँग छैन । कफूर्य तोड्ेको आरोपमा आन्दोलनको रमाइलो हेरिरहेका विद्याथी दिलिप चौधरीको प्रहरीको गोलीबाट मृत्यु भयो । दिलिप मृत्यको भोली पल्ट गाउँगाउँ उर्लिएको जुलुशले कफुर्य तोड्यो र आफ्ना ४ जना स्वजन पनि गुमायो । त्यस्तै निषेधाज्ञा तोडेको आरोपमा भदौ ३० मा एक जनाको मृत्यु भएको हो ।

औधोगिक सहर, आर्थिक नगरी आर्थिक मामला भन्दा आन्दोलनमा लागेको छ । उद्यमीले एक्यवद्धता जनाएका छन् । पेशाकर्मी, व्यवसायीहरू सुहानुभूति मोर्चाको पक्षमा देखिन्थ्यो । संविधान जारी गर्दा ब्ल्याक आउट गरेको पर्साबाट मधेशवादी दल संविधानसभामा निर्वाचित भएका होइनन् । एमालेले ३सिट र काग्रेसले २ सिट हात पारेको पर्सामा संविधान जारी भएकोमा दीपावलि गर्नेहरु कोही थिएनन् । काग्रेस, एमालेका जिल्ला नेता जो मधेश आन्दोलनमा सहभागि हुन सक्तैनथे, उनीहरु जिल्लाबाट पलाएन भएका छन् । बाँकी कार्यकता खुलेर ' जय मधेश' नारा बोल्न वाध्य छन् । एमामाओवादीका नेता कार्यकर्ता खुलेरै आन्दोलनमा सहभागि हुने गरेका थिए ।

बारा

वीरगंजबाट यात्रा बाराको सदरमुकाम कलैया तर्फ मोडियो । साथमा थिए, सहकर्मी उपेन्द्र यादव । वर्षोदेखि भौतिक विकासबाट पछि परेर काया फेर्न नसकेको कलैया बन्द थियो । आर्थिक उन्नती र भौतिक विकासमा वीरगंजको छायामा परेको, कलैयाका सडकहरु टायरका खरानीले रंगिएको पाइयो । बाटामा अवरोध हरु थिए, कतै रुख ढालिएको , कतै प्रहरीको अस्थायी विट पल्टाइएको । उपेन्द्रले मलाई नबोल्न सल्लाह दिए । मेरो श्याम वर्ण मधेशीको वर्णसँग मिल्दो अनि म मैथिली बोल्न र बुझन सक्ने भए पनि बोलीमा नेपाली टोन आउँने र त्यहाँ भोजपुर बोलिने हुँनाले उनले त्यस्तो बन्देज लगाएका थिए। मेरो पीठ्युको रुकस्याकले समस्या निम्त्याउने त होइन ? एक किसिमको भय मिश्रित यात्राको सुरुवात भयो वीरगंजबाट । कलैयाको एउटा पसल जो आधा सटर खोलिएको थियो, त्यसैमा रुकस्याक राखेर हामी बाराको नाका अटिहर्वा तर्फ लाग्यौ । बाटामा कालो झण्डा, चोक चोकमा आगो बालिएको थियो, देहातका ससना पसल पनि बन्द थिए । सिमानाका अटिहर्वामा नाकाबन्दी लेखिएको तुल मात्र थियो । केही युवाहरु दुर्गा पुजाको नाममा चन्दा उठाइरहेका थिए । उपेन्द्र मलाई अटिहर्वामा छोडेर भारतको आधापुर बजार तर्फ लागे, मोटरसाइकलमा पे«टोल भर्न । उनले मलाई चुपचाप बस्न भनेका थिए । म दशगजाको आडमा रहेको एउटा चिया नास्ता पसलमा थिए । मेरो मनले मानेन, केही बेरपछि उपेन्द्रको सल्लाह उल्लधन गर्दे पसलेसँग कुराकानी गर्न थाँले । उनी धमाधम माटोको चुल्हो बनाउँदै थिए । किन माटाको चुल्हो ? पसलेको जवाफ थियो — नाकाबन्दी धेरै दिन चल्ने जस्तो छ, ग्यास सकियो, अब दाउरा बालेर काम चलाउनुपर्ला । ती पसले जस्तै भारतसँगको सिमानाका नजिकैका किसानहरू आफ्नै पिरलोमा थिए । रासायनिक मल, बीउ, लगायत खाद्यान्न पारीबाट ल्याउन मोर्चाका कार्यकर्ताले नियन्त्रण गरेका पीडा थियो उनीहरुमा । एक बोरा मल समेत ल्याउँन नपाइने नियन्त्रण थियो । मल खन्याएर दुइटा पोकामा हालेरमात्र ल्याउन पाउँने नयाँ उर्दी थियो । किसान र जनसाधारण मोर्चाको निर्देशनमा दैनिकी चलाउँदै आएको अनुभव भयो । पहिले कुनै खाले बन्देज नखेपेका स्थानिय सकसमा थिए । मोर्चाका कार्यकर्ता सिमापारीबाट आएको सामान तस्करी हुँदै काठमाडौंसम्म नपुगोस भन्ने मनोविज्ञानमा उनीहरु सक्रिय थिए ।

समस्या सिमानाकामा बस्ने मधेशीले पनि भोगिरहेका रहेछन् । यता काठमाण्डौमा नेताहरू दाउरा बाल्ने, साइकल चढ्ने र भारतसँग कुनै हालतमा झुक्दै नझुक्ने भाषणमा मग्न थिए । सिमानाका बस्ने, मैथिली भोजपुर बोल्ने, धोती कुर्ता लगाउने, श्याम वर्णको नेपाली पनि नाकाबन्दीको समस्याबाट छटपटाई रहेका थिए । सिमानाका बस्ने र काठमाडौमा बस्ने दुबै नेपाली नाकाबन्दीकै पीडा भोगिरहेको हामीले देख्यौ । अटिहर्वा पछि बाराको ऐतिहासिक थलो सिम्रोनगढ जाने कार्यक्रम बनायौ । बाराको सिमरा र बाराकै सिम्रोनगढमा कस्तो भिन्नता रहेछ ? त्यसको परख गर्ने हाम्रो योजना थियो । १२ असोजमा सिम्रोनगढ पुग्दा हाट लाग्ने भएकोले बजार खुलेको स्थानियले बताए । हामीले त्यहाँका केही नागरिकसँग कुराकानी गर्ने योजना बनायौ । स्थानिय काली मन्दिर परिसरमा रुखको छहारीमा गर्मि छलिरहेका केही पाका मानिस थिए । हामीले एक जना स्थानिय राजनीतिकर्मीलाई मोबाइलबाट त्यही बोलायौं । काग्रेससँग नजिकको सम्बन्ध रहेका ती युवासँग कुरा गर्दे गर्दा चौतामा बसेका एक जना पौढ मानिस जंगिए । उनले आक्रोसपुर्ण प्रश्न गरे 'काठमाण्डौका मानिस किन यहाँ? राष्ट्रिय मिडिया किन यहाँ?'उनको हातमा लठ्ठी थियो । उनी पनि काग्रेसकै पुराना कार्यकर्ता रहेछन् । उनी भन्दै थिए, 'अहिले हामी केही होइनौं, सबै मधेशी आन्दोलनमा लागेको छौं ।' उनको आक्रोसले वरिपरिका मानिसको ध्यान तान्यो । हाटको दिन थियो, परिस्थितिको आँकलन गर्दे हामी त्यहाँबाट भाग्यौं ।

सदरमुकाम कलैया हुँदै सिमरा पुग्नु थियो । कलैया मुख्य चोक नजिकै रहेको बाराबाट निर्वाचित काग्रेस सभासद राधे चन्दको घर मोर्चाका कार्यकर्ताले आगो लगाएर ध्वस्त पारिएको रहेछ । कोल्डस्टोरेज र इर्टा भट्टाका मालिक र सम्पन्न परिवारका उनको घर जलाउनुको घोषित कारण थियो, संविधानमा सही गरेको । तर, बैंकहरु बन्द रहेको अवस्थामा कोल्डस्टोरबाट आलुको बीउ झिकेर किसानले बुझाएको करिव ११ लाख र इर्टा भट्टाको आम्दानी करिव ११ लाख घरमै रहेको अवस्थामा आगजनि भएको रहेछ । भित्र रहेका टिभि फ्रिज, ल्यापटप लगायतका गहना लुटिए । पैसा र गहना खरानी भए कि खल्तीमा गए ? प्रश्नहरू अनुक्तरित छन् । संविधानमा सही गरे वापत आगजनि भएको हो वा घरमै रहेको पैसा र गरगहनाले आगजनिकर्तालाई हौस्याएको हो ? कलैयामा चर्चाको विषय बनेको रहेछ ।

साँझमा सिमरा आइपुग्दा त्यहाँबाट काठमाडौं जाने बसहरू लामवद्ध भएर यात्रुहरू चढाइरहेका थिए । डेढ महिनासम्म सिम्रोनगढ बन्द रहँदा सिमरा खुल्लै थियो । मधेशी समुदायको बाक्लो बसोवास रहेको बाराको सिम्रोनगढ जो भारतसँग सिमाना जोडिएको छ भने बाराको सिमरामा पहाडी मधेशीको बसोबास छ । र, यसको सोझो सम्पर्क काठमाडौंसँग छ, सडक र हवाई यातायातका कारण । बन्द र आन्दोलनकाबीच देहातका, कलैया र वीरगंजका मानिस सिमरासम्म मोटरसाइकल, टाँगामा आउँछन्, बस र जहाज चढेर काठमाडौ् आउँजाउँ गर्छन् । त्यहीबाट ठूलो संख्यामा मालवाह ट्रक काठमाडौं लागि प्रस्थान गर्दा रहेछन् । पेट्रोल, डिजलको अभाव भए पनि कालो बजारमा दोब्बर मूल्य तिरेर काठमाडौंसम्मको यात्रा निरन्तर थियो । पेट्रोलियमको अभाव चर्किएपछि काठमाडौं आउँजाउँ गर्ने गाडीको संख्या आधा घटेको जानकारहरूले बताए । सिमराबाट समाचार पठाएपछि यात्रा रौतहट तर्फ लाग्यो ।

रौतहट

अशोज १२ गते, उपेन्द्रले बाराको पथलैयासम्म ल्याए । राजमार्गमा गाडी चलेरहेको विश्वासमा हामी त्यहाँ आएका थियौ । गाडी पाए गाडीबाट रौटहटको चन्द्रनिगाहापुर जाने नभए उपेन्द्रकै मोटरसाइकलमा हुँइकिने योजना थियो । अघिल्लो दिन काठमाडौंबाट छुटेको एउटा बस भेटियो । म त्यसैमा चँढे । स्कटिङ्गमा पर्न नसकेर अलपत्र अवस्थामा गुडिरहेको बस भरी पूर्व तेह्रथुमसम्मका यात्रु थिए । सामान्य अवस्थामा विहानै झापा पुग्नुपर्ने बस, अपरान्ह करिव ३ बजे जसोतसो पथलैया पुगेको थियो । डिजल सकिएर त्यसको जोरजाम गर्दा ढिलो भएको यात्रुहरुले सुनाए । उनीहरू अन्यौलग्रस्त थिए । रौतहट, सर्लाहीसम्मको राजमार्ग सुरक्षित जस्तै देखिए पनि महोत्तरीको बर्दिबास पछिको यात्रा गर्न सहज थिएन । एक जना यात्रु भन्दै थिए — भोली सम्ममा इटहरी पुगिन्छ कि ? एक दिनको यात्रा तीन दिन लाग्ने भो ।

म बसबाट चन्द्रनिगाहापुरमा ओर्लिए । रौतहटका सहकर्मी मदन ठाकुर लगायतका संचारकर्मीसँग भेटभयो । चन्द्रनिगहापुरका संचारकर्मीको सुझाव थियो, गौर नजान, त्यहाँ खतरा छ । आन्दोलनरत एउटा पक्षले रौतहटका केही पत्रकारको ज्यान लिने धम्की दिएको पृष्ठभूमि साथसाथ गौर र चन्द्रनिगहापुरका संचारकर्मीबीचको द्धन्दको कारण खतरा आँकलन गरिएको थियो । भोली पल्ट गौरमा लोकतान्त्रिक मधेशी मोर्चाको बैंठक र त्यसै दिन आमसभालाई नेताहरूले सम्बोधन गर्ने कार्यक्रम थाहा पाए पछि गौर पुग्ने निधो गरियो । मदन र म गौर लाग्यौ । बाटामा पर्ने गरुडा बजारमा हामी रोकियौं । त्यहाँ शिक्षक पेशाका नागरिक अगुवा संजय साह मित्रसँग कुराकानी भयो । म काठमाडौबाट गएको राष्ट्रिय मिडियाको प्रतिनिधि भएको नाता लगाउँदै उनले प्रश्न गरे 'हामीले कहिले दीपावलि गर्ने सर?' संविधानजारी भएको दिन ब्ल्याक आउट गरेर विरोध जनाएको गरुडाले कहिले संविधान पाएकोमा गर्व गर्दे दिपावलि गर्ला ? मसँग उत्तर थिएन । मधेश आन्दोनलमा अरु मुद्धामा बहस गर्दे हामी गौर लाग्यौं ।

गौरमा कालो झण्डाले स्वागत गरेको थियो । भोली पल्ट मोर्चाको बैंठक हुने र आमसभाको कार्यक्रम रहेकोले नेताहरूको चहल पहल देखिन्यो । म त्यहाँको सिया प्यालेस होटलमा गएर बसे । त्यही होटलमा मोर्चाका नेता उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द यादव लगायतका नेताको बसोबास थियो । मधेशी दलका अन्य नेताहरू प्रशस्त थिए । मैले नेपालीमा बोलेकोमा आपत्ति जनाउँदै मधेशमा आएर पहाडी भाषा बोल्ने भन्ने जस्ता प्रतिक्रियाहरू व्यक्त भए त्यहाँ । मैले त्यसै दिन, मोर्चाका नेता ठाकुर र महतोसँग सक्षीप्त कुराकानी भयो । ठाकुर काठमाडौंमा प्रधानमन्त्रि सुशिल कोइराला लगायतका शीर्ष नेतासँग वार्तालाप गरि गौर झरेका थिए । सरकारले वार्ता समिति गठन गरेको थियो । तपाई त प्रधानमन्त्रि लगायतका नेतालाई भेटेर आउँनु भएको छ ? वार्ता कसरी अगाडी बढ्दै छ, निकास कसरी निस्कन्छ ? मेरा प्रश्नको सटिक उत्तर दिए ठाकुरले । उनले भने 'सरकारमा सुशिल मात्र हुनुहुन्न, एमाले पनि छ र एमाओवादी पनि सत्तामै भए जस्तै अवस्था छ ।' उनको भनाईबाट मैले आँकलन गरे, प्रधानमन्त्रिबाट मात्र मधेश चलिरहेको आन्दोलन सम्बोधन नुहने रहेछ ।

अशोज १३ गते मोर्चाको बैठक थियो । बैठकले ठाकुरलाई औपचारिक वार्ताको जिम्मेदिने अनुमानहरू थिए । बैंठक सम्पन्न हुनासाथ एक जना नेताका सहयोगीले ठाकुरलार्ई वार्ताको जिम्मा दिएको सूचना दिए । हामीले त्यही आधारमा समाचार बनायौ र नागरिक अनलाइनलाई टिपायौं । गौर वैठकको औपचारिक प्रेस विज्ञप्तीमा भने वार्ता को व पनि थिएन र औपचारिक रुपमा ठाकुरलाई कुनै जिम्मेवारी दिइएको पनि थिएन ।

नाकाबन्दी लगायतका कार्यक्रम निरन्तरता दिदैँ, सरकारलाई कर, राजस्व नतिर्न आव्हान गरिएको थियो । मोर्चाले आयोजना गरेको आमसभामा ठूलो संख्यामा देहातका मानिस आएका थिए । सुरक्षाको कारण देखाउँदै गौरमा कुनै खाले शक्ति प्रर्दशन नगर्ने नीति मोर्चाको थियो । आमसभामा ठाकुरले सम्बोधन गरे, मधेशका मागहरुका साथ सरकारसँग भैरहेका वार्ताको चर्चा गरे । उनी गौरको आमसभामा बोलेर त्यसै दिन काठमाडौं पुगेर वार्तामा संलग्न हुने बताइएको थियो । आमसभामा बोल्ने महेन्द्र यादव र राजेन्द्र महतोले पनि वार्ताबारे बोले तर एक घण्टा लामो भाषणमा उपेन्द्रले वार्ताको व पनि उच्चारण गरेनन् । मधेशी दल मोर्चा बन्दी गरेर आन्दोनलमा होमिएको भए पनि सबै दलका आआफ्नै रणनीति छन् । कसले कसलाई गद्धार भन्ने तयारी पनि उनीहरूबीच भैरहेको कुरा गौरमै सुनियो ।

गौरबाट भारतको बाटो हुँदै सर्लाहीको मलंगवा जाने कार्यक्रम तय गरिएको थियो । तर यो छोटोबाटो जान पाइएन । रौतहट १ बाट निर्वाचित, गौर निवासि एमाले वरिष्ठ नेता माधव कुमार नेपाल रौतहटको चन्द्रनिगहापुर आउँने कार्यक्रम जानकारीमा आयो । धेरै जिल्लाबासिलाई पत्तो नभएको र एमालेका जिल्ला थोरै नेता तथा कार्यकर्तालाई जनाउ दिइएको नेपालको भ्रमणले चन्द्रनिगहापुर डो¥यायो । नेपालको कार्यक्रममा भागलिन रातराता एमालेका जिलला अध्यक्ष लगायतका नेता चन्द्रनिगाहापुर ओर्लिए । धेरै जसो काठमाडौबाट त्यहाँ पुगेका थिए । नेपाल स्वंय आफ्नो गृहनगर सदरमुकाम गौर पुग्न नसक्ने अवस्थाले देखाउँछ त्यहाँ एमालेका नेताहरू सुरक्षित बस्न सक्ने अवस्था छैन । संविधानको वकालत गर्ने नेपालको मुख्य कार्यक्रम थियो ।र त्यसका लागि गाउँ कमिटीका पदाधिकारी समेत उपस्थित हुन् भनिएको थियो । तर, उपस्थित हुन उर्र्दी गरेका सबै आएनन्, ३, ४सयको हाराहारीमा कार्यकर्ता थिए, अधिकाश मधेशी मुलका । नेपालले संविधानमा मधेशका माग सम्बोधन गरिएको जिकिर गरे । नेपालसँग नागरिकका लागि अन्र्तवार्ता लिने मौका मिल्यौ । भोलिपल्ट देखि संसद बैंठक हुँदै थियो । नागरिकले, संसद बैंठक बस्दैछ, केही नयाँ कुरा आउँला तराई मधेशको आन्दोलन सम्बोधन गर्न भन्ने प्रश्नमा नेपालको उत्तर थियो ' ... अहिलेको संसदले नयाँ सरकारको कुरा गर्छ ।'

सर्लाही

अशोज १५ गते सर्लाही तर्फ लाग्यौं । साथमा थिए, नागरिकर्मी सन्तोष सिंह । चन्द्रनिगाहापुरबाट बागमति, हरिवन, नवलपुरसम्मको राजमार्गमा आन्दोलनको असर देखिएन । गाडी चलेका थिए । बजार खुलै थिए । नवलपुरबाट दक्षिण सदरमुकाम मलगंवा तर्फ ५, ६किलोमीटर दक्षिण पुग्नासाथ सर्लाही आन्दोलनमा होमिएको स्पष्ट देखिन्थ्यो । उही कालो झण्डा, उस्तै टायर बालेको कालो सडक, पसलहरू बन्द । गैर बजारमा रोकियौ । शिक्षक रजनीकान्त झासँग एउटा चिया पसलमा कुराकानी हुँदै गर्दा वरिपरि किसानहरू झुम्मिसकेका थिए । मधेशमा बन्द, आमहडताल भएको डेढ महिना भैसकेको थियो । प्रत्येकसँग आआफ्नै भोगाइको कथा, व्यथा थिए । सबैले सोधिरहे जस्तै लाग्यो, कहिले खुल्छ बन्दी । कसैले साँढे खोजेको गाईलाई बिज लगाउन नपाएको बताए, कसैले पारिबाट खाद्य, विषादी ल्याउन नपाएको बताए । बागमति सिचाईको नहर भत्किएर धानमा पानि लगाउन नपाएको गुनासो गर्नेको संख्या धेरै थियो ।

मलगंवा जाने बाटोमा एउटा पिकअप जलेको अवस्थामा भेटीयो । 'आन्दोलनकारी'ले आगो झोसेको बताइएको त्यो पिकअपको कथा बेग्लै रहेछ । काठमाडौंबाट मलंगवाका व्यापारिकले मगाएका करोड मूल्यका ल्यापटप र मोबाइल बोकेको त्यो पिकअपमा 'आन्दोलनकारी' ले आगो झोसेका हुन् वा अरुले ? आगोले पिकअपमात्र जलेको पिकअपमा लोड गरिएका ल्यापटप र मोबाइल आगो लगाउनु अघिनै निकालिएको रहस्यमय कुरा रहेछ । व्यापारिहरू आफ्ना सामानको हिसाव किताव मागिरहेको र आन्दोलनको नेतृत्व गर्ने नेताहरूले उत्तर दिन नसकिरहेको अवस्था आँकलन हामीले ग¥यौं ।

मधेशवादी दलका नेताहरूको जिल्ला सर्लाही आन्दोलनमा उत्रिए पनि हिसाबाट जोगिएको रहेछ । तमलोपाका महन्थ ठाकुर, सदभावका राजेन्द्र महतो, तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय, अनि काग्रेसका सभासद अमरेश सिंहको गृह जिल्ला सर्लाहीले कफूर्य भोग्नु परेन, निषेधाषा र दंगा क्षेत्रको पीडा खप्नु परेन । त्यहाँ शान्तिपुर्ण आन्दोलन चलिरहेको देखियो । महतो र सिंहले कैलालीको टिकापुर पुगेर धरेलु हतियार सहित आन्दोलनमा सहभागि हुन उर्दी गरेका थिए । गृह जिल्लामा भने कसैले त्यस्तो उर्दी जारी गरेनन् । आन्दोलन चर्काउने राजनीतिक नेतृत्व, स्थानिय प्रशासन, सशस्त्र प्रहरी र प्रहरी प्रमुखहरूको समन्वयकारी भूमिकाका कारण शान्तिपुर्ण आन्दोलन हुनसकेको देखियो । एउटा पक्षले अर्को पक्षलाई त्यसको श्रेय दिइरहेका थिए । प्रशासनले केन्द्रीय आदेशहरू एकातिर पन्छाएर जिल्लाको आवश्यकता अनुसार प्रहरी र बल परिचालन गरेको स्थानियले बताए । हामीले शान्त सर्लाही र किसानका समस्या बारे समाचार बनायौं ।

महोत्तरी

पूर्व पश्चिम राजमार्गले सबै भन्दा कम छोएको जिल्ला हुनुपर्दछ महोत्तरी । बर्दिबास र आसपासको केही क्षेत्र मधेश आन्दोलनको चपेटामा नपरेको, त्यहाँबाट दैनिक काठमाडौंसम्म सार्वजनिक यातायात चलेको पृष्ठभूमि भएपनि मधेश आन्दोलनमा ६ जना नागरिक र एक जना सुरक्षाकर्मीले मृत्युवरण गरेको महोत्तरीको अवस्था पेचिलो अनुभव भयो । साथमा थिए, नागरिकका महोत्तरी प्रतिनिधि महेश दास । बर्दिबास देखि जलेश्वससम्मको यात्रामा सबै जसो बजारहरू बन्द थिए । रामगोपालपुर बजारका पान पसल समेत बन्द थिए । केही दिन अघि मोर्चाले पसल खोल्नेलाई ठूलो राशीको जरिबाना लगाउने उर्दी गरेकोले बजार ठप्प भएको स्थानिय बुझाइ थियो । ठाउँठाउँमा कालो झण्डा, उही टायर बालेका काला सडक । जलेश्वर पुग्दा साँझ परिसकेको थियो ।

अशोज १७ गते बिहान जलेश्वरको अवलोकन गर्न पाइयो । जलेश्वरको केन्द्र महेन्द्र चोकका केही पसलमा ' वेलकम इण्डिया' लेखेका पोस्टर थिए, कम्यूटर प्रिन्ट गरेका । काठमाडौंमा 'इण्डिया आउँट' अभियानको प्रतिक्रियामा त्यस्तो नारा लेखिएको स्पष्टीकरण दिए स्थानियले । काठमाडौंका बोली र व्यवहारले मधेशमा आक्रोस बढाएको अर्थ लगाए । बजार सामान्य खुलेको थियो । शान्त देखिने जलेश्वरमा कसरी मधेश आन्दोलनको क्रममा ७ जनाको इहलिला समाप्त भयो होला ? प्रश्नहरू जस्तै सरल छैनन् उत्तरहरु । मधेश आन्दोलन सुरु भएपछि दिनदिनै हुँदै आएको जुलुश प्रर्दशन, आन्दोलनकारी र प्रहरीसँगको ढुंगाहाना हानाका नियमित दृश्य भन्दा फरक थियो भदौ २३ को आन्दोलन । स्थानियका अनुसार विभिन्न गाउँबाट ठुलो संख्याका नागरिक आएका थिए जलेश्वरमा —जुलुश प्रर्दशन गर्न । प्रहरी मूठभेडमा नजाने मनस्थितिमा पछिपछि हट्दै जिल्लाा कार्यालय परिसरमा सिमित भएको र सशस्त्र प्रहरीले पनि दंगामा नउत्रने नीति अनुसार मैदान खाली गरेको अवस्थामा जुलुशमा आएका केही युवाहरू जो मोर्चाका नेताहरूको आदेश र आग्रह अस्विार गरिरहेका थिए उनीहरूले जिल्ला प्रहरी कार्यलयमा धावा बोलेपछि प्रहरीले गोली चलाएको प्रहरीको भनाई छ । नेताको आदेश नटेर्ने युवाहरूले प्रहरी कार्यालयमाथी आक्रमण गरेको स्थानियको कथनले आन्दोलनको भित्रि कथा पेचिलो रहेको देखिन्छ । विभिन्न मोर्चामा आवद्ध मधेशी दल र आन्दोलमा एक्यवद्धता जनाएका वैद्य र विप्पव माओवादी खेमाका साथसाथ पृठकतावादी अभियनाका सिके राउतका कार्यकर्ता पनि जुलुशमा सहभागि हुने गरेको प्रहरी र स्थानिले बताए । सिके राउतको 'चलु मधेशी आजादी ले' बोलको गित र रगत तताउने संगित जुलुशमै घन्क्याइने गरेको स्थानियले बताए । मोर्चाका एक नेताको नेपालको संविधानलाई 'पडोसी देशको संविधान भन्नुपर्ने दिन आउँनसक्छ ' भन्ने टिप्पणिले आन्दोलन संविधानको विरोधमामात्र सिमित नभएको अनुभव भयो । प्रदेश होइन बेग्लै देश भन्ने युवाहरू प्रशस्त भेटिए ।

प्रहरीको गोली लागेर १७ वर्षिय विद्यार्थी रोहण चौधरीको मृत्यु भएको घटना सेलाएको थिएन । कक्षा १० मा अध्ययनरत उनी टयूसन पढेर घर फर्कदै थिए । आन्दोलनमा होमिएका अमित कापर, रामविनोद यादव र वीरेन्द्र बिच्छा लाई प्रहरीको गोली लाग्यो । तीन जनाले जलेश्वरमै मृत्युवरण गरेका थिए । विच्छाको उपचारको क्रममा काठमाण्डौमा मृत्यु भएको हो । २३ गतेको घटनापछि शान्तिपुर्ण आन्दोलन हिंसामा परिणत भयो । २४ गते जलेश्वारबाटै निस्किएका महिलाहरूको जुलुशले कफयू तोड्यो, निषेधाषा उल्लघन गरेको रछेछ । २५ गते आन्दोलनकारीले सशस्त्र प्रहरी थमन बहादुर विश्वकर्मालाई आक्रमणमात्र गरेनन् उपचारका लागि जनकपुर लैजादै गर्दा एम्बुलेन्सबाट थुतेर निर्मम तरिकाले हत्या गरेको घटनाले सशस्त्र प्रहरी प्रतिशोधमा उत्रियो स्थानियको बुझाई रहेछ । सशस्त्र प्रहरी विश्वकर्माको लास लिन महोत्तरीको सनुखडा जाने क्रममा अन्धाधुन्ध गोली पड्काउँदै हिडेको दृश्य स्थानियमा ताजै रहेको हामीले पायौ । सशस्त्रको गोलीबाट रामशीला मण्डलको मृत्यु भएको थियो । स्थानियकाअनुसार आफ्नै घर नजिकै उभिरहेकी उनी सशस्त्रको निशानामा परेकी थिइन् । रामशीला अघिल्लो दिन निस्किएको महिलाको जुलुशको नेतृत्वकर्ता मध्येकी हुन् । उनलाई सशस्त्रले चिनेर गोली चलाएको आँकलन स्थानियको छ । त्यस्तै २३ गते नाती गुमाएका गणेश चौधरी जो कफूर्य नलागेको र निषेधाज्ञा नतोकीएको सानो बजारमा सुर्ती किन्न निस्किएको बेला सशस्त्रको निशानामा परेका थिए । समाजसेवाको परिचय कमाएका गणेश कुनै आन्दोलनमा थिएनन्, जहाँ उनको मृत्यु भयो त्यहाँ कफर्यु, निषेधाज्ञा केही थिएन । घटनाले देखायो आन्दोलनकारी प्रतिशोधमा विश्वकर्मा परे सशस्त्रको प्रतिशोधमा रामशिला र गणेश परे ।

महोत्तरी हत्या घटनाको छानविन हुनुपर्ने मान्यतामा छ । न्यायिक छानविन हुनुपर्ने उनीहरुको मागको सम्बोधन हुन्छ कि हुन्न ? हामीले आन्दोलनको नाममा छोरो र बाबु गुमाएको विनय चौधरीलाई भेट्यौं ।उनले सत्ता राजनीतिमा नलागेर मधेश आन्दोलन सम्बोधन गरेर समाधान निकाल्न सुझाए । सहादत प्राप्त गरेका अमित कापरको घरमा पुग्दा उनकी गर्भिणि श्रीम्ती काखमा साँढे तीन वर्षको छोरा खेलाउँदै थिइन ।आन्दोलनमा मृत्यु भएकाका परिवारलाई सरकारले घोषणा गरेको पैसा प्राप्त नगरेको उनले सुनाइन । चौधरी परिवार सरकारले दिने पैसा थपेर आफ्ना स्वजनको नाममा स्मृती पार्क बनाउने पक्षमा रहेछ । कापर परिवारको कथा बेग्लै छ । भर्खर १८, १९ वर्षकी जस्तो देखिने कापरकी श्रीमती अन्यौलमा थिइन् । पटक पटक सोध्दा सरकारले दिने पैसा बच्चाहरूका लागि बैंकमा राख्ने मनसाय मन्तोरिया देविले व्यक्त गरिन ।

मधेश आन्दोलनका पेचिला प्रश्न, ७ जनाको मृत्यु र हिंसामा मुछिएको जलेश्वर सामान्य अवस्थामा फर्कने चेष्टा गरिरहेको थियो । महेन्द्र चोकमा दुर्गा मन्दिर बन्दै थियो । जलेश्वरका युवाहरू बन्दले प्रभावित विपन्न परिवारलाई खाद्यान्न बाड्न तल्लिन थिए । दृश्य १७ अशोजको हो ।

घनुषा

महोत्तरीबाट १४ किलोमीटर टाढाको जनकपर धाम पुग्ने बाटो वर्षोदेखि जीर्ण छ । धूलो बाटोमा पर्ने बजारहरू बन्द थिए । महेशसँगै जनकपुर धाम पुग्दा अनुभव भयो, जनकपुर महोत्तरीको जलेश्वर भन्दा कठोर रहेछ । जलेश्वरको बजार आंशिक खुलेको भए पनि जनकपुर ठप्प थियो । जनकपुर कडा आन्दोलनमा उत्रिएको अनुभव भयो । बजार बन्द, बैकहरू बन्द, जनजिवन कष्टकर । तीन जना स्वजन गुमाएको जनकपुरमा प्रदेशको सिमानमा अल्झनु हुन्न त्यो भन्दा अगाडी जानुपर्छ भन्ने आवाज पनि भित्रभित्रै बाक्लिदै गएको हमीले पायौं । काठमाण्डौले मधेशको आवाज नसुनेको, मधेशीको राष्ट्रियता माथी प्रश्न चिन्ह लगाउने काम भैरहेको धारणाले आम मानिसमा एक किसिमको आक्रोस छ । राष्ट्रिय मिडियाले पक्षपात गरेको आरोपहरू जत्रतत्र छन् । छापा मिडिया डेढ महिना देखि नपुगेको काठमाडौंका टिभि र एफएको 'राष्ट्रवादी' अभिव्यत्तिले मधेशमा आजितमात्र पारेको छैन्, आक्रोस थप्ने काम भएको देखिन्छ ।स्थानिय अधिकांश एफएम मालिक मधेशकै नेताहरू हुन् । सबै जसो एफएम आन्दोलनमा पक्ष बनेका र आन्दोलनको आगोमा घीउ थप्ने गरेको अनुभव स्थानियले सुनाए । यस्तो अवस्था जनकपुरकोमात्र होइन ।

नागरिकले जनकपुरको समाजमा कहलिएका व्यक्तित्वहरूसँग राउण्ट टेबुल आयोजना ग¥यो । वत्ताहरूको आग्रह थियो — सबै कुरा छोडेर मधेश आन्दोलन सम्बोधन गर्नुप¥यो । राउण्ट टेबुलमा जनकपुर नागरिक समाजका सुरेन्द्र लाभले प्रश्न मिश्रित जिज्ञासा राखे । उनी भन्दै थिए 'हामी मधेशीले कहिलेसम्म नेपाली हौं भनेर परिक्षा दिइरहनुपर्ने ?' प्रश्न गभिर थियो । मैले उत्तर दिन नसक्ने । व्यवसायीहरू, उद्यमीहरू सबै थोक छोडेर आन्दोलनमा सहभागि भएका रहेछन् । उनीहरु नाफाघाटाको हिसाव किताव गरिराखेका थिएनन् । जनकपुरमा निस्किएको एउटा जुलुस हेर्न पाइयो । जुलुशको प्रमुख नारा 'केपी ओली मूर्दावाद' थियो । ओलीका मधेश विरोधी बोलीकै कारण उनी प्रति मधेशी आक्रोस व्याप्त थियो । कुरो अशोज १८ गतेको हो, उनी प्रधानमन्त्रि भैसकेका थिएनन् ।

सिरहा

जनकपुर स्थित नागरिक संवाददाता सुरेश यादवको मोटर साइकलमा चढेर यात्रा घनुषाबाट सिरहा तर्फ लाग्यो । राजमार्ग सुनसान जस्तै केही मोटरसाइकलमात्र कुदिराखेका थिए । मिनरलवाटरको बोटलमा मुस्किलले भनिएको एक बोतलको १८० रुपैयाको पेट्रोल हालेर हाम्रो यात्रा जनकपुरधामबाट सिरहाको मिर्चेया पुगेपछि विश्राम गर्यो । सिरहाका नागरिक संवाददाता मिथिलेस यादव लहानबाट त्यहाँ आएका थिए । मिर्चेयाका केही व्यवसायीसँग कुराकानी भयो । कुराकानीकै क्रममा संविधानसभा निर्वाचनमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई विजयी बनाउन दिलोज्यान दिएको बताउने एक व्यवसायी दाहालको नाम पनि सुन्न नसक्ने अवस्थामा रहेछन् । दाहाललाई तत्काल भेटेको अवस्थामा ती व्यवसायीले के गर्दथे होला ? उनको आक्रोसित मनोदशाले दूर्घटना निम्त्याउने बताउँथ्यो । उनले भने 'रिहर्लसल त संविधानको मस्यौदा ल्याउँदै भएको थियो ।'

संविधानको मस्यौदा माथी छलफल चलाउन आफ्नो निर्वाचन क्षेत्र ५को मिर्चेया पुगेका दाहाल माथी मधेशी मोर्चाका कार्यकर्ताले वर्षाएको ढुंगाबाट दाहाललाई जोगाउन सुरक्षाकर्मीलाई धौधो पर्यो । मस्यौदा माथीको छलफल हुन सकेन । उनी त्यत्तिकै भागे ।

लहान पहिलो मधेश आन्दोलनको उदगम भूमि हो । अहिलेको आन्दोलनमा यो सहभागि छ र साम्प्रदायिकता नभड्कियोस भनेर सचेत पनि । यहाँ अहिलेसम्म हताहत भएको छैन । समग्रमा शान्तिपुर्ण आन्दोलन चलिरहेको छ, त्यहाँ ।

प्रमुख राजनीतिक दलका कतिपय जिल्ला नेताहरू आन्दोलनमा संलग्न भएको देखिन्छ । काग्रेसका सदासद सितादेवी यादवको घरमा उनले संविधानमा हस्ताक्षर आरोपमा खरानी भएको छ । संविधानको पक्षमा लाग्न निर्देशन दिने एमालेको केन्द्रीय नीतिको खिलाफमा जिल्ला अध्यक्ष प्रमोद यादव गोपाल सेवा समितिको नाममा आन्दोलनमा सहभागि हुने गरेका रहेछन् । एमाले क्षेत्र नं ३ कमिटीले मधेश आन्दोलनमा एक्यवद्धता जनाउँदै जुलुश निकालेको प्रसग एमालेको दिपावली गर्न निर्देशन सिरहामा चर्चाको विषय रहेछ । एमालेका अर्का नेता लिलानाथ श्रेष्ठ जो संविधानसभा निर्वाचनमा एमाओवादीका दाहालसँग पराजित भएका हुन उनी प्रत्यक्ष आन्दोलनमा देखिदैनन् । तर, मधेश आन्दोलन सुरु भएकै साता प्रेस विज्ञप्ती मार्फत मधेशका जायज माग पुरा गर्न पार्टी नेतृत्वलाई दबाव दिदै आएका श्रेष्ठ आजकल नेताहरूको बोलीमा लगाम लाग्नुपर्ने अभिव्यक्ति दिन थालेका रहेछन् ।

लहानका वुद्धिजिविसँग हामीले नागरिक राउण्ट टेबुल छलफल ग¥यौं । छलफलमा भाग लिनेहरू मधेशका माग संविधान संशोधनबाट गर्न ढिलाई गर्न नहुने धारणा राखे । मधेशमा चलिरहेको आन्दोलनका पछाडी मोर्चाका काँघ थापेर अरुखाले चलखेल भैरहेको चिन्ता पनि लहानमा देखियो ।

सप्तरी

सिरहा पछि यात्रा छोट्याउने सोच थियो । सप्तरी रुपनगर (कंचनरुप नगरपापलिका) मेरो गृहनगरमा रहेका ८७ वर्षका बाबुआमाको साधिन्यमा रात विताउने योजना बुन्दै थिए । लहानबाट मिथिलेसले त्यहाँसम्म पु¥याउने कुरा थियो । सप्तरीका संवाददाता जीतेन्द्र विरामी भएको र उनीसँग फोन संवाद पनि हुन नसकेकोले कार्यक्रम छोट्याउन आवश्यक ठानेको थिए । तर, मोबाइलको घण्टी बज्यौ, हेलो भन्नासाथ उताबाट आवाज आयो, म राजविराजबाट खुशीलाल मण्डल बोल्दैछु । उनले राजविराज आउँन आग्रह गरे । मैले नाई भन्न सकिन । त्यो दिन लहानकै बस्नुपर्ने भयो । त्यहाँका प्रहरी प््रमुख उमाप्रसाद चुर्तवेदीसँगको चिया गफका क्रममा रातको समयमा कसरी मालवाहक गाडी र यात्रुवाहक बस काठमाडौं आउँजाउँ गर्छन भन्ने जानकारी पाइयो । लहानका टिकट बुकरहरूसँगको कुराकानी पछि समाार तयार हुने पक्का भयो । रातको समयमा पूर्वीै र मध्य तराई कसरी काठमाडौंसम्म जोडिएको छ भन्ने 'मधेशको काठमाडौ कनेक्ससन' समाचार तयार भयो । पर्सा देखि सिरहा पुग्दाको अनुभवको एकमुष्ट जानकारीहरू त्यसमा थिए । रातको अध्यकारमा धेरै थोक भैरहेको, जोखिम मोलेर यात्रुहरू यात्रा गरिरहेका, मालवाहक सामानहरू काठमाडौं तर्फ दौडिरहेको अवस्था हामीले देख्यौं ।

अशोज २० गते राजविराज पुग्यौं । मिथिलेस र म, त्यही भेट भए राजविराजका नागरिककर्मी जितेन्द्र झा । राजविराजको बजार खुलै रहेछ । राजविराज अशोज दोश्रो सातादेखि स्वफूर्त रुपमा खुल्न थालेको जानकारी जितेन्द्र दिए । बन्द राखिराख्दा व्यवसायी र मोर्चाका कार्यकर्ताबीच झडप हुने भिडन्तको अवस्था बजार खुलेपछि टरेको अवस्था अनुभव भयो ।

हामीले राजविराजमा खुशीलाल मण्डल, नागरिक समाज राजविराजका अध्यक्ष थानसिंह भन्साली र गैरसरकारी संस्था महासंघका अध्यक्ष शम्मुनाथ चौधरीसँगको सक्षीप्त वार्तालाप चलायौं । अढाई दशकदेखि मधेशवादी आन्दोलनको अगुवाई गर्दे आएका वरिष्ठ राजनीतिज्ञ मण्डल मधेशका मागका सरकार उदासिन भएको आँकलन गर्दे चाडो भन्दा चाडो माग सम्बोधन गर्ने सुझाव दिए । नेतृत्व वर्गले मधेशमा चलिरहेको आन्दोलनको राम्रो र मसिनोसँग विश्लेषण गर्नसक्नुपर्ने औल्याउँदै उनले भनेका थिए 'बैलैमा सम्बोधन नभए यसले अर्को बाटो लिनसक्छ ।' राजविराजमा समाचार तयार गरेर म सप्तरीको रुपनगर फर्किए, मिथिलेसको बाइकमा । असोज ९ गते बाराको पर्साबाट सुरु भएको समाचार यात्रा सप्तरीको राजविराज पुगेपछि सम्पन्न भएकोमा एक किसिमको सन्तोष थियो । संविधानमा प्रस्तावित २ नम्बर प्रदेशका सबै जिल्ला चहारेर समाचारहरू लेख्न पाउँनु, आन्दोलनरत शहर, बजार र देहातको जनजिवन अनुभव गर्न पाएको खुशि साथमा लिएर म वृद्ध बाआमाको साधिन्यमा रात विताउन घर पुगे ।

विराटनगर

अशोज २१ गते सप्तरीको रुपनगरबाट प्रदेश नं १ को विराटनगर पुग्नु थियो । साथमा पत्रकार साथी थिएनन् । गाउँकै राधे मण्डलले सुनसरीको सदरमुकाम इनरुवासम्म पु¥याइदिए । सुनसरीको धरान र इटहरीमा आन्दोलनको छाँया परेको छैन । सदरमुकामम इनरुवा र औधोगिक नगर दुहवी पुरै ठप्प थिए । इनरुवाबाट इटहरीका नागरिक संवाददाता अमर खड्काले दुहवीसम्म पुर्याए । नागरिककका विराटनगर स्थित फोटो पत्रकार चुमन बस्नेतले दुहवीबाट विराटनगर लिएर गए ।

पूर्वेलीका स्थानिय सम्पादक अजित तिवारी सहित हामी जोगवनि नाका पुग्यौं । अशोज २० गते साँझ त्यहाँ पुग्दा भसार यार्डमा केही मालवाहक ट्रकहरू थिए । रातमा हुने स्कटिङ्गमा त्यहाँबाट निस्कने प्रतिक्षामा । नाकामा मोर्चाको धर्ना लगायतका कार्यक्रम थिएनन् । चार दिन अघि दुबै देशका भंसार अधिकृतबीच नाका सुचार गर्ने सहमति भएपनि कार्यान्वयन पक्ष सुस्त देखियो । भारतीय भंसारले ढिलासुस्ती गर्दे नियन्त्रित गाडीमात्र नेपाल तर्फ छोडिरहेको अनुभव भयो । सामान्य अवस्थामा दैनिक २५० देखि ३०० गाडी नेपाल भित्रने जोगवनि नाकाबाट अशोज १७ देखि २१ सम्ममा जम्मा ४ सय २१ गाडी आएका थिए । जसमा २२ जना ग्यास बुटेल र ७५ वटा पेट्रोलियम बोकेका टयाङकर । स्थानिय प्रशासनले २,४ वटा पेट्रोलियम ट्याङकर विराटनगरमा राखेर अरु काठमाडौ पठाउने व्यवस्था गरेको रहेछ । भसार यार्डमा रहेका भारतबाट आएका मालवाहक ट्रकहरु दिउँसो विराटनगर आउँनसक्तैनने, मोर्चाको आक्रमणको भयले । राती प्रहरीको कडा सुरक्षाबीच जोगवनिबाट मालवाहक गाडी हुइकिन्छन्, मालवाहक गाडीसँगै यात्रु वाहक गाडीको ताँती हुन्छ, काठमाडौ पुग्न र काठमाडौमा रहेका पूर्वलीलाई दशैमा घर ल्याउँन ।

अशोज २२ मा नागरिकले विराटनगरका उद्यमीबीच राउण्ड टेबुल छलफल कार्यक्रय राख्यो । छलफलमा सहभागिहरूले काठमाडौंमा बस्ने नेताहरूको बोलिमा नियन्त्रण हुनुपर्ने, खोक्रो राष्ट्रवादका कुरा गर्न नहुने धारणा राखे । उनीहरूले नेपालले व्यापारमा विविधिकरण गर्नुपर्ने, आत्मनिर्भरको बाटोमा लाग्नुपर्ने विचार व्यक्त गरे । आन्दोलनका कारण उद्योग धन्दामा परेको नोक्सानीको सरकारले क्षतिपुर्ति दिनुपर्ने उनीहरूको जोडदार माग थियो । उद्यमी भन्दै थिए ' नत्र हामीहरु पनि आन्दोलनमा उत्रन्छौं ।'

काठमाडौं

विराटगरबाट उडेर काठमाडौ झर्दा यहाँको अवस्था अशोज ९मा काठमाडौ छोड्दा भन्दा भिन्न थियो । काठमाडौं छोड्दा एका विहानै सडकमा जाम थियो । भक्तपुर कटुन्जेबाट एयरपोर्टसम्म आउँदा ट्याक्सीले ४५० भाडा लिएको थियो । अशोज २२ को काठमाडौको सडक सुनसान जस्तै देखियो । बसका छतछतमा मानिस थिए । एयरपोर्टबाट भक्तपुर, कटुन्जेसम्म जाने ट्याक्सी पाइएन । मूलबाटो सृजनानगरसम्म पु¥याए वापत ८०० सय असुल्ने गरी टयाक्सी गुड्यो । ट्याक्सीमा म लगायत अन्य २ जना यात्रु पनि थिए, भत्तपुर जाने । प्रत्येकसँग ८ सयमा दरले भाडा असुल्यो ट्याक्सीले । मधेशी मोर्चाको घोषित र भारतको अघोषित नाकाबन्दी अशोज ७ देखि सुरु भएको हो । नाकाबन्दीको प्रमुृख उदेश्य काठमाण्डौलाई सताउनु थियो, काठमाडौ सास्ती भोगिरहेको छ । मधेश आन्दोलनमा होमिएको आज ६० दिन र नाकाबन्दी सुरु भएको २० दिन भयो ।

निचोड

महोत्तरीमा भदौ १० गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आमसभामा सहभागि हुनेहरुले जलेश्वरको महेन्द्र चोक पनि भरिएको थिएन । ४, ५ संख्याका सहभागिबीच मोर्चाका नेता उपेन्द्र यादव,महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्य राय यादवले सम्बोधन गरे । साउन अन्तिमदेखि मधेश आन्दोलन सुरु भएपनि आमसमामा पार्टीका सक्रिय कार्यकर्ता बाहेक अरु हुँदैनथे । तर, भदौ २३ गतेको मधेशी मोर्चाले आयोजना गरेको जुलुश प्रर्दशनले जलेश्वर भरियो । प्रहरीको अनुमानमा त्यसदिन, देहातबाट जुलुशमा आएका ७, ८ हजार नागरिक थिए । आमसभाको दुई साता पछिको जुलुश पर्दशनमा ठूलो जनसमुह कसरी उर्लिया त ? जुलुशमा सहभागिको संख्याले देखाउँछ, त्यहाँ मोर्चामा आवद्ध कार्यकर्ता र समर्थक मात्र थिएनन् । स्थानियका अनुसार, महोत्तरीको क्षेत्र नं ३मा पर्ने जलेश्वर र आसपासका गाउँमा काग्रेसको पडक छ । आमसभामा क्षेत्र नं ३ कै नागरिक धेरै जसो आएका थिए । के देखिन्छ भने मधेशमा चलिरहेको आन्दोलनमा प्रमुख राजनीतिक पार्टीका समर्थक र कार्यकर्ता खुलेर लागेका छन् । कारण, जनसाधारणबीच मोर्चाको आन्दोलन अधिकारका लागि भै रहेको आन्दोलन भनिएको छ । मधेशलाई काठमाडौको खसवादी सोचले हेपेको, मधेशको राष्ट्रियता माथी प्रश्न गरेको जस्ता भावना फैलाइएको छ र यस पटकको आन्दोलन वारपारको आन्दोलन भनिएको छ । पर्सा देखि सप्तरीसम्मको यात्राको क्रममा भेटिएका ठूलो संख्याका नागरिक, आन्दोलनकारी, वुद्धिजिवि, व्यवसायीहरूको एउटै साझा भनाइ थियो — मधेश आन्दोलनको सम्बोधन भएन, मधेशलाई हेपियो, पेल्न खोजियो, त्यसैले मधेश जागेको हो । प्रहरी प्रशासनका कारवाही, कफूर्य, निषेधाज्ञा, दंगा क्षेत्र जस्ता नियन्त्रणले जनस्तरमा आक्रोस फैलाएको अनुभव भयो । प्रहरीले लगाएका बन्देज जुलुसले तोड्ने र त्यही आरोपमा प्रहरीले चलाएको गोलीबाट हताहत हुने प्रत्येक घटनाले जनतामा आक्रोस थप्ने काम गरेको अनुभव हामीले गर्यो । संघीयताको मामलामा नेताहरूले साउन २५ मा ६ प्रदेशको खाका ल्याएका थिए । जुम्ला, सुर्खेत लगायतका जिल्लामा आन्दोलन चर्किएपछि भदौ ४ संघीयताको त्यो खाका बद्लियो र ७ प्रदेश बन्यो । मधेश आन्दोलनका अभियन्ताहरुले नेताहरूको पछिल्लो संशोधनलाई पहाडको आन्दोलनको सम्बोधन भएको तर मधेशको आन्दोलनलाई किनारामा धकेलेको भन्दै प्रशिक्षण दिए । प्रमुख दलहरूले अशोज ३ मा संविधान जारी गरेपछि आयोजना गरेका कार्यक्रम र दीपावलीले आक्रोसको आगोमा घीउ थप्ने काम गरेको पाइयो । मोर्चाले मधेशमा ब्ल्याक आउट गरेर विरोध गरेको पृष्ठभूमिमा दीपावलिका कार्यक्रय उक्तेजना फैलाउने काम गरेको हामीले पायौं ।

मोर्चाले नाकाबन्दी गर्ने नीतिलाई भारतको अघोषित नाकाबन्दीसँग जोडेर काठमाडौंका सोसल मिडियाको राष्ट्रवादी हल्लाले मधेशका नागरिकलाई झन आन्दोलित बनाएको अवस्था रहेछ । काठमाडौबाट हिन्दी सिनेमा र च्यानल बन्द गर्ने संघहरुको निर्णयले मधेशका नागरिकमा चोट पु¥याएको छ । रौतहटको चन्द्रनिगाहापुर पहाडी समुदायको बाक्लो बस्ती भएको र मधेश आन्दोलनले नछोएको बजार हो । त्यहाँका सिनेमा हलवालाको आफ्नै गुनासो थियो ' हिन्दी सिनेमा नचलाउने आदेश छ, यहाँ नेपाली सिनेमा हेर्देहेर्देनन् ।

राजधानीबाट प्रकाशीत हुने पत्रिका र प्रसारण संस्था मधेशको आन्दोलन प्रति संवेदनशील छैनन् उनीहरु सरकारको अस्त्र बनेका छन् भन्ने बुझाइ रहेछ । स्थानिय एफएम मध्ये धेरै मधेशकै नेताहरूको भएको र सबैजसोले मधेश आन्दोलनक पक्ष बनेर आन्दोलन चर्काउने सामाग्रि प्रसारण गर्नेगरेको अवस्था हामीले सुन्यौं ।

दुई महिने आन्दोलन, बन्द, आमहडताल र नाकाबन्दीको आर्थिक हानी नोक्सानीकै हिसाव किताव नगरौ, त्यो अर्ब खर्बमा आउँछ । स्कूल कलेज बन्दले लाखौ बालबालिका शिक्षाबाट बन्चित भएका छन् । जनकपुर बाहेकका प्रमुख सहरमा निजी स्कूल टयूसन केन्द्र जस्तै बनेका छन् । स्कूल ड्रेृस बिना बिहान विद्यार्थी स्कूल जान्छन्, २, ४ घण्टा पढेर घर फर्कन्छन् । सरकारी स्कूलका अधिकांश शिक्षक आन्दोलनमा छन्, चाहेर नचाहेर एक्यवद्धता जनाउनुपर्ने राजनीतिक वाध्यतामा धेरै पेशाकर्मी परेका रहेछन् ।

अंगिकृत नागरिकताबारे प्रशस्त चर्चा छ । संविधानिक प्रावधानको पक्षमा पनि मानिस भेटिन्छन । त्यस्ता नागरिकलाई निश्चित समय बसोबास गरेको आधारमा सबै खाले अधिकार दिनुपर्नेहरु पनि छन् र अगिंकृततका प्रावधान हटनपर्ने मान्यता राख्नेको संख्या पनि ठूलो छ । तर, संविधानमा भएको भन्दा फरक ढंगले प्रचार गर्दे त्यस्तो नागरिकता प्राप्त गर्नेका छोराछोरीले नागरिकता पनि पाउँदैनन् भन्ने प्रचार छन् । अंगिकृत नागरिकले मुलुकको प्रधानमन्त्रि, राष्ट्रपति लगायतका पदमा जान नसक्ने प्रावधान संविधानमा छ । वैवाहिक सम्बन्धबाट आएका महिलाई त्यस्तो नागरिकता दिन नुहने आवाजहरूको पछाडी भारतसँगको रोटीबेटीको सम्बन्ध चिसोपन आउँने चिन्ता छ त्यहा ।

त्यसो त संविधानमा के के छ ? अधिकाश नागरिकलाई पत्तो छैन, प्रमुख राजनीतिक पार्टी जिल्लाका सक्रिय छैनन् । राजनीतिक सुन्यता छ । नागरिक अधिकारको आन्दोलनको नाममा एकोहोरिएका छन् मधेशी जनता । मधेशको आन्दोलन मोर्चाको नियन्त्रणमा छ कि छैन ? एकिन गर्न सकिने स्थिति छैन । मोर्चा पछाडी कति छन्, समयले देखाउँला । मधेशमा जनआन्दोलन भैरहेको जस्तै देखिन्छ ।

दुई नम्बर प्रदेशका सबै जिल्लाको अवस्था एउटै छैन । महोत्तरी पश्चिम एउटा स्थिति छ भने महोत्तरी पूर्वका महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा 'प्रदेश होइन बेग्लै देश चाहिन्छ 'भन्ने युवाहरू प्रशस्त भेटिए ।

मधेश आन्दोलनको नेतृत्व मधेशी मोर्चाहरुको ब्यानरमा भैरहेको भए पनि आन्दोलनमा वैद्य, विप्लव, र राउतहरू लागि परेका छन् । जनताको अपेक्षा , अधिकारको माग आक्रोसमा बद्लिएको अहिलेको अवस्थामालाई लम्ब्याउनु भन्दा चाडो भन्दा चाडो सम्बोधन गर्नु मधेश र काठमाडौ दुबैको हितमा छ ।

 

प्रकाशित: २९ आश्विन २०७२ ०८:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App