२०५९ सालदेखि म एक सामाजिक कार्यकर्ताको रूपमा विभिन्न कार्यक्षेत्रमा संलग्न छु। जब म मेरो कार्यको प्रारम्भिक चरणहरू सम्झन्छु, मैले कहिल्यै समाज सेवक बन्ने सोचेको थिइन तर जीवन, परिस्थिति र अनुभवहरूले मलाई एक समाज सेवक बन्न प्रेरित गर्यो। म भैरहवा भन्ने शहरको हुँ, जुन नेपालको दक्षिणी भागमा अवस्थित छ र यसको भारतसँग खुला सिमाना छ।
नेपाल र भारतबीचको खुला सिमानाले यस क्षेत्रमा बसोबास गर्ने मानिसहरूको व्यापारिक उद्देश्य र जीविकोपार्जनका लागि महत्त्वपूर्ण भूमिका खेलेको छ तर खुला सिमानाका कारण लागुऔषध ओसारपसार र प्रयोगमा युवाको संलग्नता जस्ता गम्भीर विषय पनि लुकेका छन्। भारत र नेपालबीच लागुऔषध ओसारपसार र लागूऔषधको सहज उपलब्धता नै मुलुकभर लागुऔषध दुर्व्यसनको प्रमुख कारण हो।
त्यस समयमा नेपालका अधिकांश युवा लागुऔषधको लतबाट ग्रसित थिए। मेरा अधिकांश सहकर्मी तथा वरपरका युवाहरू लतमा फसेका थिए। त्यहाँ पुनर्स्थापना केन्द्र, परामर्श केन्द्र वा लत रोकथामसम्बन्धी कुनै पनि प्रकारका सेवाहरू थिएनन्। लागूऔषध प्रयोगकर्ताको दर अनि अवस्था अत्यन्तै डरलाग्दो र दयनीय थियो।
मैले आफ्नो पेशा काठमाडौंबाट सुरु गरें, जहाँ मैले एक परामर्शकर्ताको रूपमा समाज सेवकको जीवन विकास गर्ने मौका पाएँ। त्यसपछि म आफ्नै शहर भैरहवा फर्किएँ जहाँ माग न्यूनीकरण कार्यक्रमको आवश्यकता महसुस गर्न थालें। त्यस्ता आवश्यकताको पहिचानले मलाई लागूऔषध प्रयोगकर्ताहरूका लागि सेवाहरू प्रदान गर्न पुनर्स्थापना केन्द्र सुरु गर्न उत्प्रेरित गर्यो।
सुरुमा लागुऔषध प्रयोगकर्ताका परिवारसँग काम गर्न गाह्रो थियो। कार्यक्रम र संस्था दुवैको दिगोपनमा पनि समस्या थियो। संस्थाको नेतृत्व गरिरहेका म लगायतका अन्य सदस्यहरू निरक्षर थिए र लागुऔषध दुर्व्यसनी सम्बन्धी तालिम कार्यक्रमको कुनै अवसर थिएन। यस्ता अनुभवहरूले मलाई आत्म प्रतिबिम्बको लागि उत्प्रेरित गर्यो र अन्ततः मलाई थप पेसागत सीप विकासका लागि पनि उत्प्रेरित गर्यो।
यस्ता अनुभूति भएपछि मैले फेरि काठमाडौंमा आफ्नो थप अध्ययन सुरु गरें। १०+२ स्तरबाट सुरु गरेको अध्ययन सफलतापूर्वक एमफिलसम्म गर्न सफल भएँ। लागूपदार्थ दुरूपयोग क्षेत्रमा एसएलसी मात्रको पृष्ठभूमिबाट काम सुरु गर्दा विभिन्न चुनौती थिए। यसैगरी ५ वर्षको अन्तरालमा पढाइमा फर्कन पनि सजिलो थिएन। मैले पढाइसँगै DFID संस्था अन्तर्गत लागुऔषध दुर्व्यसनीहरूको निःशुल्क उपचार कार्यक्रमका लागि परियोजना संयोजकको रूपमा पाइलट प्रोजेक्ट पनि सञ्चालन गरेको थिएँ। त्यसैगरी भैरहवामा UNDP (PM Units) अन्तर्गत निःशुल्क उपचार आयोजनाको नेतृत्व गर्ने मौका पनि पाएको थिएँ।
परियोजनाको सेवाग्राहीहरू सडकका लागुऔषध प्रयोगकर्ताहरू थिए। मसँग अझै पनि केही सम्झना ताजा छन् जस्तै लागूऔषध प्रयोगकर्ताहरू आफ्ना छोराछोरीसहित सडकमा बसेको। बाबुले पुनर्स्थापना केन्द्रका सेवाहरू प्राप्त गर्दै गर्दा बच्चाहरूले बालगृहबाट हेरचाह र समर्थन पाएका थिए भने मैले ती बालबालिकाहरूका लागि अभिभावकको भूमिका निर्वाह गरेको थिएँ। आमाबाबुको जोखिमपूर्ण कार्यबाट बच्चाहरूले भोग्नुपरेको अवस्था एकदमै दयनीय थियो।
त्यसैगरी लागुऔषध प्रयोगकर्तामध्ये केही एचआइभी संक्रमित र रगतबाट हुने रोगसँग बाँचिरहेका थिए। त्यस्ता सेवाग्राहीहरूका लागि एन्टि रेट्रो थेरापी (ART) मैले मेरो संस्थाको तर्फबाट एचआईभीमा काम गर्ने विभिन्न संस्थासँग समन्वय गरेर व्यवस्थापन गरेको थिएँ। मेरो संस्थाको एक सेवाग्राहीको एचआईभी संक्रमणबाट मृत्यु हुँदा म आफैंले दागबत्ती दिएर अन्तिम संस्कारमा सहभागी भएको थिएँ।
व्यावहारिक र आधारभूत अनुभवहरूको बावजुद मैले सैद्धान्तिक दृष्टिकोणको आवश्यकता महसुस गरें। मैले स्वीकार गर्नुपर्छ- मेरो सामाजिक कार्यको स्नातक (BSW) अध्ययनले मेरो व्यक्तिगत र पेशागत जीवनमा एक परिवर्तनशील मोड ल्यायो। BSW अध्ययन गर्नुअघि म र मेरा अनुभव अनि विचारहरू सानो दायरामा मात्र सीमित थिए। मेरो BSW पढाइपछि संघसंस्थाको क्षेत्रहरूमा बृहत स्तरमा ज्ञान आर्जन गर्ने मौका पाएँ। मैले मेरो समाज सेवालाई विभिन्न आयामबाट अवलोकन गर्न थालें। सैद्धान्तिक परिप्रेक्ष्यले मलाई संगठन परिचालन गर्न र सेवाग्राहीहरूसँग उचित व्यवहार गर्न सक्षम बनायो।
तसर्थ संगठन चलाउन पेशागत ज्ञानको आवश्यकता हुने हुँदा यसलाई सामाजिक कार्य जस्तो पेशागत शिक्षामार्फत प्राप्त गर्न सकिन्छ। काम गर्ने र सिक्ने क्रममा वातावरण, सडक बालबालिका, महिला पुनर्स्थापना केन्द्र, हानि न्यूनीकरण लगायतका विभिन्न क्षेत्रमा काम गर्ने मौका मिल्यो। साथै मैले कलेज स्तरका विधार्थीहरूलाई तालिम प्रदान गर्ने र BSW का विद्यार्थीहरूलाई मार्गदर्शन गर्ने कार्यहरू गर्ने मौका प्राप्त गरें। मैले विशेष गरेर नेतृत्व, व्यक्तित्व विकास र संगठनात्मक संरचना विकाससम्बन्धी तालिमहरू प्रदान गरें।
हाल म काठमाडौंको ज्ञानगुञ्ज डेभेलभमेन्ट नेपाल नामक संस्थामा अध्यक्षको रूपमा नेतृत्व गरिरहेको छु। यस संस्थाले विशेष गरी लुकेर लागूऔषध सेवन गर्नेहरूको पहिचान गर्ने काम गर्दछ र आवश्यकता अनुसार सेवा प्रदान गर्दछ। नेपालमा विद्यमान सेवाहरू प्राय पहिचान भैसकेका लागू औषध प्रयोगकर्ताहरूमा मात्र सीमित रहेकाले लुकेर लागूऔषध सेवन गर्नेहरूका लागि पनि सेवा र सुविधाको उत्तिकै आवश्यक रहेको छ।
यसैगरी लागूऔषध क्षेत्रमा धेरै काम भए पनि यससँग सम्बन्धित अनुसन्धान र सूचनाको प्रचारप्रसारमा कमी छ। यस आवश्यकतालाई ध्यान दिँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको सम्मेलनहरू आयोजना गरी अनुसन्धान तथा विचार आदानप्रदान गरिने छ। पिपल हू इन्जेक्ट ड्रग्स (PWIDS) को क्षेत्रमा धेरै चुनौती र अन्तर छन्।
यसरी समग्र लागूऔषध दुर्व्यसनको क्षेत्रमा प्रभावकारी कार्यक्रम कार्यन्वयन गर्न पेशागत तालिमप्राप्त जनशक्तिको आवश्यकता छ र एक सामाजिक अभियन्ताको हैसियतले नेपालका समाज कार्यका (SOCIAL WORK) विद्यार्थीलाई तालिम दिई अगाडिबाट नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।
प्रकाशित: १६ चैत्र २०७८ ०४:०७ बुधबार