भूकम्प जानु केही दिन अघि ठूलोबुबाको छोराको बिहे काठमाडौंबाट भएकाले मम्मी, बुबा, हजुरबा, हजुरआमा, ठूलो बुबा, ठूली आमा सबै काठमाडौंमै थियौं। भूकम्पको धक्कालगत्तै काठमाडौंमा रहेका हामी सबै ठिकठाकै थियौं। तर अंकल, अन्टी र अंकलको सानो छोरा (भाइ) भने गाउँ गइसकेका थिए। मेरो गाउँ काभ्रेको गैरिबिसौना देउपुर–३।
दाइसँग सम्पर्क हुन सकेको थिएन। करिब ४ घन्टा प्रयासपछि कुराकानी भएको थियो।
चार घन्टामा मनमा अनेक कुरा खेले। त्यतिबेलासम्ममा भूकम्पको ठूलो धक्काले काठमाडौंमा धरहरा, वसन्तपुर, गोंगबु क्षेत्रमा ठूलो क्षति गरेको खबर आइसकेको थियो। गोरखा, धादिङ, नुवाकोटमा पनि मानवीय क्षतिका खबर सार्वजनिक भइरहेका थिए। मेरो मनमा जति जनधनको क्षतिको खबर आउँथे, त्यति चिसो बढ्दै जान्थ्यो। डर बढिरहन्थ्यो। तर दाइसँग मानवीय क्षति नभएको कुरा बुझेपछि मन केही ढुक्क भयो।
मानवीय क्षति नभएको थाहा पाएपछि घर पूरै लडेको चिन्ताले सताउन थाल्यो। केही अघिसम्म अंकल, अन्टी र भाइको चिन्ताले सताएको मन उहाँहरु सुरक्षित रहेको खबरपछि घरको चिन्तामा फस्यो। आफू जन्मेहुर्केको गाउँको घर पो गाँट्ठे!
घाइते अंकललाई अस्पतालमा भेट्ने र त्यसपछि गाउँ जाने निधो भयो। भाइ भूकम्प आएकै दिन अंकलको खबर लिएर गाउँ जाने भएपछि बुबा, म, माइलोबुबा र दाइ आइतबार गाउँ जाने भयौं।
आइतबार खाना खाएर हामी चार जना दुइटा मोटरसाइकलमा काभ्रे हिँड्यौं। धुलिखेल पुगेपछि हामी अंकलको अवस्था बुझ्न धुलिखेल अस्पताल गयौं। अस्पतालमा बाहिर सडकदेखि नै घाइतेको लाम थियो। अस्पताल प्रांगण, सडक, खाली चौरभरि सामान्यदेखि गम्भीर अवस्थाका घाइते देखेपछि कतै अंकललाई पनि धेरै नै चोट त छैन भन्ने शंका लाग्न थाल्यो। हात, खुट्टा, टाउको, ढाड तथा शरीरका विभिन्न भागमा चोट लागेका बिरामीका बीचमा अंकललाई खोज्न थाल्यौं।
करिब आधा घन्टा अंकललाई खोजेपछि थाहा पायौं, अंकलको डिस्चार्ज भइसकेको रहेछ। त्यसपछि भने चोट सामान्य नै रहेछ भन्नेमा विस्वस्त भयौं। अंकललाई फोन गर्यौंस तर फोन लागे पो! घरसँगै पुरिएको मोबाइलमा फोन लागोस् पनि कसरी!
अस्पतालमा भेटिएका गाउँकै सातआठ जना घाइतेले बताएअनुसार हामी धुलिखेलको बस स्ट्यान्ड पुग्यौं। अंंकललाई देख्यौं। उहाँ मुस्काराउनु भयो। चोट सामान्य रहेछ। त्यसपछि हामी धुलिखेलबाट गाउँतिर लाग्यौं।
धुलिखेलबाट २० मिनेटजतिको यात्रापछि केराघारी भन्ने ठाउँ पुग्दा दिउँसो १ बजेतिर फेरि ठूलो कम्पन आयो। पछि थाहा भयो, त्यो ६.९ म्याग्निच्युडको रहेछ। उक्त धक्काले मेरो चलाइरहेको बाइक हल्लियो। छेउमा रहेको घरका मानिस भाग्न थाले। मैले पनि बाइकलाई जसोतसो त्यहीँ नजिकै रहेको खुला चौरमा तेर्स्याएँ। त्यहाँबाट पाँचखाल बजार सबै देखिन्छ। धक्कालगत्तै पाँचखालका केही घर लडेर धुलो बुङबुङ थियो। लडेका घरबाट उडेको धुलो केही मिनेट नियालेपछि मोटरसाइकल अगाडि बढायौं। केही तल केराघारीमै सडकछेउकै तीनवटा कच्ची घर आँखैअगाडि लडे।
आँखैअगाडि घर लडेको देख्दा हामीलाई आफ्नो घर पनि यसैगरी लडेर ध्वस्त भयो होला भन्ने लाग्यो। ती घर आधाभन्दा बढी लडेर क्षति भएका थिए। हेर्दाहेर्दै लडेका ती घरभन्दा हाम्रो घर पक्की जस्तो देखिने भएकाले यति धेरै लडेको छैन कि भन्ने एक मनले सोच्यो। बाटोमा दायाँबायाँ कतै आधा, कतै पूरै लडेका त कतै चर्किएका घर मात्र देखिन्थे।
जति हामी अगाडि बढ्दै जान्थ्यौं, त्यति घरहरु बढी नै लडेका देखिए। मनमा चिसो पस्दै गयो। दुई किलोमिटर वरैबाट गाउँका अधिकांश घर लडेको दखियो। त्यहाँबाट मेरो घर भने देखिन्नथ्यो। तर जति घर लडेको देखिन्थ्यो, ती सबै पूर्ण रुपमा लडेका थिए। केही अगाडिसम्म जोडले एक्सिलेटर दबाएको मेरो हात अब भने काँप्न थाल्यो। मुटुको चाल बढ्यो। घरभन्दा केही तल बाटोमै गोठ पूर्ण रुपमा लडेको देखियो। गोठमा एउटा भैंसी भित्र नै रहेको र गाईलाई भने जिउँदै निकालेको जानकारी पाइयो। त्यहाँबाट अगाडि बढेपछि मेरो जन्मघर पुगियो। तर, त्यहाँ घर थिएन। घर त भूकम्पले सुताइसकेको रहेछ।
घर नियालिरहँदा आँखाबाट आँसु झरिसकेछ। त्यहाँ हाम्रो मात्र घर लडेको थिएन, सारा गाउँभरिको घर लडेको थियो। गाउँभरिमा कसैको पनि ठडिएको घर देखिएन। मैले कल्पना गरेभन्दा हजार गुणा बढी क्षति गाउँमा भएको रहेछ। गाउँ पूरै ध्वस्त। गाउँका साथीभाइ तथा मानिसको अनुहार निन्याउरो थियो। गाउँका कति घरले त सदस्यसमेत गुमाएछन्। पछि बुझ्दा थाहा भयो, भूकम्पले हाम्रो गाउँमा २३ जनालाई खोसेर लगेछ।
आफू जन्मेहुर्केको, बालापन बिताएको घरसँगै गाउँ ध्वस्त भएको र त्यति धेरैको ज्यान गुमेको खबर सुनेपछि मन थाम्नै सकिएन। सबैतिर नियालेँ। गाउँका मानिसअगाडि कालो चस्माले आँसु छोपेँ र आफ्नो घरको भग्नावशेषतिर गएँ। आँगनमा अहिले आँगन थिएन। त्यहाँ त लडेको घरका इँटा, काठका टुक्रा, ढुंगा र माटो मात्र थिए।
स्कुल जाँदाका दिन सम्भि्कएँ। परीक्षाको समयमा झ्यालबाट केही पर रहेको साथीको झ्यालमा बत्ती हेर्दै पढ्थेँ। राति साथीको झ्यालमा बत्ती निभेको देखेपछि आफू पनि पढ्न छाडेर सुतिदिन्थेँ। तर, अहिले न त्यहाँ मेरो कोठा थियो, न साथीको घरमा चिहाउने झ्याल। मेरो मात्र होइन, साथीको घरको हालत पनि त्यस्तै थियो।
आँगनमा मोजाको बल बनाएर खेलेको, बार्दलीबाट आँगनमा भर्खरै ल्याइएको कोदोको थुप्रोमा हाम फालेका पलहरू झलझली याद आए। जति बालापनको याद आउँथे, आँसु त्यति नै उम्लन्थ्यो। बिस्तारै मन दरो बनाएँ। आफूलाई सम्हालें र केही घन्टाको बसाइपछि खानेकुरा, त्रिपाल जोड्नतिर लागेा।
तेस्र सय घर रहेको मेरो गाउँमा एक हजारभन्दा बढी घर पूर्ण रुपमा लडेका छन्। अहिले गाउँमा खानेकुराको सामान्य जोहो भएको छ। तर अझै पनि गाउँमा बस्नका लागि टेन्ट पुग्न सकेको छैन। गाउँका अधिकांश मानिस खुला आकाशमै रात बिताउन बाध्य छन्। घाइतेको उपचारका लागि भने डा. सुवास प्याकुरेलको टिम शुक्रबार गावै पुगेर सेवा दिएको छ। डा. प्याकुरेलको व्यक्तिगत प्रयासले पुगेको टिमले दुःखमा परेका गाउँलेको घाउमा मात्र होइन, मनको चोटमा समेत मल्हम लगाइदिएको छ। सरकारी टोली नपुगेको समयमा उपचारसँगै केही खानेकुरा समेत लिएका गएका डा. प्याकुरेलको टिमलाई गाउँका तर्फबाट सलाम!
सरकारी टोली नपुगेकै बेला मोरङ उद्योग वाणिज्य संघ खानेकुरा, राहत सामग्री बोकेर पुगेको छ। उसलाई पनि सलाम!
प्रकाशित: २१ वैशाख २०७२ ००:२२ सोमबार