प्रायः शनिबार बिहानको खाना खान अलि ढिला हुने गर्छ। आफ्नो घरको तला थप्ने काम चलिरहेकाले त्यो शनिबार पनि बिहान ११ः४५ बजे खाना खान बसेको थिएँ। श्रीमती र छोरी पनि सँगैसँगै डाइनिङ टेबुलमा थियौं। एक्कासि घर केही हल्लिएको महसुस भयो। फेरि एक निमेषमै अकल्पनीय तरिकाले घर पूरै हल्लिन थाल्यो, भूकम्प गएको थाहा भइहाल्यो।
बाल्यकालदेखि नै सुन्दै र पढ्दै आएको कण्ठ थियो– ‘भूकम्प आउँदा घरभित्र खाटमुनि, टेबुलमुनि, दलिनमुनि वा ढोकामुनि दुवै हातले टाउको छोपेर लुक्नुपर्छ।' हत्त न पत्त छोरी र श्रीमतीलाई भान्छाको ढोकाछेउ एकै अंगालोमा बाँधेर राखेँ। श्रीमती घर बाहिर भागौं भन्दै चिच्याउन थालिन्, छोरी कहालिएर रुन थालिन्। दुवैलाई सान्त्वना दिँदै अंगालोबाट फुत्किन दिइनँ।
त्यसअघि जीवनमा कहिल्यै त्यति ठूलो भूकम्प अनुभव गरेको थिइनँ। २०४५ सालमा गएको लगभग यस्तै खालको भूकम्पको झिनो याद भने आउँछ। शनिबारको भूकम्पन रोकिने कुनै छाँट थिएन, तै पनि घर बाहिर भाग्ने कोसिस गरिनँ। एक क्षण त दिमागले सोच्यो– ‘जीवन यति नै रहेछ, अब मर्ने निश्चित छ।'
कम्पनसँगै अर्को चिन्ता पनि थपियो, तीन तलामाथि घर प्लास्टर गरिरहेका चारजना कामदारको हालत के भयो होला भन्ने। तर, पशुपतिनाथको कृपाले होला, लगभग एक मिनेटपछि महाकम्पन रोकियो। ‘धन्य, बाँचियो' भन्दै बाहिर निस्कियौं।
बाहिर निस्किँदा त, हाम्रो गाउँ स्युचाटार पूरै धुलो उडेर नदेखिने भएको रहेछ। अमेरिकाले दोस्रो विश्वयुद्धमा जापानको हिरोसिमा र नागासाकी सहरमा आणविक बम प्रहार गरेपछिको दृश्यझैं। जब धुलो विस्तारै हट्यो, तब देखियो गाउँको असली अनुहार। पुराना घर कुनैको पनि नामोनिशान बाँकी थिएन। हाम्रो स्युचाटार–६ मा रुवाबासी सुरु भइहाल्यो। को र कति जना घरभित्र पुरिए, गाई, बाख्रा कति किचिए, केही पत्तो थिएन। लगभग दुई सय घर रहेको भट्टराई गाउँको करिब ५० घर ध्वस्त भएका थिए।
विपतका बेला सबैले पहिले आफन्त नै खोज्छन्। यो मानवीय स्वभाव हो। मेरो घरसँगै रहेको मेरो माहिलो बुबा (नारायणबहादुर भट्टराई, ६५) को पुरानो घर आधा ध्वस्त भएको थियो। घरमा को थिए, थाहा हुन सकेन। माहिलो बुबाको जेठो छोरा (दाइ) लाई साधेँ, ‘बुबा, आमा, भाइ, बुहारी, भतिजो कहाँ छन्?'
‘सबैजना बाहिर छन्,' दाइले भन्नुभयो।
लगत्तै पाँच मिनेटपछि माहिली आमा आइपुग्नुभयो र भन्नुभो, ‘बुबा माथि कोठामा सुत्नुभएको छ।' त्यसपछि हामी एकैचोटि भग्नावशेष घरभित्र पस्यौं र बुबालाई बोकेर बाहिर ल्यायौं।
‘म मरेँ, म मरेँ,' बुवाले यतिमात्र भन्नुभयो। लगत्तै गाडी मगाएर कलंकीस्थित सहिद स्मृति अस्पताल दौडायौं।
त्यसपछि अन्यको खोजी सुरु भयो। सँगै दिदी (जयन्ती) को तीनतले घर मैदान भएको थियो। धन्य, भगवानले सबैलाई जोगाएछन्। त्यसपछि थाहा भो, हजुरआमा (गोमा भट्टराई, ७०) भेटिनुभएन। हजुरआमाको पुरानो घर पनि ध्वस्त भएको थियो। त्यही घरमा पर्नुभयो कि भनेर खोतल्न थालियो तर फेरि लगत्तै भूकम्प गयो। ज्यान जोगाउन दौडादौड भयो।
अर्कोतिर सँगै रहेका ठूलो बुबा (सूर्यबहादुर भट्टराई) को तीनतले घर मैदान भइसकेको थियो। थाहा भयो, ठूलीआमा, बुहारी (शर्मिला, २२), भाइ सुरेन्द्र र विशाल, बुहारी घरभित्र परेका रहेछन्। तर, बुहारी शर्मिलाको घटनास्थलमै ज्यान गएको रहेछ। कौसीको ढलानले उनलाई च्यापेछ। ठूलीआमा आधा जीउ पुरिएर पनि बोलिरहनुभएको थियो। झन्डै पाँच घन्टापछि ढलान काटेर उहाँलाई निकालेर अस्पताल पठाउन सकियो। सँगैको अर्को पुरानो घर ध्वस्त हुँदा मामाघर आएकी करिब १२ वर्षकी एउटी बहिनीको इहलीला समाप्त भएको थियो।
त्यसपछि अर्को वडा नं. ७ (गौतम गाउँ) पुग्दा त्यहाँ झन् दर्दनाक अवस्था थियो। पुराना घर कुनै बाँकी थिएनन्। पाँचतले दुईवटा पक्की घर सँगै रहेकामध्ये एउटाको जगै उखेलिएर अर्को घरमा अढेस लागेको थियो। त्यसभन्दा माथि रहेका पुराना घर कुनै सद्दे थिएनन्। भाइ बैकुण्ठ बिडारीको घर ध्वस्त थियो। उनकै भाइ पशुपतिको पक्की घर भुइँतलाबाट भासिएर टेढो परेको थियो। हामी त्यहाँ पुग्दा बैकुण्ठको ध्वस्त घर बाहिर उनकी आमाको शव ओढ्नेले छोपिएको थियो। भत्किएको घरभित्र बैकुण्ठकी गर्भवती श्रीमती, छोरी (करिब ६ वर्षकी) र अर्का छिमेकी प्रकाश गौतम र रामनाथ गौतमका लगभग त्यही उमेरका दुई छोरी र अर्का एक नातेदार पुरिएको थाहा भयो। उद्धारकार्य जारी थियो। तर, बाँकीलाई भेट्न सकिएको थिएन।
एक्कासि, साँझ ७ बजेतिर सहिद अस्पतालबाट साहिँलो बुबा (हरिबहादुर भट्टराई) ले माहिलो बुवा हामीमाझ रहनुभएन भन्दै फोनबाट जानकारी दिनुभयो। त्यसपछि सिधै अस्पतालतिर दौडियौं। अस्पतालमा माहिलो बुबालाई कम्बलले छोपेर राखिएको थियो। निष्प्राण शरीरसँगै दाइ (कुमार) र भाइ (शिव) थिए। माहिली आमा र दिदीहरू भगवती र नवती रोइरहनुभएको थियो।
‘नरुनुस्, हामीलाई मात्र परेको पीडा होइन यो,' मैले भनेँ, ‘उता हेर्नुस्, कतिले ज्यान गुमाएका छन्।'
सहिद अस्पतालको आँगनभरि सेतो कपडाले छोपिएका दर्जनौं शव थिए, जो त्यही महाभूकम्पमा परेर संसार छाड्नेहरू नै थिए। त्यसपछि गाउँबाट भाइ–बुहारी (शर्मिला) र अर्की बहिनीको शव गाडीमा ल्याइयो र अस्पतालबाट माहिलो बुबाको शव लिएर दाहसंस्कार गर्न राति ११ बजेतिर टेकुस्थित राजघाट गयौं। त्यहाँ पुग्दा भूकम्पमै परेर ज्यान गुमाएका थुप्रैको अन्तिम संस्कार भइरहेको थियो। केही बेर कुरेपछि आफन्तको दाहसंस्कार सुरु भयो। शव जलाइरहेका बेला पनि भूकम्पका झट्काले छाडेको थिएन। काम सकेर बिहान ६ बजे घर फर्कियौं।
भोलिपल्ट वैशाख १३ गते आइतबारबाट हाम्रो दैनिकी हजुरआमालाई खोज्नेमै सीमित भयो। रात त्रिपालमा कटायो, बिहान उठेपछि चिया पिएर भत्किएका घरतिर हजुरआमा खोज्न दौडियो। फेरि खाना खाएर उही काम। तर, हामीले हजुरआमालाई भेट्टाउन सकेका थिएनौं। काकाहरू रामकृष्ण, श्यामकृष्ण र उमेश पीरको शोकमा डुबे पनि कतै आमालाई जीउँदै भेटिन्छ कि भन्ने आशामा भत्किएको पुरानो घरको इँटा, काठ पन्छाउनमै व्यस्त हुनुहुन्थ्यो, साथमा हामी दाजुभाइदेखि गाउँका सबै हुन्थ्यौं। धेरै प्रयास गर्दा पनि केही सीप लागेन। त्यसपछि एक्स्काभेटर ल्याएर खोतल्ने निधो भयो। केहीछिनमा त्यो पनि आइपुग्यो र माटोको थुप्रो सोहोर्न थाल्यो। एक्स्काभेटरले पनि केही पत्ता लगाउन सकेन।
भूकम्प जानुअघि हजुरआमालाई अन्तिमपटक कसले कहाँ देखेको थियो भन्ने पत्ता लगाउन हामीलाई असाध्यै गाह्रो भयो। धेरैले धेरैथरी अनुमान पनि गरे। काकीहरूले पुरानै घरमा हुनुहुन्थ्यो कि भन्ने अनुमान गर्नुभयो भने केहीले बाटोमा देखेको बताए। केहीले पल्लो गाउँमा सप्ताह महापुराण लगाएको ठाउँमा देखेको बताउँदै थिए। त्यसपछि हामी वडा नं. ३ तिर गयौं जहाँ महापुराण लगाइएको थियो। महापुराणको मण्डप बनाइएको सँगै रहेको गोपी बुढाथोकीको तीनतले घर ध्वस्त भएको थियो। हामी धेरैको अनुमान त्यही घरमा हजुरआमा पर्नुभयो भन्ने भयो। त्यो घरको भग्वावशेष हटाउन गाउँभरिका दाजुभाइ गयौं। धेरै खोतल्दा पनि नभेटिएपछि त्यहाँ पनि एक्स्काभेटर ल्याएर खोतल्ने र सँगै सशस्त्र प्रहरीको कुकुरबाट खोज्ने निधो भयो। त्यताबाट आएर फेरि अन्य भत्किएका घरतिर खोज्ने काम जारी रहे पनि सफलता हात लागेन।
भोलिपल्ट सोमबार सशस्त्र प्रहरीको दुईवटा कुकुरले भत्किएको घरमा सुँघेको माटोको थुप्रोमा प्रहरी र स्थानीयले खोतल्न सुरु गरे। आफ्नोसहित अन्य दुई घरमा खोतल्दा पनि हाम्रो केही जोर चलेन। त्यसपछि सँगैको दिदीको भत्किएको घरमा पनि पुनः खोज्न थाल्यौं, त्यहाँ पनि असफल भयौं।
मंगलबार बिहान एक्स्काभेटर आइपुग्यो। वडा नं. ३ स्थित भत्किएको घरसम्म एक्स्काभेटर लाने प्रयास असफल भएपछि सिधै आफ्नै गाउँ फर्कियौं। शनिबार नै भत्किएर मैदान भएको दिदी (जयन्ती) को घरको दायाँपट्टि भागमा थुप्रिएको कौसीको ढलान एक्स्काभेटरले खोतल्दा हजुरआमाको शव भेटियो।
चौथो दिनमा भेटिएको हजुरआमाको शव देखेपछि फुपूहरू, बुबा, काका, दाजुभाइ, दिदी, बहिनीको रुवाबासी हुन थाल्यो। शव दुर्गन्धित हुन थालिसकेका कारण शवबाहनमा राखेर सिधै टेकु लग्यौं र हजुरआमाको अन्तिम संस्कार गरेर फर्कियौं।
हजुरआमा, माहिलो बुबा र सँगै महाभूकम्पमा ज्यान गुमाएकाको आत्माको चीरशान्तिको कामना र पीडित परिवारजनमा धैर्यधारण गर्नसक्ने शक्ति मिलोस्।
प्रकाशित: १९ वैशाख २०७२ ००:०० शनिबार