विपतमा परेका मानिसको प्राथमिक आवश्यकता र आफ्नो पेसागत धर्मबीच कताकता तादम्य नमिलेको अनुभूति जीवनमै पहिलोपटक भयो।
१५ वर्षदेखि क्रियाशील पत्रकार छु। तर, यस्तो अनुभूति यसअघि कहिल्यै भएको थिएन। वैशाख १२ गते आएको महाभूकम्पले बीसौं जिल्लाका नेपाली आहत भए। भूकम्पले पोखरादेखि केही पल्तिरको गोरखालाई केन्द्र बनाएपछि तुरुन्तै रिपोर्टिङमा जाने मन थियो। तर, पोखरा पनि पटकपटक हल्लिइरहेपछि गोरखा हुइँकिहाल्ने आँट भएन। झन् दोस्रो दिनको झट्काले काठमाडौंसहित धेरैतिरलाई नराम्ररी थर्काएपछि यहाँ पनि अत्यायो र रात पनि चउरमा काट्नुपर्यो।
गोरखामै पुगेर रिपोर्टिङ त गर्नैपर्छ भन्ने लागिरहेकै बेला पत्रकार साथी सागरराज तिमिल्सिनाले राहत लिएर जाने प्रस्ताव गरे। तुरुन्तै हुन्छ भनेँ। सामान लैजान गाडी खोज्दा अरू बेला १० हजार भन्ने पर्यटन व्यवसायीले ३० हजार भने। पाल किन्न जाँदा ८ सय पर्नेलाई १६ र २ हजार पर्नेलाई ३ हजार तिरेको सागरले बताइसकेका थिए। तै पनि किन्नु नै थियो।
पहिला नागरिकमा सँगै काम गरेका युएनडिपीमा कार्यरत युवराज आचार्यले पनि आफ्नै खल्तीको पैसाले खाद्यान्न, तेल र साबुन किनिदिनुभयो। भूकम्प गएको पर्सिपल्ट मलाई फोन गरेर कमल बस्नेत दाइले आफू पीडितलाई सहयोग गर्न इच्छुक रहेको बताएका थिए। अतिपीडित भएका विपन्न कहाँ छन् पत्ता लगाउनू भनेर भनेका थिए। पालहरू लिएर गोरखा जाने भन्नेबित्तिकै मैले उनलाई सम्झेँ।
‘गाडी खोज्दै छौं तर पाइएको छैन, पाइएको पनि महँगो पर्ने भयो,' मैले यति भनेको के थिएँ, उनले मेरै गाडी लिएर जाऊमात्रै भनेनन्, तुरुन्तै फोर ह्विलर गाडी र ड्राइभरसमेत तयार पारिदिए। सर्दामहरू जोरजाम पारेर १६ गते दिउँसो २ बजे सागरसहित हामी गनेस पौडेल, सरस्वती प्रतीक्षा र सौगात पोखरेल गोरखा कुद्यौं।
राहत कहाँ दिन सकिन्छ भन्ने थाहा पाइयोस् र बाँड्न पनि सजिलो होस् भनेर हामीले पोखरामै पत्रकारिता गरिरहेका सौगातको साथ मागेका थियौं। सागरले सौगातजस्तै कर्म पोखरा गर्ने गोरखाका अर्का पत्रकार प्रकाश ढकालसँग पनि सम्पर्क गरे। उनी गाउँ पुगिसकेका थिए।
‘म त पाल पनि नपाएर बोरा ओढेर बसेको छु,' प्रकाशले उताबाट भने, ‘गाउँका ४७ घरको उही हालत छ।' सदरमुकामबाट १७ किलोमिटर मात्रै टाढा छ र गाडी पनि जान्छ भनेपछि हामीले प्रकाशको गाउँ घैरुङ जाने निधो गर्यौं । पोखराबाट हिँडिसके पनि बाटोमा प्लास्टिक पसल देख्नासाथ हाम्रो काम हुन्थ्यो– गाडी रोक्ने र पाल किन्ने। बुढीबजारदेखि दमौलीसम्म त्यसै गरीगरी जाँदा ७० वटा पाल पुगे।
बच्चा नजन्माइसकेकी महिलाले पूर्णताको अनुभव नगरेजस्तो फिल्डमा नपुगी रिपोर्टिङ नगर्दासम्म मलाई पनि अपूर्णता महसुस भइरहेको थियो। यता पोखरामा केही पत्रकार हेलिकप्टर चढेर जान एयरपोर्टमा धर्ना गर्दै थिए। आफ्नो सट्टा ६५ किलो सामान जाओस् र एउटा घाइते भए पनि आउन पाओस् भनेर म एयरपोर्टपट्टि लागेको थिइनँ।
सौगातको घर गोरखा नगरपालिकाभित्रै थियो, तर उसको परिवारका अरू सदस्यले मात्रै होइन गाउँलेहरूले पालको मुख देख्न पाएका रहेनछन्। त्यसैले हामीसँग भएकामध्ये २० वटा उसको गाउँ पुर्याहउने बचन दियौैं। नागरिककै रिपोर्टर साथी नरहरि सापकोटासँग फोनमा कुरा गर्दा बोर्लाङमा पाल पुर्याेउन सुझाए। बाटोमा जाँदाजाँदै के थाहा भयो भने राहत सिधै गाउँमा लैजान पाइन्न, जिविसमा दिनुपर्छ। जिविसमा दियो भने त आफूहरूले कहिले पाउने हो भन्ने टुंगो हुँदैन भन्दै प्रकाश गाउँबाट बजारसम्म आउँछु भन्न थाले।
सौगातको सुझावअनुसार हामीले लक्ष्मीबजार भन्ने ठाउँसम्म आउन भन्यौं तर सर्त थियो– मान्छे नभएको ठाउँमा आउने नत्र गडबढ हुनसक्छ। सौगातको गाउँबाट पनि दुई जना युवा मोटरसाइकल कुदाउँदै लक्ष्मीबजार कटेर १२ किलो भन्ने ठाउँसम्मै आए। मानिसको उपस्थिति नभएको जंगलको बीचमा गाडी रोकेर उनीहरूलाई २० पाल दियौं। बोर्लाङबाट आएका दुई जनालाई पनि १२ पाल त्यसैगरी दिइयो।
सौगातलाई गाउँ पठाएपछि प्रकाशलाई गाडीमा राखेर उसको गाउँ जाने बाटो लाग्दा घडीले साँझको ७/८ बजाएको हुँदो हो। तर समय हेर्ने समय पनि नभएको मनस्थितिमा थियौं हामी। पाल र खाद्य सामग्री सुरक्षित लैजान कठिन होला भनेर प्रकाशले छोटोको सट्टा लामो बाटो रोज्न लगाए।
सदरमुकामबाट पूर्व लाग्दा २ किलोमिटर सडक मात्रै पक्की थियो, त्यसपछि २ किलोमिटर ग्राभेल। १७ किलोमिटर टाढाको घैरुङ पुग्न सम्भवत ८ किलोमिटर बाटो हुँदो हो, फोरह्विलर भनिएको हाम्रो गाडी पनि जानसक्ने बाटो थिएन। रातो माटोमा पानीको आहाल थियो, अर्काको गाडी रिस्क लिने आँट हामीले पनि गरेनौं, र चालक सुनील बस्नेतले पनि।
एकपटक त के होला र भनेर आहालमा गाडी हाल्दा चारपांग्रै चिप्लिसकेको थियो। छेउको एउटा ढुंगामा नअड्किएको भए हामीलाई अरूले नै उद्धार गर्नुपर्थ्यो, हामीलाई नै राहत चाहिन्थ्यो। यो कुरा गाडीधनी कमल बस्नेतलाई थाहा दिनुहुन्न भन्ने सहमति गर्दै हामीले त्यसपछि गाडी अगाडि नबढाउने निधो गर्यौं ।
न अगाडि बढ्ने न पछाडि फर्कने ठाउँमा रातको झन्डै १० बजेतिर हामी अड्किएका थियौं। पोखराबाट साथी भीम घिमिरेले फोन गरे। कहाँ पुगियो? भनेर चिन्ता गरे। मसँग उनलाई दिने उत्तर थिएन।
मैले भनेँ, ‘खै कुन ठाउँ हो कुन, ढुंगामाटो बोल्दैन, रुखपातले भन्दैन।'
भीमले सुरक्षित हुन सुझाउँदै केही सान्त्वना र सद्भावका शब्द पनि बोले अनि फोन राखे। हाम्रो गाडी घच्याकघुचुक गरेको थाहा पाएपछि केही माथिबाट बारीका कान्ला ओर्लदै कोही आयो। एउटा वृद्ध हातमा लाइट बालेर मेरैछेउ आइपुगे अनि नमस्ते गरिहाले। हामी को हौं, कहाँबाट किन आएका हौं भन्ने नसोधी उनले दुखेसोको पेटारो खोलिहाले। ३० जना मान्छे बोरा ओढेर बसेका छौं, केही छ भने दिनोस् सर भन्दै उनले लाइट बालेर गाडीभित्र कोचेका पाल हेरिहाले।
‘यो घैरुङ पञ्चायतको वडा नम्बर ९ हो, म हस्तबहादुर कार्की हुँ,' बूढा भट्टयाउँदै थिए।
हामीले भोलि बिहान खुगी गाउँ आउनोस् त्यहाँ दिउँला भन्यौं। आलटाल गर्दै हामी जता हिँड्छौं त्यतै पछ्याएको पछ्यायै गर्न थाले। माथि बारीका डिलबाट पनि पाल हो भन्दै कोही कराएको सुनियो। ती हस्तबहादुर निम्न आर्थिक हैसियतका होलान् भन्ने अनुमान गर्न कठिन थिएन, उनको बोलीचाली र लुगाफोटो हेर्दा।
एकातिर अरू गाउँले पनि आएर घेर्लान् भन्ने डर, अर्कातिर हस्तबहादुरका दुःख अनि घैरुङका ४० घरसम्म पुर्याउउने हाम्रो लक्ष्य। यही धर्मसंकटबीच आखिर दुःख त यिनीहरूले पनि पाएका छन् भन्ने लाग्यो र दुईवटा उनको हातमा थमाइदियौं।
गाडी ब्याक गरेर अर्को ठाउँमा आयौं। घैरुङ खुगीका मानिसलाई गाडी आउन नसक्ने भो, डोको बोकेर आउनोस् भनेर प्रकाशले फोन गरिसकेका थिए। गाउँमा बिजुलीका तार सबै टुटेका थिए रे। तर मोबाइल कसरी चलेको थियो कुन्नि हामीले सोध्न पनि भुल्यौं।
गाडी ब्याक गरेर केही वल्तिर विश्राम गरेर घैरुङेहरूलाई कुर्दाकुर्दै स्थानीय दुई जना गाउँले आइपुग्ो। फेरि उनीहरूले पनि पाल मागे। उनीहरूलाई नदिए अरू गाउँलेलाई पनि बोलाएर लुटपाट गर्लान् भन्ने डर भयो। गाडी अलि पल्तिर राखौं भन्ने बहाना बनाएर हामी उनीहरूबाट फुत्कियौं। जतिजति फर्कियो, उतिउति घैरुङबाट आउनेहरूसँग टाढा हुँदै थियौं, तर लुटपाटको डरले उल्टोतिर नफर्किनुको उपाय भएन। झन् बगुवा भन्ने गाउँ लैजाँदै गरेको सामान ताङराङमा लुटियो भन्ने खबर सुनिसकेका हामीमा डर बढ्नु स्वाभाविक थियो। त्यसमाथि रात पनि छिप्पिँदै थियो। कोही मानिस घरमा थिएनन्, बारीका पाटामा थिए। यस्तो अवस्था हुँदा हामीले पनि माग्थ्यौं, नदिए लुट्नै पर्ने विवशता हुन्थ्यो होला भन्ने लाग्यो। बुङकोटको गौथले भन्ने ठाउँसम्म फर्कियौं।
डरैडरमा पर्खिरहेका बेला पारि जंगलको बीचमा लाइटको उज्यालो देखियो। अब आइपुगे घैरुङहरू भन्ने भयो। प्रकाशले फोन गरे। उनीहरू आइरहेका रहेछन्। डेढ घन्टा लाग्ने बाटो ४५ मिनेटमै हिँडेर उनीहरू हाम्रो सामु देखिए। आफूभन्दा पाका मान्छे पनि हामीसामु हात जोड्दै थिए। मलाई नमज्जा लागेको थियो।
हामीले भटाभट सामान निकाल्यौं। दुईवटा पाल बाँकी राखेर अरू गन्दा पनि नगनी छिटोछिटो डोकोमा राख्न लगायौं। बत्ती बाल्न र मोबाइल चार्ज गर्न पनि हुने ब्याट्रीसहितको सोलार प्याकेज डोकोमा कोचिदियौं। दुईवटा पाल अन्त दिनुपर्ने भइसकेको थियो। नेपाली विद्यार्थी समाज दक्षिण कोरियाबाट पठाएको पैसाबाट यो सामान किनेर ल्याइएको जानकारी घैरुङबासीलाई सागरले दिए। सागरका छिमेकी विमल सुवेदी त्यो समाजमा अध्यक्ष रहेछन्। उनैले वास्तविक पीडितलाई नै पुर्याएउनू, अरू कुनै संघसंस्थाको जिम्मा नलगाउनू भनेकाले हामी गोरखै पुगेका थियौं।
फेसबुकमा लेखिसकेको थिएँ– राहत सामग्री लिएर गोरखा जाँदैछौं। त्यही थाहा पाएर स्याङ्जाको हुलाक कार्यालयबाट ऋषिराम सापकोटाले फोन गरे। कुमाल गाउँमा ४० घर भत्किएका छन् रे। कोही पुगेका रहेनछन् भनेर उनले भने। ल न केही गर्नुपर्योल भनेर उनका कार्यालय सहयोगी सुरेश कुमालले गुहारेपछि ऋषिले मलाई फोन गरेका रहेछन्। कत्ति पनि नभएका ठाउँमा दुईवटा भए पनि गाउँले ओतिएलान् भनेर हामीले घैरुङेलाई नदिई बाँकी राखेका थियौं।
भोलिपल्ट फेरि आँबुखैरेनीमा थप दुईवटा किनेर सुरेशकै गाउँ चोरकाटे पुगेर हामीले चारवटा पाल कुमाल गाउँका निम्ति दियौं। सुरेशलाई हामी आउँदैछौं भनेर फोन गर्दा लुटिन सक्छ है भनेर तर्साए। उनीसँग मान्छेहरू त्यति नहुने भुसुन्डे पुल भन्ने ठाउँमा भेट्ने पक्का गर्यौंस। जाबो चारवटा पाल र केही चाउचाउ हात पर्दा पनि सुरेश र उनीसँग आएकाहरूले हामीलाई अति नै धन्यवाद दिए। हामीलाई भने खास सहयोग गर्न नसकेकामा ग्लानि भइरहेको थियो। पोखराबाट अरूले पनि कहाँ सहयोग गर्ने होला भनेर फोन गर्दा मैले सुरेश कुमालको नम्बर टिपाएँ। सम्भवत उनको गाउँको तात्कालीक आवश्यकताका सामग्री पुगेको हुनुपर्छ।
...
१६ गतेसम्म पनि गोरखामा राहत सामग्री नपुगेर जिविसको कार्यालयमै पीडितहरूबीच नै कुटाकुट हुन लागेको सौगातले सुनाएका थिए। भोलिपल्ट हामी फर्कंदा भने लस्करका लस्कर गाडी त्रिपाल, म्याट र खाद्य सामग्री बोकेर गोरखा गए। सिनेमा हलमा समेत नअटेर सामग्रीहरू कोचाकोच ठाउँकुठाउँ राख्नुपरेको थियो। प्रशासनलाई भने दुर्गम गाउँमा ती सामान पुर्याूउन कठिन भइरहेको थियो। सामान ल्याइदिनेहरू देशको मेची–महाकालीसम्मबाटै आएका थिए, तर गाउँमा पुर्याोउन सघाउने स्वयंसेवक र हेलिकप्टर वा गाडी थिएनन्। गाउँका मान्छे आफैं लिन आउने चान्स पनि थिएन। उनीहरूलाई बजारमा सामान पाइन्छ भन्ने सूचना दिने मोबाइल र एफएम सुन्न बिजुली थिएन। कुमाल गाउँकाहरू जस्तै धेरैलाई राहत सदरमुकाममा पाइन्छ भन्ने पनि थाहा थिएन।
धेरैजसो दाता त आफैंआफैं पनि धेरैपटक हेलिकप्टरमा बारपाक पुगेका थिए। तर, त्यस्तै दुर्दशा भोगेका गाउँको वास्तविक विवरण सिडिओ कार्यालयलाई पनि थिएन। खासगरी हिमालपारिका चुम्चेट, छेकम्पार, लिही, प्रोक, सामागाउँ र सिर्दिबासमा त हामी पोखरा फर्केको भोलिपल्ट अर्थात १८ गतेसम्म पनि केही र कोही नपुगेको राहत वितरण संयन्त्रमा खटिएका एक राजनीतिकर्मी विश्वेश्वर कट्टेलले फोनमै जानकारी दिए। केही पर्यटकलाई हेलिकप्टरबाट उद्धार गरिएबाहेक ती गाउँमा केही भएको रहेनछ। राहत सामग्री दिने दाता धेरै भए पनि त्यो सामान पुर्यातउन सघाउनेको खाँचो गोरखामा थियो।
...
हामीले गोरखाको लक्ष्मीबजार नजिकै भेटेका पदम गुरुङले जिल्लाको वास्तविक तस्बिर बताएका थिए। उनी दुर्गम केराबारीबाट राहत लिन सदरमुकाम झरेका रहेछन्। उनको गाउँका सबै ६ सय घर भत्किएका थिए। गाउँमा पाल भने पुगेको थिएन। भूकम्प गएकै दिन सुत्केरी भएकी महिला परालको टौवामुनि ओत लागेको सुनाउँदा साथमा रहेका दुई कवि गनेस पौडेल र सरस्वती प्रतीक्षा झन्डै भक्कानिएका थिए। दुई दिनअघि नुवाकोट पुगेर पुराना टिन र बाँसको एउटा अस्थायी घर बनाउन श्रम गरेर आइसकेका गनेस गोरखामा पनि त्यस्तै केही गरौं भन्दै थिए। तर घैरुङ पुग्ोर फर्कंदै दुइटा १२ बजेका थिए। एउटा समयले बजाएको र अर्काे यात्राले हामीलाई बजाएको १२।
गोरखा सदरमुकामका पनि सबै घर चर्किएका रहेछन्। पत्रकार साथीहरूसँग फोन गरेर बास माग्दा उनीहरू आफैं पनि अन्त शरणार्थी बनेको थाहा पायौं। धेरैजसो स्थानीय सडकमा र भाग्न सजिलो हुन्छ भनेर घरबाहिर पिँढीजस्तो ठाउँमा सुत्दा रहेछन्। होटलमा पनि कोही नसुत्दो रहेछ। हामीले बास पाउने कुनै उपाय रहेन। त्यसपछि मुग्लिङ गन्तव्य बनाएर हुइँकियौं। चाउचाउको खाना खाँदा २ बजिसकेको थियो।
नवदुर्गा होटलकी साहुनी दुर्गा मुखिया पाण्डेले होटलमा कोठा खाली छ त भनिन् तर सुत्न नदिने कुरा गरिन्। ‘हामी त बाहिर सुत्छौं, तपाईंहरू किन भित्र सुत्नुपर्योा,' उनको कुरो थियो।
‘तपाईंहरु भित्र सुते पनि हामी सटर लगाएर बाहिर सुत्छौं है,' हाम्रो जिद्दीलाई उनको जबाफ आयो। तपाईंको घर भत्किएको छैन नि त भन्दा उनले दिएको अर्काे जवाफले मुटु छोयो– ‘यो घर त मैले दिनमा ४ घन्टा मात्रै सुतेर २० घन्टा खटिएर कमाएको पैसाले बनाएकी हु“। यो घर भत्कनु हुन्न।'
जति जे भने पनि हामी साँघुरो भर्यासङ उक्लेर दुई तलामाथिको गुम्सिँदो कोठा गई छाड्यौं। सरस्वतीका निम्ति छुट्टै र हामी ४ जनालाई अर्काे एउटा कोठा लियौं। भोलिपल्ट फेरि भैंचालोले नै मलाई ब्युँझायो। झस्यांग भएर उठ्दा अगाडिको झ्यालबाहिर घरहरू हल्लिएको देखेँ। निमेषभरमै दिमागले हिजो साहुनीले नसुत्न भनेको सम्भि्कयो। घरमा छोरा सम्भि्कएँ। गोरखा बजारमा घर नभित्कएका मानिस किन बाहिर सुतेका रहेछन् भन्ने कुरा पनि दिमागले बुझ्यो।
...
मुग्लिङबाट आँबुखैरनी, १२ किलो हुँदै चोरकाटेका कुमाललाई पाल दिएर हामी गोरखाका गाउँ हेर्न हिँडेका थियौं। पस्लाङ गाउँ पुग्यौं। नगरपालिकाभित्रकै यो गाउँमा अधिकांश घर धुलिसाफ भएका रहेछन्। पाल आएको रैनछ। पोखरेल गाउँ र रानामगर गाउँमा मानिस भत्किएको घरका सामान ततेर्दै थिए। एक महिनाकी सुत्केरी पनि भत्किएको घरबाट धान निकाल्ने कोसिस गर्दै थिइन्। फोटो खिच्न पनि मलाई दकस लाग्यो।
नजिकैको चौतारीमा महिला र केटाकेटीको हुल थियो। उनीहरू सदरमुकामबाट राहत आउँदैछ भन्ने सुनेर कुरिरहेका रहेछन्। बिहानदेखि कुर्दाकुर्दै नआएपछि चौतारीबाट उठिसकेका उनीहरूमध्ये कसैले सौगातसँग हाम्रोबारेमा सोध्यो।
‘ए उहाँहरू पनि हाई हेलो गर्न आउनु भएको' भनेर एउटी महिलाले भनेपछि हामीले केही भन्नै सकेनौं। मौनधारणको मुद्रामा उभिनुको उपाय भएन। तत्कालै एउटा चिल्लो गाडी आइपुगेर हाम्रो नजिकै रोकियो। केही विदेशी गाडीबाट ओर्लिए। हेलिकप्टरजस्तो सानो सामानलगायत केही सर्जाम निकाले। भैंचालो गएको ठाउँमा आफू जान नसके त्यो हेलिकप्टरजस्तो वस्तु उडाएर दृश्य खिच्ने रहेछन्। उनीहरू पत्रकार हुन् भन्ने थाहा भइहाल्यो। गाउँलेहरू राहत पर्खिरहेका थिए। तर उनीहरू राहत सामग्रीको सट्टा गाउँलेलाई सोध्ने प्रश्न बोकेर आएका थिए। अफसोचपूर्ण लाग्यो आफ्नो पेसा मलाई पनि।
विपतमा परेका मानिस सहायता खोज्छन्, तर हामी राहत लैजानुको सट्टा प्रश्न लिएर जान्छौं। कस्तो बिडम्बना π
भित्रैदेखि गडेको यो कुरा फेसबुकमा स्टाटस बनाएर पोस्ट गरेको थिएँ। साथी भीम घिमिरेले पत्रकारले दिने सूचनाकै कारण हजारौंले राहत पाउँछन् नि भनेर कमेन्ट गरेका थिए। उनको कुराले अलिअलि त हो नि जस्तो लागेको थियो। तर, आफैंलाई भित्रैदेखि चित्त बुझेको थिएन, आपतविपत परेको ठाउँमा त प्रश्नभन्दा राहतै लिएर जान पाए हुन्थ्यो भन्ने नै लागिरह्यो।
...
प्रकाशित: १८ वैशाख २०७२ २२:४२ शुक्रबार