१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
ब्लग

नेपाली 'क्वीन'

उनले चारैतिर हेरिन्। नेपाली अनुहार मनग्गै थिए। केही परिचित केही अपरिचित। यो जमघटले एउटा पार्टीको रुप लिँदै थियो विस्तारै विस्तारै। अनि उनीसँग थियो आज रातभरको समय। उनले घडी हेरिन्, ९ बज्दै थियो। अर्थात् अबको केही घण्टाभित्र केही चमत्कार हुनैपर्थ्यो अन्यथा?उनको जीउ भित्रैबाट काँप्दै आयो। शरीरका रौँ ठाडा भएको अनुभव गरिन् उनले। एक मन आयो बीचमा गएर बेस्सरी चिच्याउँ। तर, त्यो कुनै समाधान हुन्थेन। अर्को मनले भन्यो- कसैसँग मद्दत मागौं। तर यो नेपाल होइन, अमेरिका थियो। हजारौं किलोमिटर पर थिइन् उनी, आफ्नो परिवारबाट, आफ्नो घरबाट र आफ्नो मुलुकबाट। अरुलाई मद्दत गर्ने संस्कार अहिले नेपालबाटै हराउँदै गएको अवस्थामा यहाँ अमेरिकामा कोसँग त्यसको आश गर्नु? अनि अरु नेपाली विद्यार्थीको हालत उनको भन्दा खासै भिन्न त थिएन नै!

भित्रैबाट औडाहा भएर आयो उनलाई। के गर्नु कसो गर्नु भइरहेको थियो। उनी अर्को बिहानीको बारेमा सोच्न पनि सकिरहेकी थिइनन्। तर उनले नसोच्दैमा यो रात कट्ने होइन, अर्को दिन सूर्य नउदाउने होइन। आफ्नो समस्या समाधानको झिनो सम्भावना पनि उनले कहीँ कतै देखेकी थिइनन्। उनी आफूलाई बलपूर्वक विद्यार्थीहरूको त्यस हूलको एक सदस्यका रुपमा समाहीत गर्ने प्रयासमा थिइन्। धेरै जसो दुइ-तीन जनाको समूहमा थिए। सबै आ-आफ्नो गफमा व्यस्त। उनीमात्रै थिइन्, एक्लो त्यस बेलुका। उनी कसैलाई देख्दा यन्त्रवतरुपमा मुस्कुराउने गर्थिन्। तर आफ्नैबारेमा होस् थिएन उनलाई।

एक्कासी उनले आफ्नो हातमा हेरिन्, अचम्म लाग्यो! कुन बेला अनि कसरी हो उनको दायाँ हातले वियरको बोतल समाइसकेको थियो। उनले यसअघि कहिल्यै रक्सी-वियरजस्तो मादकपदार्थ पिउनु त के चाखेकी पनि थिइनन्।

अनि कुन भावावेशमा हो उनले एक घुट्को निलिन्। त्यसपछि अर्को घुट्को, त्यसपछि अर्को अनि अर्को... एउटा बोतल त्यसपछि अर्को अनि अर्को!

हुन त मात्नेअगरी वियर पिउँदैमा समस्याको समाधान हुँदैन भन्ने उनलाई थाहा नभएको होइन। तर उनी वियरभन्दा पहिले निरासाको चरम मातमा पुगिसकेकी थिइन्। र, त्यही मातको शुरमा वियरको मातमा जाँदै थिइन्।

...

त्यो त लगभग ४ वर्षअघिको कुरा थियो। अहिले त उनी एउटा अपार्टमेन्टको लिभिङ हलमा रहेको काउचमा छिन्। बिहानको समय, भरखर उनी निदबाट बिउँझेकी छिन्। थाहा छैन, एक्कासी कसरी आफ्ना ती अफ्ठेरा दिनहरू सम्झन पुगिन्। त्यो बेलुकाको आफ्नो स्थिति सम्झिँदा अझ पनि उनको शरीरका रौँ ठाडा हुन्छन्।

उनीहरूले थाहामात्र नपाएको पो रहेछ, कुरा त नेपालबाटै बिग्रेको थियो। उनलाई ठूलो इच्छा थियो, विदेशमा गएर उच्च शिक्षा हासिल गर्ने। त्यसमा आमाको विरोध भए पनि बुबाको भने मनग्गे समर्थन पाएकी थिइन्। तर घरको स्थिति भने निकै दयनीय नै थियो। सम्पत्तिको नाममा पुरानौ स्यानो पुर्ख्यौली घर र खान पुग्ने जति खेत अनि बारी थियो। निकै सानो सरकारी सेवाबाट रिटायर भएका बुबा र कम पढेलेखेको बेरोजगार दाइ। त्यसैले पैसाको भने सधैं कमि नै थियो उनीहरूको घरमा। उनले उच्च शिक्षाका लागि अमेरिका रोज्नुको मुख्य कारण पनि यही नै थियो। पढाइसँगै काम पनि गर्ने अनि केही पैसा घरमा पठाउने।

पढनमा निकै मेधावी थिइन्। राजधानीस्थित उच्च शिक्षाका लागि विदेशमा भएका कलेजमा भर्ना गराउन मद्दत गर्ने एउटा संस्थाको सल्लाह र सहयोगबाट उनले पनि कोसिस गरिन्। पहिलो प्रयासमै अमेरिकाको भिसा लाग्दा घरमा कस्तो खुसियाली छाएको थियो। आमाले अलि अँध्यारो मुख लगाए पनि बाबु भने खुसी थिए। उनी स्वयं पनि आफ्नो उच्च शिक्षा हासिल गर्ने रहर पूरा हुनुको साथै घरमा मद्दत गर्नसक्ने अवसर पाएकोमा निकै खुसी थिइन्।

तर त्यो खुसी अमेरिका आएको दोस्रो दिनसम्म पनि रहन पाएन। किन हो त्यहाँ राजधानीस्थित त्यो संस्थाका मान्छेले सुरुमा ३-४ लाख रुपैया आफ्नो लाग्छ त्यसपछि काम गर्दै पढ्दै जाने हो भनेका थिए। तर यहाँ कुरा अर्कै रहेछ। बुबाले उनलाई पठाउन भनेर बारीको एउटा टुक्रो बेचेर जसोतसो ४ लाख जति तयार पारेका थिए। हवाइ भाडा पनि त्यसैमा थियो। अनि यहाँ आएपछि थाहा पाइन् पहिलो सेमेस्टर कलेजको होस्टलमै बस्नुपर्दो रहेछ। उनीसँग त लगभग ३ लाख नेपाली रुपैया जतिमात्र बाँकी थियो।

जसोतसो मिलाएर होस्टलमा छिरेकी थिइन्। पहिलो सेमेस्टर समाप्त भइसकेपछिको त्यो दिन होस्टलको अन्तिम दिन थियो। उनले सामान बाँधिसकेकी थिइन्। तर भोलिपल्ट कहाँ जाने केही थाहा थिएन। घरमा आफैँले पैसा पठाउनुपर्नेमा माग्ने कुरै थिएन। मागे पनि बुबाले अब पठाउन नसक्ने उनलाई थाहा थियो।

साथमा एक पैसा थिएन। कलेजको शुल्क र बस्ने खाने व्यवस्था उनी आफैँले गर्नु थियो। तर...!

त्यस रात कलेजका विद्यार्थीहरू जमघटको कार्यक्रम राखेका थिए। भोलिपल्टबाट सबै आ-आफ्नो बाटो लाग्दै थिए। कोही त्यही सहरमा aसाइ सर्दै थिए भने कोही अन्यत्र।

मनभित्र सय किलोको भारको अनुभव गरेपनि बाहिर मुस्कुराउँदै उनी पनि जमघटमा सामेल थिइन्। बाहिर हासेर बोले पनि उनलाई वास्तवमा कसैसँग बोल्न मन थिएन। भोलि बिहानको सूर्योदयसँगै आफ्नो सम्भावित बिचल्ली सम्झेर उनलाई भक्कानो आउने गर्थ्यो। आँखाको बार्दलीसम्म आइसकेका आँशुलाई बलपूर्वक रोकेर उनी त्यो जमघटको एउटा सदस्य बन्ने प्रयास गर्दै थिइन्। तर मनभित्र भने अनगिन्ती तरंगहरू उफानमा थिए। एक्कासी उनलाई बेस्सरी चिच्याउन मन लागेको थियो। तर त्यसो गर्न नसकेर उनले बियर समाउन पुगेकी थिइन्।

दुई वटा बियरको बोतल रित्याउँदासम्म उनको होस् अलि अलि थियो। तेस्रो बोतल समाउँदासम्मको सम्झना उनलाई छ, त्यसपछि के भयो त्यो उनका साथीले भनेका थिए।

तेस्रो बोतल आधा पनि नपुग्दै उनी एक्कासी रुन थालेकी थिइन् रे।

उनले त आफूलाई अर्को बिहान यही काउचमा पाएकी थिइन्। टाउकोमा मुङ्ग्रोले हिर्काएजस्तो गरी पीडा भइरहेको थियो। उनले विस्तारै आँखा खोलिन्। अघिल्लो रातको कुरा सम्झने प्रयास गर्दा टाउको झन फुट्लाजस्तो भयो। जब सबै कुरा चलचित्रझैँ उनको मानसपटलमा आयो, उनी झस्केर उठिन्। सबैभन्दा पहिले आफ्नो स्थिति हेरिन्। कपडा सबै उही थिए, हिजो लगाएको। अनि एउटा कुनामा उनको व्याग थियो। उनी विस्तारै टाउको समाएर बसिन्। केहीबेरपछि कोठाको ढोका खुल्यो। एक जना युवक वाहिर आए। उनी नेपाली नै थिए।

वास्तवमा त्यस रात उनी बेस्सरी रुन थालेपछि यिनै युवक नजिक आएर सोधेका थिए। उनले रुदै आफ्नो स्थिति पूरा बताउन नपाउँदै नशामा ढलेकी थिइन्। त्यसपछि ती युवकले उनलाई यहाँ आफ्नो अपार्टमेन्टमा ल्याएका थिए। तर त्यो उनीमात्र बस्ने अपार्टमेन्ट थिएन भन्ने कुरा उनले केहीबेरमै थाहा पाइन्। कारण उनीसँग तीन जना अरु विद्यार्थी थिए, दुई जना नेपाली अनि एक जना अफ्रिकी मूलका युवक।

त्यसपछि उनीसँग पनि त्यही समूहमा बस्नुको विकल्प थिएन। ती तीन जना नेपालीमध्ये सजलचाहिँ निकै भलादमीजस्ता थिए।

तीनै सजलले उनको रेस्क्यु गरेका थिए। कमसेकम बस्ने व्यवस्था भइसकेको थियो। कलेजको शुल्कका लागि जतिसक्यो चाँडो उनले काम खोज्नु थियो। केही दिनको प्रयासपछि उनले काम पाइन्। सुरुमा कमै समय भए पनि विस्तारै उनको मिहिनेत र लगनशिलताले त्यसमा पनि सफल हुँदै गइन्। यहाँ पनि उनले त्यही सजलबाट सहयोग पाएकी थिइन्।

...

त्यो भोगाइ पनि लगभग दुई वर्ष अघिको हो। अहिले त उनी भरखरै कामबाट फर्केर आएकी छिन्। आफ्नो यही अपार्टमेन्टमा।

त्यतिबेलाको समय पनि कम संघर्षपूर्ण थिएन। ती कठिन दिनहरू सम्झेर उनी एकपटक फेरि फिस्स हाँसिन्। वास्तवमा उनले अमेरिका आएपछि बेग्लै किसिमको संघर्ष गर्नुपरेको थियो। एउटा काम र बासको संघर्ष यहाँ अनि अर्को सामाजिक सोँचविरुद्ध संघर्ष त्यो पनि यहाँ बसेर नेपालको समाजसँग!

हुन त सजलको समूहसँग आएपछि उनको बसाइ त्यही लिभिङ रुमको काउचमा भएको थियो। अनि बाँकी सबै केटाहरू त्यही एउटा बेडरुममा सुत्ने गर्थे। सबैको कामको समय फरक भएकाले उनलाई सामन्जस्यता मिलाउन त्यति कठिन भएन।

समस्या त नेपालबाट आयो आमाको टेलिफोनको माध्यमबाट। 'तँ त त्यहाँ को 'काले' (उनको आमाको अर्थ अफ्रिकी मूलको भन्ने थियो) केटाहरूसँग बसेकी छस् भन्ने हल्ला छ नि यहाँ।' उनी त्यहाँ बसेको चौथो सातामा आएको आमाको टेलिफोनबाट उनले पहिले त्यही वाक्य सुन्नुपरेको थियो। आमाको त्यो भनाइले उनलाई स्तब्ध बनाएको थियो। उनले त्यही आमाले बुबासँग कराएको सुनिन्। 'मैले त भनेकी थिए नि नपठाउँ भनेर, तर यी बुढाले मेरो कुरा मान्ने हो र! अब बल्ल खाउ। छोरीले अनुहार भरी कालो पोती। गाँउ समाजमा मुख देखाउन नहुने बनाइ।

तर बुबाको भनाइ खडेरीमा परेको वर्षाका पहिलो धारको रुपमा आयो। 'मलाई थाहा छ, मेरी छोरी बुद्धिमान छे। उनको बुबाले टेलिफोनमा भनेका ती शब्दहरू उनी अहिले पनि सम्झिन्छिन्। 'मलाई ऊमाथि पक्का विश्वास छ। छोरी तिमी नआत्तेउ।'

उनलाई थाहा थियो यो हल्ला कसरी र कसले पुर्या एको थियो भनेर। हल्ला नेपालमात्र होइन, ऊ बस्ने सहरका लगभग सबै नेपालीमाझ पुगिसकेको थियो। र, हल्ला पुर्या उने पनि त्यही अपार्टमेन्टमा बस्ने नेपाली केटाहरू थिए। हो, उसलाई विश्वास थियो सजलले यस्तो गर्न सक्दैन र उसले गरेको पनि होइन।

'नारी कमलो हुन्छन्।' सानै देखि घर, स्कुल र अन्यत्र सुन्दै आएको वाक्य थियो उनले। उनलाई लाग्यो-नारी कमलो हुन्छन् किनभने कमलो भएर नै जे-जस्तो आरोप पनि नारीमाथि टाँस्न सकिन्छ। अहिले उसमाथि टाँसेजस्तै।

उनीहरू आफूसँग नजिकिन खोजेको मेसो उनले नपाएकी होइनन्। तर पनि चुपै लागेर बसिन्। यसक्रममा केटाहरूले उनीसँग एक अर्काको कुरा काट्न सुरु गरेका थिए। अफ्रिकी मूलको केटाले त्यतिबेलासम्म आफ्नो बेग्लै बन्दोबस्त गरिसकेको थियो। पछि दुबै नेपाली केटाले सजलको कुरा काट्न थालेका थिए।

ऊ कसरी सजलसँग नजिकीइ उसलाई थाहा छैन। सजलले पनि मन पराएको अनुभव गरेपछि दुबैले आफ्नो सम्बन्धलाइै औपचारिक बनाए। बिहेमा निकै प्रयास गरे पनि घरबाट कोही आउन पाएनन्।

सजलसँगको दाम्पत्य जीवनले उनले आफ्नो दुःख बाँड्ने एक जना साथी पाएकी थिइन्। उनको दुःख अब उनको मात्र थिएन। दुबैले निकै मिहिनेतसाथ आफ्नो उच्च शिक्षालाई पनि जारी राखे। सजल इन्जिनियरिङ पूरा गरेर क्यानाडाको एउटा केमिकल कम्पनीमा काम पाएका थिए। उनले आफ्नो अध्यन जारी राखेकी थिइन्। घरको ऋण तिरेर भ्याएकी थिइन्। हिजोमात्र उनले पठाइदिएको स्काइपमा कुरा गर्दै बुबाले घरमा थपिँदै गरेको माथिल्लो तल्ला देखाउनुभएको थियो। दाइले पनि स्यानो व्यापार सुरु गरेका थिए।

अहिले सोँच्दा उनलाई सबै सपनाजस्तो लाग्छ। आफू एक्ली युवतीले त्यस्तो कठिन समय कसरी पार गर्न सकेँ हुँला भनेर अनौठो पनि मान्ने गर्छिन् कहिलेकाहीँ।

एक्कासी अगाडि टेबलमा राखेको मोबाल हल्लियो। म्यासेज आएको थियो सजलको- आज कामबाट चाँडो विदा भयो। डिनरको लागि इन्डियन रेस्टुरेन्ट जाउँला तयार भएर बस्नु।

उनी मुसुक्क हासिन् र हुन्छ भनेर जवाफ फर्काइन्। उनी हाँस्नुभन्दा अघि नै दुई थोपा आँशु आँखाको डिलमा बसेर पिङ खेल्दै थिए। उनले त्यसलाई पुछ्ने जमर्को पनि गरिनन्।

प्रकाशित: २० चैत्र २०७१ ०३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App