१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
ब्लग

सागर बोकेर आँखामा

उसो त रुनु भनेको आँसु बगाउनु अवश्य होइन। झन आँसु बगाउनुले मात्र रोएको कहाँ पुष्टि गर्न सक्छ होला र। आँखाबाट समाहा चलेर नरोइकन रुनु वा रोएर नरुनु नितान्त भिन्न कुरा हुन्। जसलाई आँसु भन्छौ हामीमा ति आँसु नै नहुन पनि सक्छन्। र जसलाई आँसु नामकरण गर्न चाहन्नौँ, ति कतै मनको बलेसीबाट छचल्किएका आँसु नै पनि हुन सक्छन् सायद।यहाँ धेरैका धेरै थरि आँसु हुत्तिएका छन् आँखाबाट। ती आँसुहरु मैले बञ्जर भूमिमा बगाएका पनि हुनसक्छन्। मेरी आमाले मेरो पलायनमा मौन रुवाइ रुँदा निस्केका पनि हुनसक्छन्। माओवादी जनआन्दोलनको क्रममा बेपत्ता पारिएका सन्तान एवं अभिभावकले बगाएका पनि आँसु हुन्। संविधान सभाको विघटन पश्चात मध्यरातमा नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीसँग देखाएका पनि सायद उनै आँसु हुनुपर्छ। केही समयअघि सामूहिक बलात्कारको शिकार बनेकी पूजा बोहोराले बगाएका पनि आँसु नै थिए। र त्यही खबरले स्तब्ध बनेर सामाजिक सञ्जालमा आइ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले समेत आँसु बगाएउन भ्याए। अनि वर्षौँदेखि गरिब, असहाय, शोषित पीडितले समेत बगाइरहेकै छन् यी आँसु।
म जान्दिन किन यसरी बग्छन् आँसु। बगिहाले पनि बग्नुको अर्थ फरक भएर किन बग्छन् फेरी? बग्नुमा गुण एउटै भएर विशेषण किन पृथक हुन आउँछ आँसुको। के म रुँदा बग्ने आँसु नुनिला छैनन्? पूजा बोहोराको आँसुको रङ फरक छ र? नारायणकाजी र बाबुरामका आँसु निष्पक्ष हुन् त? आँसु–आँसुबीचको यो खाडल कहिले पुरिन्छ कुन्नि।
बेला–बेला मान्छेबाट आसुको सम्बोधन हुन्छ यत्तिकै। गोहिका जस्ता आँसु। फुस्रा आँसु। दुई कौडिका आँसु। कसैका नभएका आँसु। आदि इत्यादि। रपनि आँसुमा कुनै परिमार्जन हुन सक्दैन। समय बदलिन्छ। रंग बदन्छि। गाउँ बदलिन्छ। शहर बदलिन्छ र बदलिन्छन् आँसुले पछ्याउने मुहारहरु। तथापि उसको भेद रङ्ग, स्वभाव उस्तै लाग्छ मलाई। सायद मान्छेको सोचाइभन्दा अधिक छ आँसु। र छैन कुनै मूल्य पनि। यदि यसको पनि बजार भाउ हुँदो हो, यो पनि क्रय विक्रयमा गनिँदो हो त कति सराहनीय बन्थ्यो आँसु। हरपल रुचाइन्थ्यो सबैका आँखामा। धेरै खाए गुँड पनि तितो भएजस्तै त्यहि हविगत छ आँखाबाट हुत्तिने आँसुको पनि।
कसैको आग्रह पूर्वाग्रह बिना नै खसिदिन्छ आँसु। प्याज काट्दा, घामतिर हेर्दा र केहि बस्तु एकटकले हेरिरहँदा पनि खस्छ। यहाँसम्म कि खुसीमा समेत आँसुले आफ्ना बाटो बनाउन छाड्दैन। मुहार चाउरिएला। दुब्लो सिकुटो देखिएला। पानीको अभावमा ओठ मुख सुक्ला। पिसाव पोल्ला। पहेंलिएला। नानाथरि रोगले ग्रस्त बनाउला। तैपनि आँसुले कसैको सामना गर्दैन। रोक्न सक्दैन कसैले उसलाई। कति बलवान छ यो आँसु। सायद समयभन्दा ज्यादा।
खहरे खोलाहरू त बरु वर्षामा बौलाउँछन्। र एकपटक खडेरीमा सुकिजान्छन्। यो आँसुको कस्तो कुलो हो। हरबखत कारण बिनाकारण चिस्सिरहने। कैले रुवाएर त कैले हँसाएर। 
म मान्छे हुँ भन्ने बिर्सेको धेरै भइसक्यो। सम्झनु पनि आखिर केलाई छ र? कसका लागि सम्झुँ कि— म मान्छे हुँ। ल मानिलिउँ म मान्छे हुँ तपाईँहरु जस्तै। तर कसको लागि पोखिएको छ मभित्रको मानवीयता। कहाँ टेकेको छु मैले मानवताको धरातलमा मनात्माका दुई खुट्टाहरुले। के छ त्यसो ओजस्वी प्रमाण जसले म मानव हुँ भन्ने कुरालाई थप पुष्टि गर्न सकोस्। त्यसैले आजभोलि हाक्काहाक्की भन्न मन लाग्छ— म परदेशीएको एक उभयचर प्राणी हुँ। 
म सग्लो छु एकहिसाबमा। आँफैँ फले फुलेको हेर्न चाहने दुई नयनाभिरामी नयन छन् मसँग। वागमतीतिर सोझाइएको ढलको नाली जस्तै नाक छ। छुचुन्द्रे मुख छ प्यार्यार बोल्नकै लागि। आमाले बडो जतनले जोगाएर राखिदिएका सबल हातखुट्टा छन्। नाक–कान र अन्य अङ्ग प्रत्यङ्गको अधिकारी म पनि हुँ। नौनी जस्तो त भन्दिन तर पाषाणी मन मेरो पनि छैन। तैपनि किन आँसुको सागर बन्छ आँखामा। 
यो रेगिस्तानको कुनै कुनामा सबैको जस्तै एउटा चिचिलो मन छ मभित्र। सायद परदेशीएकाहरुले नेपाली मन भनेर यसैलाई बढ्ता सम्बोधन गर्छन्। देशतिर देशप्रेमको चोर ‌औंला तेर्स्याएर आँफैलाई इङ्गित गर्छन् बाँकी ‌औलाले। मलाई यहीँनेर आएर बिझाउँछ– म हुँ या मेरो मन मात्रै हो नेपाली। 
दोहाको कर्नेस छेउदेखि सनैया अद्यौगिक क्षेत्रसम्म हरेक दिन मनका ताना–बानाहरुले जीवनको कट्टु सिलाउँदै पुग्छु। उधार्दै फर्किन्छु। कर्नेसको घाँसे मैदान मेरै बलेवामा छिमेकीले मिचेको खर फुल्ने खरबारीको साँध जस्तै लाग्छ। अग्ला-अग्ला ठडिएका आलिशान महलहरु मेरै घरको आगनीबाट उत्तरपट्टि देखिने धवल हिमश्रृङ्खला झैँ लाग्छन्। तर यी कस्ता स्वाँठ हिमश्रृङ्खलाहरु, कहिल्यै हिउँको टोपी पहिरिएनन्। कहिल्यै घामको पहिलो किरणको स्पर्श गर्न पाएनन्। शितल पवन फ्याँक्ने चिम्नी बन्न सकेनन्। यी निर्जिवभित्रका निर्जिवी महलहरु। म देश बाहिर बसेर परेलीबाट टप्किएका आँसुलाई हातको चोरऔंलामा अड्याएर आँसुसँग देशको खबर सोधिरहेछु, चिन्ता प्रकट गरिरहेछु देशप्रति। 
आँसु आँखाको अपरिहार्य तत्व भएपनि श्रृङ्गार कदापी होइन। श्रृङ्गार त गाजल हो। श्रृङ्गार आफ्नो पहिचान पनि हो। आँसु कहिले कसको पहिचान बनेर बसेको छ र। भन्नेले फुस्रा परेलीहरु आँसुले भिजिएका राम्रा लाग्छन् भनेपनि उसको स्वार्थ केन्द्रित कुरा हो त्यो। आँफूलाई राम्रो लाग्नकै लागि अर्काको आँखामा आँसु देख्नु कति बौद्धिक कुरा हो कुन्नि। आँसुलाई गहना मान्नेहरुको भित्रको रहस्य कसले बुझ्न सक्छ र। बरु यी अबोध आँसुहरु मनको आर्तनाद बोकेर कायरता देखाउँदै नयनको शिखरबाट ओरालो झर्छन। जसरी रेगिस्तानमा मेरा सपनाहरु नफुल्दै नफक्रिँदै झरिरहेका छन् घरिघरि। तर आँसु खुसीमा पनि नझर्ने होइनन्। मात्रै अनुभूतिको दायरा फरक बन्ने हो सुखल–दुःखदका आँसु आँसुमा।
कर्नेस छेउमा मेरै आँसु बगेर बनेजस्तो एउटा समुन्द्र छ। निलो र एकदमै खरो पानी। घरिघरि त आफ्नै आँखा बिथोलिएर बगेका आँसुप्रति नै शंका उब्जन्छ —कतै यही समुन्द्रको पानी जस्तै निला त छैनन् मेरा आँसु। जान्दिन को रोएर यति विघ्न आँसु भरिएका हुन् समुन्द्रमा। मान्छेले किन आँसु भन्ने नबुझेर नुनीलो भएको आरोप लगाउँछन् समुन्द्रको पानीलाई। त्यहाँ त रुनेहरुको मात्रै बासस्थान छ। गोही रुन्छ आफ्नै आँसु बगाएर। माछा रुन्छ आफ्नै आँसु चुहाएर। र अरु कति रुन्छन् यसैगरि। अनि बनाउँछन् आँसुको पोखरी। म पनि आँसुको सागर बोकेर आँखामा यसैगरि रोएको छु धेरैपटक। धेरैपटक।

प्रकाशित: १७ माघ २०७१ ०५:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App