६ मंसिर २०८१ बिहीबार
image/svg+xml
ब्लग

प्रसव वेदनामा एनआरएन– ७ सुँडेनीको सकस

लामो अनिश्चय, दलका केही गुटको उच्च हस्तक्षेप, केही साथीको मनोगत र साँघुरो आकांक्षाका लामो प्रसववेदनामा रहेको एनआरएनले हालै सात सुँडेनी पाएको छ। एक्कासीऔं बैठकको पूर्व सन्ध्यामा यस्तो लाग्दथ्यो कि कौरव र पाण्डव सेना युद्धको अन्तिम तर्खरमा कुरुक्षेत्रमा छन्! यसको केही संकेत आन्तरिक विद्युतीय पत्रहरूमा छरपष्ट देखिन्थे।

वर्तमान परिस्थितिलाई प्रष्ट पारौ यो कथाबाट, ‘काशीबाट सबै विद्यामा पारङ्गत हरिभक्त घर फर्के। उनमा वेद, वेदान्त, पुराण र स्मृतिको राम्रो पकड थियो साथै शब्द र तर्कको प्रयोगमा समेत निपुणता थियो। परम्परागत लवेदा–सुरुवाल, टोपी र पटुकाको परिधान र निधारमा सुर्के चन्दनले उनको व्यक्तित्वमा ल्याएको गजबको निखारमा, उनको पुराण वाचन उस्तै मधुर र लालित्यपूर्ण हुन्थ्यो। उनको नाम र विद्वताको डंका दश दिशामा बज्न थाल्यो। हरेक देव र पितृकार्यमा उनको संलग्नता अब सबैका लागि प्रतिष्ठाको विषय र अनिवार्य जस्तो बन्न गयो।

युवा पण्डित हरिभक्त जब घरमा आउँथे परिस्थिति भिन्न बन्थ्यो। आफ्ना मातापिताप्रति उनको श्रद्धा र सम्मान पूरापूर थियो तर  लोकले मानेका र हाईहाई भएका उनको नाम र यशबाट स्वयं उनका बाबु धर्मभक्त सन्तुष्ट नभएको अनुभूति हुन्थ्यो उनलाई। बाबुको अनुहारमा छोराको सफलताप्रति स्वाभाविक सन्तोष र प्रशंसा भाव नभई उपेक्षा झल्किन्थ्यो। बाबु धर्मभक्तले उनका हरेक काममा भए–नभएका खोट निकालेर आलोचना गर्थे। छोरालाई भित्रभित्रै नरमाइलो लाग्थ्यो तर मर्यादाको प्रश्नले उनी चुप लाग्थे। यही क्रमले थुप्रै ऋतु फेरिए  तर बाबुको व्यवहारमा अन्तर आएन। 

बेचैन छोराको मन पीडा र आक्रोश भित्रभित्रै सल्किदै र अस्थिर हुँदै गयो। कुनै बिन्दुमा उनलाई अभिमानले यसरी विवेकशून्य बनायो कि उनले आफ्नो बाबुलाई हत्या गरेरै प्रतिशोध लिने ठहरमा पुगे। बाबु राति पिसाब फेर्न निस्केको बेला मार्ने अभिप्रायले हातमा नांगो खुकुरी समाएर उनी भरयाङको तल छिंडीमा लुकेर बसे। संयोग सुकला हुनुअघि उनका बुबा आमासंगै बार्दलीमा निस्किए। बाहिर पूर्णिमाको चन्द्रमालाई देखाउँदै आमाले भनिन्, ‘हेर्नुस् त्, आकाशमा कति राम्रो जून उदाएको छ। धर्ती नै झलमल्ल हुनेगरी!

बाबुले थपे –धत् लाटी, त्यो जून के राम्रो छ र त्योभन्दा त हाम्रो छोरा कति राम्रो छ कति! उसको कृति संसार फैलिएको छ। आमाचाहिंले अचम्म मान्दै सोधिन्, ‘त्यसो भए तपाईले छोरालाई किन सधैं दोष मात्रै देखाउनुहुन्छ र कहिल्यै प्रशंसा गर्नुहुन्न त? बिचरा कति गाह्रो मान्छ होला!

बाबुले रहस्य खोले–ल त्यति पनि थाह छैन? सबैले प्रशंसा गर्यो भने उसले आफ्ना कमजोरी कहाँबाट देख्छ र सुधार गर्छ? ऊ नबिग्रियोस्, उसमा अहंकार नपलाओस् र सधैं सबैको यसैगरी प्यारो र सम्मानित बनिरहोस् भनेर पो त मैले त्यसो गरेको। उसको माया त मेरो मनमा पनि कहाँ कम छ र!

यो वार्तालाप सुनेपछि बाबुलाई ठुन्क्याउने ताकमा बसेको छोराका नौनाडी फतक्क गले, आँखा अगाडि अन्धकार छायो र ऊ थचक्क भुईमा बस्यो।

कथामा झै अध्यक्षले पूर्ववत् आफ्नै शैलीमा सस्था नबिग्रियोस्, अभियानका साथीमा अहंकार नपलाओस्, सबैको चिरकालसम्म प्रिय भैरहन सकून् भनेर मैले पनि गाली गरिरहें होला। मलाई पनि मेरा अग्रजहरूले सधैं सबैको यसैगरी प्यारो र सम्मानित बनिरहोस् भनेर त्यसो गर्नुभयो होला नै। बालकमा देखिएझै लड्दालड्दा थाकेका २ पक्ष कसैले यसो छुट्याएजस्तो गर्नेबित्तिकै पाखा लागेझै विष्फोटक माहोललाई साम्य पार्दै ४ बुंदे सहमति वाचन र त्यसमाथि गुरुकालीन शिक्षा पद्धति जस्तै गुरुले मात्र बोल्न पाउने शिष्यले श्रवण मात्र  गर्ने गरेर  ७ सुँडेनीलाई अध्यक्षको चाहना अनुसार अनुमोदन गरियो।  

भलै हस्ताक्षरको मसी सुक्नै नपाउँदै हिजो विजयभावमा रहेका केही मित्र सार्वजनिक रूपमा हस्ताक्षरित सहमतिलाई अपव्याख्या गर्न अघि बढेको देखिन्छ। बैठक रेकर्डेड छ – कतिपय साथीले आफ्नै प्रयोजनका लागि समेत नगर्नु भएको होला भन्न सकिन्न तर ४ बुँदेले प्रष्ट भनेको के हो भने यो कुनै प्रतिनिधि प्रमाणीकरण गर्ने, निर्वाचन र महाधिवेशन गराउने समिति हैन, संरक्षक परिषदलाई सम्पूर्ण अधिकार दिइएको पनि छैन। तोकिएको समय सीमाभित्र तोकिएको काम नभएमा स्वतः वर्तमान कार्य समितिले जे निर्णय गर्दै अघि बढ्नुपर्ने हो सो गर्दछ। संस्थामा लामो समय संलग्न नेतृत्वकर्ताहरूले संस्थामा देखिएको दरारलाई घटाउँदै निर्वाचनको माहोल बनाउने, संस्थाको गिरेको शाखलाई जे जति सकिन्छ जोगाउँदै फेब्रुअरी महिनाभित्र निर्वाचन गराउने क्लिष्ट मार्गचित्र झल्किन्छ।

गैर आवासीय नेपाली संघको वर्तमान समस्या र समाधानको चुरोः  

पूर्वाभ्यासझै राष्ट्रिय समन्वय समितिमा पकड भएपछि स्वत काठमाडौं जानेलाई  मतदाता बनाउन पाइन्छ भन्ने सोचले गत विधान अधिवेशनले पास गरी परराष्ट्रले समेत स्वीकृत विधानमा हरेको मिश्रित समानुपातिक प्रणालीमा ध्यान नजाँदा वर्तमान विधानलाई रद्दीको टोकरीमा फाली आफूखुसी डेलिगेट्स चयन गर्न पाउनुपर्छ भन्ने माग नै अहिलेको  समस्याको मूल जड हो।

जुन प्रयोजनमा  विधानलाई निष्क्रिय बनाई नयाँ विधान जारी नगर्दासम्म प्रायः सम्भवै छैन चाहे त्यो परराष्ट्रले भनोस् वा कुनै सल्लाहकार समिति वा संरक्षक परिषद्। यो यथार्थ बुझ्दै गर्दा समेत समस्यालाई लम्ब्याउँदै जाने मनोदशाबाट हालको अवस्था आएको जगजाहेरै छ।  संस्थापक अध्यक्ष, पूर्व एवं वर्तमान अध्यक्ष र संगठनभित्र पूर्व अध्यक्षकै सरह सम्मान दिँदै आइएको आदरयोग्य व्यक्तित्व  रामप्रताप थापा समेत सम्मिलित उच्च स्तरीय समितिले वर्तमान दरारलाई कम गर्न, केही नमिलेका वा नियम मिचिई प्रतिनिधि पठाइएका छन् भने सोको यो १० दिनमा गृहकार्य गर्नेछ र ५ सदस्यीय समितिले गरेको गृहकार्यलाई आधार मानी अध्यक्षलाई सुझाव सहित प्रतिवेदन दिनेछ। जसका लागि २६ जनवरीसम्म संयमित भै यो समितिलाई सहयोग गर्नु हामी सबैको कर्तव्य र अधिकार समेत ठहर्दछ। तर, केही साथीले जिकिर गरेझै यो समितिले सबै काम फत्ते गरिदेलान् भन्ने सोच राखियो भने यो स्तरको समिति पनि चरम विवादमा पर्ने प्रायः निश्चित छ।

बैठकले अनुमोदन गरेको समितिको ४ बुँदे कार्यधिकार भनेको संघको दशौं महाधिवेशन तथा आइसीसी निर्वाचन सम्बन्धी सबै समस्या विधानसम्मत निष्पक्ष ढंगले समाधान गर्ने,  २८ फेब्रुअरी २०२२ सम्ममा संघको दशौं महाधिवेशन तथा निष्पक्ष चुनाव सम्पन्न गर्न समितिले महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली संघको विधान र नियमावली अन्तर्गत रहेर २६ जनवरी २०२२ सम्म अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्षमार्फत निर्वाचन समितिलाई उपलब्ध गराउने, समितिले आवश्यक ठानेमा उल्लिखित काम सफलतापूर्वक गर्न कानूनी, आइटी लगायतका विशेषज्ञहरू रहेको स्वतन्त्र समितिहरू गठन गर्न सक्ने र संघका कार्यकारी निर्देशक तथा एनआरएनए सचिवालयले उक्त समितिलाई सघाउने यिनै ४ बुँदामा कहाँ सम्पूर्ण अधिकार दिइएको छ?

बाहिर जे प्रचार गरिए पनि वा जे माग राखिए पनि यो समितिमा जिम्मेवार व्यक्तित्वहरू हुनुहुन्छ, संस्थामा लामो समय खर्चिनुभएका, संस्थालाई माया गर्ने र पहिले नेतृत्व तहमा रही अनुभव सँगाल्नुभएका अग्रजहरू हुनुभएकाले बजारमा अतिरंजित गरिएझैं नेतृत्व हडप्न, कसैलाई जिताउन वा हराउन यो समिति सक्रिय हुने छैन र हुनु पनि हुँदैन। संस्थाको साख योभन्दा गिर्न यो उच्च स्तरीय समितिले किमार्थ दिनु हुँदैन। झट्ट सुन्दा निर्वाचित कार्यसमिति अस्तित्वमा हुँदाहुँदै  किन यस्तो तरबार झुण्ड्याइएको भन्ने  लाग्नु स्वभाविकै हो, तर अन्तर्य अलि फरक हुँदो रहेछ। संस्थाका यी सबै आन्तरिक कुराहरू गर्नु अब त्यति वाञ्छनीय नठहर्ला तैपनि अनुशासनको  लक्ष्मणरेखा ननाघी केही कुरा भन्नै पर्ने हुन्छ।

एनआरएनको घोषित निती भनेकै सरकारसँग मिलेर काम गर्नु हो चाहे महाभूकम्प, कोभिड वा प्राकृतिक विपद् वा लगानी वा अन्य विषयमा। कुमार पन्त निर्वाचित भै आउँदा  केन्द्रमा संघीय सरकार र ७ मध्ये ६ वटा प्रदेशमा बाम सरकार थियो। अब यो समितिले राज्य र उसको अंगसँग काम नगरे कोसँग गरोस्? गत निर्वाचनमा उपविजेता एक समूहले कुनै दलको केही नेतागणलाई यसरी भ्रममा पार्न सफल भयो कि, ‘ कुमार पन्त कम्युनिष्ट भएकाले सबै स्रोत जति कम्युनिष्ट पोस्न लगाएको छ।’

अहिले पूरै सिस्टम कब्जा गरी पुनः बद्री केसी रसियन कम्युनिष्ट ल्याउन महाधिवेशन प्रतिनिधिमा व्यापक चलखेल गरेको छ। नेतागणलाई झट्ट सुन्दा स्वाभाविक पत्यार  लागेरै, मन्त्रालयमा दबाब पनि दिए  तर सुन्दै, बुझ्दै र बुझाउँदै जाँदा त परिस्थिति त त्यसो नभएको आफ्नै पार्टी कार्यकर्ताले पनि सुनाए। उच्च अदालतले पनि यो तौरतरिका गलत ठहरयायो।  समय छँदै निर्वाचन गर्न तयार संस्थालाई अध्यावधिक निर्वाचनलाई रोक लगाएको मन्त्रालयलाई पनि लाज ढाक्न गाह्रो भैरहेको र मन्त्रीज्यू समेत यो अनावश्यक झञ्झटमा फसियो भन्ने पर्नु स्वाभाविक भएकाले बारम्बार नाम लिइरहेकै व्यक्तित्वको संयोजकत्वमा एक टोली बन्दा खुसी हुने वातावरण भयो। यता बारम्बार विद्रोहको धम्की दिइरहेका समूह पनि एनआरएन समुदायमा फेस सेभिङका लागि थप माग राख्दै गरौला तर अब न पछि हट्न सकिन्छ न योभन्दा थप सम्बोधन नै केही हुने देखिन्छ भनी यो सहमतिमा आएको प्रष्टै छ।

अन्त्यमाः

आशा गरौ, प्रसववेदनामा रहेको एनआरएनमा ७ सुँडेनीले व्यथा झन् बढाउने छैनन्,जे प्रचार गरिंदैछ वा जे माग गरिंदैछ ब्रम्हा–विष्णु–महेश्वर नै यही समिति हो। यसैले सबै समस्या पनि समाधान गरिदिनुपर्छ। सबै महाधिवेशन प्रतिनिधि पनि छानिदिनुपर्छ, चुनाव पनि गराइदिनुपर्छ र महाधिवेशन पनि सम्पन्न गराइदिनुपर्छ भनै आलौकिक स्तुतिको पछि नलागी जे गर्न गठित कार्यदल हो सोही काममा अर्जुनदृष्टि लगावस् र सच्चा सुँडेनीले झै प्रसववेदनामा सहयोगी बनोस्। तसर्थ वर्तमान आइसिसि सदस्य र पदाधिकारीहरूको भावना जे जस्तो भए पनि नबिग्रियोस्, अहंकार नबढोस्, सबैको प्रिय बनोस् कथामा भनिएझै गठित उच्च स्तरीय समितिलाई स्विकार्दै तोकिएको कार्यक्षेत्रभित्र अक्षरश रही समयसीमाभित्र कार्य सम्पादन गर्न जति जटिल भए पनि यसको विकल्प देखिन्न। अहिलेलाई यही शुभकामना!

हरी ओम तत्सत्।

आइसीसी सदस्य, एनआरएन युके तथा आगामी कार्यकालका लागि केन्द्रीय सचिव पदका उम्मेदवार हुन्- (सिम्खडा संस्थाको स्थापनाकालदेखि निरन्तर अभियानमा लागेका र संस्थाको आन्तरिक सवालका जानकार राख्दछन्)

प्रकाशित: १३ माघ २०७८ ०६:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App