१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
ब्लग

संविधानमा बाजी

'कोही बाजी राख्छ माघ ८ मा संविधान बन्दैन।'
बबरमहलस्थित एक सरकारी कार्यालयको क्यान्टिनमा चियाको चुस्की लिँदै एक अधवैंशेले भने। निलो ज्याकेट लगाएका उनी पारिलो घाम तापिरहेका थिए। सँगै रहेका एक अधवैंशे महिला र पुरुष उनका कुरा ध्यान दिएर सुनिरहेका थिए।
'तीन दल मिले पनि बन्दैन,' नीलो ज्याकेट लगाएका उनले आफ्नो कुरालाई अझ दह्रोसँग राखे।
'तीन दल मिल्यो भने त कसले रोक्न सक्छ छ ?', अघिसम्म चुप लागेर बसेका ढा खलनवकाटोपी लगाउने पुरुषले प्रतिक्रिया जनाए।
'बाजी राख्ने हो त ?,' पहिलो अधवैंशे अघि सरे। ढाकाटोपी लगाउने मौन बसे।
क्यान्टिनबाहिरको मेचमा बसेर घाम ताप्दै गरेका उनीहरूको कुराकानीले क्यान्टिनभित्र बस्नेहरूको पनि ध्यान तानिरहेको थियो।
'कसै न कसैले त संविधान बन्न दिँदैनन् नि,' अब उनले संविधान नबन्नुका आफ्नो कारण बेलिबिस्तान लगाउन थाले, 'देखेनौ विप्लव फेरि जंगल जाने रे। माओवादीलाई सत्ता चाहियो रे। एमाले पनि नेतृत्व लिने दाउँ खोज्दैछ। कांग्रेस आफ्नै झगडामा छ।'
क्यान्टिनभित्र साहुनीले खाजा भाग लगाउँदै थिइन्। बाहिर संघीयताका कारण मुलुक टुक्रिन सक्ने भन्दै चिन्ता उर्लिरहेको थियो।
'संघीयताका कारण पनि संविधान नबन्ने डर छ,' हातमा रहेको रोटी टुक्राउँदै ती अधवैंशेले भने। उनले विगतको असफलता सुनाए, 'संविधान बन्ने भए त पहिला पनि बन्थ्यो नि।'
उनको एकहोरो तर्क सुनेपछि ढाकाटोपी लगाउने अधवैंशे केही खुल्न थाले। 'जनतालाई उसको अधिकार दिएर के फरक पर्छ त,' उनले प्रश्न गरे, 'सबै मिले भने संविधान बनाउन कसले रोक्न सक्छ।'
अघिल्लो अधवैंशे एकछिन चुप रहे। रोटी चपाए। पानी पिए। खाजा सकियो। तर कुरा सकिएन। घाम चर्कंदै थियो। निलो ज्याकेट लगाएका अधवैंशे झन तात्दै गए। पुरानै अडान दोहो¥याए। 'कुरा मिल्ने छाँट कतैबाट नि देख्दिनँ,' उनले भने, 'सबैका आ–आफनै अडान। कोही टसमस छैनन।'
सामुन्ने रहेका दुवै मौन थिए। त्यो मौनतालाई एनले आफ्नो तर्कको जित सम्झेँझैँ देखिन्थ्यो। उनको अनुहारमा अनौठो आभा देखिन थाल्यो। उनका तर्क र आभाले खलिल जिव्रानको कथाका वृद्ध पात्रको सम्झना गरायो।
जिव्रानले कथामा लेखेका छन् – प्रेममा परेकी छोरीलाई त्यो युवकसँग बिहे नगर्न वृद्धले निक्कै सम्झाए। तिमी ऊसँग बिहे नगर। राम्रो हुने छैन। म साँच्चै भन्छु। तिमीले ऊसँग बिहे ग¥यौं भने निक्कै दुःख पाउँछौं।
छोरीले मानिनन्। भागेर बिहे गरिन्। त्यसको केही समयमा दुर्घटनामा युुवकको मृत्युु भयो। छोरी रुँदै घरमा आइन्। वृद्ध एकछिन मौन रहे। अनि भने– 'मैले पहिल्यै भनेको होइन, तिमीले दुःख पाउँछौ भनेर।'
बृद्धको अनुहारमा छोरीले पाएको पीडाभन्दा आफ्नो 'श्राप' पूरा भएको अहँकार बढी झल्कन्थ्यो।'
जिव्रानको कथाका तिनै वृद्ध पात्र जस्तै देखिए– बबरमहलमा बाजी राख्न तम्सिने ती अधवैंशे।
उनले जोर–जोरले संविधान बन्दैन भन्दै गर्दा उनी संविधान नबनोस् भन्ने चाहन्छन् जस्तो लाग्थ्यो। भोलि संविधान नबने उनी पनि जिव्रानको कथाका तिनै वृद्धजस्तै बोलिरहेको भेटिएलान्। बाहिर निस्केर उनीसँग एकपटक आँखा जुधाएँ। उनी अझै बोल्दै थिए।

प्रकाशित: २७ मंसिर २०७१ २३:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App