१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
ब्लग

गुम्यो बागलुङको भरोसा

दुर्घटनापछि बागलुङका विभिन्न गाउँमा स्वास्थ्यलाभको कामना गर्दै पूजा हुँदै थियो। बागलुङ बजारमा दीप प्रज्ज्वलन गरेर शुभचिन्तकहरु प्रार्थना गरिरहेका थिए। दीप चम्किलो हुँदै जब निभ्यो करिब करिब सोही समयमा बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेका बागलुङका सभासद हरि खड्काको निधनको घोषणा भयो।


संयोगले बागलुङ सहकर्मी दिलिप पौडेललाई फोन गरेको थिए। उनले हरि खड्का चढेको जीप दुर्घटना भयो भने। खबर समाचार माध्यममा कतै आइसकेको थिएन। दिलिप आफैले नागरिक अनलाइनलाई न्यूज टिपाउने तरखरमा थिए। मैले फेसबुकमा पोष्ट गरे। 'बागलुङबाट बलेवा जाने बेला सवारी दुर्घटनामा परेर बागलुङ क्षेत्र नम्बर १ का सभासद हरि खड्का घाइते हुनुभएको छ। स्वास्थ्यलाभको कामना।' त्यसपछि देशका विभिन्न भाग र विदेशबाट लगातार फोन आउन थाल्यो 'अवस्था के छ?'
congress l
स्वर्गीय सभासद खड्का। 
निरन्तर आउन थालेको फोनले पनि थाहा हुन्छ हरि खड्काप्रति स्थानीय र आसपासका मान्छेहरुको चासो कति धेरै रहेछ। मान्छेहरु उनको स्वास्थ्य अवस्था जान्न व्यग्र प्रतिक्षामा हुन थाले। उनलाई उपचारका लागि सेनाको हेलिकप्टरले काठमाडौंको ग्रान्डी अस्पताल ल्याउने खबर आयो। मित्र निलेश राजभण्डारीले हेलिकप्टर बागलुङबाट उडेपछि फोन गरे। म ग्रान्डीतर्फ लागे। तर हेलिकप्टर ग्रान्डीमा आएन पोखरा एयरपोर्टमा ल्याण्ड भएछ। त्यसपछि अर्को जहाज काठमाडौंबाट मगाएर करिब ६ बजे तिर बाँसबारीस्थित न्यूरो अस्पतालमा ल्याइयो। यतिवेला सम्म करिव ५ घण्टा वितिसकेको थियो। ग्रान्डी पुगेकाहरु न्यूरो पुगे। पोखरामा जहाज किन रोकियो? उद्धारमा किन ढिला भयो? यी विषयहरु अनुसन्धानको क्रममा छन् र सरकार र नेपाली काँग्रेसले छानवीन समिती पनि बनाएका छन्।
मुलुकमा संविधान बन्न ढिलो गरे पछि ६ सय १ सभासदलाई एउटै नजरले गाली गरिरहन्थ्यौं। तर भूलियो त्यही ६ सय १ मध्ये थिए बागलुङका विकास प्रेमी नेता हरि खड्का। केन्द्रीय राजनीतिमा संविधानको चासो हुँदै गर्दा बागलुङ क्षेत्र नम्बर १ का सभासद खड्का जिल्लामा विकासका प्रारुप तयार गरिरहेका थिए। महत्वपूर्ण र नियमित बैठकमा काठमाडौं आउने खड्का अधिकाँश समय जिल्लाको विकासका लागि दौडधुपमा हुन्थे।
नेपाली काँग्रेसको राजनीतिमा २०४६ पछि उदाएका खड्का छोटो समयमा पनि जिल्लावासीहरु माझ लोकप्रिय भैसकेका थिए। केन्द्रिय नेताको रुपमा उदाउन लागेका खड्का मंसीर १७ गते जीप दुर्घटनामा गम्भिर घाइते भएका थिए। बागलुङ बजारबाट जोडिएका बाटोहरुको स्तरउन्नती गर्न उनको पहल थियो तर दुर्भाग्य त्यही कच्ची सडकमा परेर उनको ज्यान गयो। गाउँको खानेपानी, सडकदेखि शिक्षा, स्वास्थ्य, खेलकुदमा व्यक्तिगत सहयोग गरेर उनी युवाहरुको माझ झनै चर्चित बनेका थिए। कुनै पनि सभासद सबैभन्दा बढि प्रमुख अतिथी हुनेमा खड्का अगाडी थिए।
सभासदमध्ये सम्भवत सबैभन्दा बढि गाउँ जाने र जनताको नजिक रहेका खड्का जिल्लाभरमा नै लोकप्रिय थिए। गाउँको विकासका लागि विस्तारै योजनाबद्ध काम अगाडी बढाएका उनले आफ्नै खर्चमा समेत काम थालेका थिए। उनको सपना थियो – जिल्ला कसरी समृद्ध बनाउने?
गएको संविधानसभामा प्रत्यक्षतर्फ चुनाव लडेर जितेका खड्कालाई काँग्रेसका कार्यकर्ताले मात्र होइन अन्य पार्टीका कार्यकर्ता पनि उस्तै सदभाव राख्थे। जिल्लामा सबै दलका नेता र कार्यकर्ताका नजरमा असल मानिएका खड्काको मृत्युले जिल्लाको काँग्रेसलाई मात्र होइन राष्ट्रिय राजनीतिमा उदाउन लागेका असल नेतालाई समेत गुमाउन परेको छ।
उनी गम्भिर घाइते भएको ५ दिनसम्म जिल्लाबासी र उनका बारेमा बुझ्न चाहनेहरुले सोसल मिडियामा अनेकन प्रश्न र जिज्ञासा राखे। अनेक आवेग र शंका लेखे। आफ्नै प्रधानमन्त्रीलाई स्वागत गर्न जाँदा दुर्घटनाभएपछि प्रधानमन्त्रीले लगेको हेलिकप्टरले किन समयमा उद्धार गरेन भनेर आक्रोशित जमात बढ्दै गयो। दुर्घटनाकै दिन बेलुका न्यूरो आएका प्रधानमन्त्री शुशिल कोइरालाले मैले हेलिकप्टर पठाएको थिए तर पोखरामा किन रोकियो भन्ने विषयमा आफै अचम्ममा परेको कुरा राख्दा आफन्त र परिवार पनि झन् मर्माहत बन्न पुगे। प्रधानमन्त्रीले यो विषयमा छानविन हुने बताएपछि सरकार र पार्टी दुबैले छानविन समिती बनाएको छ। त्यहाँको दृष्य कारुणिक थियो। खड्काकी श्रीमति, २ छोराहरु अन्य आफन्तहरु रोइरहेका थिए। अरुका आँखा रसाएका थिए।
...........................................................................................
मेरो र सभासद खड्काको मंसीर १२ गते साँझ बागलुङको बालमन्दिर प्रावीको मैदानमा छोटो कुराकानी भएको थियो। त्यसदिन तरुण दलको क्षेत्रिय समितीको कार्यक्रम थियो। घरायसी कामले म गृहजिल्ला गएको थियो। मित्र दिलिपले बालमन्दिर जाउँ भनेपछि सँगै गइयो। कार्यक्रम लामो हुने भएपछि दिलिपले फर्कियौं भने तर मैले होइन म हरि अंकलसँग भेट्छु भनेपछि कार्यक्रम सकिएलगत्तै भेटभयो। 'अंकल मेरो फोननै रिसिभ गर्नु हुन्न', मैले भने। उहाँले मोबाइलमा स्क्रोल गर्दै 'तिम्रो नम्बर सेभ छ, फोन आए त रिसिभ गर्छु नत्र कल ब्याक गर्छु नी' भन्नु भयो। कसैले उहाँलाई बोलायो अनी उहाँ उतै अल्झनु भयो। म फर्के। यो हाम्रो अन्तिम संवाद थियो।
उहाँको र मेरो भेट म बागलुङ जाँदा भैराख्थ्यो। उहाँले लगानी गरेको सयपत्री एफएममा म सम्पादक /संयोजक भएर पनि काम गरेको थिए। त्यसबखत अझ बढि कुराकानी हुन्थ्यो। मसँग मात्र होइन उहाँले प्राय सबै युवाहरुलाई समय दिनुहुन्थ्यो। जसका कारण युवाहरु माझ झन 'पपुलर' हुनुहुन्थ्यो। छोटो समयमा नै उनलाई उपमा दिइएको थियो विकासवादी नेता, जनप्रिय नेता।
......................................................................
आइतवार राती ८ बजे र २० मिनेटमा चिकित्सकले खड्कालाई मृत घोषणा गरे। अस्पतालमा रहेका द्रोण कुँवर दाजुलाई फोन गरेको थिए। उनले जानकारी दिए। उनले पुष्टि गरेपछि फेसबुकमा पोष्ट गरे 'दुखका साथ भन्नुपर्छ हरि खड्का अंकल रहनु भएन'। १० मिनेटपछि अस्पताल पुगे नागरिक अनलाइनलाई समाचार टिपाएर फेसबुकमा अर्को पोष्ट गरे 'गुम्यो बागलुङको भरोसा'।
घटनादेखि अस्पताल त्यसपछिको अवस्था र काँग्रेस केन्द्रिय कार्यालय सानेपामा राखिएको श्रद्धाञ्जली सभासम्मको कुराहरु र फोटोहरु फेसबुक र टिव्टरमा पोष्ट गरिरहँदा कतिले मलाई 'हतारिएको' भने होलान्। तर मेरो एउटै उद्देश्य थियो। जिल्लावासी र छिमेकी एक प्रिय र असल नेताको खबर सबैले थाहा पाउन्।
सानेपाको श्रद्धाञ्जलीमा प्रधानमन्त्री सुशील कोइराला,काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवालगायत अन्य मन्त्री र नेता त्यस्तै एमालेका अध्यक्ष केपी ओली पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपालदेखि अन्य दलका नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली दिए। त्यसपछि हेलिकप्टरमार्फत उहाँको शवलाई गृहजिल्ला बागलुङ लगियो। मैले पनि फेसबुकको फोटो हेरेर थाहा पाए बागलुङमा हजारौंको भिड थियो। जसरी मैले पहिला फेसबुकमा राखेर अरुले थाहा पाए।

प्रकाशित: २२ मंसिर २०७१ ०६:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App