१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
ब्लग

कुरो अमेरिकी एनआरएनका

हरेक दुई बर्षमा दशैं ताका काठमाडौंमा विदेशीएका नेपालीको कुम्भमेला लाग्छ। गैर आवासीय नेपाली संघको नाममा हुने यो सम्मेलनताका नेपालमा लगानीका सानातिना हैनन ठूल्ठूला कुरा हुन्छन्। बालुवामा घर बनाए जसरी अनेकौ योजना बुनिन्छन्। अन्तिममा नेपालमा लगानीको वातावरण नभएको भन्दै माओवादी, नीति नियममा कैफियत देखाइन्छ। मन्त्री, सरकारी अधिकारीहरु के के न होला भन्दै सुधार गर्ने वचन पनि दिन्छन्।

दुई बर्षसम्म सबैजना कानमा तेल हालेर सुत्छन्। अघिल्लो पटक वचन दिने मन्त्री सडकमा पुगिसकेका मात्र हैनन त्यसबीचमा त्यही मन्त्रालयमा तीनवटा मन्त्री फेरिइसकेका हुन्छन्। फेरि अर्को एनआरएन सम्मेलनमा तिनै कुरा फेरि दोहोरिन्छन्। एनआरएन सम्मेलनका सहभागी पनि नयाँ आइपुग्छन्। एवं रितले विगत एक दशकदेखि नेपालमा एनआरएनका नाममा भैरहेका गतिविधि यिनै र यस्तै हुन्।
सबैलाई आरोप लगाउन खोजेको होइन। उपेन्द्र महतो, जीवा लामिछाने जस्ताले नेपालमा साँच्चिकै लगानी गरेर देखाएका छन्। नाफामुलक क्षेत्रमा मात्र होइन, सामाजीक क्षेत्रमा पनि उहाँहरुको लगानी र योगदान छ। बाँकी सबैका फोस्रा गफ मात्र हुन्। दशैं तिहारमा बाबु–आमा र दिदी बहिनीका हातबाट टिका थाप्न काठमाडौं आउने अनि जनतामात्र होइन सरकारलाई समेत झुक्याउँदै आश देखाउने समूहमा चित्रित भएको छ एनआरएन नामको संस्था यतिखेर नेपालमा।
झण्डै तीनवटा एनआरएन सम्मेलनमा म प्रत्यक्ष रुपमा सहभागी हुने आवसर पाएको थिए। पत्रकारका नाताले कार्यक्रमका महत्वपूर्ण शत्रहरुमा सहभागी भएर विदेशिएका नेपालीका बोक्रे गफ सुन्ने मौका मिलेको थियो। युरोप, अमेरिका, अष्ट्रेलिया, जापान, सिंगापुर, कतार लगायतका देशबाट डेढसयको हाराहारीमा नेपालीहरु सहभागी थिए। झण्डै ८ बर्ष अघि त्यतिखेर सोल्टी होटलमा भएको सम्मेलनमा तत्कालै नेपालमा करोडौं डलर लगानी गरिहाल्छु जसरी कतारमा व्यबसाय गरिरहेका बद्री पाण्डे खुबै उफ्रिएका थिए। तर उनले आजका दिनसम्म नेपालमा कुनै व्यबसाय त छाडौं कुखुरापालनमा समेत लगानी गरेको यो स्तम्भकारलाई जानकारी छैन। पर्ब मान्न नेपाल आउने अनि सरकारसँग ससुरालीबाट ज्वाईले गरे जस्तो मान मनितोको अपेक्षा राख्ने प्रवृत्ति बढ्ता देखेरै होला कार्टुनिष्ट राजेश केसीले 'हे नारान' भन्दै पाँच बर्ष अघि निकै दह्रो व्यङग्यवाण हानेका थिए।
यसपटक पनि दशैंताका काठमाडौंमा एनआरएन सम्मेलन भयो। यस पटक नयाँ नेतृत्व समेत चयन भएको छ। अध्यक्ष भएका अष्ट्रेलियाका 'मिलेनियर' भनिएका शेष घलेले पाँचतारे होटल खोल्ने चर्चा सुनिएको छ। अरु बाँकी पदाधिकारीले नेपालमा कुनकुन क्षेत्रमा लगानी गर्दैछन् भन्नेबारेमा जानकारी सार्वजनिक गरेका छैनन्।
यी त भए, एनआरएन अन्तर्राष्ट्रिय समितिका कुरा। अब लागौं एनआरएन अमेरिकाका कुरा तिर। बुधबारदेखि चारदिनसम्म नयाँ नेतृत्वका लागि चुनाव हुँदैछ। अनलाइनबाट भोट हाल्ने नयाँ विधिको प्रयोगबाट नयाँ नेतृत्व चयन हुँदैछ।
एनआरएन अमेरिका चारहजारको हाराहारीमा सदस्य रहेको वृहद संस्था हो। तर एनआरएन अन्तर्राष्ट्रिय समन्वय समितिमा भने अहिलेसम्म अमेरिकाको खासै पकड भएको पाइदैन। यसो हुनुमा यहाँबाट जसले एनआरएन अन्तर्राष्ट्रिय समन्वय समितिमा प्रतिनिधित्व गर्छन उनीहरुमा यात नेतृत्वकर्ताको ल्याकत छैन यात नेपालमा लगानी गर्नसक्ने हैसियत छैन। अहिलेसम्म एनआरएनको कुरा नेपालमा हुँदा अमेरिकाबाट जानेको खासै हस्तक्षेपकारी भूमिका नभएको मात्र होइन अध्यक्षको उम्मेदवारमा समेत एक पटक पनि कसैको नाम सुनिएको छैन।
भनिन्छ, अमेरिकामा झण्डै दुईलाखको हाराहारीमा नेपालीहरु छन्। यो संख्या वैध, अवैध सबै गणना गर्दा हो। वैध रुपमा रहेकामध्य पनि आर्थिक रुपमा गतिलो हैसियत बनाएकाहरु भेटिन मुस्किल छ। अधिकांशको दैनिकी ८ देखि १६ घण्टाको काम गर्नेमै बितिरहेको छ। आफ्नै लगानीमा व्यबसाय हुने त निकै थोरै छन्। टेक्सास, नर्थ क्यारोलिना, ओक्लाहोमा, मिचिगन लगायत केही राज्यमा नेपालीहरु आफैं व्यबसायमा संलग्न छन्। तरपनि नेपालमा गएर लगानी गर्नसक्ने हैसियत बनाएका भने छैनन भन्दा पनि अन्यथा हुँदैन।
लामो समयदेखि यही बसोबास गरेर व्यबसाय गरिरहेकाहरुको अनुभव छ– अमेरिकामा काम गर्न, व्यबसाय गर्न र खर्च गर्न कुनै गाह्रो छैन। सरकारको नीति कमाउ र खर्च गर भन्ने छ। तर बाहिर पैसा पठाउन निकै कठिनाई छ। एकहजार डलरभन्दा बढी रकम कसैले विदेश पठाउन खोज्यो भने उसको सोसल सेक्युरिटी नम्बर सहितको परिचय खुल्ने कागजात मागिन्छ। डलर कमाउन जति गाह्रो छ, यहाँबाट बाहिर पठाउन त्यो भन्दा बढ्ता हण्डरहरु छन्। अमेरिकाका गैर आवासीय नेपाली अर्थात एनआरएनहरु लगानीको हिसावमा नेपालमा अगाडी आउन नसक्नुको प्रमुख कारण यही हो।

चुनावी माहौलः
नाम सार्वजनिक नगरौं। मंगलबार बिहान एनआरएन अमेरिकाको बोर्ड डाइरेक्टर (कार्यसमिति सदस्य) का एक उम्मेदवारसँग छोटो कुराकानी भएको थियो। उनी गुनासो पोख्दैथिए–'सदस्यको चुनाव पनि नेपालमा सांसदको जस्तो महंगो पो भयो त। यस पटक सफल भइएन भने अर्काे पटक त म उठ्ने आँट पनि गर्दिन।'
सदस्य भनेर के गर्नु घरि कुन संस्थालाई आर्थिक सहयोग दिनुपर्ने, भोट माग्नका लागि पश्चिमी प्रशान्त महासागरको तटको शहर लस एन्जलस, सानफ्रान्सिस्कोदेखि पूर्बी आन्ध्र महासागरको तटीय शहर न्यूयोर्क पुग्नुपर्ने। एकै देशमा चारवटा समय भएको अमेरिकामा एनआरएनको चुनाव झण्डै तीन महिनादेखि लागिरहेको छ। उम्मेदवारहरु तीन महिनाअघिदेखि हजारौं डलर खर्चेर छिनमा कुन शहर त छिनमा अर्को शहर पुगेर भोट मागिरहेका छन्।
'एकपटकको नेपाली सधैंको नेपाली' नारा बोकेर उम्मेदवारहरु सामाजीक सञ्जालमा व्यापक रुपमा देखिएका छन्। उही परम्परागत दोहोरो नागरिकता, नेपाली समुदायको विकासका लागि सकृय रहनेभन्दा बाहेक एनआरएनका उम्मेदवारका कुनै गतिला एजेण्डा छैनन्। एनआरएन अमेरिकाबाट यहाँ दुखजिलो गरेर बसेका नेपालीले गरेको अपेक्षा भनेको सबै विचार, वाद, जातीयता, क्षेत्रीयतालाई समेटेर सबै नेपालीको सामुहिक संस्था बनोस भन्नेमात्र हो।
चारसय नेपालीको बसोबास भएको सानो शहरमा समेत चार पाँचवटा नेपाली संस्था जन्मिएका छन्। दलका भातृसंस्थादेखि लिएर जातीय र नेपालको पूर्बतिरका ८/१० परिवार रहेछन् भने त्यतैतिरको र पश्चिमका परिवार रहेछन् भने उतैतिरको जिल्ला, अञ्चलको नाम जोडेर क्षेत्रीयतावादी संघसंस्था पनि अस्तित्वमा छन्।
नेपालीहरु नेपालको जस्तैगरि राजनीतिक दल, जात, क्षेत्रको नाममा यहाँपनि विभक्त छन्। स्तवन्त्र नेपाली भएर बस्न चाहने ठूलो जमात, जो यस्ता कुनै पनि संस्थाप्रति आवद्ध हुन चाहँदैन उसले एनआरएनबाट त्यो खालका छहारीको अपेक्षा राखेका छन्। तर पछिल्ला दुई चार दिनमा देखिएका घटनाक्रमले एनआरएनलाई सबै नेपालीको साझा संस्था बन्न नदिने खेलहरु भएका छन्। यो संस्था पनि अब कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति वा एमालेको भातृ संस्था प्रवासी नेपाली मञ्च जस्तै हुने संकेतहरु देखिएका छन्।
कांग्रेसले आधिकारिक रुपमा खगेन्द्र जिसीको नेतृत्वमा प्यानल अघि सारेको खबरहरु सामाजीक सञ्जालबाट बाहिर आएको छ। वामपन्थीहरुको समर्थनमा एनआरएन अमेरिकाका अन्तरिम अध्यक्ष शिबकुमार राई अगाडि सारिएका छन्। प्यानल बनाएरै चुनावमा लाग्नु भनेको संस्थालाई सबैको आस्था अनि साझा बन्न नदिई भातृ संस्था बनाउने कुत्सित प्रयास हो। जसले संस्थालाई उँभो लाग्न कहिल्यै मद्धत गर्दैन।
प्यानलै बनाएर चुनावमा होमिने यो न कुनै कुनै स्वतन्त्र विद्यार्थी युनियनको चुनावनै हो। नत बार एसोसिएसनकै चुनाव हो। एनआरएन भनेको सबै आस्था, वाद, जातीयता र क्षेत्रीयतालाई समेटेर नेपालीलाई एकशुत्रमा राख्ने संस्था हुनुपर्ने थियो। यो चुनाव भनेको बहुमत ल्याएर सरकार बनाउने ठाउँ पनि हैन। एनआरएनमा प्यानलै जितेर पनि हुने केही होइन। भावी एनआरएनका अध्यक्षले सबै नेपालीको अध्यक्ष बन्ने कि एउटा दलको? अध्यक्षका उम्मेदवारले प्यानलमा बनाउन र बस्न अस्विकार गर्नसक्नुपर्थ्यो।
दलहरुले प्यानल बनाएर मिनि संसदको रुपमा अघि सरेपनि अमेरिकाभरि छरिएर रहेका एनआरएनको सदस्यता लिएका नेपालीहरुले विवेक पुर्‍याउनुपर्ने अवस्था आएको छ। होइन भने एनआरएन अमेरिकाबाट नेपालले त केही आशा गरेको छैन नै यहाँ रहेका नेपालीले समेत दुःख पर्दा कुनै आशा गर्ने बाटो बन्द हुनेछ। व्यक्तिको योगदान, समर्पणलाई हेरेर मताधिकार प्रयोग गर्नुपर्ने अवस्था छ। कुनै दलको ह्विपका भरमा प्यानलै जिताउने काम भएमा एनआरएन नेपालका पार्टीको भातृ संस्थामात्र बन्नेछन्। कुनै निर्णय गर्नुपर्दा काठमाडौंमा रहेको सानेपा, बल्खुको निर्णय कुरिनेछ।

प्रकाशित: २१ जेष्ठ २०७१ ०२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App