१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
ब्लग

दयानन्दको शरीर र म

'ओ दयानन्द बज्राचार्य के छ खबर?' लामो समयसम्म नेपाल समाचारपत्र र पछि नागरिक दैनिकमा समेत सँगै काम गर्ने विनोद पाण्डे मलाई भेट्ने बित्तिकै जिस्किन्थे। दयानन्द बज्राचार्यको नाम धेरै सुनेको मात्र नभै विभिन्न कार्यक्रममा भेटघाट पनि हुन्थ्यो। नाष्ट (तत्कालिन रोनाष्ट) का उपकुलपति भएपछि दोस्रो कार्यकालको अन्तिम समयताका उनीसँग सम्पर्क अलिकति बाक्लै भयो।

खासमा ख्याउटो शरिर, अनि चस्मा, फुलेको कपाल जस्ता उनका केही विशेषताले गर्दा सहकर्मी पाण्डेले मलाई दयानन्द भनेर बोलाउँथे। तर उनीसँग जस्तो विज्ञान प्रविधिको महासागर र सरल स्वभाव मसँग कमीनै थियो।

बज्राचार्यको निधन भएको खबर यहाँको स्थानीय समय अनुसार आइतबार राति साढे ११ बजेतिर पाए। पत्रकार साथी सरोज काफ्लेको फेसबुक स्टाटस देखेपछि लाग्यो–'विज्ञान र प्रविधिका क्षेत्रका एक नक्षत्रलाई नेपालले गुमायो।' देशले दक्ष र प्रतिभाशाली बैज्ञानिकलाई रोकेर राख्न सकेको छैन, जे जति छन् ति सबैलाई बिभिन्न देशले उचित सम्मान र पारिश्रमिक दिएर आकर्षिक गरिरहेका छन्। सरकारी छात्रवृत्तिमा विदेश पढ्न गएका विद्यार्थीहरु उतै राम्रो स्थान पाएर फर्किदैनन्। यस्तो अवस्थामा भएका वैज्ञानिक बज्राचार्यको असामयीक निधनले मुलुकले ठूलो रत्न गुमाएको महसुस मलाई भयो।

उनी र मबीच त्यति घनिष्ठता भने थिएन। उनले मलाई एउटा पत्रकारको नाताले भने राम्रैसँग जान्दथे। सूचना प्रविधिको क्षेत्रमा लेख्ने पत्रकार भएको कारणले बेलाबखत कार्यक्रमहरुमा भेटघाट हुँदा उनी भन्थे–'तपाईका समाचार र लेखहरु पढिरहन्छु। विज्ञान प्रविधिमा लेख्ने पत्रकारहरुको एउटा फोरम बनाउन सकिदैन?' पत्रकारहरुका भएका फोरमहरुकै औचित्य नभएको अवस्थामा मैले उनका यस्ता प्रस्तावको जवाफमा हुन्छ पनि भन्न सक्दैनथे र हुँदैन भनेर त्यति ठूलो मान्छेको चित्त दुखाउन पनि चाहिन। म नागरिक दैनिकमा कार्यरत रहेको र उनी पनि नियमित रुपमा त्यही पत्रिकामा 'विज्ञान र जगत' कोलममा आफ्ना विचारहरु लेख्थे। शायद निधन हुनुभन्दा केही दिनअघिमात्र पनि उनको यो कोलम प्रकाशित भएको थियो।

नाष्टमा उपकुलपति हुँदामात्र होइन पछिल्ला समयमा लेख मार्फत उनले सरकारलाई झकझकाउने काम गरिरहेका थिए। दुई वर्ष अघि तत्कालिन विज्ञान प्रविधि मन्त्री कल्पना धमलाले उच्चस्तरीय सूचना प्रविधि आयोग विघटन गर्दा बज्राचार्यले निकै ठूलो असहमति जनाएका थिए। किनकी भइरहेको एउटा संरचनालाई भत्काउँदा त्यो ठाउँमा त्यस्तै अर्को बनाउँदा लाग्ने समय, खर्चको उनलाई राम्रो हेक्का थियो। तर भस्मासुर प्रवृत्तिकी तत्कालिन मन्त्रीले विज्ञान र प्रविधिको क्षेत्रमा कपाल फुलाएका यस्ता वैज्ञानिकका धारणा समेत लत्याएर आयोगको हत्या गरिदिइन्। परिणाम अहिलेसम्म आयोगको विकल्पमा कुनै संरचना खडा हुन सकेको छैन।

सानो उमेरमै उपप्राध्यापक, प्राध्यापक हुँदै नाष्टको उपकुलपति समेत हुन सफल बज्राचार्य जो आफ्ना अनुभव र प्राप्त शिक्षालाई हरदम बाँड्न तत्पर थिए। उनको अभावको क्षतीपूर्ति तत्काल संभव त छैन। तर उनका विचार, उनीद्वारा प्रतिपादित सिद्धान्तलाई कार्यान्वयनमा ल्याउन सकेमा विज्ञान र प्रविधिमा पछि परेको मुलुकले थोरै भएपनि अघि बढ्ने मौका पाउनेथियो। उनको निधनको १३ औं दिनमा अखबारका पाना रंगिनेगरि समवेदना छाप्नुभन्दा पनि उनको ज्ञानलाई समवेदनासँगै एकाध लाइन राखेर प्रचार प्रसार हुने हो भने अझै केही हुन्थ्यो कि ?

प्रकाशित: २६ कार्तिक २०७० २२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App