१- बन्द खाम
नखोलेरै राखिएको एउटा बन्द खाम थियो
भित्र के-के थियो कुन्नि बाहिर मेरै नाम थियो ...
सँधैं-सँधै बग्ने खोली एकै छिन रोकिइदेऊ
तिम्रो बेगसंग मलाई अलीकती काम थियो।
गजलकार ललिजन रावलको कामको 'बेगवान नदी' काठमाडौंमा छैन। बेगवान नदी खोज्ने नै हो भने ललिजनले आफ्नै जन्म थलो अछाम, कालीका गाविस सुँगाली गाँउ पुग्नु पर्छ। तर धेरै भयो, ललिजन सुँगाली पुगेका छैनन्। तर, अहिले पनि गजलमा प्रकृतिका कुरा लेख्न पर्यो भने उनका आखाभरी त्यही गाउँ आउँछ - त्यो गाउँ जहाँको खोलामा पहिलो पल्ट डुँगा चढ्दा सात वर्षे बालक ललिजनले घर फर्किएर डुँगा बनाउने अठोट गरेका थिए। यद्यपि ललिजनले कहिल्यै डँुगा बनाएनन्। र त उमेरको यो मझदारमा अल्मलिएका छन्। ४५ वर्षे उमेरमा ललिजनलाई लाग्न थालेको छ- रिटायर्ड भएपछि त सहरमा बस्न सकिनेवाला छैन। गाउँ गएभने पनि दिन बिताउन गाह्रो हुनेछ ।
भविष्य चिन्ताले यसरी न्याके पनि ललिजनको अतित भने मज्जैले बित्यो। शिक्षक भएर काम गरे, क्यासिनो नेपालको अफिसर भए र रेडियो नेपालमा सरकारी जागिरे भए। र अहिले पनि छन्। विडम्बना आफ्नै रेडियो नेपालबाट बजाउनका लागी ललिजनसँग 'प्रफेक्ट' संगीत र आवाजका गजल छैनन्। तर पनि बिनातुष उनी बिहानै सिंहदरबार पस्छन्, काम गर्छन र दिउसो बाहिर निस्किन्छन्। घर फर्किएर हिन्दी किताब अनुवाद गर्छन्। पूर्ण व्यवसायिक अनुवाद।
ललिजनका मित्रहरूको संख्या पनि पातलिदैंछ। त्यसैले बाहिर रल्लिएर हिड्ने पनि त्यति जाँगर छैन। चालिसको दसकमा न्यूरोड पिपलबोटतिर झुकिल्रहने ललिजन अचेल त्यता देखिँदैनन्। बरु सहरमा जमिरहने गजलको महफिलमा प्रमुख अतिथीको आसनमा मुस्कुराइरहेका हुन्छन्। कमाएको यस्तै सम्मान त हो, ललिजनलाई यसमा ठूलो गर्व छ। उनी भन्छन्, 'म मेचीदेखी महाकालीसम्म पुगेको छु- गजल बोकेर।'
ललिजनको 'साहित्यिक बायोडाटा'मा ६ वटा किताब र राष्ट्रिय प्रतिभा पुरस्कार ०५२ लगायतका केही पुरस्कारका नाम उल्लेख छन्। नेपाली गजलको पहिलो वैधानिक ग्रन्थ 'समकालीन नेपाली गजल-०४७' को सम्पादक भएको जानकारी पनि छ। यी सबै उपलब्धी त्यसै प्राप्त भएका होइनन्। उनले रोजेको बाटोले पहिर्याइ दिएका सिउर हुन्।
जतिबेला ललिजनले गजल लेख्न थाले गुमनाम भएनन्। लेखेर 'केही नपाएको' जस्ता कुन्ठा पनि पालेनन्। त्यहिताका 'नखोलेर राखिएको एउटा बन्द खाम' त 'सुपरडूपर हिट' भएको ललिजनलाई थाहै छ र छ गर्व पनि। यो गजल कतिका ओठमा झुन्डियो ललिजनलाई थाह छैन। हुँदाहुँदा 'बूरी नजरवाले तेरा मुहँ काला' लेखेर हिड्ने ट्रकमा पनि यहि गजलको शेर लेखिएको उनलाई थाहा थिएन।
अबको एसएमएस र इमेलको जमानामा आफ्नो 'एउटा खाम' वाला गजलको सौन्दर्य कतै 'चेट्' होला की भन्ने चिन्ता पनि ललिजनलाई छैन। अब कम्प्यूटरले जती भिलेन खेले पनि 'आफ्नो गजलको अर्थ' झन् सामयिक हुन्छ भन्ने उनी ठान्छन्। किनभने, यो गजलले पुरानो समय बोकेको छ। फेरि चिठीको जती मजा त अरु के मा छ र?
अहिले पनि ललिजनलाई खाम धेरै आउँछन् तर सबै अफिसियल। एष्ट्रेको डिलमा सिगरेट अड्याउदै उनी हाँसे, 'व्यक्तिगत खाम भन्नुहुन्छ भने त धेरै नै भयो नआएको।' त्यसैले होला, जतनकासाथ राखिएका जमानामा आफ्ना नाममा आएका पाठकका खामबन्दी चिठीलाई उल्टाउँदै पल्टाउँदै अतितयात्रामा फर्किन्छन्।
२- एउटा परदेशी
एउटा परदेशी आई सोध्यो मेरो नाउँ
तर चाँडै छाडी गयो यो रमाइलो ठाउँ।
उसकै छेऊ उडी पुग्न मन लाग्छ तर
प्वाँख बिना उडी त्यसै म कसरी जाउँ।
एउटा चिठी उसैलाई पठाउनु थियो
भनी देऊ जूनतारा कुन हो उसको गाउँ?
नरेन्द्र प्यासीले संगीतबद्ध गरेको यो गजल सुनेका धेरैले ललिजनलाई सोध्छन्, त्यो परदेशी तिमी नै हौ?
'कहाँ हुनु?' ललिजन हाँस्छन्, 'म उमेर हुँदा प्रेमस्रेममा परिन। मैले त अरूको अनुभूतिलाई उनेको हुँ।'
जस्तोः त्यतिखेर राष्ट्रिय विद्यार्थी सेवा (राविसे) अन्तर्गत एमए पास गर्न छ महिना कुनै पनि गाँउमा गएर पढाउनु पर्थ्यो। यसरी जाने विद्यार्थीहरू गाँउका ठिटीसँग प्रेम गर्थे। तर त्यो प्रेम क्षणिक हुन्थ्यो। ललिजन सुनाँउछन्, 'मैले त्यही क्षणीक प्रेमको आशक्तीलाई लेखेको हुँ।'
'राविसे' हुन् या रिकुटे वा अचानक बास माग्न आइपुगेको परदेशी, तिनको प्रेममा परेका युवतीहरूको 'कथा' को सार आफ्नो गजललाइ मानेपनि, ललिजन पनि स्वंय एउटा परदेशी हुन्, जसलाई अझै गाउँका खोलानाला, पुर्ख्योली थलोले कुरिहेका छन्।
ललिजन परदेशी यसकारण भए- बा बम्बईमा सेक्यूरिटी गार्ड थिए। त्यसैले ललिजन आठ बर्षको उमेरमा बम्बई पुगे। 'एसियाको पेरिस'को उपमा पाएको बम्बई ललिजनका लागि अर्को लोक थियो। जहाँ मान्छे काट्ने गाडी थिए।
ललिजन सुनाउँछन्, ''त्यसबेला कोही बम्बईमा गाडीमा चेप्पिएर मर्यो भने अछाममा गाडीले काट्यो भन्थे।'
मान्छेलाई छिनाल्ने गाडी कस्ता हुन्छन्, ललिजनले बम्बई पुगेपछि देखे। मान्छे काट्ने धार कस्तो हुन्छ भन्दै एकदिन आफ्नो कोठा बाहिर कसैले ठड्याएको साइकलका पाङग्रा पनि सुटुक्क छामे। तर, त्यसका पांग्रामा मान्छे नै छिनाल्ने धार थिएन।
'मुन्सीपाटी स्कुल'मा कक्षा- ४ मा भर्ना हुदासम्म ललिजनलाई एउटा शव्द पनि हिन्दी आउदैन्थ्यो। पढाइ जती हिन्दी मै हुने। तर उनले छिट्टै हिन्दी पनि सिकी हाले, हिन्दीका कविता पढ्दै। अहिले पनि उनलाई त्यसबेला पढेको हिन्दी कविताको पंक्ति सम्झनामा नै छ
जोश न ठन्डा होने पाए कदम मिलाकर चल
मन्जिल तेरे पग चुमेगी आज नही तो कल।
यसरी हिन्दी भाषा मै लडिबुडी गर्दागर्दे ललिजन 'अच्छा लड्का' भइसकेका थिए। तर, 'अच्छा लड्का'ले ०३४ सालमा काठमाडौं फर्केपछि, धेरै कोर्रा खाए। उनले त नेपाली नै बिर्सिसकेछन्। साथीहरूले यसरी जिस्काउन थाले- 'एइ मधेसी।'
त्यसबेला कतिले ललिजनको मुक्का खाए, उनी भन्न र गन्न चाहदैनन्। काठमान्डूमा धेरै महिना उनले हिन्दी र अछामी नै बोले। आखिर परदेशमा हराएको नेपाली भाषा फर्किएर आयो। 'मलाई पनि चिनुन् र जानुन्' भन्ने यत्ति स्वार्थले ललिजनले कविता लेखे।
अस्कलमा साइन्स पढ्दापढ्दै उनी 'कठोर मार्क्सबादी' भइसकेका थिए र लेख्थे कविता। ०४० सालमा भने क्रान्तिकारी ललिजनले साथीहरू कै सहयोगमा पहिलो कविता संग्रह निकाले- 'यसपटक पनि'। ४ रूपैयाँ मूल्यको किताब साथीहरूले पसलपसलमा झुन्ड्याइदिन सहयोग पनि गरे। साथीहरू थिए- महेशबिक्रम शाह र बासुदेव अधिकारी आदि। किताब निस्किएको केही दिनमै ललिजनले बाटोमा देखे, मोहनराज शर्मालाई। ललिजनको क्रान्तिकारिता उग्र थियो, उनी मोहनराजलाई बुर्जुवा ठान्थे। त्यसैले आफूसंगै हिडिरहेका कवि पूर्ण बिरामलाई किताव दिदै भने, 'पूर्णजी यो किताब दिएर आउनुस् त।'
पूर्ण बिरामले मोहनराजको नजीक पुगेर किताब दिए।
'लेखक खोइ?' मोहनराजले सोधे।
पूर्ण बिरामले इशारा गरे। ललिजन लजाउदै लुत्रुक्क परेर छेऊ पुगे र 'नमस्ते' गरे।
'यस्तो राम्रो किताब निकालेर पनि किन लाज मान्नु पर्यो? सहि गरेर दिनुस्न।'
लौ, ललिजनको भम्रको 'अक्यारेएम' खसेर झर्यामझुरूम फुट्यो। आखिर, ललिजन कवि भइ छाडे, जसका पूर्खाले कहिल्यै कविता लेखेका थिएनन्। ललिजनलाई आफूभित्रको 'कवि'ले बढी पछ्याउन थाले पछि, उनी सँगसँगै हिडिरहेका क्रान्तिकारी कार्ल मार्क्स भने दाह्री सुम्सुम्याउदै अल्ली पछि परे।
...
३- पाइतलाका छापहरू
यतै-कतै छोडेको छु पाइतलाका छापहरू
अझै कोही सुन्दो होला मेरा पदचापहरू।
जल्नुसम्म जली सकेँ सधैँभरि जिन्दगीमा
अब के पो गर्न सक्लान् आगोका ती रापहरू।
कहाँ-कहाँ छोडिएका छन्, आफ्ना पाइतालाका छापहरू, ललिजनलाई पत्तो छैन। उनलाई यत्ति थाहा छ, ०४३ सालमा उनी शिक्षक थिए। आर्दश उच्च माबि भद्रबासमा। ०४५ सालमा क्यासिनो नेपाल सोल्टिमा अफिसर थिए। क्यासिनो नेपाल, जसलाइ ललिजन 'जुवा घर' भन्छन्, को जागीर गजबकै थियो रे। एक महिनामा तिनपल्ट रूपैयाँ आउथ्यो, एक-आठ र दश गते। एक गते, तलब, आठ गते भत्ता र बिस गते टिप्स।
अविवाहित मान्छे, त्यसरी पैसा आउँदो रैछ, के गर्थें?
'बेलाबेला कवि गोष्ठी गरे।' ललिजन मुसुमुसु हाँसे, 'पछि ँअनुरागँ पत्रिका निकाले।'
कमायो, सक्यो।
'५० हजार रुपैया चाही घरमा पठाएको थिए,' ललिजन सम्झन्छन्। अरु त कमायो, सक्यो। तर, पछिपछि भने जुवाघरदेखी रुची लाग्न छाड्यो। उनले एउटा कविता पनि लेखे - जुवाघरबाट। र, उनी जुवाघरबाट बाहिरिए।
अनी पो, ०५१ ललिजनको आवाज क्षेत्रिय प्रशारण केन्द्र दिपायलमा गुन्जिन थाल्यो। ०५५ मा फेरि काठमाडांै सरुवा भएपछि भने ललिजन यतै छन्। काखीमा लुखुरलुखुर सडको किनारै किनार हिड्छन्। हिड्दा हिड्दै धेरै चिज छोडीएका पनि छन्, तर एउटा चिज कहिल्यै छोडीएन, त्यो हो, गजल।
'के गजल लेखेर बसी राख्या छौ? कविता लेख।' धेरै समकालीन कविहरूले ललिजनलाई 'उपदेश' दिइरहे। ललिजनले भने गजल नै लेखिरहे। इकबाल, फैज, अली सरदार जाफरी, साहिर लुधयानबी, मजरुम सुल्तानपुरी र कैफी आजमी लगायतका गजलकारलाई पढ्दापढ्दै ललिजनलाई लाग्यो, 'गजलको एकशेरले भनेको कुरा व्याख्या गर्ने हो भने एउटा महाकाव्य नै तयार हुन्छ।'
अहिलेसम्म पनि त्यही ज्ञान-बोधले ललिजन भगेराले परालका त्यान्द्रा-त्यान्द्रा संगालेझै गजलका हरफहरू संगालीरहेछन्। अब त नेपाली गजलको अनुच्छेदबाट ललिजनलाई हटायो भने त्यो अपुरो नै हुन्छ। ललिजनसित भएको आफ्नो भन्नू यत्ति नै हो। अरू त त्यस्तै नै छन्। ललिजनसित अव सपनाको भारी पनि छैन। उनका सपना साकार गर्न उनलाई आफ्ना दुई सन्तानलाई जिम्मा दिएका छन्।
'ललिजन ठाडो छ।'
'कसाइ शैलीको छ।'
साहित्यिक मित्रहरूबाट आएका यस्ता टिकाटिप्पणीबारे पनि उनलाई थाहै छ। यस्मा भने दुख्ख मनाऊ पनि छैन। ललिजनलाई पनि लाग्छ, आफ्नो शैली यस्तै छ। अनाआवश्यक प्रसंसा उनी गर्नै चाहदैनन्। नेपाली साहित्यमा 'अनाआवश्यक प्रशंसा' नगरि बाच्न हम्मे नै पर्छ। तर, ललिजन बाँचिरहेछन्।
पारिवारिक मित्रहरूबाट पनि बेग्लै टिप्पणी ललिजनले सुनेका छैनन्।
'बाँगे छ भन्छन्,' ललिजन हाँसे।
यस्मा पनि 'म यस्तै छु' भनेर ललिजन तर्किन्छन्। कहिलेकाही झुल्किने पत्रिका 'अनुराग'का सम्पादक ललिजन अव आफूलाई सम्पादन गर्न पनि चाहदैनन्। आफ्नो जीवनको 'फष्ट राइटिङ' नै प्रिय छ उनलाई।
तर, ४५ बर्ष लागे पछि, ललिजनलाई आफ्नो जीवनका केही अनुच्छेद सच्चाउन भने मन छ।
'राम रमाइलो भन्दा बिचार पछाडी दगुरे।' ललिजनलाइृ सच्चाउन मन लागेको कुरा यहि हो, 'पे्रम पनि गरिएन। त्यसबेला प्रेम गरेको भए, अझै राम्रो लेखीन्थ्यो की? पछुतो छ।'
अव सच्चाउन चाहेर पनि सकिदैन। किनभने, जीवनको 'सेकेन्ड एडिसन' कहिल्यै हुदैन।
प्रकाशित: २६ भाद्र २०६६ २१:४१ शुक्रबार