दिनभरीको व्यस्तता पछि राति उनले मेरो फेसबुकमा कमेन्ट गरे, '५०० कल फोन आयो, रिसी (ऋषि) धमला सरलाई सुनाई देऊ है।' रिर्पोटस क्लबका अध्यक्ष धमलाको केदारीजी ठुला फ्यान रहेछन। त्यसैले त आफूलाई आएको फोनका बारेमा सवैभन्दा बढी जानकारी उनी ऋषिलाई नै दिन चाहान्छन्। नेपाल बाणी नेटवर्कको बिहानको 'वाणी बहस' केदारजीलाई सबैभन्दा वढी मनपर्ने कार्यक्रम रहेछ।
केदारजीको स्टोरी छापिए पछि प्रहरी अधिकृत रमेश खरेल, कलाकार (तितो सत्यमा इन्स्पेक्टरको भूमिकामा देखिने) कृष्ण सिवाकोटी, गोर्खाको प्रहरी प्रमुखले मात्रै फोन गरेनन्, धनुषाबाट बिबिसी प्रतिनिधि वृजकुमार यादवसहितको टोली त उनलाई भेट्न चन्द्रनिगाहपुर नै पुगेका रहेछन्। ऋषिले उनलाई चन्द्रनिगाहपुर जाँदा भेट्ने भनेर वाचा गरिदिए, फोन गरेरै। त्यो दिन मात्रै उनले एक दर्जन वढी एफएमलाई सामान्य अन्तवार्ता दिएको उनको कुरो थियो। चन्द्रनिगाहपुरमा 'नागरिक दैनिक' एकाबिहानै सकियो १५ रुपैयासम्म तिरेर केदारजीको समाचार पढेको भन्दै चन्द्रनिगाहपुरबाट खबर आयो मलाई पनि आयो। उनको स्टोरी पढे पछि नजिकका धेरै साथीले मलाई समेत फोन गरे।
त्यो सन्दर्भसँग जोडिएका नुनथर एफएमका फणी महतलाई पनि रिक्साको बिज्ञापन निशुल्क बजाई दिएको भन्दै उनका धेरै सहकर्मीले धन्यबाद दिँदै फोन गरेछन्। तर, तस्बिर उपलब्ध गराउने अर्का पत्रकार अशोक पहाडीको नाम भने पत्रिकमा छुटन गएकोमा भने मलाई निकै नै थक थक लाग्यो। केदारजीको सन्दर्भसँग जोडिएका महत्त, धमला, चुणामणि बाग्लेसहित अन्यलाई पनि धेरै धेरैले फोन गरेका खबर पनि म भएको ठाउँमा आइपुग्यो।
बिहानै घरबाट केदारजी रिक्सा लिएर हिडेको त जताततैबाट उनलाई बधाईको ओइरो लागेको रौतहटका पत्रकारले सुनाउँदा मलाई नै रमाइलो लाग्यो। चियापसल होस वा तरकारी पसल, फेन्सी पसल होस वा स्टेशनरी पसल, त्यो दिन केदारजी सबैतिर, सवै क्षेत्रमा निकै नै 'हिट' भए। 'जता गयो, त्यतै केदारजी लौ तपाईलाई बधाई छ भन्नेहरु धेरै भेटिए,' पत्रिकामा आएको एउटा समाचारले पारेको प्रभावबारे उनले मलाई साँझमा सुनाए। त्यो दिन उनको आम्दानी अरु दिनभन्दा धेरै कम भयो रे। त्यो दिन उनले काम नै गर्न पाएनन। भने, 'फोन उठाउँदा र बधाई खादै दिन गएको थाहा नै पाइएन्।'
नागरिकन्युजमा पनि उसको स्टोरी हालेकाले उनलाई बिदेशबाट पनि उत्तिकै फोन गएछ। स्टोरी छापिएको भोलिपल्ट उनले मलाई फेसबुकमा म्यासेज गरे- 'बिदेशबाट पनि फोन आउन थाल्यो आजबाट त।'
दिउँसो उनले फेरी अर्को म्यासेज पठाए, 'लन्डन, मलेसिया, दुबई, कतार सवैले यसैगरी बढनु भन्नु भएको छ।' उनलाई फोन आउने क्रम यो आलेख तयार पारुन्जेलसम्म पनि छुटेको छैन्। उनी यति खुसी छन कि त्यसको सीमा छैन। उनलाई आजकाल बजारमा झन सवैले चिन्छन। काठमाडौं मै पनि चन्द्रनिगाहपुर जाँदा केदारजीको रिक्सामा अवश्य चढेर छाडने भन्नेहरु मैले धेरै नै भेटे।
खासमा केदारजी एउटा सामान्य रिक्सा चालक हुन्, जो चन्द्रनिगाहपुर बजारमा दिनभर रिक्सा ठेल्छन र आफ्नो गुजारा चलाउँछन्। तर, उनको मिडिया क्रेज यस्तो उदेक लाग्दो छ। नुनथर, गुञ्जन, सलार्ही, एकता र पालुङ एफएममा नियमित फोन गरे कै भरमा उनी बारा, रौतहट र सर्लाहीमा 'जबजर्स्त सेलिव्रेटी' बनिरहेका छन्। उनको एफएममा राख्ने अभिब्यक्तिको शैली र प्रस्ततुी सवैभन्दा बढी लोकप्रिय रहेछ । जस्तो कि उनी 'म अहिले भकारो (गोबर) सोरिरहेको छु र तपाईसँग पनि कुरा गरिरहेको छु', 'म अहिले रुखको टुप्पामा छु, घाँस झारिरहेको छु र तपाई (कार्यक्रम प्रस्तोता)सँग कुरा पनि गरिहेको छु' 'रिक्सा चलाइरहेको छु' भन्न उनी कदापी हिच्किाचाउँदैनन्।' अर्थात एफएममा फोन गर्दा उनी जुन कन्डिसनमा छन, त्यो उनी इमान्दारीका साथ जानकारी सबैलाई दिन्छन्। जो सबैलाई मन पर्छ।
चन्द्रनिगाहपुर आसपासका सवै जसोलाई केदारजीले फोन गर्ने कार्यक्रमहरु कन्ठस्थै छ। जब केदारजीले फोन गर्ने कार्यक्रम आउँछ। उनको कुरा सुन्न भनेर नै फ्रिक्वेन्सी परिबर्तन गर्ने धेरै नै भेटिन्छन। जसले मलाई पनि निकै नै अचम्मित बनायो। चन्द्रनिगाहपुर आसपासमा कसैले नचाहाँदा नचाहाँदै पनि केदारजीको क्रेज क्रमशः बढिरहेको नै थियो।
एउटा सामान्य रिक्साचालक एफएम फोन गरे कै भरमा जर्वजस्त सेलिब्रेटी बनिरहेको प्रसङ्ग मेरा अग्रज नागरिक सहकर्मी सुबोध गौतम, सुरेन्द्र पौडेल र मणि दाहाललाई एक दिन चिया पसलमा सुनाए। उनीहरुले एउटै स्वरमा भने, 'यो त निकै राम्रो स्टोरी हो, लेख यार।' तीन दिनसम्म त मैले त्यति वास्ता पनि गरिन् तर पनि लेख्नु पर्छ भन्ने चाँही मलाई लागिरहेको थियो। त्यस्तै, एउटा सामान्य रिक्सा चालकको पनि स्टोरी हुन्छ भन्ने कताकता भित्र खड्क्यो। तर उनीहरुले फेरी मलाई सम्झाए। लेख्नु पर्छ, नलेख्दा केदारजीमाथी अन्याय हुन्छ भने पछि मैले उनीसँग संवन्धित सवै ब्यक्तिहरुलाई खोजबिन गरी, सम्पर्क गरे। नुनथर एफएमकी लोकसुसेली कार्यक्रम संचालिका रिता भट्टराईले केदारजीले फोन नगर्दा एफएमवाटै फोन गर्ने गरेको जानकारी दिइन्। अझ अचम्म त, उनले फोन नगर्दा अरु स्रोताले केदारजी खोजबीन गर्ने गरेको अनुभव पनि सुनाइन्।
एफएममा फोन गरेकै भरमा फणीजीले उनको रिक्साको विज्ञापन निः शुल्क बजाइ दिइरहनु भएको जानकारी थियो। केदारजीलाई फोन गर्न लगाउनका लागि उनका मोबाइलमा नियमित ब्यालेन्स ट्रान्सफर गरिदिने लोकेन्द्र खड्कासहित धेरै रहेको पनि मैले जानकारी पाए। अनि, रौतहटका पत्रकार अशोकजीलाई फोन गरी तस्बिर केदारजीको तस्बिर खिचेर पठाइदिन भने। उनले मेरो आग्रहलाई बिलम्ब नै नगरी तस्बिर खिचेर पठाइ दिए। र नागरिकमा उनको स्टोरी छापियो।
अनलाईन सहकर्मी मदन चौधरीका अनुसार केदारजीको त्यो स्टोरी तीन दिनमा विश्वभरीका १५ हजार बढीले पढि सकेका छन् भने ५० जनाले फेसबुकमा लाइक गरेका छन। एकजनाको ट्विटलाई १० जनाले सेयर पनि गर्न भ्याएका छन्। त्यसो त मेरो आफनै ब्लगमा पनि सवैभन्दा वढी पढिएको स्टोरीमा उन कै आलेख परेको छ। त्यो बढने क्रम अझै पनि जारी नै छ।
केदारजीले आफ्नो स्टोरी फेसबुकमा सेयर गरी राखेका छन, जसमा एमालेका रौतहट जिल्ला कमिटि अध्यक्ष रामकुमार भट्टराईले कमेन्ट गरेका छन कि - 'केदारजी बधाई छ।' जवाफमा केदारजीले भनेका छन, 'दाइ धन्यवाद अरु त के नै गर्न सकिन्छ र रेडियोबाट भर्खर नागरिक दैनिकसम्म आइपुगे।' अर्थात उनी अझ यहाँ भन्दा पनि अगाडी बढ्न चाहान्छन्।
अहिले दैनिकजसो उनी मेरो सम्पर्कमा छन्। तर पनि मलाई भने एउटा कुरा निकै नै खटकिरहेको छ कि उनको स्टोरी छापिए पछि उनको मुहारमा देखिएको चमकता मैले टाढा भएका कारण देख्न सकिन। टेलिफोनमा मसँग उनी यति खुसी प्रकट गरिरहेका हुन्छन कि मानौं उनले साच्चै संसार जितेका छन्। जे होस, केदारजी बिन्दास छन्।
प्रकाशित: २७ मंसिर २०६९ ०२:०३ बुधबार