मेरो जन्मदिनमा
एक दिन लामो लाग्छ
एक वर्षचाहिँ छोटो
तीन पंक्तिमा लेखिएको यस जापानी कविताले जन्मदिनको महत्व छोटोमा धेरै भनेको छ। विश्वमा सबैभन्दा बढी गाइने गीत 'ह्याप्पी बर्थ डे टु यु' हो। जन्मदिवस मनाउनु ठीक हो कि होइन भनेर यदाकदा बहस हुने गरेका छन्। कसैकसैले त 'जो कोही जन्मिनु कुनै उत्सव मनाइरहनुपर्ने विषय होइन। मानिस त आफ्ना कामका आधारमा महान र साधारण ठहरिने हो। महानहरूको स्मृति दिवस मनाइनुचाहिँ उचित हो' समेत भन्ने गरेका छन्। प्रत्येक व्यक्ति आफ्नो अस्तित्वको शर्तमा महान हो। यदि ऊ महान होइन भने कोही पनि महान होइन।
जन्मदिन मनाउनु उचित हो कि होइन भन्नेमै यति साह्रो विवाद हुनुले पनि यो कति महत्वपूर्ण दिन रहेछ भन्ने पुष्टि हुन्छ।
पश्चिमा राष्ट्रले फैलाएको आधुनिकताको व्याख्याले प्रेमदिवस, जन्मदिन, नयाँ वर्षलगायत चाड मनाउने एउटै मानक निर्धारण गर्न खोजेको छ। खास किसिमको बुके, उपहार, टेड्डी बियर, खास खाद्यपदार्थ, खास किसिमको क्यान्डल र केकजस्ता मानक सामान्यतयाः बजार अर्थतन्त्रका हिमायतीहरू मिलेर बनाउँछन् जसको उद्देश्य नाफा केवल नाफा हुन्छ। अनि विरोधीहरू केवल विरोधका नाममा पुँजीवादी संस्कृतिको खोइरो खन्छन्। बदलामा वैकल्पिक संस्कृति भने निर्माण गर्र्दैनन्। कम्तीमा त्यसको रचनात्मक आह्वान गर्दैनन्। केवल प्रतिक्रिया र गुनासो मात्रै व्यक्त गर्छन्।
नेपालजस्ता कमजोर आयस्ता भएका देशमा जन्मदिनको समारोह उति झकिझकाउ र पश्चिमा राष्ट्र-निर्देशित त हुँदैन, फेसबुकदेखि एफएम रेडियोमा बज्ने शुभकामना आदानप्रदान सम्बन्धी कार्यक्रमले भने जन्मदिनलाई शानदार बनाइदिन्छन्। फेसबुकले केवल अकाउन्ड होल्डरको जन्ममिति देखाउँदैन, अहिले त भर्चुअल उपहार दिने सुविधा पनि दिएको छ। यो पंक्तिकारका फेसबुक फ्रेन्ड पाँच हजार छन्। त्यसभन्दा माथि फ्रेन्ड थप्न नमिल्ने भएकाले पेज सब्स्क्राइब गर्ने सुविधा छ जहाँ सयौं सब्स्क्राइबर छन्। तिनले दिएका शुभकामना फर्काउनै पनि एक दिनभन्दा बढी लाग्ला। त्यस्तै रेडियोमा एकले अर्कालाई जन्मदिनको शुभकामना दिनु, ग्रहण गर्नु अधिकांश रेडियो स्रोताको दिनचर्या हो। यी दुवै माध्यमको फाइदा- अति किफायती मूल्यमा भव्य जन्मदिन मनाउनु हो। बेफाइदा- आवश्यकताभन्दा बढी समय कटनी।
जन्मदिनले गुन गरोस् नगरोस्, बैगुन भने गर्दैन। जब आफूसँग रिसाएका वा असन्तुष्ट भएकाहरू पनि 'लौ, जन्मदिनको शुभकामना छ है' भन्दै भेट्छन्, फोन, एसएमएस, फेसबुक कमेन्ट गर्छन्, वा रेडियोमा आफ्नो नाममा शुभकामना टिपाउँछन् - दुई स्थगित सम्बन्धहरूको नवीकरण हुन्छ। काम र जीवनशैलीमा शिथिलता छाइरहेका बेला वर्षमा एक दिन आउने यो दिवसले नयाँ दिनको सुरुवातका लागि स्वागत गर्छ। मुर्झाएको मान्छे भ्रममै भए पनि एकछिनका लागि जन्मदिनको नाममा खुसी हुन्छ। ऊ आफूलाई जन्म दिने बा-आमाप्रति कृतज्ञ हुन्छ। सानो छँदा ऊ कस्तो थियो, अग्रजले सम्झाइदिँदा लजाउँछ, रमाइलो मान्छ, स्वमूल्यांकन गर्छ। नयाँ समयका लागि योजना बनाउँछ। जन्मदिनलाई सबैले केक काटेर क्यान्डल फुकेर औपचारिक समारोहबीच मनाउनुपर्छ भन्ने छैन। यो धेरै भावनात्मक र अनौपचारिक कुरा हो। अरुका लागि जे भए पनि स्वयं व्यक्तिका लागि स्नेहिल हो। यसर्थ प्रत्येकका लागि आफ्नो जन्म दिन विशेष दिन हो। मान्छेको जीवनलाई आर्थिक वा राजनीतिक केन्द्रबाट मात्रै हेर्न बानी परेकाहरू जेमा पनि बजारतन्त्रको प्रभाव केलाइरहेका हुन्छन्। जुनसुकै स्थान, युग, व्यवस्था, शासनमा भए पनि प्रेमदिवस, जन्मदिवसजस्ता पर्व धेरै मानवीय पर्व हुन्। यता बेवास्ता गरेर किन केवल विरोधका लागि विरोध गर्ने?
बच्चाहरूले आफ्नो जन्मदिनलाई असाध्यै उत्सुकताका साथ पर्खेको पाइन्छ। आफ्ना साथीहरू डाक्ने, रमाइलो गर्ने, जन्मदिन हुने साथीको घरमा जाने खानपिन गर्ने अवसर यसले जुटाउँछ। बढ्दो शहरीकरणले बालबालिकाका लागि सामाजिक स्पेस घटाउँदै लगेका बेला यस्ता अवसर उनीहरूको व्यक्तित्व र संस्कार विकासका लागि लाभदायी हुन्छन्। जन्मदिनको नाम दिएर अरुमा घुलमिल हुने वातावरण सृजना हुनु कति रमाइलो कुरा! त्यसो त 'दुर्गम बस्तीका गरिब बच्चाहरूलाई लाउन खान त पुग्दैन, केको जन्मदिन' भनी तर्क गर्ने मित्रहरू पनि हुनुहुन्छ। तर्क सही हो, तर लाउन खान पुग्नेहरूको चाहिँ भावना संवेदना वा आफूले रोजेको पर्व मान्ने हक हुँदैन भन्ने के छ र? अनि जन्मदिन, दसैतिहार वा अन्य चाडपर्व केवल धनीसँग मात्रै जोडिएका हुन्छन् भन्ने कहाँ लेखिएको छ र? संवेदना सबैको हुन्छ, धनीको होस् कि गरिबको। त्यसमाथि गरिबका लागि लड्छौं भन्नेहरू केवल आफ्नो गरिबी अन्त्य गरेको पनि देखिएकै हो। त्यसैले व्यक्तिका सानातिना आकांक्षालाई राज्यले समाधान गर्नुपर्ने एजेन्डासामू लगेर कमजोर र असान्दर्भिक देखाइदिनुको कुनै तुक छैन।
पंक्तिकारका केही साथी छन् जन्मदिनदेखि भ्यालेन्टाइन्स डेसम्मको धुँवादार विरोध गर्छन्। बदलामा आफू त केही गर्दैनन् नै। मौलिक चाडपर्व निर्माण वा संवर्द्धनका लागि सिन्को भाँच्दैनन्। अर्कातिर जन्मदिनलगायत उत्सवमा मनलागी गर्ने, कुनै योजना नबनाउने, कुनै खास अनुभूति नगर्ने र भोलिपल्टदेखि उसैगरी चल्ने तदर्थपन्थी साथीहरू पनि छन्। जीवन बाँचिरहेका छन् तर बाँच्नुको खास अनुभूति नै छैन तिनमा। अझ भनौं, जीवनका नाममा जीवन नै छैन, केवल प्राण छ। केही साथी यस्ता पनि छन्, जसको जन्मदिन एक वर्षमा सात आठ पटक आउँछ। अर्थात् मन परेकी केटी आकर्षित गर्न र संवेदित बनाउन जन्मदिनको कृत्रिम 'उपलक्ष्य' निर्माण गर्छन्। कतिपयले त भनेछन् पनि - 'अहो तिम्रो र मेरो जन्मदिन एकै दिन पो रहेछ।'
जन्मदिन केवल औपचारिक पर्व होइन। त्यसैले यसलाई जसले जसरी मनाए पनि हुन्छ। जन्मदिनमा पैसा खर्च गरे पनि हुन्छ, नगरे पनि हुन्छ। केही साथीहरू भन्छन्- 'म त जन्मदिनका दिन दुःखी हुन्छु, एक वर्ष उमेर घटेकामा।' सुन्दा रमाइलो लाग्ने यो जवाफले जन्मदिनलाई केवल आफ्नो उमेरको वार्षिक लेखापरीक्षणमा सीमित गरिदिएको छ। जापानी कविले हाइकुमा भन्नखोजेको तात्पर्य जन्मदिवसमा दिनभर गरिने गतिविधि र त्यसको अनुभूति हो। नत्र कसरी वर्ष भन्दा दिन लामो हुन्छ र!
अन्त्यमा, फेसबुक संवतलाई छाडौं। विक्रम संवत् अनुसार असोज २९ गते अर्थात् आज मेरो जन्मदिन हो। कति औं भन्ने कुराले यहाँ खासै अर्थ नराख्ला। मैले आजसम्म मैनबत्ती फुकेर, केक काटेर जन्मदिन मनाएको छैन। तै पनि ती जापानी कविले भनेझैं कुनै समारोह र औपचारिकताविनाको यो दिन मेरो वर्षभरिकै सबैभन्दा लामो दिन हो।
ह्याप्पी बर्थ डे टु मी!!
twitter@basantabasnet
प्रकाशित: २८ आश्विन २०६९ १२:३० आइतबार