१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
ब्लग

बडेराजाविरुद्ध छोटेहरुको तमासा

पूर्वराजा ज्ञानेन्द्र शाहको भ्रमणका कारण धौलागिरी र गण्डकी अञ्चल निकै तात्तियो। राजाबाट आफ्नो शासन शैलीकै कारण सामान्य नागरिकको हैसियतमा पुगेका पूर्वराजा शाह आफ्नो धार्मिक भ्रमणका लागि भन्दै म्याग्दी पुग्ने खवरले त्यहाँका दलहरुलाई अत्यायो र उनीहरुले बन्दको घोषणा गरे। तय भैसकेको उनको म्याग्दी भ्रमण बन्दको कारण स्थगित भएपछि उनी बाग्लुङबाटै फर्के। त्यसबाहेक बाग्लुङ, पर्वत, स्याङजा लगायतका जिल्लामा दलको नाउँमा भ्रमण विरुद्ध विभिन्न प्रदर्शनहरु भए।
कुनै पनि व्यक्ति आफ्नो देशभित्र स्वतन्त्रपूर्वक हिँडडूल गर्न पाउनु उसको नैसर्गिक अधिकार हो। तिनै विरोध गर्ने राजनीतिक दलका नेताहरुले नै बनाएको नेपालको अन्तरिम संविधानमा यो व्यवस्था छ। यसकारण पनि विरोध गर्नेहरुले बुझ्नुपर्छ पूर्वराजाको भ्रमणमा अवरोध गर्न बन्दको घोषणा गर्नु दण्डहिनताको चरम नमूना हो।
पूर्वराजा घुमफिरमा अवरोध हुनु उनको एउटा सामान्य नागरिकसरह पाएको अधिकारमा रोक लगाउन खोज्नु मात्रै होइन। यो दल र तिनका नेताहरुमा कायरताको उपज हो। अन्त्य भैसकेको राजतन्त्रलाई धेरै महत्व दिनु, कतै हिँडडुल गर्न अवरोध गर्दा राजतन्त्रलाई झनै बल पुग्नेछ। लोकतन्त्रको नारा लगाउने दल र तिनका कार्यकर्तालाई एउटा नागरिक स्वतन्त्रपूर्वक हिँडडूल गर्न पाउने अधिकार लोकतन्त्रभित्र पर्छ भन्ने थाहा छ कि छैन?

राजतन्त्रको अन्त्य भएको पाँच वर्षयता देशमा गणतन्त्र कायम छ। जनताबाटै निर्वाचित राष्ट्रप्रमुख भैसकेका छन्। तर राजतन्त्र पूर्नस्थापित हुने भयले दलका नेता कार्यकर्ता किन सामान्य नागरिक सरह जिवनयापन गर्दै आएका राजाको भ्रमण रोक्न अराजक उपायको खोजी गर्छन्। यो भनेको उनीहरुलाई आफूप्रति विश्वास नहुनु हो। उनीहरुको डर भनेकै जनता हाम्रो कार्यशैलीप्रति सन्तुष्ट छैनन्, कतै पूर्वराजाले जनतालाई विश्वासमा लिएर राजतन्त्र फर्किहाल्छ कि भन्ने हो। सामान्य नागरिक सरह गर्न लागेको भ्रमणमा दलहरुले यति धेरै महत्व दिएपछि पूर्वराजा ज्ञानेन्द्रलाई अहिले पनि 'राजा हुँ' भन्ने झल्को दिनसक्छ।

भ्रमणमा अवरोध गर्नुहुन्न भन्नुको अर्थ पूर्वराजा ठिक थिए भन्न खोजिएको होइन। तर लोकतन्त्रको नारामा जसरी एकिकृत माओवादीको नेतृत्वमा सवैदलहरुले विरोध गर्दैछन् उनीहरुपनि पूर्वराजा भन्दा कुनै पनि हिसावले चोखा छैनन्। जुन गल्ती ज्ञानेन्द्रले आफ्नो शासनकालमा गरे। छोटो समयमै हाम्रा दलहरुले ज्ञानेन्द्रको गल्ती दोहोर्‍याइसकेका छन्।

अहिले राजतन्त्रको अन्त्य भएको पाँच वर्ष पूरा भैसकेको छ। लोकतन्त्रको नाउँमा कसैको व्यक्तिगत भ्रमणनै रोक्न बन्दनै गर्न आवश्यक देख्ने राजनीतिक दलले भन्न सक्नुपर्छ पाँच वर्षमा के के गर्‍यौं? राजतन्त्रको अन्त्य पछि मुलुकमा राजामा रहेको प्रवृत्ती दलमा सर्नुबाहेक हुनै परिवर्तन हुन सकेको छैन। जुन निरंशुक प्रवृती राजामा थियो। अहिले सवै दलमा त्यो देखा परिसकेको छ।

राजतन्त्रको वेला राज्य ढुकुटीबाट तत्कालीन राजाले सक्दो रित्याएकै हुन्। कांग्रेस एमाले, राप्रपा लगायतका सवै दलका नेताहरु त्यतिबेलैदेखि लगातार सत्तामा छन्।
१० वर्षसम्म जनयुद्धको नाउँमा सोझासाझा जनतालाई लुटेर उठिवास लगाएको एकिकृत माओवादीले जनताकै खाएको हो। अहिले सत्तामा बसेर खाइरहेकै छन्। यसबाहेक के परिवर्तन ल्यायो लोकतन्त्रले? दश वर्षसम्म जनयुद्धको नाउँमा देशको सवै संरचना सिध्याएको माओवादीले आफू सत्तामा रहेपछि देश विकासको नाउँमा के गर्‍यो?

अहिले देशमा दण्डहीनता बढेर गएको छ। पहिला ढुकुटी सिध्याउने एउटा राजा थिए अहिले जिल्ला जिल्लामा टोल टोलमा फरक फरक पार्टीका छोटेराजाहरु छन्। उनीहरु कानून भन्दामाथि छन्। उनीहरुलाई। ठेक्का पट्टा,चन्दा आतंकको नाउँमा पैसा उठाउँछन्। तिनै नेता अपराधमा लाग्छन्। राजनीतिक दवावमा अपराधी छुटाउँछन्। प्रहरी निरिह बन्छ। यही हो लोकतन्त्र?

सत्ता चलाउन इच्छा भएरमात्रै हुँदैन। आँट, खुवी अनिवार्य छ। हाम्रा राजनीतिक दल र तिनका नेताहरुमा यो खुवी छैन भन्ने पटक पटक पुष्टी भैसकेको छ। धेरै फलाकेर जनतलाई सपनामा झुलाएर देशलाई अनिर्णयको बन्दी बनाएका नेताहरुलाई कुनै कारणले राजाप्रति जनसमर्थन जुटछ र आफ्नो चौपट हुन्छ भन्ने भयका कारण पनि राजालाई सामान्य नागरिकसरह हिँडडूल गर्न रोक्न अराजक उपाय रोजिरहेका छन्। यो उनीहरुको नालायकीपनको नमूना हो। हाम्रा दलले बुझ्नुपर्छ। जुनकारण राजतन्त्रको अन्त्य भयो हामी सच्चिएनौं भने त्यो हाम्रो पतनको कारण पनि यही बन्न सक्छ।

प्रकाशित: १४ आश्विन २०६९ ०२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App