१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
ब्लग

कालो दिन र सेतो बोको

शहरमा त म भन्न सक्दिन। तर गाँउको कुन आँगन होला जहाँ क्रान्तिका बुटहरुले नछोएको र कुन पिँढी होला बन्दुकका नालहरुले स्पर्श नगरेको। बिहान सुर्योदयसँगै होस् वा बेलुका सुर्यास्तसँगै कहिले घर पछाडिबाट त कहिले घर अगाडिबाट (माओवादी छापामार) आँगनमा आइपुग्थे। आफ्नै आफन्तले धेरैपछि सम्झेर कतै टाढाबाट भेट्न आए जस्तो कुनै सुचनाविना उपस्थित उनीहरुको बोलीमा तालिम प्राप्त आवाजको अनुभव गर्न सकिन्थ्यो। उनीहरुले नभने पनि कुरा बुझिसक्नुपर्थ्यो कि घरमा अन्न छ भने घरकै झिक् छैन भने गाँउबाट भए पनि ल्याउ। जसरी हुन्छ आज हामीलाईं खाने बस्ने व्यवस्था मिलाउ। मीठो र चिप्लो बोलीमा खस्रो कुरा लुकेको आफै बुझ्नुपर्थ्यो। बिद्रोही पोशाकमा सजिएका अनुहार हेर्दा लाग्थ्यो कसैले जिन्दगीभरि अन्न खान पाएका छैनन्। कोही पकाउन नजानेर नखाए जस्ता देखिन्थे, कोही मातिएर करले नखाए जस्ता देखिन्थे भने कोही त्यस्ता पनि हुन्थे जसले जिन्दगीभर एक पल पनि भोकै बस्नु परेको छैन। जे होस जस्तोसुकै रुप र शारीरिक बनावट भए पनि मानसिक बनावट एउटै देखिन्थ्यो। उनीहरुलाई चाहिने सामान ठिक पारिदिएपछि आफै बनाउँथे, खान्थे, भाँडाकुँडा सफा गर्थे। त्यहाँ छुवाछुत हुँदैनथ्यो जातपातको भेदभाव हुँदैनथ्यो। चुलो साझा हुन्थ्यो। अगेनु साझा हुन्थ्यो। गर्मी मौसम भए बाहिर आँगन र सिकुवामा र चिसो मौसम भए भित्र अगेनुको वरिपरि झुम्मिएर जनवादी गीत सुन्दै बस्थे। बिशेष गरी सिमली छायाँमा बसी... गीत सुन्दा मलाइ तत्कालै क्रान्तिमा होमिन मन लाग्थ्यो। उनिहरुलाई यो संघर्षको उद्देश्य के हो भनेर बुझ्न खोज्दा कुनै कडा मास्टरले बिद्यार्थीलाई घोक्न दिएको पाठको अंश भोलिपल्ट बिद्यार्थीले फर्ररर सुनाएझै भन्थे।

 

जुनबेला नेपाल कम्युनिष्ट पार्टी माओवादीले दीर्घकालिन जनयुद्धको नाममा सशस्त्र जनविद्रोहको घोषणा गरेको थियो त्यो बेला मैले जीवनका दश वसन्त पार गरिसकेको थिए। त्यसको ठीक तीन वर्षपछि मष्तिस्कमा माओवादी शब्द प्रवेश गरेको थियो। जसले मान्छे मार्छन् रे भन्नेमात्र सुनेको थिएँ। बिस्तारै बुझ्दै जाँदा यो मान्छे मार्ने एउटा व्यक्ति नभएर देशमा आमूल परिवर्तन गर्नको लागि विभिन्न शोषण र सामन्तवादबाट मुक्ति पाउनको लागि र विशेष गरी सर्वहाराको पक्षमा लडेको पार्टी पो रहेछ भन्ने थाहा भयो। त्यो भन्दा अगाडि नै गरीबीले गाउँकै केही हुनेखाने वर्गको लागि गरेको चाकरी र आर्थिक सहयोग माग्दा गरिएको दुर्व्यवाहार हजुरबुबाको मृत्युपछि हजुआमाले गरीबीको कारणले ब्यर्होनुपरेका कहालीलाग्दा दैनिकीहरु सुन्दा भित्रभित्रै बिद्रोहको आगो सल्किन्थ्यो। जब माओवादीले क्रान्तिको लागि माओवादलाई पछ्याउन थाले मलाई क्रान्ति शब्द यस्तो लाग्थ्यो जुन् मेरै हजुरआमाले सहनु परेका शोषण र दमन जस्तै यो राष्ट्रका हजारौ परिवारका आमाले सहनु परेका वेदनाहरुको घर्षणबाट निस्किएको आगोको झिल्को हो जुन सामन्तवाद र शोषकहरुको घरको धुरिबाट निस्किएको धुवाँको मुस्लोसँगै अन्त्य हुनेछ।

 

जब माओवादी चौकी हमलाबाट अगाडि बढ्दै ब्यारेक हमलासम्म पुग्यो मनमनै जनमुक्ति सेना भइसकेको मेरो मन भित्रभित्रै हौसिरहेको थियो। लाग्थ्यो अब चाँडै माओवादीले सता कव्जा गर्दैछ। नेपालले जनवादी गणतन्त्र प्राप्त गर्नेछ। विभिन्न वर्ग समुदायले मुक्ति पाउने छन्। जसले गरीवको रगत र पसिनालाइ आफ्नो आयस्रोत बनाएका थिए। जुन वेला समाचारको रुपमा भीडन्त अपहरण र हत्या पत्रपत्रिका हेडलाइन रेडियो र एफ एमका प्रमुख समाचार बन्थे त्यो वेला माओवादीको मृत्युले मात्र मन स्तव्ध हुन्थ्यो। माओवादीले त्यस्ता व्यक्तिको मात्र हत्या गर्छ जसले परिवर्तन चाहदैनन्, गरिव किसानहरुको मुक्ति चाहँदैनन् जो अरुको शोषण दमनमै रमाउँछन्। त्यस्ता व्यक्तिकोमात्र हत्या गर्छन् जस्तो लाग्थ्यो। तर, एक दिन अचानक वुवालाई माओवादीले अपहरण गरेको थाहा पाँए। कुरा २०६० सालको हो।

 

म गाँउको विद्यालयबाट एसएलसी दिएर कलेज पढ्न जिल्ला सदरमुकाम इलाम बसेको थिएँ। बाटोमा हिँड्दा हिँड्दै एकजना परिचित व्यक्तिले छेउमा बोलाएर भन्नु भयो, 'भाइ वुवालाई माओवादीले अपहरण गरेको थाहा भयो, चिन्ता नलिनु केही हुदैन।' मनमनै माओवादी भै सकेको मेरो मन आज आफै बुबाको अपहरणमा सहभागी भए जस्तो लाग्यो। दुई दिन अगाडिमात्र इलाम जिल्लाकै मंगलबारेमा एसएलसी को लागि केन्द्राध्यक्ष बनेर आउनुभएको थाहा पाएको थिए। एसएलसी को पहिलो दिन दिनै बुबालाइ अपहरण गरेको सुन्दा म छाँगाबाट खसेझै भए। तर पनि सामान्य सोधपुछको लागिमात्र लगे होला, ठुलै सजायको लागि ठूलो गल्ती गरेजस्तो लाग्दैनथ्यो। माओवादीको विरुद्धमा बोलेको खासै थाहा पाएको थिइन। बरु कहिलेकाँही प्रसङ्ग चल्दा भन्नुहुन्थ्यो,'काङग्रेस बन्नु भन्दा माओवादी बन्नु धेरै राम्रो हुन्छ। घरको लाइब्रेरी नै माओ, मार्क्स लेनिनले आधा हिस्सा ओगटेको हुन्थ्यो। सधै बाम आन्दोलनमा लाम लागेर पार्टीका लागि जेलको राम्रो अनुभव लिइसकेको व्यक्तिले कसरी उही सिद्दान्त बोकेको पाटीको बिरुद्द बोल्न सक्छ।

बिडम्बना बुबाको अपहरणको कारण थाहा पाउनुभन्दा पहिले बुबालाइ सुनाइएको सजायको बारेमा थाहा पाएको थिएँ। सजाय थियो मृत्युदण्ड। माओवादीले इलाम जिल्लाबाट विभिन्न अभियोगमा मृत्युदण्ड सुनाइएका तीन व्यक्तिको लिष्टमा बुबाको पनि नाम रहेछ। भोलिपल्ट वास्तविकता बुझ्न घरबेटी काका कृष्ण खनाल, म, भाइ दिलन र रमण मंगलबारेतर्फ लाग्यौ। मंगलबारे गएर बुझ्दा माओवादी स्वयमले अपहरण नगरेर माओवादीले तुरुन्त १२ घण्टा भित्रमा घरमा झिकाउने आदेश दिएछन्। र, गाँउबाट काका चिरञ्जीवी रेग्मी र दाइ विशाल रेग्मी मङ्गलबारे गएर लिएर जानुभएको रहेछ। मनमा केही शान्ति मिलेजस्तो भयो। बुबाले गल्ती गर्नु भएको भए सजिलै आँट गर्नुहुने थिएन। किनभने त्यो लिष्टमा परेका एक जना व्यक्तिलाई माओवादीले हत्या गरिसकेका थिए।

अठ्ठाइस बर्ष पूरा नहुँदै बिधुवा हुनुभएकी हजुरआमाले एक छोरा र एक छोरीका साथमा बाँकी जीवन विताउँदै आउनुभएको थियो। आफूलाइ जन्मदिने बुबाको राम्रोसँग चेतनाले तस्बिर खिच्न नपाउँदै एक मात्र आमा र दिदीको साथमा हुर्कँदै आउनुभएका बुबाले पाँच भाइ छोरा र एक छोरीलाई घरका भित्ता कोर्ने अवसर दिनुभएको थियो। परिवार ठूलो भएपनि त्यो बेलामा घरमा हामी कोही पनि छोरा छोरी थिएनौ। जुन बेला बुबाको हत्या गर्न ५०औ को सङ्ख्यामा घरमा र १०० औ सड्ख्यामा गाँउमा पुगेका थिए। त्यो बेलामा घरमा आमा र दिदी मात्र हुनुहुन्थ्यो। त्यतिखेर आमा र दिदीको मन कस्तो भयो होला? आमा र दिदीमाथि गरिरएको ब्यवहार हेर्दा लाग्थ्यो उनीहरु अविवेकी दानव झै देखिन्थे। पीडाले असह्य भएपछि दिदीले भन्नुभएछ तिमीहरु अपराधी हौ। उनीहरुले बन्दुकको नाल दिदीको कन्चटमा तेर्‍स्याएर बढी बोले मार्ने धम्की दिएछन्। त्यही दिन उनीहरुले लिष्टमा राखेका अर्का एक जना व्यक्तिको हत्या गरेछन्। उनीहरुले आमा र दिदीलाई भनेछन्, 'अब यहाँ सर मात्र बाँकी रहनु भयो अब सरलाइ पनि सिध्याइन्छ।'

आमा र दिदीका आँसुमा विजय उत्सव मनाइरहेका कमरेडहरु आँसुले नपुगेर मासुको खोजीमा लागेछन्। अघिल्लो दिन मात्र दिदीले बजारबाट ल्याएको बोको देखेपछि बोकै भएपनि खाने निर्णय गरेछन् । कसैले आमालाइ चार पाथी चामल झिक्न अह्राएछन्, कसैले कराइमा पानी तताउन थालेछन्, आमाले एक डालो चामल ल्याइदिनु भएछ। दिदी भित्र पसेर बाहिर निस्कदा बोको छिनाइसकेका रहेछन्। आफ्नो रगत र पसिनाले कमाएको सम्पतिमाथि अरुले मोजमस्ति गरेको ती पलहरु आमा र दिदीले कसरी बिताउनु भयो होला? आगन भरी सेतै भुत्ला, रगत, आन्द्रा भुँडी। जिवनभरी मासुको स्वाद थाहा नपाउनु भएकी दिदीले त्यो दृश्य कसरी पचाउनुभयो होला? चार पाथी चामल पकाएर चार माना मात्रै खाएछन् मासुचै चाटी चुटी सबै खाएछन्। सायद त्यो दिन बुबा घरमा हुनुभएको भए बोकाको ठाँउमा बुबाको रगत बग्न सक्थ्यो। तर, नियतीले त्यसो हुन दिएन। हाम्रो परिवारले पाएको जस्तो मानसिक यातना सायदै हजारौ परिवारले पाएको होला।

प्रकाशित: २३ श्रावण २०६९ ०३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App