१५ वैशाख २०८१ शनिबार
image/svg+xml
ब्लग

बाघका कुरा बाघ पीडितसँगै

सन्दर्भ विश्व बाघ दिवश

नेपालमा विगत पाँच दशकदेखि वन तथा वन्यजन्तु संरक्षणका प्रयासहरु अनवरत रुपमा जारी छन्। जसका कारण हाल आएर थुप्रै सफलताहरु हासिल भई राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा ख्याति कमाइसकेका छन्। यस्ता संरक्षणका कुरा आम मानिसमा सुनाउन र सुनिन थालेको केहि बर्ष बितेका छन्। त्यसमा पनि दुर–दराजका सफलता र संघर्षका कुरा निकै कममात्र जानकारीमा पाइन्छ। वन्यजस्तु संरक्षणको सफलतासँगै स्थानीय स्तरमा चुनौती पनि प्रशस्त थपिएको कुरा जानकारीमा आउँदा तिनका समाधानका लागि स्थानीय स्तरमा भएका प्रयासका बारेमा कमै सुन्न सकिने र विरलै सतहमा आउने मध्येका एक प्रसंग विश्व बाघ दिवसको अवसरमा यस लेखमा समेटिएको छ। वन र वन्यजन्तु संरक्षणको क्षेत्रमा कार्य गर्दाको करिव डेढ दशक लामो अनुभवले भन्नै मन लागेको एक स्थानीय प्रयास जहाँ बाघका कुरा बाघबाटै पीडित व्यक्तिसँगै तर अत्यन्त सकारात्मक र सुझबुझपूर्ण।  

हरेक वर्ष विश्व बाघ दिवसको अवसरमा विगतमा बाघको आक्रमणबाट भएका घाइते र परिवार गुमाउन पुगेका असहायहरुसँग भलाकुसारी गर्नु रेवा उपभोक्ता समितिका अध्यक्ष शिवबहादुर कार्कीको हरेक बर्ष दोहोरिने दैनिकी हो। स्वयंसेवी कार्कीका पीतालाई भालुले आक्रमण गरेको थियो। पिताको करिब १२ वर्षे अपाङ्ग जीवनपछिको स्वर्गवासपछि अझ सक्रिय रुपमा स्थानीय स्तरमा वन्यजन्तु संरक्षणको अभियानमा अविछिन्न लागिपरेका छन् कार्की। विगत १५ वर्षदेखि वन्यजन्तु संरक्षण अभियानका अभियन्ता उनी चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको रिउ खोलाको किनार माडी नगरपालिका, हरिनगर गाउँका स्थायी निवासी हुन्। बाघको आक्रमणबाट आफ्ना परिवारका सदस्य गुमाएका टोल छिमेकका उपभोक्तालाई भेटेर बाघको आनीबानी बुझ्ने, यसको संरक्षणको महत्व बुझाउने र सामुदायिक कोषहरु तथा संरक्षणका साझेदार सँस्थासँग समन्वय गरी सक्दो आर्थिक तथा अन्य सहयोगमा जुट्ने व्यक्तित्व छ कार्कीको। उनी भन्छन्, “विश्व बाघ दिवसमा यस्ता दूर–दराजका सुषुप्त अवस्थामा रहेका आवाजहरुलाई बाहिर ल्याउन सकियो भने पीडितहरुलाई पनि आत्मसन्तुष्टि मिल्ने र चेतना अभिवृद्धिमा पनि टेवा पुग्ने हुन्छ।”  

जब शिवबहादुर कार्की २०७१ सालमा रेवा मध्यवर्ती उपभोक्ता समितिको अध्यक्ष पदमा निर्वाचित भए, त्यस बेलादेखि उनले हरेक वर्षको विश्व बाघ दिवसलाई पीडितहरुसँगको साक्षात्कार, छलफल र अन्तर्क्रिया गरी मनाउने गर्दछन्। उनको उपभोक्ता समितिको कार्यक्षेत्रमा मानव वन्यजन्तु द्वन्द्वमा परेका ५० जना घाइतेहरु छन् भने बाघको असमझदारीमा परी मृत्यु हुनेको संख्या ३ जना (महिला २ जना) र गम्भीर घाइतेको संख्या ७ जना (महिला २ जना) रहेको छ। बाघका घाइतेहरुलाई उनी यो दिन यस क्षेत्रको आर्थिक सम्बृद्धिसँग मानव र बाघको सह–अस्तित्वको भूमिकाको विषयमा जानकारी गराउने गर्दछन् भने जुन दिन पीडित र बाघको बीच जम्काभेट भएको थियो, त्यो दिनलाई सम्झने प्रयास गर्न लगाउँछन् घाइतेहरुलाई। घाइतेहरुको मनमा बाघप्रति यदि कुनै नकरात्मक सोच रहेको छ भने पनि त्यसलाई कसरी पखाल्ने र बाघप्रतिको मायालाई कसरी सम्मान गर्ने भन्ने विषयमा नै उनले उक्त दिनको उपयोग गर्दछन्।  

पूर्व, पश्चिम र उत्तर, तीनैतिर चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणी क्षेत्रमा सोमेश्वर पहाड, चारैतिर घना जङ्गलले घेरिएको र विचमा रहेको उपत्यका ‘माडी भ्याली’ एकातर्फ भौगोलिक र प्राकृतिक हिसाबले सुन्दर र उर्वरशील भूमी हो भने अर्कोतर्फ मानव र वन्यजन्तु बीच अत्याधिक द्वन्द्व हुने गरेको क्षेत्र पनि हो। सोमेश्वर पहाडको जङ्गल जुन भारतको बाल्मीकी टाइगर रिजर्भ र चितवन राष्ट्रिय निकुञ्ज जोड्ने जैविक मार्गको रुपमा छ, यस क्षेत्रबाट ठूला वन्यजन्तुहरु ओहोरदोहोर गर्ने गर्दछन भने विश्व सम्पदा सूचीमा सूचिकृत चितवन राष्ट्रिय निकुञ्ज वन्यजन्तुहरुको स्थायी बासस्थान नै हो। 

समितिको आन्तरिक आर्थिक स्रोतलाई हेरेर उक्त दिन उनले आफ्नो कार्यक्षेत्रका पीडितहरुलाई नगद वा जिन्सी सामाग्री पनि दिने गरेका छन्। यो अभियानका लागि उनले करिब पचहत्तर हजार रुपैयाँ खर्च गरेका छन्। प्रति व्यक्ति रु १,५०० देखि रु २,००० रुपैयाँसम्मको नगद वा जिन्सी दिने गरेका छन्, प्रत्येक वर्षको २९ जुलाईका दिनमा। यो अभियानलाई निरन्तरता दिनु पर्छ भन्ने सोचले रु ५,५०,००० बाह्य सहयोग र रु २,००,००० आन्तरिक स्रोत गरी रु ७ लाख ५० हजार रुपैंयाको मानव–वन्यजन्तु राहत अक्षय कोष आफ्नै समिति अन्तर्गतको रेवा मध्यवर्ती वचत तथा ऋण सहकारी संस्थामा स्थापना गरेका छन्। वार्षिक १० प्रतिशत ब्याज आउने गरी मूल धन नमासिने र ब्याजबाट वास्तविक पीडितहरुलाई वर्षको एकपटक  सम्मान  गर्न सकिने गरी अभियान नै चलाएका छन् र सोही अनुसार निरन्तरता पनि दिइरहेका छन्।  

यो वर्षको २९ जुलाई २०२०, विश्व बाघ दिवसको दिनमा पनि यस्तै कार्यक्रम तय नै गरिसकेका छन् उनले। बाघ संरक्षण कार्यलाई युवाहरुसँग जोडेर लैजानु पर्दछ भन्ने सोचका साथ १५ सदस्यीय समुदायमा आधारित चोरीसिकार नियन्त्रण इकाई क्रियाशील बनाएका छन् भने मानव र वन्यजन्तुको बीचको द्वन्द्व व्यवस्थापनका लागि ५ सदस्यीय द्रुत कार्य टोली क्रियाशील बनाएका छन्। हिंस्रक वन्यजन्तुहरुको आनीबानी र तीबाट बच्ने सुरक्षित उपायहरु, समस्याग्रस्त वन्यजन्तुहरुको उद्धार, वन्यजन्तुबाट प्रभावित टोलबस्तीमा सचेतना अभियानमा द्रुत कार्य टोली क्रियाशील छ भने जैविक विविधता संरक्षण चेतना अभिवृद्धि, चोरी शिकार नियन्त्रणका सचेतनामूलक अभियानहरु, व्यवहार परिवर्तनका लागि संचार कक्षा जस्ता गतिविधिहरुमा चोरी सिकार नियन्त्रण इकाईलाई क्रियाशील बनाएका छन्। मुख्य गरी युवाहरुको प्रतिनिधित्व रहेको चोरीसिकार नियन्त्रण इकाई अभियानको दिगो व्यवस्थापनका लागि ५ लाखको अक्षय कोष स्थापना गरेका छन् भने द्रुत कार्य टोलीका लागि चाहिने अत्यावश्क औजार, सामाग्री तथा फिल्ड गियरका सामानहरुको समेत जोहो गरेका छन्। बाघ जोगाउन बाघबाट पीडित समुदाय र युवाहरुको साथ सहयोग र सहकार्य चाहिन्छ भन्छन् शिवबहादुर कार्की।  

पूर्व, पश्चिम र उत्तर, तीनैतिर चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणी क्षेत्रमा सोमेश्वर पहाड, चारैतिर घना जङ्गलले घेरिएको र विचमा रहेको उपत्यका ‘माडी भ्याली’ एकातर्फ भौगोलिक र प्राकृतिक हिसाबले सुन्दर र उर्वरशील भूमी हो भने अर्कोतर्फ मानव र वन्यजन्तु बीच अत्याधिक द्वन्द्व हुने गरेको क्षेत्र पनि हो। सोमेश्वर पहाडको जङ्गल जुन भारतको बाल्मीकी टाइगर रिजर्भ र चितवन राष्ट्रिय निकुञ्ज जोड्ने जैविक मार्गको रुपमा छ, यस क्षेत्रबाट ठूला वन्यजन्तुहरु ओहोरदोहोर गर्ने गर्दछन भने विश्व सम्पदा सूचीमा सूचिकृत चितवन राष्ट्रिय निकुञ्ज वन्यजन्तुहरुको स्थायी बासस्थान नै हो। माडी क्षेत्रका स्थानीय समुदायहरु प्राकृतिक स्रोतमा आश्रित पनि छन्। यस्तो विषम भौगोलिक वनावटका कारण पनि यो क्षेत्र मानव र वन्यजन्तुबीचको द्वन्द्वग्रस्त क्षेत्र हो। तर, स्थानीय सरकार, संरक्षण साझेदार संस्थाहरु, स्थानीय संघसंस्थाहरुको सहयोगमा द्वन्द्वलाई अवसरमा बदल्न दिनरात लागिरहेका छन्।

निकुञ्जको वरपरको प्रभावित क्षेत्रलाई नेपाल सरकारले मध्यवर्ती क्षेत्र घोषणा गरेको छ। सम्बन्धित निकुञ्जको वार्षिक कुल आम्दानीको ३० देखि ५० प्रतिशत रकम मध्यवर्ती क्षेत्रमा सामुदायिक विकास, संरक्षण कार्यक्रम, आयआर्जन तथा सीप विकास र संरक्षण सचेतनामूलक शिर्षकमा कार्यक्रम सञ्चालन गर्न पाइने प्रावधान छ। सोही अनुरुप, रेवा उपभोक्ता समितिले यस क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि सोलर तारवार तथा मेसजाली निर्माण, नदीकटान रोकथामका लागि तटवन्धन र वृक्षारोपण, आय आर्जनका लागि तरकारी खेती तथा मध्यवर्ती सामुदायिक वन व्यवस्थापन जस्ता कार्यक्रमहरु सञ्चालन गरेको छ। संरक्षण साझेदार संस्था तराई भू–परिधि कार्यक्रमसँगको सहकार्यमा प्रभावित क्षेत्रका समुदायहरुको जीविकोपार्जन सुधारकालागि माछापालन, बाघ प्रजाती र चौपायाबीचको द्वन्द्व न्यूनीकरणका लागि सुरक्षित बाख्राको खोर, गोठ सुधार तथा एकिकृत पशुपालन कार्यक्रम, सोलार तारवार, सीप विकास, जलवायु परिवर्तनजन्य जोखिम न्यूनीकरणका अभ्यासहरु तथा पर्यापर्यटन प्रवर्धन, सामुदायिक होमस्टे जस्ता कार्यहरुमा सञ्चालन भइरहेको छ।  

विश्वव्यापी रुपमा सोचिएका दूरगामी सोचहरुलाई सफल वनाउन यथार्थमा परिणाममुखी बनाउनका लागि स्थानीय स्तरमा नै कार्य गर्नु पर्दछ। ‘विश्वव्यापी रुपमा सोचौँ : स्थानीय स्तरमा काम गरौँ’ भने जस्तै सबै व्यक्ति, समुदाय, समाज र राष्ट्रले आ–आफ्नो क्षेत्रमा बाघ संरक्षणमा विभिन्न रणनीतिहरु तय गरेर यसको संरक्षणमा जुटिरहेको कुरा विभिन्न पत्रपत्रिका, जर्नलहरु तथा राष्ट्रिय, अन्तराष्ट्रिय लेखहरुमा हेर्न, देख्न र पढ्न पाइन्छ। प्रतिवेदनहरुका अनुसार करिव १०० वर्षको दौरानमा यो प्रजाति एक लाखबाट घटेर करिब ३,२०० को संख्यामा आइसकेको थियो।  १० बर्ष पहिले बाघको संख्या दोब्बर पार्ने प्रतिबद्धतामा हस्ताक्षर गर्ने राष्ट्रहरु मध्ये हाम्रो देश नेपाल पनि एक हो। सन् २०१८ को तथ्याङ्क अनुसार नेपालमा पाटे बाघको संख्या २३५ पुगेको छ जबकि सन् २००९ को तथ्याङ्क अनुसारको बाघको संख्या १२१ थियो। नेपालको हालको बाघको संख्या वृद्धि हेर्दा प्रतिवद्धता अनुसारको लक्ष्य हासिलउन्मुख देखिन्छ। यस सफलताको मुख्य कारणहरु मध्ये भू–परिधिस्तरीय संरक्षण अभ्यास जस्तै तराई भू–परिधि कार्यक्रम पनि रहेको छ।  

बाघको दिगो संरक्षण गर्नका लागि बाघलाई नै यस क्षेत्रको समग्र सम्बृद्धिसँग जोडेर विभिन्न प्रयासहरु थालनी हुनु अत्यन्त जरुरी छ किनकि अहिलेको पछिल्लो समयमा मानव र बाघ बीचको असमझदारी बढ्दै गइरहेको कुरा तथ्याङ्कहरुले देखाउँछ। उपयुक्त बासस्थान मात्रैले बाघको दीर्घकालीन संरक्षण हुन सक्दैन। स्थानीय समुदायहरुले बाघलाई हेर्ने दृष्टिकोण, उनीहरुको व्यवहार, दैनिकी, जनजीवन, पशु तथा चौपाया पालन प्रणाली, बाघको आनीबानी र जिवनचक्रको विषयमा ज्ञान र सूचना, वन्यजन्तु राहत निर्देशिकाको सरलता, बैकल्पिक जीवनयापनका उपायहरुजस्ता बिषयहरुलाई उचित सम्बोधन र दीर्घकालीन योजना नभएसम्म बाघको दिगो संरक्षण असम्भव नै हुन्छ। वन, वन्यजन्तु र समग्र प्रकृति संरक्षण क्षेत्रमा स्थानीय नियम–कानुनहरु निर्माणकासाथै लागू गर्ने स्थानीय सरकार तथा यसका निकायहरुको भूमिका अझ बढ्दो देखिन्छ।

अन्त्यमा, बाघको वासस्थान वरपर बस्ने स्थानीय समुदायहरुसँगको सह–अस्तित्व र चितवन, माडी क्षेत्रमा भएका उदाहरणहरु जस्तै स–साना स्थानीय प्रयासहरुले समग्र राष्ट्रमा बाघको बासस्थान जोगाउन र यसको उचित संरक्षण र व्यवस्थापनमा सहयोग पुग्ने नै छ। आफ्नो गाउँठाउँमा रहेर स्थानीय स्तरबाट बाघ संरक्षणमा गर्नु भएको प्रयासका कारण प्रति शिवबहादुर कार्की चितवन र वरपरका स्थानीय समदायका लागि प्रेरणाका स्रोत हुन्। आगामी दिनमा पनि यस्ता प्रयासहरुले निरन्तरता पाउन सके राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रको घना जंगलले चारैतिरबाट घेरिएको सुन्दर माडि उपत्यकामा मानव वन्यजन्तुको अन्तरसम्बन्धको दिगो समाधान बुझाउँदै हिँड्ने शिव बहादुर कार्कीको लागि खुसी र सन्तोशको स्थायीत्व मिल्छ। चितवन माडीका बासिन्दाले देखाएको संरक्षण प्रतिको स्वामित्व विश्वको लागि एक सिकाई र उत्प्रेरणा पनि हुन सक्छ। यस वर्षको विश्व बाघ दिवश २०२० ले बाघ संरक्षणका यी प्रयासहरुलाई अझ घनिभूत निरन्तरता दिन सहयोग पुगोस्, यही छ शुभकामना विश्व बाघ दिवसको !  

लेखक तराई भू–परिधि कार्यक्रममा फिल्ड प्रोग्राम एसोसियटका रुपमा कार्यरत छन्।

 

प्रकाशित: १४ श्रावण २०७७ ०६:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App